नागरिक समाजको भूमिका
नागरिक समाज राज्यको प्रकृतिभन्दा फरक तर सामाजिक राज्यको रूपमा रहन्छ भन्ने युनिभर्सल डिक्सनेरीमा उल्लेख छ । नागरिक समाजको आफ्नो छुट्टै दर्शन र आयाम छ । सरकार कतिपय मामलामा कठोर र हिंस्रक हुन्छ, सत्ता वैधानिक हत्याको लाइसेन्स भएको संस्था हो । यी सबका बाबजुद नागरिक समाज जुनसुकै किसिमको हिंसाको विरोधी र राज्य र सरकारको तर्फबाट बल प्रयोग गरिँदा बल प्रयोगको सिद्धान्तभन्दा बाहिर सरकार जाँदा खबरदारी गर्ने र अनावश्यक बलद्वारा गरिने हिंसा दमन र नियन्त्रणलाई नियोजन गर्ने सामाजिक स्वीकृतिप्राप्त जमात नागरिक समाज हो । सरकारलाई जिम्मेवार, जवाफदेही र देश र नागरिकप्रति उत्तरदायी बनाउने अभिभारा नागरिक समाजसँग रहेको मानिन्छ ।
समाजमा पिँधमा रहेको आवाज बोल्ने माध्यम हो । गरिब निमुखा असहाय र राज्यद्वारा दमनमा परेकाको संरक्षक हो । द्वन्द्व, युद्ध र हिंसा भड्कन लाग्दा मध्यस्थता गर्ने भरपर्दो आधार हो । इटालीका प्रसिद्ध चिन्तक ग्राम्सी राज्यको सुरक्षा कवचका रूपमा नागरिक समाजलाई लिन्थे । राज्यको बलियो ढालको रूपमा चित्रण गर्थे । प्रभुत्वशाली वर्गको विचारधारा प्रवर्द्धन गर्ने टुल्स भन्थे । उनी अर्गानिक बुद्धिजीवीको पक्षमा थिए । लोकतन्त्रको सुदृढीकरण, मानव अधिकारको रक्षा, कानुनी शासनको स्थापना स्वतन्त्र प्रेस र जनअधिकारका तमाम विषयलाई परख गर्ने, सामाजिक नैतिक मूल्य कानुनको मूल्य सुशासनका विषय, सुशासन लोकतन्त्रलाई बलियो बनाउने दायित्व नागरिक समाजको रहन्छ ।
प्रत्यक्ष रूपमा शासनमा सहभागी नहुने नागरिक समाज सत्ताको स्थायी प्रतिपक्षी हुनुपर्छ भन्ने आम मान्यता छ । राजनीतिक दलहरू बरालिँदा त्यसलाई ठिक ठाउँमा ल्याउने काम नागरिक समाजको हो । समाजको प्रबुद्ध वर्ग सधैँ नीति, थिति, विधि र नैतिकताको पृष्ठपोषण गर्ने वर्ग हो भनेर चिनिन्छ । राष्ट्रको असहज परिस्थितिमा विवेक प्रयोग गर्ने र थिंक ट्यांक बनेर राष्ट्रको असमञ्जस तोड्ने र सही निकासको मार्ग दिने काम नागरिक समाजमार्फत हुन्छ ।
राजनीति शास्त्रको भाष्य छ, सत्ता र प्रतिपक्षले मात्र राज्य अपुरो र अधुरो हुन्छ । राज्य प्रणालीको एक अविभाज्य अङ्ग नागरिक समाज पनि हो । हरेक समाजमा खबरदारी गर्ने, निगरानी गर्ने र दबाब दिने समूह हुन्छ । संस्थापनलाई खबरदारी गरेर जनपक्षीय निर्णय गराउन सरकारलाई बाध्य पार्ने एउटा सामाजिक स्वीकृति प्राप्त व्यक्तिहरूको समूह हो नागरिक समाज । यो कुनै वैधानिक निकाय नभए पनि प्रेसर ग्रुप नामले चिनिन्छ ।
नागरिक समूहले बोल्दा फरक पार्ने र राज्यलाई सोच्न बाध्य बनाउने सामाजिक वैधता र नैतिक भार वहन क्षमता यसमा हुन्छ । सत्ता पक्ष र प्रतिपक्षले मात्र न्याय प्रणाली चल्दैन । शक्ति सन्तुलनको अर्को पाटोमा नागरिक समाजको गहन भारलाई पनि अर्थ्याउनुपर्छ । पार्टीतन्त्र, नेतातन्त्र र वृद्धतन्त्रले चलेको समाजमा पार्टीहरू आपसमा मिलेर आफ्नो हितानुकूल मात्रै पनि काम गर्न सक्छन् । सत्तापक्ष र प्रतिपक्ष मिल्दा यदाकदा राष्ट्रघात हुने र नीतिगत भ्रष्टाचार बढ्ने, भएका भ्रष्टाचारमा पनि सबै मुछिएको कारण छानबिन नहुने र छानबिन भए पनि चोख्याउने र सफाइ दिने खालको जस्तो मात्र हुने आदि कारण पनि सत्ता पक्षलाई खबरदारी गर्न प्रतिपक्ष, प्रतिपक्षलाई पनि खबरदारी गर्न नागरिक समाजको सक्रियता र सामाजिक नेतृत्व आवश्यक देखिन्छ ।
नागरिक समाज भनेको कुनै राजकीय पदको अपेक्षा नराख्ने र विभिन्न सरकारी नियुक्तिमा आँखा नलगाउने स्वच्छ मन राखेर काम गर्ने आफ्नो क्षेत्रमा दख्खल रहेका र विज्ञता भएका प्रबुद्ध नागरिक समाजको जमात हो ।
दलहरूले आफ्ना गलत हर्कत, आसय र अभीष्टलाई वैधानिकताको खोल ओढाएर सही प्रमाणित र पुष्टि गर्ने जमर्को गर्न सक्छन् । त्यस्तो बेला प्रतिपक्षको रूपमा नागरिक समाजको चर्को आवाज र विमति चाहिन्छ । जस्तो २०५१ मा गरिएको महाकाली सन्धि सत्तापक्ष र प्रतिपक्षको एकै नाभी जोडिएको एक उदाहरण हो । गत वर्ष पारित एमसिसी परियोजना पनि पार्टीहरूको परोक्ष प्रत्यक्ष सम्बन्ध भएर पास भएको परियोजना हो ।
एमसीसी परियोजना एमाले वा माओवादीले चाहेको भए फेल गराउन सक्थ्यो तर एकार्कामा दोषारोपण गर्दै व्याख्यात्मक घोषणाको वैधानिक टालोले टालेर दलहरूले अन्ततः पास गरेरै छाडे । एमसीसी परियोजनाबारे प्राज्ञिक र बौद्धिकले जनसाधरणमा उचित तबरले बुझाउन सकेनन् । जसका कारण जनता आजपर्यन्त रनभुल्लमा छन् वास्तवमा एमसीसी परियोजना देश हितको पक्षमा छ कि विपक्षमा ? राजनीतिक दल र आफ्नो स्वार्थको पक्षमा पैरवी गर्ने बौद्धिकहरू पनि एमसीसीमा विभक्त बने र जनतालाई दिग्भ्रमित पारिरहे ।
नागरिक समाज भनेको कुनै राजकीय पदको अपेक्षा नराख्ने र विभिन्न सरकारी नियुक्तिमा आँखा नलगाउने स्वच्छ मन राखेर काम गर्ने आफ्नो क्षेत्रमा दख्खल रहेका र विज्ञता भएका प्रबुद्ध नागरिक समाजको जमात हो । दुर्भाग्य नेपालमा यस्ता नागरिक समाज कम सत्ता र आफ्नो स्वार्थको चंगुलमा फस्ने नागरिक समाज धेरै रहेको देखिन्छ । सत्ताले फ्याँकिदिने जुठोपुरो, हड्डी र हरियो घाँसमा लोभिनु र सत्ताले चाहे र खोजे जस्तो भाष्य निर्माण गरिदिनु आजका बुद्धिजीवीको विशेषता भएको छ ।
उनीहरूको अनेक आयाम हुन्छन् । जस्तो प्राध्यापकहरू, कलाकार, साहित्यकार, समाजसेवी, डाक्टर, इन्जिनियर, वकिल पत्रकार लेखक जसले समाजको आफ्नो क्षेत्रमा नाम राखेका लब्ध प्रतिष्ठित व्यक्तिहरूको समूह हो । जसको बोलीमा दम, निर्णयमा अडान र विवेकमा राष्ट्रहित प्रतिध्वनित हुन्छ । यी समूहका व्यक्तिहरू बोलेपछि त्यसको अर्थ निर्माण हुन्छ ।
कुनै पनि विषय उठान र बैठानमा उनीहरूको विचार, भावना र उद्देश्यलाई प्राथमिकीकरण गरिन्छ । यी समूहको जनस्तरमा पनि उत्तिकै श्रद्धा विश्वास र भरोसा रहन्छ । सत्ता र प्रतिपक्ष दुवैलाई ठीक बाटो देखाउने उज्यालोको रूपमा नागरिक समाज चिनिन्छ । देशको बृहतर हित नै जीवनको मूल मन्त्र र अभीष्ट राख्ने नागरिक समाज राजनीतिक दलको सिद्धान्त र नीतिले प्रभावित बन्दैनन् र बन्न हुँदैन भन्ने मान्यता छ । दलीय दाम्लो र अनुशासनको परिधि बाहिर रहेर नितान्त देशको हित र सुरक्षा गर्ने देशलाई उपयुक्त बौद्धिक ऊर्जा र तागत दिने व्यक्तिहरू नागरिक समाजका नामले पुकारिने व्यक्तिहरू हुन् ।
सरकारलाई जवाफदेही कसले बनाउने ?
राजनीतिक दलहरूका आ–आफ्ना स्वार्थ र एजेन्डा हुन्छन् । चुनावकेन्द्रित र दलीय स्वार्थकेन्द्रित नाराहरू हुन्छन् । प्रतिस्पर्धाको राजनीति गर्नुपर्ने भएकाले भोटरको भावना अनुसार पनि बोल्नुपर्ने र काम गर्नुपर्ने बाध्यात्मक परिस्थति बन्छन् । यस्तो बेला दलहरूले नकाम गर्ने र सानो स्वार्थका लागि काम गर्ने गर्न सक्छन्, त्यसैले यस परिस्थितिमा सरकार र राजनीतिक दललाई काबुमा राख्न नैतिक तागतसहित नागरिक समाज उपस्थित भएर सरकार र पार्टीहरूलाई जवाफदेही बनाउन सक्नुपर्छ । धार्मिक, सांस्कृतिक, भाषिक, सामाजिक, भौगोलिक बहुलताको प्रतिनिधित्व गराउने तर जातीय धार्मिक र साम्प्रदायिक भावना र एकाधिकारवाद सरकारको अति रोक्ने काममा भने यो समूहको खाँचो पर्छ । दलहरू नैतिक रूपले कमजोर भएका बेला दललाई निरन्तर निगरानी, सरकारलाई खबरदारी र नेताहरूलाई चेतावनी दिने काम नागरिक समाजको हो ।
गैरराजनीतिक तर सामाजिक भावना
दलहरूलाई दबाब दिन खबरदारी गर्न नागरिक समाज । जागरुक नागरिकहरूको समूह हो नागरिक समाज जो संगठित वा असंगठित हुन्छ । राष्ट्रको बलियो किल्ला हो जसले नागरिकले पाउनुपर्ने हक–अधिकार र निभाउनुपर्ने कर्तव्यबारे पनि सबैलाई सतर्क, सजग र चेतनशील बनाउँछ । गैरराजनीतिक, गैरनाफामूलक र गैरसरकारी भएर राष्ट्रको पक्षमा जनहितको वकालत गर्नु यिनीहरूको धर्म हो । राजनीतिक दलको मखुण्डो ओढेको नागरिक समाज होइन देशको माया गर्ने विधि र पद्धतिलाई जीवनशैली बनाउने, दलीय रूपमा विभाजित हुने होइन दल भन्दामाथि देश बोक्ने नागरिक समाज र प्रबुद्ध वर्ग आजको देशको आवश्यकता हो ।
नागरिक समाजको महत्त्व र गरिमा यथेष्ट छ । सच्चा नागरिक समाज बन्दा देशले जनताले प्रशस्त लाभ लिन सक्छन् । पारदर्शिता र उत्तरदायित्व खोज्ने गहन भूमिका नागरिक समाजको पहिलो सर्त हुनुपर्छ । राजनीतिशास्त्रमा एउटा भनाइ छ ः ‘एउटा मौन र आज्ञापालक नागरिक समाजले तानाशाही जन्माउन मद्दत गर्छ भने ज्वलन्त सक्रिय नागरिक समाजले लोकतान्त्रिक र संवेदनशील राज्य सुरक्षित गर्छ ।’ नेपाल लोकतान्त्रिक र संवेदनशील राज्य सुरक्षित गर्ने नागरिक समाजको खोजीमा छ । नागरिक आवाजमा गहनतम सामाजिक मूल्य, नैतिक प्रस्थापना, अधिकार अनि कर्तव्यको संयोजन रहेको मानिन्छ ।