भीडको भीड, भीडामभीड
दसैँ बजारको भीडमा भीड थपिँदा भीडले भयङ्कर रूप धारण गर्यो । भीडमाथि भीड थपियो । देवमन्दिरमा त्यत्तिकै भीड भयो । बसपार्कमा उत्तिकै भीड लाग्यो । भीडले यो दसैँ पनि मनायो, यो आलेख पनि लेखायो । भीडमा धेरैलाई भेटायो । आफन्तसँग मिलनको खुसीयाली पनि दिलायो । फेरि दसैँपछि तिनै हर्षमा विछोडको वेदनाले विष्मात पनि गरायो । पैसाको खोला बगायो । व्यापारीलाई नाफाको ढुकुटी भरायो । नहुनेलाई ऋणको मरिकुच्चे भारी बोकायो । हुनेखानेलाई उन्मादको उकालो चढायो ।
सधैँको भीड, सधैँ भीडको जात्रा । भीडको जाम, जामले भीड । भीडको भीड, भीडामभीड, भीडैभीड ! कति भीड, कति मानिस किरासरी स्याउस्याउँती । यति धेरै मानिस कहाँदेखि किन ओइरिएका हुन् ? यिनीहरूले कहिलेसम्म यसरी भीड गरिरहने हुन् ?
भीडका भीमकाय अनुहारहरू एक, दुई होइन सयौँ छन् । केही थाहा छैन को के हो, को कस्तो हो ? को कहाँको हो, नाम, जात, धर्म, कर्म के हो केही थाहा छैन । सायद भीडमा भेला भएकाहरूले कसैलाई कसैले पनि चिनेजानेका छैनन् । सबै अपरिचित र पनि भीडमा भेला भएका छन् ।
यसरी धेरै अपरिचित अनुहारहरू अरू धेरै अनुहारहरूसँग जुधिरहेछ । ठोक्किँदै भीडमा मिसिइरहेछ । झोक्किँदै भीडमा मिलिरहेछ । क्रमशः यो सिलसिला र यस्तो प्रक्रिया उज्यालो भएदेखि अँध्यारो छाउन्जेल कायम रहन्छ । किनभने यो भीडको जात्रा किनमेलको जात्रा । ठेलमठेलको कति मात्रा ? घचेट्दै, चेपिँदै, कोचिँदै, अड्किँदै भीडमा हराउनुको हैरान भीड–जात्रा ।
जात्राको भीड, भीडको जात्रा । भीडमाथि भीड, झन् भीड, भीडैभीड, भीडमाथि भीडको भीड । कसैले पनि भीडलाई तितरवितर पार्न सक्दैन । पुलिसफोर्स, पानीफोहोरा, अश्रुग्याँस आदि केही गरेर पनि भीड तर्सिएर भाग्नेवाला छैन । किनकि यो भीड आ–आफ्नै राजीखुसीले भीडमा भीड थप्न आएको छ ।
भीडमा मान्छेको आवाज, मान्छेले नबुझ्ने आवाज । आवाजको आवाजमा हराएको आवाज । मान्छे हराएको भीडमा, मान्छे भेटिएको भीडमा । मान्छे चिच्याएको भीडमा तर आवाजलाई भीडले खाइदिँदो रहेछ । जति चिच्याउनुसम्म चिच्याए पनि कसैले आवाज नसुन्दो रहेछ । आवाज भीडमै विलीन हुँदो रहेछ ।
कहाँदेखि आएका यति धेरै मान्छे ? कति किन्ने सामान ? के, के मात्रै किन्ने सामान ? कति चाहिएकै हो कि, किन्नैपर्ने हो कि ! बाध्यता कि विवशता अथवा देखासिखी कि देखावटी कि ..।
यो दसैँ बजार कि दशा बजार हो ? ठग बजार जस्तो पनि लाग्छ । मान्छेको त्यहीँ भीड लागेको छ । जहाँ धेरै भीड हुन्छ, मान्छे त्यही भीडमा झन् ठूलो भीड बनाउन थपिन्छन् । भीडले भीड मन पराउँदो रहेछ । भीडले एक्लो हुन नचाहँदो रहेछ । भीडले भीड निम्त्याउँदो रहेछ ।
सस्तोमा, सस्तोमा, सुपथ मूल्य, दसैँ अफर, अफरैअफर ! हल्ला मात्रै बढी, महँगीले आकाश छोएको थाहा छैन । सस्तो भनेपछि हामी पनि त्यही किन्न हत्ते । सामान कत्तिको राम्रो हो, कति पर्ने हो, टिकाउ कति हुने हो ? यसमा हामीलाई अलिकति पनि मतलब हुँदैन । किन्न पाए पुग्यो, पैसा तिर्न पाए पुग्यो । सामानको गुणस्तर, बनेको मिति, सही मूल्य केही हेर्दैनौँ ।
वास्तवमा हामी ग्राहक दिनदहाडै ठगिइरहेका छौँ । पसलेहरूले दिनदहाडै ब्रह्मलुट गरिरहेका छन् । नपत्याउँदो शैलीले व्यापारिक फाइदा उठाइरहेका छन् । अलिकति छुटको नाममा हामी लोभिन्छौँ । छुट भन्ना साथ हामीलाई धेरै सस्तो लाग्छ । सामानको गुणस्तरतिर हाम्रो कमै ध्यान जान्छ ।
किन्नेको कुरा यसो सुन्यो, सय रूपियाँको सामानमा बार्गेनिङ गरिरहेका हुन्छन् । मिलाएका सामानहरू ओल्टाएर हेर्यो । त्यसैलाई फेरि पल्टाएर हे¥यो । नजिकबाट नियाल्यो । चित्त बुझेन अलि पर लगेर हे¥यो, त्यसैलाई फेरि हेर्यो । छान्यो–छान्यो अनि छरपस्ट पारी छोडेर अर्को पसलतिर पस्यो । त्यहाँ पनि त्यसै ग¥यो ।
पसलेलाई कति रिस उठ्दो हो ! यति हेरिसकेपछि सामान त किनिदिनुपर्छ भन्ने आशा नहुने कुरै भएन । ग्राहकलाई के चाहिएको हो, कस्तो सामान खोजेको हो, ग्राहक आफैँलाई थाहा छैन । तर, भीडमा भीड थपेर सामान खोजेको खोजेकै । सामान खोज्दा समय घण्टौँ बित्छ तर खोजेको सामान फेला पर्दैन ।
पसले पनि के कम, सयको सामानलाई पाँच सय भन्यो । अलि बढी दाम भनेपछि ग्राहक मक्ख । ठग्नेलाई मौका प्रशस्त । किन्नेलाई ठगिएको अत्तोपत्तो नहुने । बिग्रेको, पुरानो वा अथवा चित्त नबुझेमा सामान फिर्ता गर्न सकिँदैन । किनभने सामान घरमा लगेर हेर्दा मात्रै त्यसको असली रूप थाहा हुन्छ । त्यतिन्जेलसम्म ग्राहक ठगेर अर्को कुन ठाउँमा व्यापारी व्यापार गर्न पुगिसकेको हुन्छ ।
अर्को कुरा अधिकांश व्यापारीहरू ‘यसपालि व्यापार नै भएन, ग्राहक नै आएन’ भन्छन् । ‘घाटैघाटा मात्र छ’ भन्छन् । तर बजारको भीड, पसलको भीड, बाटोको भीड देख्दा अचम्मै लाग्छ । ती भीडका प्रायः मानिसहरू घुम्नकै लागि मात्र आएका अवश्य होइनन् होला । पसलमा किन्नकै लागि भीडमा पनि आएका हुन् । कोरोना, डेङ्गु आदि सबैको डरलाई बिर्सेर भीडमा रमिता हेर्न आएका हुँदैनन् । आफूलाई चाहिने सामान किन्न आएका हुन् ।
साँच्चै भीडको भीड, भीडामभीड । कति भीड, कति मान्छे । कति किनमेल । कति किनबेच ! कति नाफा, कति घाटा ? हुनेलाई नाफैनाफा, फलिफाप छँदै छ ।
भीडमा हराउने, डराउने र कराउनेहरूको कत्रो हल्लाखल्ला छ । तर, भीडलाई यसमा कत्ति पनि मतलब छैन । भीड झन् थपिँदै जान्छ । भीडमा मान्छे हराउन थाल्छन् । भीडमा मान्छे भेटिन थाल्छन् । खोजे भेटिन्छ भनिन्छ तर भीडमा खोजेर नभेटिएका आफन्तहरूको बेग्लै छटपटी र तनाव छ ।
भीडमा वर्षौदेखि बेपत्ता मानिसहरू भेटिँदा रहेछन् । भीडमा ‘हात’ छुटेपछि ‘साथ’ पनि छुट्ने रहेछ । भीडमा मान्छेका मन मान्छेको जस्तो मानवताले भरिभराउ नहुने रहेछ । दया मरेको, माया रित्तिएको, संवेदना शून्य हुँदा रहेछन् भीडका मान्छेहरू । वस्तुतः भीडमा मानिसका अनेकौँ मुखौटाहरूको भीड हुँदोरहेछ । कति कुरा सुनिने रहेछ । कति कुरा बुझिने रहेछ ।
भीड भित्रको एकान्त बेग्लै अनुभूतिको अभिलेख हुने रहेछ । भीडको एक्लो अथवा भीडमा एक्लै भइन्छ सबैसँग । कसैले, कसैलाई चिन्दैन, देख्दैन भीडले । वास्ता गर्दैन भीडले कसैको । मान्छेकै थुप्रो थुप्रिएको भए पनि सबै एक्लाएक्लै भीडमा । सबै आ–आफ्नै धुन र ध्याउन्नमा भीडको एकान्तमा ।
मान्छेले के खोजेको हो, के किन्न यति मरिहत्ते हो ! बजारको चहलपहलमा मान्छेको भीड । त्यही भीडले सवारी आवागमनमा अवरोध । छिटो पुग्नुपर्ने गन्तव्यमा ढिलाइ । हतारमा अलमल ।
यस्तो भीडमा मान्छेका अनेक दाउ हुन्छ । चोर्ने, लुट्ने, कुट्ने, पिट्ने, ढाँट्ने, ठग्ने आदि । भनिसाध्य हुँदैन मान्छेका रूपमा चोर, फटाहा, लुटेरा, साधुसन्त, फकिर पनि त्यही भीडमा हुन्छन् । सामान चोर्ने, पकट मार्ने र आँखाले प्रेम प्रकम्पनको प्रस्ताव पेश गर्ने । कसैको दाउ हुन्छ मन परेको मानिस भीडमा खोज्ने । भेटेपछि आँखा लगाउने, आँखा सन्काउने, फकाउने अनि पट्याउने । यसरी भीडमा भेटिएको भेट र भीडमा जुधेको आँखाले मायाको आभाष मिठो दिनेरहेछ ।
भीडहरू अनेक हुने रहेछ । नामअनुसार भीडको परिभाषा र प्रकृति पनि फरक हुने रहेछ । जुलुसको भीडमा ‘जिन्दावाद र मूर्दाबाद’ मात्रै गुञ्जिने रहेछ । जात्राको भीडमा ‘होस्टेहैंसे’ आवाज फैलिने रहेछ । हेर्ने दर्शकको भीडले पनि त्यही आवाजमा आवाज मिसाउँदो रहेछ । सभा, समारोहको भीडमा मौन सन्नाटा मात्र केवल सुन्ने र सुनाउनेको भीड लाग्ने रहेछ । बसपार्क, चलचित्र घर, विमानस्थल आदिका भीड जानेहरूको, आउनेहरूको भीड ।
मठमन्दिर, पूजापाठ, जात्रा–उत्सवको भीडमा आध्यात्मिक अनुरागको सौन्दर्य भेटिने रहेछ । जहाँ खराब नियत हुँदैन । धर्मकर्म, अध्यात्म अनुष्ठानको भीडमा पनि भीडै हुन्छ । लाइनमा बसेर भगवान्को पूजा गर्ने र मनोकाङ्क्षा प्राप्तिको भाकल तर धैर्य कम हुने रहेछ । लाइन मिचेर आफू अगाडि जान हतार । अरूलाई चाहिँ हतार नहुने जस्तो पालो मिचेर जाने । झगडा गर्न तम्सिने । भीडको झगडा भीडले नै मिलाउने रहेछ ।
भीड एक प्रिय पल, प्रेरणाको पुञ्ज पो रहेछ । अनेकौँ अनुभूतिहरूको सङ्ग्रहालय रहेछ । भीडले अनेकथरि मान्छेका भावना सुनाउने रहेछ । अनेक मान्छेका विचार बुझाउने रहेछ । तिनै भावना, विचार र अनुभूतिहरूलाई सम्हालेर कति मीठो अभिलेख राख्न सकिने रहेछ ।
मूलतः भीडले आफू आफैँ सचेत रहन सिकाउने रहेछ । अरूसँग सतर्क रहन सचेत गराउने रहेछ । भीडले जीवनकर्मको पाठ पढाउने रहेछ । धन्य भीड, जय भीड !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रश्मिका मन्दनाले गरेकी हुन् इन्गेजमेन्ट ?
-
बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
-
कांग्रेसको १५ बुँदे आन्तरिक सर्कुलर : एमालेलाई नबिच्क्याउने, गालीगलौज नगर्ने
-
विश्वकी सबैभन्दा अग्ली र सबैभन्दा होची महिला चियाका लागि भेटेपछि...