विगतमा ‘डम्पिङ साइट’ बनेको गंगा सागर अहिले बन्यो रमणीय स्थल
जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्र मानिन्छ । यहाँ विश्व प्रसिद्ध जानकी मन्दिर, राम मन्दिर लगायत दर्जनौँ मठ–मन्दिर छन् । हिन्दुहरूको आस्थाको केन्द्र मानिने जनकपुरधाममा मठ मन्दिर बाहेक पनि ५२ कुटी र ७२ तलाउ सरोवरले गर्दा पनि पर्यटनको आकर्षणको केन्द्र बनेको छ ।
जनकपुरधाममा घुम्न आउने जो कोही साँझ गंगा आरती हेर्न रुचाउँछन् । यहाँ दैनिक हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको पर्यटन व्यवसायीहरूको अनुमान छ ।
७२ तलाउमध्ये जनकपुरमा रहेका गंगासागर, धनुषसागर, अंगराज सर, वाल्मिकी सर, रुकमिनी सर, दशरथ तलाउ लगायतका सरोवर छन् । सबै सरोवरका आ–आफ्नै विशेषता छन् । धनुषसागर, गंगासागरसहितका पोखरीमा स्नान गरेपछि मन पवित्र हुने तथा धार्मिक मोक्ष प्राप्त हुने जनविश्वास छ ।
जनकपुर सहरको केन्द्रमा अवस्थित सांस्कृतिक धरोहर गंगा सागरको अहिले कायाकल्प भएको छ । सहरमा अवस्थित अन्य सरोवरजस्तै ऐतिहासिक गंगासागर पनि कुनैबेला फोहोरमय थियो । अहिले जनकपुरमा अवस्थित ७२ तलाउ सरोवरमध्ये ७१ वटा डम्पिङ साइटको रूपमा परिणत भएको छ । २०७० साल फागुन ११ गते भन्दा पहिले गंगासागर पनि डम्पिङ साइटभन्दा फरक थिएन ।
नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष तथा मधेस प्रदेशसभा सदस्य राम अशिष यादवको अगुवाइमा गंगासागर विगतको ‘डम्पिङ साइट’ आज रमणीय थलो बनेको छ ।
२०७० साल फागुन १० गतेसम्म जहाँ मान्छे नाक थुनेर हिँड्न बाध्य थिए, त्यहाँ अहिलेको अवस्थामा आगन्तुकलाई एकछिन बसौँ–बसौँ जस्तो लाग्छ ।
यादवको अगुवाइमा २०७० फागुन ११ अभियान सुरु गरियो र तीन महिना लगाएर टनका टन फोहोर निकालियो । सरसफाइ कार्यमा सामाजिक अभियन्ता यादवसहित स्थानीय व्यवसायी, अधिकारकर्मी, पत्रकारहरू अग्रमोर्चामा खटिए । धनुषामा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अफिसर, जवानहरूले पनि त्यत्तिकै सहयोग गरे ।
उनीहरुले पूरै फोहोर हटाएपछि सफाइलाई निरन्तरता दिन गंगा आरती जल संरक्षण अभियान सुरु गरे । संस्कृति विस्तार र वातावरण संरक्षण एकसाथ हुने र गंगासागर सदा स्वच्छ रहने सोचका साथ गंगा आरती सुरु गरेको यादव बताउँछन् ।
हजारौँ धनुषावासीको सहभागितामा २०७२ जेठ २५ बाट बेलुकी ७ बजे नियमित रूपमा गंगा आरती सुरु भयो । मिथिलाका सुप्रसिद्ध मैथिली गायक सुनिलकुमार मलिकको संयोजन र स्वरमा रहेको भजन–प्रार्थना साँझ तलाउको एक कुनादेखि अर्को कुनासम्म गुञ्जिने गर्छ र आरतीमा सहभागी भक्तजनहरु सोही तरङ्गमा झुम्छन् ।
सरोवरको गंगा आरती हुने ठाउँको छेउमा राखिएको दानपेटीमा मासिक करिब ५० हजार रुपैयाँको हाराहारीमा रकम उठ्छ भने खर्च करिब ६५ हजार बराबरको रहेको सामाजिक अभियन्ता यादव बताउँछन् । गंगासागर जल संरक्षण र गंगा आरतीमा सरकारको एक पैसा पनि सहयोग नरहेको, सबै आम नागरिक र कर्मचारीहरूको स्वयंसेवाको देन रहेको बताउँछन् अभियन्ता यादव ।
यादव भन्छन्, ‘गंगासागरबाट सुरु भएको सरसफाइले मधेसका कयौँ जिल्ला लगायत देशमै सरसफाइको सन्देश दिएको छ । ‘ग्रीन जनकपुर क्लीन जनकपुर’ नाराको साथ सेभ द हिस्टोरिकल जनकपुरका अध्यक्ष यादवको अगुवाइमा सरसफाइ र गंगा आरतीबाट प्रेरित भएर विभिन्न ठाउँमा सरसफाइ अभियान चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल खुला विश्वविद्यालयका उपकुलपतिको अर्को मनोमानी : आफूखुसी २ जनालाई प्रोफेसरमा नियुक्त
-
सशस्त्रमा अवकाश हुन लागेका डीआईजीहरू म्याद थप्ने दौडमा
-
भीम रावलको प्रतिक्रिया– कारबाही निरंकुश, स्वेच्छाचारी र तानाशाही मनस्थितिको उपज
-
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुने
-
एसटीआई अध्यादेशले तोक्यो सहकारीको बचतको सीमा
-
बागमती प्रदेश लिग फुटबल : काठमाडौँको विजय सुरुवात