श्रीलंकासामु निरीह बन्यो साविक विजेता इङ्ल्यान्ड

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको बिहीबार खेलिएको महत्वपूर्ण खेलमा साविक विजेता इङ्ल्यान्ड श्रीलंकासामु निरीह बनेको छ । पाँचौँ चरणको अन्तिम खेलमा पूर्वविजेता श्रीलंकाले साविक विजेता इङ्ल्यान्डलाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो ।
जारी विश्वकपमा पाँचौँ खेल खेलेको इङ्ल्यान्डको यो चौथो हार हो । पाँचौँ खेल खेलेको श्रीलंकाको भने यो दोस्रो जित हो । जितसँगै श्रीलंकाले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना प्राविधिक रुपमा जिवितै राखेको छ । चौथो हारपछि इङ्ल्यान्डको भने सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
बेंगलौरमा खेलिएको खेलमा इङ्ल्यान्डले टस जिती पहिले ब्याटिङ गर्दै ३३.२ ओभरमा अलआउट हुनुअघि एक सय ५६ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने २५.४ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ६० रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
श्रीलंकाको जितमा ओपनर ब्याट्सम्यान पाथुम निसानकाले अविजित ७७ रनको योगदान गरे । उनले ८३ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सदिरा समराविक्रमाले पनि टोलीका लागि अविजित ६५ रनको योगदान गरे ।
ऋाक्रामक रुपमा प्रस्तुत भएका सदिराले केवल ५४ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए । श्रीलंकासामु साविक विजेता इङ्ल्यान्डको ब्याटिङ र बलिङ दुबै फितलो देखिएको थियो । इङ्ल्यान्डका बलर डेभिड विलीले दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डका लागि कुनै पनि ब्याट्सम्यानले अर्धसतकसम्म बनाउन सकेका थिएनन् । चौथो नम्बरका ब्याट्सम्यान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाएका थिए । ओपनर जोनी ब्रेस्टो ३० रनमा पेभेलियन फर्किएका थिए ।
अर्का ओपनर डेविड मलान पनि २८ रनभन्दा अगाडि बढ्न सकेनन् । यसदेखि वाहेक इङ्ल्यान्डका लागि मोइन अली (१५ रन) र डेभिड विली (अविजित १४ रन) वाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन् ।
श्रीलंकाली टोलीका बलर लाहिरु कुमाराले तीन विकेट लिएका थिए । उनले सात ओभरमा केवल ३५ रन खर्चिए । कसुन रजिथा र एन्जेलो म्याथ्युजले पनि दुई—दुई विकेट हात पारे । यो जितपछि श्रीलंकाले जारी विश्वकपको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । जारी विश्वकपमा शुक्रबारदेखि छैठौँ चरणको खेल सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण