मुस्ताङका होटेल प्याक, बुकिङ गरेर मात्रै जान आग्रह

पोखरा । पर्यटकीय जिल्ला मुस्ताङका होटेल भरिभराउ भएका छन् । दसैँको छेकोमा आन्तरिक पर्यटक बढेका कारण होटलहरु प्याक भएका हुन् । होटेल पूर्व बुकिङ गरेर नगएकाहरू मुस्ताङबाट रातारात फर्किने गरेका व्यवसायीहरूले बताए । ‘कोठाहरू प्याक छन् । धेरैले अग्रिम बुकिङ गरेर आउँछन्,’ घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन भन्छन्, ‘बुकिङ नगरि आएका पर्यटकले कोठा पाउन मुस्किल छ ।’
उनका अनुसार बिहीबार पर्यटक धेरै भएर केही पर्यटकहरू धर्मशालामा बसेर फर्किएका छन् भने धेरै पर्यटक म्याग्दीतर्फ झरेर बसेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबार मात्रै करिब ५ हजार ४ सय पर्यटक मुस्ताङ छिरेका थिए । ‘गाडीबाट ५ हजार १ सय भन्दा बढी आए । ९ वटा उडान भएको थियो । फ्लाइटबाट २ सय जति आए होला,’ डिएसपी भोज पाण्डेले भने, ‘पर्यटक खचाखच छन् । होटलहरु भरिएका छन् ।’
धेरैजसो पर्यटक अग्रिम बुकिङ गरेर गएका उनले बताए । ‘दसैँको अवधि भएर पनि धेरै पर्यटक आएका हुन सक्छन् । यति धेरै पर्यटक आक्कलझुक्कल मात्रै पुग्छन्,’ उनले भने, ‘शुक्रवार केही पातलिएको छ ।’ मुस्ताङका होटलहरुमा करिब ५ हजार पर्यटक राख्न सक्ने क्षमता छ । माथिल्लो क्षेत्रमा बढी चिसो भएर हिउँ जम्न थालेको छ । ‘छोसेरमा तापक्रम माइनस ७ पुगिसक्यो । मुक्तिनाथमै पनि रातमा माइनस २ पुग्यो,’ पाण्डेले अघि थपे, ‘अब जम्ने समय सुरु भयो ।’ बढी चिसो भएका कारण माथिल्लो क्षेत्रमा पर्यटकको आउजाउ बिस्तारै घट्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा