शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तितेपातीबाट तेल

फालिएको तितेपातीबाट आकर्षक आम्दानी, लिटरकै १० हजारमा बिक्छ तेल

शुक्रबार, १० कात्तिक २०८०, १३ : ०६
शुक्रबार, १० कात्तिक २०८०

पोखरा । फ्रान्सेली नागरिक माउरिस हार्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि उनी हिँडेको बाटो पर्यटकीय रुट बन्यो । घान्द्रुक यसै पर्यटकीय गाउँ बनेको होइन । हार्जोगको टोलीले अन्नपूर्ण आरोहण गरेर पुस्तक लेखेपछि यो रुटमा पर्ने गाउँहरुमा चहलपहल बढ्यो ।

हार्जोगकै पाइला पछ्याएर पर्यटकहरु अन्नपूर्ण बेसक्याम्पतिर लागे । त्यस लगत्तै घान्द्रुकबाट नेपाल सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सञ्चालन ग¥यो ।

एक्याप गण्डकी प्रदेशका ५ जिल्लाका १५ पालिकामा फैलिएको छ । बिस्तारै हिमालको फेदीसम्म पुग्ने बाटो राम्रो बनाउन थालियो । नेपालको पदयात्रा पर्यटनको विकासमा हार्जोगको योगदान अतुलनीय छ । पर्यटकहरुसँग भुल्न थालेको घान्द्रुक बिस्तारै मोडियो । पर्यटन छँदै थियो, उनीहरु बेलायती र भारतीय सेनामा भर्ती हुन थाले । बेलायती सेनामा भर्ती हुने क्रम पछिल्लो समय अलि बाक्लियो ।

image7घान्द्रुकबाट बेलायती सेनामा भर्ती नभएको घर सायदै होला । जवानहरु बेलायत गएपछि परिवारले पनि थातथलो छोडे । ब्रिटिश सेनामा भर्ती हुने क्रमसँगै रित्तिएको गाउँ र बाँझिएको जमिनमा तितेपाती भरियो । त्यसपछि घान्द्रुकका अगुवाहरुले गज्जवको जुक्ति निकाले, तीतेपातीबाटै तेल निकाल्ने ।

गाउँ बाहिर रहेका र खासगरी बेलायतमा रहेका पूर्व बेलायती सैनिकहरुलाई समेटेर स्थानीयले १ करोडभन्दा बढीको सामूहिक लगानीमा तितेपाती प्रशोधन केन्द्र स्थापना गरेका छन् ।

image4

अगुवा पूर्ण गुरुङ रित्तिएको गाउँमा युवालाई रोक्न र विदेशिएकालाई गाउँ फर्काउन तितेपाती प्रशोधनलाई जोड दिएको बताउँछन् । ‘बजार जाने र विदेश पलायन हुँदा जग्गा सबै बाँझो भयो । ती जग्गामा अहिले तितेपाती उम्रिएको छ,’ उनले भने, ‘प्राकृतिक रुपमा उम्रिएका छँदैछन् । यसलाई खेती नै गर्नुपर्छ भनेर गाउँलेलाई सिकाएका छौँ ।’

tel

तितेपातीसँगै अर्गानिक खेतीमा पनि समूह लागिरहेको छ । ‘७० रोपनी जग्गा लिएर अर्गानिक खेती गर्न थालेका छौँ । सबै जग्गा पूर्व गोर्खा सैनिकहरु र उनीहरुको परिवारको हो,’ पूर्ण भन्छन्, ‘नेपालमा जग्गा भएको र बेलायतमा बसोबास गर्नेहरुको जग्गा बढी छ ।’

स्थानीयहरुले हिमालय एग्रो तथा जडीबुटी बहुउद्देश्यीय कृषक समूह दर्ता गरेका छन् । सोही समूहले तितेपातीलाई प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गरेको हो । कृषि विज्ञ डम्बर गुरुङका अनुसार ५ सय किलो तितेपातीबाट १ लिटर सुगन्धित तेल उत्पादन हुन्छ र यो तेल निकै महँगो मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ ।

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि गाउँलेबाट प्रतिकेजी ४ रुपैयाँमा तितेपाती खरिद गरिएको छ । तितेपातीको तेलले चर्म रोग लगायतका विभिन्न रोग निर्मूल पार्ने विज्ञहरू बताउँछन् ।

घान्द्रुकमा निर्माण गरिएको प्रशोधन केन्द्रबाट असोज २१ गतेदेखि तेल निकाल्न थालिएको हो । अहिलेसम्म ७० लिटर भन्दा बढी तेल उत्पादन भइसकेको छ ।

Untitled-1

उनीहरुले उत्पादन गरेको तेल बुटवलमा श्याम आचार्यलाई बिक्री गर्ने गरेका छन् । श्यामले पनि बुटवलमा प्रशोधन केन्द्र चलाइरहेका छन् । उनले जापान लगायत देशमा निर्यात गर्छन् । श्यामले वर्षमा ५ सय लिटर मागेका छन् । प्रतिलिटर १० हजारका दरले बिक्री गर्ने सम्झौता भएको छ । वर्षमा ७ महिना जति प्रशोधन केन्द्रलाई तितेपातीको अभाव नहुने सहकारीका सचिव समेत रहेका पूर्णले बताए ।

‘घान्द्रुकमा त जता हे¥यो उतै तितेपाती छ । मेसिन चल्दासम्म तितेपाती अभाव छैन,’ उनले भने, ‘वर्षमा ७ महिनासम्म चलाउन सकिन्छ । त्यसपछि तेल सम्बन्धी जडीबुटी रोप्ने र अर्गानिक खेती गर्ने तयारी छ ।’

प्रतिलिटर तेल निकाल्न ६ हजारजति खर्च निस्किन्छ । सुरुमा मेसिन चलाउन चितवनबाट अपरेटर लगेर गाउँका २ जनालाई सिकाएका छन् । गाउँका युवाले सिकेपछि अहिले उनीहरुले नै चलाइरहेका छन् । उनीहरुलाई प्रतिव्यक्ति १७ हजार ३ सय रुपैयाँ तलब दिइएको छ । सहकारीमा ७० जना शेयर सदस्य छन् । त्यसलाई विस्तार गर्ने र सबै गाउँलेलाई समेट्ने योजनाका साथ काम गरिरहेको सञ्चालकहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप