दुर्गा प्रसाईं रबिन हुड र हर्कुलसका नेपाली डमी हुन् ?
उहिले नै उहिले धेरै नै पहिले बेलायतमा रबिन हुडको खुब चर्चा हुन्थ्यो । सन् ११०० देखि सन् १६०० सम्म रबिन हुडको कथा नजान्ने बिरलै थिए । उतिबेला बेलायतका धनी सम्पन्न सामन्त जमिनदारले गरिबमाथि शोषण, उत्पीडनको उत्पात मच्चाएका थिए । भनिन्छ, गरिबहरूमाथि जमिनदारको अत्याचारले त्यसबखत सीमा नाघेको थियो । यस्तैमा गरिबहरूको पक्षमा मद्दतगार भएर एउटा पात्रको जन्म हुन्छ, उसको नाम हो रबिन हुड ।
बाल्यकालसम्म रबिन हुडले आफैँ जमिनदारको अत्याचार खेपेका थिए । यसैले उनमा जमिनदार विरुद्ध बदला लिने भावना सानैदेखि जागृत भएको थियो । त्यसैले युवा उमेर हुनासाथ जमिनदारको सम्पत्ति लुटपाट गर्न थाले । र, लुटेको सबै सम्पत्ति गरिबलाई बाँडिदिन्थे । रबिन हुडको विद्रोहका बारेमा तिलस्मी कहानी किताब लेखिएका छन् । विलियम लिङलेन्ड नामका एक लेखकले ‘द भिजन पियर्स प्लोमेन’ शीर्षकको किताबमा रबिन हुडले गरेको लुटपाटको कथा लेखे । रबिन हुड बेलायतस्थित नाटिङ्घमको सेरबुड जंगलमा बस्थे र गाउँमा आएर जमिनदारको सम्पत्ति लुट्ने गरेको कथा कथिएको थियो । बलिष्ठ र धनुकाँड चलाउन माहिर रबिनले जमिनदारमा कोकोहोलो नै मच्चाएका थिए । लुटेको सम्पत्ति बाँडेर गरिबको मसिहा नै भएका थिए ।
कथा अनुसार दाबी गरिएका तिथिमिति मिल्दैनन् । यस्तै एउटा दाबी अनुसार सन् १३७७ मा बेलायतको सेरबुड जंगलमा रबिन हुड भेटिएको प्रसंग आउँछ तर लगत्तै उनको जन्म सन् १६६० मा भएको अर्को दाबी छ । यसरी रबिन हुड नामक अनेक पात्र बनाएर शोषक जमिनदारको विरुद्ध काल्पनिक मनोवैज्ञानिक आतंक सिर्जना गरेको हुनसक्छ । उनलाई हिन्दु धर्मशास्त्रका धनुर्धर अर्जुनसँग पनि दाँजिएको छ । रबिन हुडले आफूूजस्तै धनुर्विद्यामा पारंगत ‘मेरियन’ नामकी केटीसँग प्रेम विवाह गरेका थिए । बुढ्यौलीमा रबिन हुड असाध्य रोगले थलिए । भनिन्छ, मर्नुभन्दा केही क्षणअगाडि उनले एउटा तीर दागे । जुन तीर खसेकै ठाउँमा उनलाई मरेपछि समाधिस्त गरियो ।
रबिन हुड कसका सन्तान थिए, कुन समुदाय वा विरादरीका थिए ? कुनै अत्तोपत्तो छैन । उनी जन्मिएको दाबी र विचरण गरेको समय पनि धेरै फरक छ । उनको कथामा आधारित दुई दर्जनभन्दा बढी चलचित्र, अनेक डकुमेन्ट्री, नाटक रचिएका छन् । रिसर्च पेपर लेखिएका छन् । लाग्छ उनी कुनै मिथकीय पात्र हुन् । रबिन हुडको कथा यति नै हो ।
रबिन हुडका नेपाली डमी
यो कथा यहाँ बिनाप्रसंग आएको होइन, पूर्वराजा ज्ञानेन्द्रका एक कारिन्दाले रबिन हुडसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तुलना गरेर सार्वजनिक अभिव्यक्ति दिएकाले आएको हो । तीनका अनुसार राजावादीलाई लागेको छ, दुर्गा प्रसाईं ढुंगा खोज्दा सिलाजित भेट्टाए सरह भएको छ । उनै प्रसाईंले गएको फागुन १ गतेदेखि ज्ञानेन्द्रकै आतिथ्यमा ‘क्रान्ति’ (वास्तविक भ्रान्ति) सुरुआत गरेका छन् । यसै सन्दर्भमा उनले आक्रामक ढंगले नेपालको वित्तीय व्यवस्थापनमा आएको समस्या उठाउँदै आएका छन् । नेपालको वित्तीय व्यवस्थापनमा देखिएको अव्यवस्था नौलो कुरो भने होइन । निजी बैंक, सहकारी र लघुवित्तको आर्थिक अनुशासनहीनताको पराकाष्ठा नै छ ।
सहकारीको ठगी धन्दा त आम भइसकेको छ । लघुवित्तले जनताको उठिबास लगाएको फेहरिस्त कैरन गरेर साध्य छैन । वित्तीय संस्थाको चक्रवर्ती सरहको ब्याज मिटर–ब्याजसरह छ भन्नु पनि अत्युक्ति हुन्न । यही मुद्दालाई सिरानमा राखेर यतिखेर उनको एकल अभियान चलायमान छ । हुन त उनले हिन्दु धर्मसापेक्ष, गणतन्त्रको खारेजी र राजतन्त्रको पुनस्र्थापनाको धर्म–राजनीतिक मुद्दा पनि उठाएका छन् तर उनको मुख्य अभीष्ट भने हिन्दु धर्मसापेक्ष राजतन्त्रको पुनस्र्थापना नै हो । अर्थात् रूपमा बैंक, सहकारी, लघुवित्तको चक्रवर्ती शोषणबाट मुक्त गर्ने उद्देश्य प्रसाईंंको देखिए पनि सारमा हिन्दु अधिराज्यको स्थापना हो । त्योभन्दा महत्त्वपूर्ण आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्नु हो । आफ्नो ऋण मोचन गराउने नाजायज उपक्रम हो ।
प्रसाईंले खोलेको विर्तामोडस्थित बीएन्डबी अस्पताल, क्यान्सर अस्पताल र होटल स्थापनार्थ लिएको अर्बौं ऋणबाट मुक्त हुने दुस्वप्न होइन भन्न सकिन्न । दुर्भाग्य जनताको नेतृत्व गर्ने दलले जनताको समस्या अनदेखा गरिदिनाले यस्ता पात्रको जन्म भएको हो । राजनीतिक दल जनताका दैनिकी देख्नबाट चुकेकै कारण प्रसाईं जस्ताका अभियानले महत्त्व पायो । उनको आगतको सम्भावना र विगतको नियत नहेरी आत्मरतिमा वित्तीय संस्थाबाट उत्पीडित समुदाय लागेका छन् ।
अन्यथा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा राजनीतिक दलको मुख्य नेतृत्वको शयन कक्षमा प्रसाईंको पहुँच पुगेकै थियो । आफ्नै भान्सामा मुख्य नेतालाई भुजा जुनार गराउने क्षमता प्रसाईं राख्थे । यतिसम्म कि पछिल्लो समय उनी नेकपा (एमाले) पार्टीको केन्द्रीय सदस्य थिए तर यति पहुँचले पनि उनको स्वार्थसिद्ध हुने नदेखेपछि ‘मर्ता क्या न कर्ता’ उनी न्वारनदेखिको बल निकालेर कुदेका हुन् ।
प्रसार्ईंले बैंक, सहकारी, लघुवित्तको शोषणलाई सार्वजनिक जानकारी र सतहमा ल्याएर राम्रो काम भने गरेका हुन् । यसरी नै राजस्वमारा, करमारा, माफिया केही व्यावसायिक घराना, भ्रष्ट राजनीतिज्ञको पोल खोलेर राम्रो गरेका छन् ।
प्रसाईंको व्यावसायिक जीवनको आरोह–अवरोह नजान्ने, देखिजान्ने, सुनिजान्ने बिरलै होलान् । कुनै बेला प्रसाईंले भैँसीपालन व्यवसाय गरेका थिए । भैँसीपालनकै सिलसिलामा लिएको ऋण ताकेता गर्दा सबै भैँसी फुकाएर बैंकको हाताभित्र हुलेर बैंक नेतृत्वलाई हावाकावा खेलाएको किस्सा झापामा प्रचलित नै छ । भैँसी उधारो खरिद गरेर भैँसी बिक्री गर्ने साहुलाई लखेटेको अर्को फन्डा पनि बनिबनाउ चर्चा नहुन सक्छ । अस्पताल बनाउँदा खरिद गरेको निर्माण सामग्रीको बक्यौता नतिरेको त सञ्चारमाध्यममा व्यापारीले बारम्बार कैरन गरेको सार्वजनिक नै छ । टाढा बस्नेका लागि प्रसाईं माओवादीमा लागेको मिसाइल लाग्न सक्छ तर प्रसार्ईं माओवादीमा निहित उद्देश्यका लागि वा निजी स्वार्थका लागि लागेजस्तो गरेका हुन् । उनको विगत जान्ने नजिकका सम्बन्धितहरू यही भन्छन् ।
प्रसार्ईंले बैंक, सहकारी, लघुवित्तको शोषणलाई सार्वजनिक जानकारी र सतहमा ल्याएर राम्रो काम भने गरेका हुन् । यसरी नै राजस्वमारा, करमारा, माफिया केही व्यावसायिक घराना, भ्रष्ट राजनीतिज्ञको पोल खोलेर राम्रो गरेका छन् । पोल खोलेकै कारण उनीमाथि अभद्र व्यवहार पनि भयो ।
मर्ने बेलामा सिन्कोको पनि सहारा हुन्छ भन्ने त प्रख्यातै छ । प्रसाईं जे जस्तो हुन्, सुगाले मानिसको बोली टिपे पनि सान्त्वना हुन्छ भनिन्छ । प्रसाईंको वर्तमान भूमिका यति नै हो । वित्तीय संस्थाबाट पीडित समुदाय यसै कारण जे जस्तो संख्यामा होस् उनको अभियानमा सहभागी भएकै छन् । जोगी, ढोँगी, कथित चमत्कारी बाबाहरूको पछि लाग्ने लस्कर भेटिने हाम्रो समाजमा प्रसाईंको पछि लाग्नुलाई अनौठो मान्नु पनि हुन्न ।
रहलपहल
विडम्बना जनताको यावत समस्याबाट राजनीतिक दल, नेता बेखबर छन् । अनेक भाँतीका कुकर्म, अनियमितता, भ्रष्टाचार, बेथितिले घर गरेको समयमा प्रसाईंको कलाविहीन नाटक मञ्चन भएको हो । प्रसाईंको यो अभियानले पीडितलाई न्याय दिने, उन्मुक्ति दिने वा यथार्थ निष्कर्षमा पुर्याउने शतप्रतिशत सम्भावना छँदै छैन । प्रसाईं उनले भनेजस्तै कुनै भुइँमान्छे, सर्वहारा वर्गको मुक्तिदाता बिल्कुलै होइनन् ।
उनको वर्गीय आधार र चरित्रले पनि भुँइमान्छे र सर्वहाराको प्रतिनिधित्व गर्ने अनुमति दिँदैन । उनी बेलायती मिथकीय पात्र रबिन हुड, ग्रिक मिथकका हर्कुलस र आधुनिक समयका अमेरिकन कमिक्सका पात्र स्पाइडर म्यान पनि होइनन् । यस्तो मिथक पात्रको प्रतिनिधित्व कल्पनाको संसारमा मात्र हुन्छ, वास्तविक भौतिक संसारमा हुँदैन । अलौकिक संसारमा मात्र होला । उनी बेलायती रबिन हुड, ग्रिक मिथकका हर्कुलस र अमेरिकी कमिक्सका स्पाइडर म्यानका कल्पनाका नक्कली डमी हुन् । वर्तमानमा उनको अभियानमा हेलिँदा आत्मरति वा मुतको न्यानो त होला तर समयमा हातमा लाग्यो शून्य नै हुनेछ । न भुतो न भविष्यतिः ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस