भीआईपीलाई पक्रिने पूर्व डीआईजी
काठमाडौं । काठमाडौँ उपत्यकामा भएका ठुला आन्दोलनमा सधैँ भिड नियन्त्रणका लागि अग्रमोर्चामा खटिन्थे माधव थापा । नेपाल प्रहरीमा २०३५ सालमा भर्ना भएका थापाले २०३६ सालको विद्यार्थी आन्दोलनबाट उपत्यकामा भिड नियन्त्रणको मोर्चा सम्हालेका हुन् । असईबाट सशस्त्र प्रहरी बलको एसएसपी हुँदासम्म उनी फिल्डमा ‘लाठीचार्ज’ गरिरहेको भेटिन्थे ।
ठुला र चुनौतीपूर्ण प्रदर्शन नियन्त्रण गर्न माधव थापा संगठनको ‘भर’ थिए । सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)बाट अवकाश पाएका माधव थापाले रत्नपार्क र माइतीघरमा भीआईपीहरुसँग मुकाबिला गरे । अवकाशको जिन्दगी बिताइरहेका उनी भन्छन्, ‘पूर्व प्रधानमन्त्री गिरिजाप्रसाददेखि अहिलेका राष्ट्रपतिसम्मलाई मैले आन्दोलनबाट पक्राउ गरेको थिएँ ।’
इलाममा जन्मे–हुर्केका थापा किशोर अवस्थामा काठमाडौँ आए । आफन्तहरु धेरै सेनामा थिए । आफन्त र नातेदारले लगाएको ‘सैनिक बर्दी’ले उनलाई फौजमा आकर्षित गरिसकेको थियो । विद्यार्थीकालमा झापामा पिकनिक जाँदा माधव र उनका दौंतरीहरुलाई प्रहरीले पक्राउ गर्न खोज्यो । निहुँ थियो– सार्वजनिक स्थलमा होहल्ला गरेको ।
त्यहाँबाट फर्किएपछि उनले प्रहरी सहायक निरीक्षकको फारम भरे । माधवलाई लाग्यो– प्रहरी सहायक निरीक्षक भन्ने ‘सई’ हुनुपर्छ ।
सँगै पढ्ने ५ जनाले फारम भरे । तर, माधव थापा र शरद शर्मामात्रै पास भए । असईमा भर्ना भएको ३ वर्षमा माधव प्रनानि (सई)मा बढुवा भए । माधव सम्झन्छन्– त्यसबेला छिटो प्रमोशन हुन्थ्यो ।
जागिर अवधिभर माधवले काठमाडौँ छाड्नु परेन । कारण एउटै थियो, उनी भिड नियन्त्रणमा ‘अब्बल’ अफिसर हुन् । आफ्नो ३० वर्षको करिअरमा थापाले २२ वर्ष ‘नगर प्रहरी’मा बसेर काम गरे । भृकुटीमण्डपमा कार्यालय रहेको नगर प्रहरी भिड नियन्त्रणमा नेपाल प्रहरीको ‘विशेष युनिट’ मानिन्छ ।
नगर प्रहरीमा त्यसबेला १२५ जनाको युनिट थियो । तर, त्यहाँबाट खटिने १० जना प्रहरीले अन्यत्रबाट खटिएका २ सय जना बराबरको रिजल्ट दिन्थे । भिड नियन्त्रणमा सो युनिट कहलिएको थियो ।
काठमाडौँको हनुमानढोका, थानकोट, सिन्धुपाल्चोकको तातोपानी र ट्राफिक प्रहरीमा दरबन्दी कायम भए पनि उनी त्यहाँ जानु परेन । थापा भन्छन्, ‘त्यति लामो समय कोही पनि नगर प्रहरीमा बस्न मान्दैनन् ।’
बाँकी ८ वर्ष थापाले सशस्त्र प्रहरीमा बिताए । सशस्त्र प्रहरी स्थापना हुँदा २०५८ मा त्यहाँ गएका उनी डीआईजी पदबाट अवकाश भए ।
२०६२–०६३ को आन्दोलनमा माधव थापा गोंगबु क्षेत्रको आन्दोलन नियन्त्रणमा खटिए । त्यसबेला एसएसपी रहेका थापा आफैँ राइफल बोकेर सडकमा खटिन्थे । धुम्बाराहीस्थित घरको भित्ताभरि उनले आन्दोलनमा आफूले गरेको अपरेशनको फोटो सजाएका छन् । भित्तामा पूर्वराष्ट्रपति विद्या भण्डारीदेखि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासम्मलाई उनले पक्राउ गरेको तस्बिर छन् । अप्रेसनमा पोख्त थापा जहाँ अप्ठ्यारो त्यहीँ खटिन्थे ।
२०६२÷०६३ मा गोंगबुमा आन्दोलनकारी तत्कालीन एआईजी रुपसागर मोक्तानको घरको पर्खाल भत्काएर प्रवेश गरेर आगो लगाउन थाले । नेपाल प्रहरीका एआईजी मोक्तान ड्युटीमा थिए । माधवलाई सशस्त्रका आईजीपी सहवीरको फोन आयो, ‘माधव ! गृहमन्त्रीसँग कुरा गर ।’
सहवीरले तत्कालीन गृहमन्त्री कमल थापालाई फोन दिए । थापाले माधवलाई भने, ‘तपाई तत्काल रुपसागरको घरमा पुग्नुस्, घर बचाइदिनुस् ।’
अनि, माधव थापाले गोंगबुमा गोली चलाए । भन्छन्, ‘ड्युटीमा भएको एआईजीको घर जलाउन थालेपछि त्यहाँ गोली चलाउनु परेन ?’
त्यसबेला अर्जुननरसिंह केसीको घरबाट पनि आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हान्न थाले । थापाले सडकबाट केसीको घरमा टियर ग्याँस फाले । माधव भन्छन्, ‘तर, केसी परिवारसँग मेरो राम्रो छ ।’
प्रमोशनबाटै इन्स्पेक्टर
माधव इन्स्पेक्टरको लिखित परीक्षाको तयारी गर्दै थिए । तत्कालीन आईजीपी रत्नशमशेर राणाले उनलाई बोलाएर सोधे, ‘के गर्दै छौ ?’
थापाले भने, ‘इन्स्पेक्टरमा लिखितमा जाँच दिन तयारी गर्दै छु ।’
रत्नशमशेरले उनलाई फेरि भने–‘म तिमीलाई लिखितको रिजल्ट आउनुअघि नै इन्स्पेक्टर बनाउँछु ।’
त्यसपछि माधव थापा इन्स्पेक्टरमा बढुवा भए । त्यो ०४५ को कुरा हो । इन्स्पेक्टर बनेको ५ वर्षपछि थापा डीएसपीमा बढुवा भए । असईबाट प्रहरीमा प्रवेश गरेका थापा बढुवाबाटै डीआईजीसम्म भए । यस्तो अवसर बिरलै हुन्छ ।
अहिले बढुवा हुन शक्तिकेन्द्रमा धाउने चलन छ । तर, त्यतिबेला बढुवामा चलखेल र अस्वस्थ प्रतिस्पर्धा नभएको बताउँछन् थापा । उनी भन्छन्, ‘बढुवा र सरुवा पारदर्शी हुन्थ्यो, आईजीपी सर्वेसर्वा हुन्थे ।’
थापा धादिङमा इन्चार्ज (डीएसपी) थिए । माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि सरकारले सशस्त्र प्रहरी बल गठन गर्ने निर्णय लियो । रामकाजी बान्तवाले माधव थापालाई भने, ‘म भोलि सशस्त्रको आईजीपी बन्दैछु, तिम्रो नाम पनि राखेको छु, सशस्त्रमा जानुपर्छ ।’
माओवादी बिरुद्धको अपरेशनमा खटिएका थापाले एआईजी बान्तवालाई जवाफ दिए, ‘तयार छु हजुर ।’
तर, भोलिपल्ट परिस्थिति नै अर्को भयो । कृष्णमोहन श्रेष्ठ सशस्त्रको आईजीपी नियुक्त भए । एकै रातमा परिवर्तित नतिजा आयो । बान्तवा राजीनामा दिएर घर हिँडे । सशस्त्रमा जानेबारे माधव अलमलमा परे । सशस्त्र स्थापना भएको महिना दिनपछि आईजीपी कृष्णमोहन एक दिन पुलिस क्लवमा आए । त्यहाँ माधव थापा टेनिस खेल्दै थिए । कृष्णमोहनले भने, ‘सशस्त्रमा आएर तिमीले मलाई सहयोग गर्नुपर्छ ।’
त्यसपछि माधव राजी भए । एक महिनापछि सशस्त्रमा गएर उनले एसपीको फुली लगाए । त्यतिबेला सशस्त्रमा जानेलाई एक तह प्रमोशन गर्ने कानुनी व्यवस्था थियो । उनी भन्छन्, ‘त्यहाँ मेरो खुसीले गएको होइन ।’
फिल्ड कमाण्डर
माधव थापा फिल्डको ‘अब्बल’ कमाण्डर हुन् । फौजमा अनुसन्धान र प्रशासन सञ्चालनको झन्झट उनले बेहोर्नु परेन । २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन, ईराक हत्याकाण्डपछि काठमाडौँमा भएको प्रदर्शन, ऋतिक रोशन काण्ड र २०६२-०६३ को दोस्रो जनआन्दोलनमा काठमाडौँमा मानव सागर उर्लिएको थियो । ती ठुला प्रदर्शनलाई नियन्त्रण गर्न माधव थापा काठमाडौँको सडकमा उत्रिए । लाठीचार्ज गरे, गोली चलाए तर संयम गुमाएनन् ।
दङ्गा नियन्त्रण गर्न माधव थापा फिल्डमा उत्रिएपछि प्रदर्शनमा जाने भीआईपीहरु पनि सचेतता अपनाउँथे । अवस्था यस्तो बन्यो कि भिड नियन्त्रणमा माधव अपरिहार्य भएपछि उनले युएन मिशन र विदेशका तालिमहरु गुमाए । अमेरिकाको हवाई तालिमका लागि एयरपोर्ट पुगेपछि आईजीपीको फोन आएर त्यहीँबाट फर्केको किस्सा पनि सुनाउँछन् माधव थापा ।
उनी भन्छन्, ‘अमेरिका जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थिएँ, एमालेले दङ्गा सुरु गरेपछि आईजीपी सहबीर थापाले तिमी क्यान्सिल गरेर फर्क भन्नुभयो, म फर्किएँ ।’
२०३६ सालको विद्यार्थी आन्दोलनमा असई हुँदा डा. मिनेन्द्र रिजाल र बलबहादुर केसीहरुसँग अमृत साइन्स क्याम्पसमा ‘लुकामारी’ गरेका माधव जनआन्दोलन २०४६ मा इन्स्पेक्टर थिए । पहिलो जनआन्दोलनमा जहाँ अप्ठ्यारो, त्यहाँ माधव थापा हुन्थे ।
तत्कालीन राजा ज्ञानेन्द्रले पनि आफ्नो सवारीमा माधव थापाबारे चासो राख्ने गरेका थिए । माधव भन्छन्, ‘राजा ज्ञानेन्द्रले आईजीपी सहबीर थापालाई सवारीमा माधवलाई खटाउनु भनेको टेप नै छ ।’
उपत्यकामा विद्यार्थीले गर्ने प्रदर्शन नियन्त्रण गर्नु ‘चुनौतीपूर्ण’ हुने थापाको अनुभव छ । उनी भन्छन्, ‘नेताहरु संयम हुन्छन् तर, विद्यार्थी आन्दोलन नियन्त्रण गर्न चुनौतीपूर्ण हुन्छ ।’
लुबुचे हिमालमा शेर्पाहरुले अमेरिकी पर्यटकलाई घेरेर बन्धक बनाएको खबर आएपछि प्रहरी प्रधान कार्यालयले उद्धार गर्न माधव थापालाई पठाउने भयो । थापा हेलिकप्टरमा हतियार लिएर लुबुचे पुगे । ‘लुबुचेबाट अमेरिकीलाई उद्धार गरेर फर्किएँ,’ थापा सम्झन्छन् ।
माधव थापाको एउटा सिद्धान्त थियो– आफू मरेर ‘डेड हिरो’ हुनुहुन्न । त्यसैले उनी प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरीको एसएसपी हुँदासम्म राईफल लिएर सडकमा निस्किए । टीकापुर घटनाबारे थापा भन्छन्, ‘म त्यहाँ भएको भए लाठीचार्ज गरेर बाच्थेँ ।’
माओवादीले गरेको सशस्त्र विद्रोहमा लुक्ला विमानस्थलमा आक्रमण गर्न लागेको खबर फैलियो । संगठनले उनलाई हेलिकप्टरमा लुक्ला पठाउने निर्णय लियो । माधव भन्छन्, ‘लुक्ला पर्यकटको मुख्य गन्तव्य थियो, पर्यटकीय क्षेत्र सखाप हुन्छ भनेर त्यहाँ मलाई पठाएको थियो ।’
माओवादीले हान्ने हल्ला फैलिएपछि काठमाडौँको बल्खु, थानकोट, साँखु र ललितपुरको भट्टेडाँडामा सुरक्षार्थ खटिए माधव । भट्टेडाँडाको टावर क्षति भए काठमाडौँबाट जहाज उड्न र अवतरण गर्न नसक्ने हुनाले टावरको सुरक्षार्थ उनी महिनौँ त्यहीँ बसेका हुन् ।
माओवादीसँग जम्काभेट
सशस्त्र विद्रोह उत्कर्षमा हुँदा माधव थापा धादिङ जिल्लाको इन्चार्ज थिए । त्यहाँ ५ पटक एम्बुसमा परेको घटना अहिले उनको मस्तिष्कमा ताजा छ । भन्छन्, ‘माओवादीले मलाई मार्न भनेर सात–आठ जनाको टिम खटाएको थियो ।’
२०५८ मा धादिङ जिल्लास्थित सुरक्षा फौजभित्र एउटा खबर फैलियो, ‘माओवादीले धादिङमा प्रहरी थाना हान्दैछन् ।’
माओवादीले जहाँ टार्गेट गरेका थिए, माधव त्यतै निस्किए । ‘खबर सुनेपछि बिहान ३ बजे उठेर २१ जनाको टिम लिएर निस्किएँ,’ उनी सम्झन्छन्, ‘खाल्टे भन्ने ठाउँमा पुगेपछि सबै डराए, म केटाहरुलाई पछडि राखेर आफू अघिल्लो पंक्तिमा हिँडेँ ।’
सबैको हातमा राइफल थियो । माधवले आफ्नो टोलीलाई भने, ‘हामी दुई जना गएर हेर्छौं, अनि तिमीहरु अघि बढ्नु ।’
माधव गएका मात्र थिए, विस्फोट भइहाल्यो । माधव भन्छन्, ‘कमाण्डर बिचमा हुन्छ भन्ने लागेर माओवादीले विष्फोट गराए तर म अगाडि थिएँ ।’
त्यहाँ सईसहित ५ प्रहरीले ज्यान गुमाए । काठमाडौँबाट दिपक थाङ्देन हेलिप्कटरमा शव लिन धादिङ गए । माधव लडाईंको मैदानमा थिए । थाङ्देनले माधवलाई भने, ‘तिमी सधैँ एम्बुसमा पर्छौ, हिँड काठमाडौँ ।’
माधवले जवाफ दिए, ‘सर, ५ जना मरेका छन्, सिपाही छाडेर जान्न, अपरेशन सकेरमात्र फर्किन्छु ।’
त्यसको केही दिनपछि घुमुवाले टोड्केमा माओवादीले बम बिछ्याएको खबर ल्याए । माधवको टिम धादिङको टोड्के पुग्दा फेरि एम्बुसमा प¥यो । तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्का र आईजीपी अच्युतकृष्ण खरेल हेलिकप्टरमा धादिङ गए । आईजीपीले भने, ‘हिँड् काठमाडौँ ।’ तर, माधव आएनन् ।
सशस्त्र युद्धमा र उपत्यकाको आन्दोलन नियन्त्रणमा माधव हतियार बोकेर निस्किन्थे । एसएसपी हुँदासम्म उनले आफैँ राइफल चलाए । ‘सिपाहीलाई हतियार दिँदा जथाभावी हान्छ, आत्तिन्छ,’ माधव भन्छन्, ‘त्यसैले टियर ग्याँस होस् वा गोली, मैले आफैँ चलाएँ ।’
स्वविवेकमा फायर
लाउडा प्र्रकरणमा गिरिजाप्रसाद कोइरालालाई छानबिन समितिले बयानका लागि बोलाएको थियो । गिरिजा बयान दिन जान मानेनन् । कांग्रेसले भद्रकालीमा प्रदर्शन थाल्यो । माधव थापालाई आदेश आयो, ‘गिरिजालाई जसरी पनि बयानका लागि आरएनएसीमा लैजानू ।’
घटना २०५१ सालको हो । थापाले कोइरालालाई भद्रकालीबाट पक्राउ गरेर आरएनएसपीमा लगेर समितिमा बुझाए । थापाले आफ्नो करिअरमा धेरै भीआईपीलाई पक्राउ गरेका छन् ।
२०६२÷०६३ मा माधवले लाठीचार्ज गर्दा गिरिजाप्रसाद घाइते भए । माधव भन्छन्, ‘पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई धेरै पटक पक्राउ गरेको छु ।’
राजनीतिक पार्टीका कार्यकर्तामात्रै सहभागीभन्दा ठुला नेता सहभागी प्रदर्शन नियन्त्रण गर्न सहज हुने थापाको अनुभव छ । भन्छन्, ‘कार्यकर्तालाई लाठीचार्ज गरिन्थ्यो, ठुला नेतालाई सलाम गरेर पक्राउ गरिन्थ्यो ।’
राजा वीरेन्द्रको सवारी थियो, मनमोहन अधिकारीले टिचिङ हस्पिटल अगाडि अनशन सुरु गरे । अनशन बस्नुको उद्देश्य थियो– राजाको सवारी रोक्ने ।
माधव थापा नेतृत्वको टिमले लाठीचार्ज गरेर अनशनस्थलबाट सबैलाई तितरबितर बनायो । झडपमा मनमोहन अधिकारी पनि घाइते भए । माधव भन्छन्, ‘मनमोहन अधिकारीलाई हामीले घरमा लगेर छाड्यौँ अनि, राजाको सवारी चलायौँ ।’
माधव थापा नेतृत्वमा काठमाडौँ उपत्यका कयौं पटक लाठीचार्ज भयो, गोली चल्यो । गोली चलाउँदा प्रमुख जिल्ला अधिकारीसँग आदेश लिन असम्भव हुने थापाको अनुभव छ । प्रमुख जिल्ला अधिकारीको आदेश कुरेर बस्दा लक्ष्मण न्यौपानेजस्तो दुर्घटनामा पर्ने बताउँछन् थापा । उनी भन्छन्, ‘प्रजिअबाट हामी पछि आदेश सदर गराउँछौँ, फिल्डमा कमाण्डरले स्वविवेकले गोली चलाउनुपर्छ ।’
जङ्गलमा लडाइँ भइरहँदा कमाण्डरले प्रमुख जिल्ला अधिकारीलाई खोज्न सम्भव नहुने थापाको अनुभव छ । उनी भन्छन्, ‘फिल्डमा सिपाहीलाई मार्न थालिसकेको अवस्था हुन्छ, फोन गर्ने सम्भावना पनि हुँदैन, त्यसैले स्वविवेकमा निर्णय गर्नुपर्छ ।’
२०६२-०६३ मा फोटो पत्रकार पनि माधवका सूचना हुन्थे । गोंगबुमा एक जना जवानलाई आन्दोलनकारीले मरणासन्न हुनेगरी कुटेको सूचना फोटो पत्रकारले थापालाई सुनाइदिए । उनी सम्झन्छन्, ‘जवानलाई मरेको सोचेर अन्दोलनकारीले फ्याँकेका रहेछन्, मैले रबर बुलेट हानेर भिडबाट सिपाहीलाई अस्पताल पठाएँ ।’
गोंगबुमा दुर्जकुमार राईसँगै खटिएका थिए थापा ।
विवाहको दिन पनि ‘लाठीचार्ज’
अच्युतकृष्ण खरेल २०३८ मा काठमाडौँ प्रहरी प्रमुख थिए । माधव थापाले आफ्नो विवाहका लागि एक दिन छुट्टी बस्ने प्रस्ताव गरे । तर, विवाहको दिन पनि उनलाई खरेलले भने, ‘पर्ख न पर्ख ।’
माधव थापा काठमाडौँको नेवार परिवारमा विवाह गर्दै थिए । त्यो दिन सम्झदै थापा भन्छन्, ‘न्यूरोडमा दिनभर लाठीचार्ज गरेँ ।’
साँझ चार–पाँच जना जन्ती लिएर माधव ठमेलस्थित बेहुलीको घरमा गए, बेहुली लिएर फर्किए ।
जेठो छोरो जन्मिँदा २०४२ मा थापा बमकाण्डको अप्रेसनमा खटिएका थिए । राजदरबारका ४ ढोका र संसद भवनसहित देशभर १४ ठाउँमा शक्तिशाली बम राखिएको थियो । अन्नपुर्ण होटल, पोखरा र विराटनगर एयरपोर्टमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नेतृत्वमा बम राखिएको थियो ।
बमकाण्डको अप्रेसनमा खटिएर छोरो जन्मेको दुई दिनपछि अस्पतालमा पुगेको सुनाउँछन् थापा । उनी भन्छन्, ‘पहिलो सन्तान जन्मिएको दुई दिनपछि पाटन अस्पताल पुगेँ ।’
कान्छो छोरा जन्मँदा २०४६ मा पनि थापा महाराजगञ्जमा अप्रेसनमा थिए । पंकज श्रेष्ठ महाराजगञ्ज वृत्तमा इन्स्पेक्टर थिए । आन्दोलनकारीले श्रेष्ठलाई ढुंगाले हानेर बेहोस बनाए, वृत्त जलाउन खोजे । माधव थापा नेतृत्वको टिम पुगेर त्यहाँ लाठीचार्ज गरी प्रदर्शनकारीलाई भगाए । उनी भन्छन्, ‘पंकज श्रेष्ठलाई अस्पताल लगियो, छोरो जन्मिएको दुई दिनपछि म डेरामा पुगेँ ।’
आन्दोलनको उभार आउँदा डटेर लड्ने निर्विकल्प कमाण्डर थिए माधव । २०४६ मा अञ्चल प्रहरी कार्यालयको अफिस हनुमानढोकामै थियो । शम्भु थापा अञ्चलको एसएसपी थिए । आन्दोलनकारीले हनुमानढोका कम्पाउण्डमा घेरा हालेर कार्यालयमा आगो लगाए । अहिलेको उपत्यका अपराध अनुसन्धान कार्यालभित्र आगो फैलियो । अञ्चलका एसएसपी शम्भु थापा भित्रै थिए ।
अच्युतकृष्ण खरेलले वाकीटकीबाट भने, ‘माधव ! तिमी तुरुन्त हनुमानढोका पुग्नू ।’ त्यसबेला माधव मंगलबजारमा लाठीचार्ज गर्दै थिए । हनुमानढोका पुग्दा दुई सय जना थुनुवा भगाएर आन्दोलनकारीले कार्यालयमा आगो लगाउँदै थिए । कम्पाउण्ड बाहिर प्रकाशनमान सिंह, हरिबोल भट्टराई र पदमरत्न तुलाधर भाषण गर्दै थिए । माधवले त्यहाँ गएर भने, ‘अब म गोली चलाउँछु, तपाईंहरु भाग्ने कि नभाग्ने ?’
प्रकाशनमानहरु भागेनन् । झडप भयो । गोली चलाएर माधवले आन्दोलनकारी भगाएर शम्भु थापालाई त्यहाँबाट उद्धार गरेर फर्किए । भन्छन्, ‘शम्भुका छोरा शैलेश पछि नेपाल प्रहरीको आईजीपी भए ।’
हेडक्वार्टरमा माओवादी आक्रमण
सशस्त्र विद्रोह तीब्र गतिमा फैलिँदै थियो । थानकोट चौकी आक्रमण गरेर माओवादीका लडाकु उपत्यका प्रवेश गर्न खोज्दै थिए । त्यस्तोमा सशस्त्र प्रहरी स्थापना भएको छोटो समयमै माओवादीले हलचोकस्थित सशस्त्रको हेडक्वार्टर आक्रमण गरे । त्यहाँ १ हजार फौज थियो तर, माओवादीले १७ राउण्ड फायर गरे ।
माधव थापा भक्तपुरमा एसपी थिए । आईजीपी कृष्णमोहनले फोन गरेर तुरुन्त आउन भनेपछि माधव दौडिए । उनी भन्छन्, ‘आक्रमणकारीलाई धादिङको बोर्डरसम्म लखेटेँ ।’
सशस्त्र प्रहरीले त्यसपछि धादिङ र काठमाडौँको सिमानामा अस्थायी पोष्ट नै राख्यो । अनि, त्यही रात माधव भक्तपुरबाट हेड्क्वार्टरस्थित विशेष कार्यदलमा सरुवा भए ।
दोस्रो जनआन्दोलनपछि मुलुकमा गणतन्त्र स्थापना भयो । आन्दोलन दमन गरेको आरोपमा माधव थापा निलम्बनमा परे । ६ महिनापछि माधवसँगै दुर्जकुमार राईको पनि निलम्बन फुकुवा गरियो । दुर्जकुमार सशस्त्र प्रहरीको आईजीपी भए । आईजीपीमा नियुक्त हुनासाथ दुर्जकुमारले उनलाई म्यासेज गरे, ‘दाइ ! मलाई आइजीपी बनाउनुभएकोमा धन्यवाद ।’
२०६६ सालमा माधव थापा अवकाशमा गए ।
अवकाश र सक्रियता
अवकाशपछि पनि माधव थापा उत्तिकै सक्रिय छन् । ४ बजे उठ्छन्, शारीरिक अभ्यास गर्न हलचोकस्थित सशस्त्र प्रहरी क्लवमा पुग्छन् । उनको कुकुर पाल्ने सौख छ । भन्छन्, ‘४ वटा कुकुर र दुई वटा बिरालो पालेको छु, तिनीहरुलाई भात पकाएर ५ बजे क्लवमा पुग्छु ।’
धुम्बाराहीस्थित घरमा ८ बजे फर्केर कुकुर र बिरालोलाई भात खुवाउँछन् । काग र परेवालाई पनि खाना खुवाउन सौखिन छन् माधव । साँझ ४५ मिनेट हिँडछन् । दिनभर के गर्नुहुन्छ भन्ने प्रश्नमा माधवले जवाफ दिए, ‘पढछु, चुप लागेर बस्दिनँ । अब किताव लेख्ने तयारी गरिरहेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली