शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
दसैँ

कोजाग्रत पूर्णिमा : आकाशदीप र कार्तिक स्नानको प्रारम्भ

शनिबार, ११ कात्तिक २०८०, ०६ : २५
शनिबार, ११ कात्तिक २०८०

आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर रातीभरि जाग्राम बसेर औपचारिक रूपमा बडा दसैँको समापन भएको मानिन्छ । यसरी बडा दसैँको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीपको कार्य प्रारम्भ हुन्छ । 

ज्योतिषशास्त्र वा पञ्चाङ्ग अनुसार वर्ष दिनमा १२ वटा र अधिकमास परेका बेला थप एक पूर्णिमा पर्छन् । पूर्णिमाहरूको चक्र तल दिइएको छ । 

वैशाखमा चण्डी पूर्णिमा, गौतमबुद्ध जयन्ती जेठमा मष्ट पूर्णिमा तथा गैडुपूजा, असारमा गुरु पूर्णिमा गुरु व्यासजयन्ती, साउनमा जनै पूर्णिमा ऋषितर्पणी, भदौमा भाद्र पूर्णिमा, असोजमा कोजाग्रत तथा शरद पूर्णिमा, कार्तिकमा कार्तिक पूर्णिमा, मंसिरमा धान्य पूर्णिमा, पुसमा स्वस्थानी व्रतारम्भ पूर्णिमा, माघ स्वस्थानी व्रतपूर्ति पूर्णिमा, फागुनमा फागु पूर्णिमा र   चैतमा पूर्णिमा ।

सम्पन्नताकी देवी महालक्ष्मीले कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमण गर्छिन् । भ्रमणमा रातभरि मानिस जागै बसेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।

कोजाग्रत पूर्णिमाको पूजा गर्ने तरिका थोरै फरक छ । अरू पूर्णिमाको पूजा गर्ने चक्रमा उल्लेख भए अनुसार १०८ कोठामा चन्द्रमाको पूजा गरिन्छ । कोजाग्रत पूर्णिमामा त्यो चक्रमा उल्लिखित चन्द्रमासहित लक्ष्मीनारायण, महालक्ष्मी र आठवटा आकाशदीपको समेत पूजा आराधना गरिन्छ । यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ ।

कहावत अनुसार सम्पन्नताकी देवी महालक्ष्मीले कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमण गर्छिन् । भ्रमणमा रातभरि मानिस जागै बसेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस दिन राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्ने गर्र्छन् । माता महालक्ष्मी दुर्गाका महाकाली, महालक्ष्मी र महासरस्वतीका तीन रूपमध्येको एक रूप हो । 

कोजाग्रत पूर्र्णिमाका दिन राष्ट्र प्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजा अर्चना गरी त्यस वर्षको बडादसैँको समापन भएको र आकाशदीप तथा कार्तिक महात्म्य सुरु भएको जनाउ दिने प्रचलन छ । यसका साथै यसै दिन स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । 

शास्त्रअनुसार कार्तिक स्नान ब्रह्ममुहूर्तमा गर्नु उत्तम मानिन्छ । यो समयमा नुहाउन नमिल्नेहरूले शिव वा हरि मुहूर्र्तमा नुहाउन भनेको छ । उक्त समयमा पनि स्नान गर्न नमिलेमा १२ बजेभित्र स्नान गरिसक्नु भनेको पाइन्छ तर १२ बजेपछि भने स्नान गर्न निषेध गरेको पाइन्छ ।

त्यस्तै गरी कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको तालबाराही मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । मनोरम फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने एवं दुःख–दर्द नाश हुने विश्वास रहेको पाइन्छ । 

कार्तिक स्नान 

आश्विन शुक्लपक्ष कोजाग्रत पूर्णिमाका दिनदेखि कार्तिक शुक्ल पूर्णिमासम्म प्रसिद्ध नदी, त्रिवेणी वा दोभान वा महत्त्वपूर्ण तलाउ वा तीर्थस्थलमा स्नान गरिन्छ । शास्त्रअनुसार कार्तिक स्नान ब्रह्ममुहूर्त (सूर्योदय हुनुभन्दा एक घन्टा ३० मिनेट पहिला)मा गर्नु उत्तम मानिन्छ । यो समयमा नुहाउन नमिल्नेहरूले शिव वा हरि मुहूर्र्तमा नुहाउन भनेको छ (एक मुहूर्तमा ४८ मिनेट हुन्छ) । उक्त समयमा पनि स्नान गर्न नमिलेमा १२ बजेभित्र स्नान गरिसक्नु भनेको पाइन्छ तर १२ बजेपछि भने स्नान गर्न निषेध गरेको पाइन्छ ।

स्नान गर्दा गरिने मन्त्र

गण्डकी कोशी कर्णाली मेची महाकालीकम् । 

गङ्गाजलं पवित्राणां जलेश्मिन् सन्निधौ कुरु ।।

सर्वे समुन्द्राः सरितस् तीर्थानी जलदा नदा । 

आयन्तु यजमानस्य दुरिताक्ष यकारकाः ।। 

वा 

अश्वक्रान्त रथक्रान्ते विष्णुक्रान्ते बसुन्धरे ।

बरुणो हर मे पाप यन्मया पूर्व सञ्चितम् । 

माथि उल्लेख गरिए अनुसार स्नान गरेपछि घरघरमा विशेष विधि पु¥याएर गरिने तुलसीपूजा पनि यही पूर्णिमादेखि सुरु हुन्छ । यसरी कार्तिक स्नानको सुरुवात भएसँगै हरेक दिन सूर्योदयअघि नै तुलसीको पूजा गरिसक्नुपर्ने मान्यता छ ।

कार्तिक स्नान गरी तुलसीको पूजा गर्नेे व्रतीले व्रतारम्भ भएका दिनदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दलीय अन्न (जस्तैः मास, मुगी, मुसुरो, चना, भटमास आदि) खान नहुने शास्त्रीय मान्यता छ । 

कार्तिक स्नानका व्रतले हरेक दिन १–१ अध्याय गरी ३० दिनसम्म ३० अध्यायको कार्तिक महात्म्य पाठ वा श्रवण गर्ने पनि परम्परा छ । यो कार्तिक महात्म्यका कुरा मार्कण्डे पुराण, स्कन्द पुराण आदिमा उल्लेख गरेको पाइन्छ । कार्तिक महिना विष्णु भगवान्को अति नै प्रिय महिना हो । यस महिनामा श्रीहरिको कथा, स्नान दान, कीर्तन आदि गर्नु अत्यन्त फलदायी मानिएको छ । 

आकाशदीप बाल्ने परम्परा 

कोजाग्रत पूर्णिमाका दिन माथि उल्लेख गरिए अनुसार सायंकाल (साँझ)मा घरघरमा दीप प्रज्ज्वलन गरेर रातभरि जाग्राम बसे लक्ष्मीमाता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ । तुलसीको मठमा सायंकालमा बत्ती बाल्ने परम्परा त चौमासबाटै सुरु भएको पाइन्छ । यी बत्तीहरू श्री हरिको समर्पणमा बालिन्छ । 

यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ । पूर्णिमाको शीतल र दुधिलो प्रकाशमुनि बसेर यसै दिनबाट जुवातास खेल्ने चलन प्राचीन कालबाटै सुरु भएको मानिन्छ ।

मुण्डकोपनिषद्मा ‘ॐ परमात्मने नमः, असतोमा सत् गमय, तमासोमा ज्योतिर्गमय, मृत्युर्मा अमृतं गमय’ भन्ने उक्तिलाई आरतिका रूपमा उल्लेख गरिएको छ । यसरी वैदिककालदेखि नै दीप वा ज्योतिको आराधनालाई मानिसले ज्यादै महत्त्व दिँदै आइरहेको पाइन्छ । यो आकाशदीपलाई साक्षात् ब्रह्म वा उज्याला नक्षेत्रको प्रतीकका रूपमा लिइन्छ । 

आकाशदीपबारे धेरै जनश्रुति र लोककथा पाइन्छन् । तिनीहरूमध्ये दानवहरूको संहारपछि कोजाग्रत पूर्णिमाको दिनदेखि कार्तिक पूर्णिमासम्म एक महिना धनकी देवी महालक्ष्मीको पृथ्वीमा भ्रमण हुने हुँदा उनलाई बाटो देखाउन सोही दिनदेखि आकाशदीप बाल्ने परम्पराले चलेको मानिन्छ 

आकाशदीप प्रकाश हो र प्रकाश भनेको सत्य हो । सत्यले दानवी प्रवृत्तिमाथि दैवी या मानवी शक्तिको विजय अर्थात् अन्धकारमाथि उज्यालोको प्रभुत्व वा विजय स्थापित भएको अवसर हो । कार्तिकमा सूर्य तुला राशिमा प्रवेश गर्छन् । यो तुला राशिमा सूर्य अत्यन्त कमजोर परिस्थितिमा रहने हुँदा सूर्यको प्रकाश पनि कमजोर हुन्छ । यसको प्रभाव दुवै पक्षका रातमा तारा ताथा चन्द्रमामा पनि पर्ने भयो । यसले गर्दा तारा र चन्द्रमाको प्रकाश कमजोर हुने हुँदा पृथ्वीको बस्तीमा आकाशदीप जलाउने परम्परा रहेको भन्ने पनि जनविश्वास छ । यसैले कोजाग्रत पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म एक महिना पृथ्वीमा नक्षत्रहरूको प्रतीकस्वरूप आकाशदीप बाली पृथ्वी समेत सम्पूर्ण ब्रह्माण्डलाई नै ज्योतिर्मय पार्ने परम्परा चलेको अनुमान हुन्छ । 

हेमाद्रि पुराणमा पनि बिहान सायंकालीन सन्ध्यामा घरनजिकैको तुलसीको मठमा मानिसको उचाइ बराबरको काठको लट्ठी वा बाँसको लिङ्गो गाडेर आठवटा बत्ती बालिन्छ । हावाले बत्ती ननिभाओस् भनेर हाँडी वा कागजको बक्स बनाएर राखिन्छ । ती आठ बत्तीहरू धर्म, महादेव, पृथ्वी, राधा दामोदर, धर्मराज, प्रजापतिगण, पितृ र भूतप्रेतका लागि जलाइएका हुन् भनी बताइएको छ । 

पुराणमा मान्छे बरावरको काठको लठ्ठीको कुरा उल्लेख भए पनि कार्तिक महात्म्यमा चाहीँ आकाशदीप बाल्न ७ वा १४ वा २१ हातका बाँसको लिङ्गोको वर्णन छ । ती तीन प्रकार मध्ये २१ हातको उत्तम, १४ हातको मध्यम र ७ हातको चाहिं निकृष्ट मानिएकोछ । यस हिसाबले माथि उल्लेख गरिएको मानिसको उँचाई बराबरको काठको लठ्ठी त अझ निम्न कोटिको हुन सक्दछ ।

ब्रह्माण्ड पुराण पनि कार्तिकको सायंकालमा आकाशदीप बाल्नाले मानिसमा प्रचुर मात्रामा धनधान्य प्राप्त गर्छन् भन्ने उल्लेख छ भनिएको छ । 

अर्को प्रचलित जनश्रुति अनुसार कात्र्तिकलाई यक्षहरूको महिना मानिन्छ । यिनीहरूको पूजा गरिन्छ । यक्ष भनेका भूतप्रेत र यमराजका सहचारी हुन् । यस महिनामा आकाशचारी (नभचरी)हरू देव, देवी, गन्धर्व, किन्नर (परी), सिद्ध, पितृहरू पृथ्वीमा भ्रमण गर्दछन् भन्ने मानिन्छ । भ्रमण गर्दा अँध्यारो रातमा कतै बाटो नभुलून् भन्नाका लागि र भूत, प्रेत, पिशाच र यक्षहरूले दुःख दिन नसकून् भनी रातभरि नै आकाशदीप जलाएर उज्यालो बनाइराख्ने परम्परा रहेको जनविश्वास अद्यापि छ । 

प्राचीन ऋषिमुनिले आकाशदीपलाई यस पृथ्वीमा नक्षत्र मण्डलको प्रतीक मानेको पाइन्छ । आकाशदीपको परम्परा प्राचीनकालदेखि नै चल्दै आए पनि निरन्तर प्रचलनमा भने पाँचौँ शताब्दीदेखि भएको भन्ने उल्लेख छ ।

तराईमा कोजाग्रत पूर्णिमामा खास गरेर नवविवाहित मैथिली ब्राह्मण र कायस्थका घरमा ससुरालीबाट पानमखान सहितको पाहुर लैजाने परम्परा छ । यस क्रममा साला र भेनाजुबीचको पासा खेल रोचक हुने गर्छ भन्ने सुन्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप