‘परिवारलाई भन्दा पनि पार्टी नेतृत्वलाई मेरो बिहेको बढी चिन्ता छ’
काठमाडौँ । प्रतिनिधि सभाकी सांसद सुनिता बराललाई सबैभन्दा मनपर्ने पेशा कानुन व्यवसायी थियो । त्यसैले, सोही विषय पढेर अधिवक्ताको लाइसेन्स लिइन् । तर उनको वकालत पेशा अघि बढेन । संयोगले उनी अहिले कानुन निर्माण गर्ने थलो छिरेकी छिन् । जनताका समस्या सरकारसम्म पुर्याउने र सरकारलाई जवाफदेही बनाउने कर्मका लागि संसद् भवनमा आइपुगेकी छिन् ।
विद्यार्थी राजनीति गर्दै स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी नेकपा एमालेको विद्यार्थी संगठनको अध्यक्ष हुँदै प्रतिनिधि सभा सदस्यको भूमिकामा अघि बढिरहेकी छिन् ।
झापाको गौरादहबाट मावि र प्लस टु तह गरेकी उनी स्कुल पढ्दै अनेरास्ववियूमा नजानिँदो ढंगले आबद्ध भइन् । उनी क्याम्पस कमिटीमा उपाध्यक्षसम्म भएकी थिइन् ।
२०६४ सालतिर गोग्राह कलेज विराटनगरमा स्नातक अध्ययन गर्दा नगर कमिटी सदस्य, नगर सचिव हुँदै नगर अध्यक्षको जिम्मेवारी पाइन् ।
उनका काका र बुवा विराटनगरमा बस्ने भएकोले पढाइलाई असर नगर्ने गरी संगठनमा काम गर्नका लागि हौसला दिने गरेका थिए ।
त्यतिबेला विराटनगरमा रहेका प्रत्येक प्लस टु कलेजमा विद्यार्थी संगठन निर्माणका लागि भूमिका खेलेको उनी स्मरण गर्छिन् । उनले भनिन्–‘मेरो राजनीतिले अलिकति पिकअप लिन थालेको विराटनगरबाटै हो ।’
उनी पूर्वाञ्चल विश्वविद्यालय कोटाबाट प्रतिनिधित्व गर्दै पोखरामा भएको १९ औँ महाधिवेशनबाट अनेरास्ववियु केन्द्रीय कमिटीको सदस्य भइन्, त्यसबेला रामकुमारी झाँक्री केन्द्रीय अध्यक्ष निर्वाचित भएकी थिइन् ।
स्नातकोत्तर तहको अध्ययनका उनी काठमाडौँ आइन् । अनामनगरमा मामाघरमा बसेर पढ्न कीर्तिपुर जान्थिन् । रत्नपार्कको पुरानो बसपार्कबाट अनामनगर जाँदा बाटो भुलेर धेरैपटक हराएको सम्झिदा अहिले पनि हाँसो उठ्छ रे ।
जनकपुरमा भएको संगठनको २० औँ महाधिवेशनबाट उनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्वाचित भइन् । सचिवालय सदस्य रहँदा उनले तीनवटा निजी विश्वविद्यालय पूर्वाञ्चल, काठमाडौँ र पोखरा विश्वविद्यालयको इन्चार्जको जिम्मेवारी निभाएकी थिइन् ।
अनेरास्ववियुको २२ औँ अधिवेशनबाट नवीना लामा अध्यक्ष भएको कमिटीमा उनी उपाध्यक्षमा निर्वाचित भइन् । २०७५ सालमा एमाले र माओवादी एकीकरण भएर नेकपा बनेपछि विद्यार्थी संगठनको स्वरूप पनि फेरियो । अनेरास्ववियूको उपाध्यक्ष रहेकी उनी केन्द्रीय सदस्यमा घटुवा भइन् । उपाध्यक्षबाट सदस्यमा झर्नुपरे पनि पार्टी एकताको प्रसंगले एकदमै उत्साहित रहेको उनी बताउँछिन् ।
पार्टीको पाको पुस्तालाई भन्दा पनि युवा पुस्तालाई एकीकृत र बलियो कम्युनिस्ट पार्टी नै चाहिन्छ भन्ने भए पनि पार्टी एकता सुखद नभएको उनको जिकिर छ ।
अनेरास्ववियूको केन्द्रीय अध्यक्षको जिम्मेवारी
नेकपा फुटेपछि पुनः अनेरास्ववियू बलियो बनाउनुपर्छ भनेर पूर्व मेचीदेखि महाकालीसम्म अभियान चलाएर संगठन विस्तार कामलाई अघि बढाउन सक्रिय भएकी बराललाई संगठनको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पनि जुर्योे ।
पार्टी नेतृत्वको निर्देशनमा ऐन महरले झन्डै ९ महिना अनेरास्ववियूको नेतृत्व सम्हाले । त्यसपछि २०७८ असोजमा भएको भेलाबाट बराल अध्यक्षमा चयन भइन् । उनलाई संगठनको महाधिवेशन गराउने जिम्मेवारी थियो ।
उनको टिममा १० जना त उपाध्यक्ष नै थिए, ३३ जनाको पदाधिकारी बनेको थियो । केन्द्रीय कमिटी ५३० सदस्यीय थियो । खासमा चैतको अन्त्यसम्म महाधिवेशन गर्नुपर्छ भनेर उनलाई म्यान्डेट दिइएको थियो । तर, वैशाखमा स्थानीय तहको निर्वाचन आएपछि पार्टीको निर्देशनअनुसार महाधिवेशन भएन ।
यसरी उनले झन्डै १५ महिना संगठनको अध्यक्षको भूमिका निर्वाह गरिन् । नेकपा फुटपछि कमजोर बनेको संगठनलाई एकातिर बलियो बनाउनु चुनौती थियो भने अर्कोतिर कोभिडका कारण देश ठप्प थियो । यस्तो बेला कहाँ महिलालाई नेतृत्व दिने भन्ने कुरा समेत आएको उनले स्मरण गरिन् ।
उनले भनिन्–‘अझैपनि नेतृत्वको कुरामा लैङ्गिक कुरालाई प्रधान बनाइन्छ । संगठन संरचनालाई व्यवस्थित गर्ने कुरामा दसौँ वर्षदेखि नभएका संगठनहरु निर्माण गर्ने, स्कुलदेखि क्याम्पस, जिल्लादेखि केन्द्रसम्म सबै संरचना निर्माण गरी छोटो समयमा स्ववियू निर्वाचन गर्ने वातावरण तयार गरेर महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नु मेरा लागि सुखद पक्ष थियो ।’
समानुपातिकको बन्द सूचीमा परेको समाचार हेरेर जानकारी
झापाबाट समानुपातिक तर्फबाट सांसद रहेकी उनले आफू समानुपातिकको सूचीमा परेको कुरा समाचार हेरेर मात्रै थाहा पाएको जिकिर गर्छिन् । रातोपाटीसँगको कुराकानीमा उनले भनिन्–‘त्यतिबेला अनेरास्ववियूको विधान अधिवेशनमा हामी व्यस्त थियौँ । त्यो बेला बन्दसूची पठाउने समय थियो । मैले कोही नेताहरूलाई एक शब्द भनेको पनि हैन । समाचर पढेपछि पो थाहा पाएँ ।’
बन्दसूचीमा उनको नाम सातौं नम्बरमा परेको थियो, त्यो नम्बरमा परेको सांसद हुन्छ कि हुन्न भन्ने निश्चित पनि नभएको उनले बताइन् ।
पार्टी अध्यक्ष झापाको भएकोले समानुपातिकमा त्यसको प्रभाव रहेको भन्ने हल्ला मात्रै भएको उनी बताउँछिन् । उनले भनिन्–‘साँच्चै भन्ने हो भने म अनेरास्ववियूको उपाध्यक्ष भएपछिमात्र अध्यक्षज्यूसँग वान टु वान चिनजान भएको हो । समूहमा भेट्ने, चिन्ने त फरक कुरा हो, उपाध्यक्ष नहुँदासम्म त उहाँलाई भेट्ने अवसर नै हुँदैनथ्यो । म अखिलको उपाध्यक्ष नहुँदासम्म उहाँले मलाई चिन्नु हुँदैनथ्यो ।’
पार्टीको केन्द्रीय कमिटि तथा सांसदमा आफूभन्दा कम उमेरका धेरै साथीहरु रहेको र उनीहरूलाई अघि बढाउन पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बरालको जिकिर छ ।
संसदीय अभ्यासमा असन्तुष्ट
सांसद हुनुभन्दा अगाडि तिनले उठाएका विषय सरकारले सुन्छ भन्ने लाग्थ्यो तर त्यसको ठिक विपरीत पाइन् । संसद्मा पुगेपछि सुरु–सुरुमा त त्यहाँको प्रक्रिया टुङ्ग्याउनका लागि गरिने अभ्यास, पक्ष, प्रतिपक्षहरूको भूमिका देखेर उनलाई छटपटी र निराश बनाउँथ्यो । सांसदहरूले उठाएको विषयमा सरकारको जवाफदेहिता नभएको, सरकारले जसरी सम्बोधन गर्नुपथ्यो, त्यसरी सम्बोधन नभएको उनले पाइन् ।
सांसदमा राजनीतिक विषय जति सामाजिक विषय, शिक्षाका विषयले प्राथमिकता नपाएको उनको अनुभव छ । सांसद बराल भन्छिन्–‘हामीले हाम्रा अभ्यासहरू अब परिवर्तन गर्नुपर्छ । संसद् चलाउने हाम्रो नियमावली पनि परिवर्तन गर्नुपर्छ । मेरो व्यक्तिगत चेतनाले यो राजनीतिक प्रणाली नै परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ । यो राजनीतिक प्रणालीबाट हामीले देशको भ्रष्टाचार नियन्त्रण गर्न पनि सक्दैनौँ ।’ उनलाई सांसदहरूले उठाउने कतिपय कुराहरू आफ्नो रेकर्डका लागि र आत्मसन्तुष्टिका लागि मात्र हो जस्तो पनि लाग्छ ।
संसद्को शून्य समय र विशेष समयमा बोलेका कुराहरू सरकारले फिटिक्कै नसुनेकोप्रति उनको गुनासो छ । संसद्मा उठेका कुराहरू सरोकारवाला मन्त्रालयमार्फत अनिवार्य सुनुवाइ हुनुपर्ने मोडालिटी बनाए मात्रै संसद् प्रभावकारी हुने उनको सुझाव छ ।
यस्तै सत्ताभन्दा बाहिर रहेका दलले गरेका राम्रा कुराहरूलाई सरकारले ग्रहण गरेर अघि बढाउन नखोज्ने राजनीतिक प्रणाली पनि ठिक नभएको उनको धारणा छ ।
मन परेको छैन संसद् अवरोध
प्रमुख प्रतिपक्षी दल एमालेले विभिन्न मुद्दाहरुलाई लिएर प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो । संसद् अवरोध गर्ने कार्यमा सांसद बराल पनि सहभागी भइन् । तर, संसद् अवरुद्ध गर्ने कुराले सुखद अनुभूति भने नभएको उनले बताइन् ।
बराल भन्छिन्–‘जवाफदेहिता हुनुपर्ने सरकारबाट त्यस्तो नहुँदाको स्थितिमा हामीसँगको अभ्यासको निरन्तरता र जवाफदेहितामा नैराश्यको स्थितिले संसद् अवरुद्ध गर्नुपर्ने अवस्था सिर्जना हुँदो रहेछ । बाहिर बसेर हेर्दा पनि मलाई संसद् अवरोध सुखद हुँदैनथ्यो, अहिले आफै सहभागी हुँदा पनि सुखद हुने कुरा भएन ।’
अहिलेको संसदीय प्रणाली र अभ्यासले यो समयको आवश्यकता पूरा गर्न सक्दैन भन्ने ठाउँमा आफू रहेको उनले बताइन् । उनी भन्छिन्–‘अहिलेको संसद्को गतिविधिले सन्तुष्ट हुनुपर्ने कुनै पनि गतिविधि देखिएको छैन । हामी कानुन निर्माण गर्न आएका हौँ तर यति धेरै महिना बितिसक्दा पनि केही गर्न सकेका छैनौँ । बल्ल बल्ल संसदीय समितिहरूले पूर्णता पाएका छन् । विडम्बना, समितिमा छलफल भए पनि मन्त्रीहरूमा जवाफदेहिताको जिम्मेवारी बहन हुन सकेको छैन ।’
नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा सांसदहरूले, सरकारले जुन भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यो हुन नसकेको उनको ठम्याई छ ।
आदर्श नेता : भण्डारी र ओली
बरालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो आदर्श नेताका रूपमा लिएकी छिन् । आफूले भौतिक रूपमा नदेखेका र नभेटेका मदन भण्डारी उनका अर्का आदर्श नेताका रूपमा रहेका छन् ।
उनले भनिन्–‘जननेता मदन भण्डारीका भाषणहरू दोहोर्याई सुनिरहेकी हुन्छु, उहाँले लेख्नुभएका विचारहरू पढिरहेकी हुन्छु । सफल कार्यक्रमका योजनाकारका रूपमा मनमोहन अधिकारीलाई पनि सम्झनुपर्छ । कम्युनिस्ट पार्टीको सदस्य हुनुको नाताले पुष्पलालदेखि सबै नेताहरूलाई सम्झिहाल्छु तर अहिले पार्टीको काम कारबाहीलाई हेर्दा जननेता मदन भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली मेरो आदर्श हुनुहुन्छ ।’
अबको गन्तव्य राजनीति मात्रै
स्कुले जीवन र प्लस टु पढ्ने बेला उनलाई कानुन व्यवसायी पेशा असाध्यै मन पर्थ्यो । कसैलाई केही समस्या प¥यो भने त्यहाँ गएर बोल्नुपर्छ, समाधानको उपाय खोज्नुपर्छ र आफू अग्रसर हुनुपर्छ भन्ने लाग्थ्यो । गाउँघरको परिवेशले पनि वकिल भएर काम गर्न रहर लाग्थ्यो ।
त्यसैले, उनले कानुन विषय पढेर अधिवक्ताको लाइसेन्स पनि हासिल गरेकी छिन् । कानुन व्यवसायीको अभ्यासमा नभए पनि त्यो पेशालाई आफूले निकै सम्मान गर्ने उनी बताउँछिन् ।
सांसद बराललाई जीवनमा सबैभन्दा खुसी सांसद बनेको बेला भन्दा पनि अनेरास्ववियूको अध्यक्ष हुँदा भएको थियो । संगठनको तल्लो तहबाट काम गर्दै जाँदा त्यही संगठनको नेतृत्वमा पुगेको बेला अधिक खुसीको क्षण भएको उनले स्मरण गरिन् ।
जीवनमा त्यस्तो दुःखको अनुभूति गर्न नपरेपनि अनेरास्ववियूको सचिवालयको दोस्रो कार्यकालमा आफूलाई जिम्मेवारी दिने कुरामा गरिएको व्यवहार आफ्नो राजनीतिक जीवनको दुःखदायी क्षण भएको उनले स्मरण गरिन् ।
उनले भनिन्–‘त्यतिबेलाको अवस्था अहिले सम्झँदा, मैले विनाकारण सजाय पाएको अनुभूति हुन्छ । महाधिवेशनमा पदाधिकारीमा उठ्न खोज्दा मैले रोजेको जिम्मेवारी दिने भनेर सचिवालयमै दोस्रो कार्यकालका लागि मलाई पछि सारिएको थियो । तर, अघिल्लो कार्यकाल भन्दा पनि दुई गुणा घटाएर जिम्मेवारी दिइयो । त्यसबेला राम्रो काम गर्दागर्दै पनि दण्डित गरिएको जस्तो मलाई अनुभूति भएको थियो ।’
राजनीतिक र सामाजिक जीवनको बाटो अँगालेपछि स्वाभाविक रूपमा गन्तव्य भनेको पार्टी नेतृत्वमा पुग्ने नै हो । उनको पनि लक्ष्य त्यही नै छ । अबको गन्तव्य राजनीति मात्रै रहेको उनको भनाई छ ।
बिहेबारे परिवारभन्दा पार्टीलाई बढी चिन्ता
राजनीतिक दौडधुपलाई प्रधानता र बिहे–घरबारलाई कम प्राथमिकता दिएकी बराललाई बेला बखत बिहेको प्रश्नले घेर्छ । नेपाली समाजमा अविवाहित पुरुष वा महिलालाई बिहेको प्रश्नले घेर्नु स्वाभाविक पनि हो ।
सांसद बराल भन्छिन्–‘बिहेको प्रश्नले त मलाई एकदम धेरै घेर्छ । परिवारबाट भन्दा समाजबाट बढी घेर्छ । पार्टी नेतृत्व वर्गले पनि चिन्ता व्यक्त गर्नुहुन्छ । म बिहे गर्नुहुँदैन भन्ने मान्यता लिएर बसेको पनि हैन । समय सन्दर्भले यो ठाउँसम्म पुर्याएको हो । यसले प्रेसर फिल गर्छे कि भनेर हो कि परिवारबाट सिधै त भन्नुहुन्न ।’
बिहेबारे कुनै तयारी नभएको बताउने बराल बिहेलाई एउटा संयोगको रूपमा लिन्छिन् । उनले भनिन्–‘बिहेका लागि अर्को साथी पनि चाहियो । संयोगले त्यस्तो जु¥यो भने बिहे नगर्ने भन्ने कुरापनि छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
हामीले पनि एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : प्रभु साह
-
५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई