त्यो भोलि
जिन्दगीको ‘फास्ट लेन’मा
सास नै फेर्न बेफुर्सद छ आज
भ्याइ नभ्याई छ
कहिले नसकिने यात्रा बिचमा
रोटेपिङझैँ घुमिरहेको छु म
जाँतो जस्तै घोट्टिरहेको छु
एउटै परिधिमा फनफनी
बनेको छु म पनि
तिमीजस्तै यन्त्र
झिसमिसेदेखि अबेर रातसम्मै
घर, भात भान्सादेखि जागिरसम्म
टुसुक्कै नबसी
शान्तिको सासै नफेरी
सुस्केरै नहाली
चलिरहने एउटा स्वचालित नारीयन्त्र
भावना, संवेदनाहरू सबै
पत्करझैँ सोहोरेर बडेमानको पोको बनाएर
मिल्काइ दिएको छु
भोलिको नाममा
मनको अन्धकार गोदाममा
हाँस्ने, नाच्ने, घुम्ने, रम्ने
सबै भोलि
चालीस कटेसीलाई भाका भो
हिजो निन्याउरो थियो
उसको अनुहार
अस्पष्ट तर बादलजस्तो थियो
केही मुहारमा
के मा अल्झिए म
उ के मा अल्झियो
सोध्नै भ्याइएन
होस्, त्यो पनि भोलि नै सोधौँला
भर्खरै बनेकोथ्यो एउटा घाउ ताजा
काटेको थियो हतारमा काम गर्दा
चुसुक्क शरीरमा कतै
त्यसमा मलहम पनि
भोलि नै लगाउँला भनेर हिँडिदिए
दिनहुँको माथापच्चिसीमा
बिझेकोथ्यो मनमा च्वास्स काँडा,
चर्किएथ्यो केही पुराना यादका पीडा
आज त म रोबोट बनेको छु
आ होस्, खिलै बनोस् बरु
त्यो पनि पछि झिकौला
भोलि भोलि भन्दा भन्दै यात्रामा
छुटेका स–साना लाखौँ खुसी
हराएका हजारौँ रहर
फक्रिनै नपाई आफैँले कुल्चिएका
सयौँ थान सपनाहरूको जवाफ
होस् ती सबैलाई पनि
सधैँ झैँ थन्काइदिन्छु
मनको सन्दुकमा
अँ साँच्ची आफैँसँग सुस्ताएर
नबोलेको धेरै भाथ्यो,
मनको बेहाल नसोधेको पनि धेरै भाथ्यो
त्यो पनि होस् भोलि सोधौँला
भोलि भोलि भोलि...
कोट्याएर हेरौँला
मनका काँडा खिलहरू
भो मलाई नबिथोल
म हतारमा छु बाटो नछिचोल
चल्न देऊ मलाई यही रितले
अनवरत यस्तै हतारमा
यही अत्यासमा
प्याजको पत्र छोडाएझैँ
छोडाइरहन देऊ
छोडाएर कहिले नसकिने
यो जिन्दगीलाई
एउटै रितमा, अनवरत यन्त्रझैँ
मैले बल्ल बल्ल आफूलाई
फास्ट लेनको यन्त्र बनाएको छु
मान्छेबाट मेसिन भएको छु
भो नबिथोल मलाई
सबै कुरा भोलि नै गरौँला
साँच्चै आउला कि नआउला त्यो भोलि ?
दन्त्यकथाको राक्षसको
बन्धनबाट फुत्किएर
कहिले आउला त्यो भोलि ?
त्यो भोलि ?