थारु डस्याको उल्लास : ढिक्रहुवादेखि सेतो टीकासम्म
धनगढी । हिन्दु धर्मलम्वीहरूको घर आँगनमा यतिबेला दसैँको उल्लास छाएको छ । यही क्रममा पश्चिम नेपालका थारु समुदायमा आफ्नै मौलिक विधि, प्रक्रिया र संस्कारअनुसार दसैँ अर्थात् ‘डस्या’को रौनकतामा झुमिरहेको छ ।
साहित्यकार छविलाल कोपिला भन्छन्–‘दसैँ र डस्या पर्व लगभग उही तिथि, उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वाभाविक हो । तर सामाजिक मूल्य मान्यता, विधि प्रक्रिया र यससँग जोडिएको मिथक हेर्दा भिन्ना भिन्नै रहेको छ ।’
आम हिन्दु धर्मावलम्बीहरूले देवता र दानवहरू बीचको लडाइँमा देवताहरूले विजयी प्राप्त गरेको हुनाले विजयी उल्लासका साथ मान्यजनहरूबाट रातो टीका लगाउने र दुर्गाको पूजा गरी मनाउँछन् । तर, उही तिथिमा थारु समुदायले आफ्नो पुर्खाहरूको दिवङ्गत आत्माले शान्ति पाओस् भनी पुर्खाहरूको सम्झनामा डस्या मनाउने प्रचलन रहँदै आएको साहित्यकार कोपिला बताउँछन् ।
थारु समुदायमा कुँवार (असोज) महिनाको औँसीको दोस्रो दिन डुटिया (चन्द्रमा) हेरेर तेस्रो दिन जमरा राखी डस्याको शुभारम्भ हुन्छ । जमरा कोरा मल्सी (प्रयोग न गरिएको माटोको भाँडा)मा राख्ने चलन छ । मल्सी नभए डेहुरारको पाटा (पूजा कोठा) माथि भुइँमा पनि राखिन्छ ।
यो समुदायले आफ्नो कुलदेवतालाई डस्यामा जेंउरा (जमरा) र बेबुरी (बाबरी) मात्रै चढाउँछन् । फूल चढाउने चलन छैन । उसो त थारु समुदायमा कुनै पनि पूजामा फूल चढाउने प्रचलन नै नभएको पनि साहित्यकार कोपिलाको दाबी छ । जुन संस्कार नै थारु जातिको मौलिक विशेषता भएको उनको तर्क छ ।
साहित्यकार कोपिलाका अनुसार थारु समुदायमा देउता नुहाउने काम तथा मर्नि–कर्नि (मृत्यु संस्कार) मा छूत मान्ने चलनअनुसार डस्यामा पनि पुर्खाहरूको मृत्युको कारण छूत मानिने भएकोले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (सुनपानी) छर्केर चोखो पार्ने, काज–किरियामा जिटा मार्ने चलनअनुसार जिटा पुज्ने, देउता अनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिने गरिन्छ ।
डस्याको पूजा विधिबारे प्रकाश पार्दै साहित्यकार कोपिला भन्छन्–‘दिवङ्गत आत्माले शान्ति पाओस् र यिनै बकुल्लामाथि चढेर सवार गरी सुखै–सुख स्वर्ग जाऊन् भनी भित्तामा बकुल्ला बनाउने चलन छ । गुर्वा (धामी)को वर्षभरिको सेवा र सम्मानको लागि घरगुर्वालाई टीका लगाउने चलनबाट पनि पुष्टि हुन्छ कि थारु आफ्नो पुर्खाहरूको सम्झनामा अथवा शोकमा डस्या मनाउँछन् ।’
बानढुप बनाउने र चढाउने
थारु समुदाय डस्यामा आफ्ना कुलदेवतालाई चढाउनको लागि बनाइने ‘बानढुप’लाई पनि महत्त्वपूर्ण मानिन्छ । बानढुप भनेको गुर्वाहरूले आफ्नो जिब्रो, छाती र गोडा (जाँघ) को रगत र धानलगायत सात किसिमको फूल टिपेर बनाएको विशेष धूप हो । जुन डस्यामा मात्रै आफ्नो देउतालाई चढाइन्छ ।
यो बानढुप पनि धेरैजसो थारूहरू दहित थर भएकाहरूकै चलाउँछन् । अन्य थरको गुर्वाहरूले पनि चलाउँछन् । तर अब बानढुपको नाउँमा बजारको अगरबत्ती सल्काउने चलन आएको छ ।
पिट्टर दिने प्रचलन
यसैबिच थारु समुदायभित्र डस्यामा पिट्टर (पिण्ड) दिने प्रचलन रहँदै आएको छ । थारूभित्रको दहित गोत्र भएका थारुहरूले पञ्चमीको दिन (कार्तिक २ गते) र आम थारुहरूले नवमीका दिन पुर्खाहरूलाई सम्मान गर्दै श्राद्ध तथा पिट्टर दिने कार्य गरेका छन् ।
थारु बुुद्धिजीवी महावीर दहितको अनुसार श्राद्धको लागि पुईको साग, मसुर या मासको भुजा, माछाको सुकुटी, दहीलगायत खाद्य सामग्री जोहो गरिन्छ । उनी भन्छन्–‘डेहुरार ‘पिट्टर’ दिने चलनअनुसार सात पुस्ताको पितृलाई सम्झिदा सातवटा टपरीमा र पाँच पुस्ताको पितृलाई पाँच टेपरीमा खानेकुरा राखिन्छ । तर दहित थारूभित्र नौ टपरीमा खानेकुरा राखिने र टपरीको अगाडि १८ वटा दुुनाहरूमध्ये नौ÷नौ वटा लहरै राखिन्छ । पहिलो लहरमा जल र अर्कोमा मिठाइ वा रक्सी चढाइन्छ ।’
पूजा सकिएपछि महिलाहरू नदी घाट, कुलामा पिट्टर सेलाउन जान्छन् । पिट्टर सेलाउन जाँदा करैमा छाँकि, समूह–समूहमा महिलाहरू ढकियामा डेहुरार राखिएको पुरानो कुचो, पूजा गरेको जमरा, बाबरी, कुभिण्डोको भेंडालगायत जुन–जुन ठाउँ पूजा गर्छन्, त्यहाँ सफा गर्दा निस्किएको फोहर लिएर जान्छन् । साथै खानपिनको लागि छाँकि र तरकारी पनि लिएर गएका हुन्छन् । सेलाई सकेपछि सबैजना मिलेर आफूसँग लिएर आएको छाँकि आपसमा मिली खान्छन् र नाचगान गरी मनोरञ्जन पनि गर्छन् ।
ढिक्रहुवा उत्सव
यसैबिच कार्तिक ५ गते समुदायमा ढिक्रहुवा उत्सवको रूपमा मनाएका छन् । कार्तिक ६ गते पिट्टर अस्रइना (पिण्ड सेलाउने) कार्यक्रमलाई पनि उत्सवको रूपमा मनाएका हुन् । कार्तिक ७ गते टीका थप्ने दिन परेको छ ।
थारु बृद्धिजीवीहरूका अनुसार पैनस्टोपी धोएको भोलिपल्ट ढिक्रहुवाको उत्सवको तयारी विहानैदेखि सुरु हुन्छ । घरमुली अथवा पूजापाठ गर्ने व्यक्ति दिनभरी निराहार व्रत बसेका हुन्छन् । उनीहरूले नै नयाँ धानको चामलको पिठो बनाइ ढिक्री बनाउँछन् ।
साथै, विभिन्न आकार प्रकारका ढिक्री बनाइ प्रसादको रूपमा आफ्नो कुल देवतालाई चढाउने प्रचलन रहेको छ । खासगरी गोलो ढिक्री, लाठी ढिक्री, पौवा ढिक्री, ढकिया ढिक्रीलगायत आकार प्रकारको ढिक्री बनाइन्छ । पूजापाठको लागि वनबाट बेलको पातसहितको हाँगा, कुश, भेला रुखको पात ल्याइन्छ ।
दिनभरि निराहार व्रत बसेका व्रतालुहरू साँझपख विधिपूर्वक ल्याएको बेलको हाँगा पूजाकोठामा गाडी त्यसको काँडामा ढिक्रीहरू लहरै खोपेर कुल देवताको पूजापाठ गर्ने संस्कार रहेको कैलारी गाउँपालिका–६ बेनौलीकी चोंधिया देवी थरुनी बताउँछिन् ।
त्यस्तै, साहित्यकार कोपिला थप्छन्–‘साँझ डेहुरार तथा बाहिर रहेका सबै देउतालाई नुहाएर छिनोनी पानी छर्केर नयाँ दियो बाल्छन् र गोलो ढिक्री, बेबुरी, जमरा, रक्सी (टौला र बजारी) र जल चढाएर पूजा गर्छन् । देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रूपमा कुभिण्डोको भेंडा बनाएर त्यसकै पूजा गर्छन् । गोठमा ढमराज, पूर्वको आँगनमा ‘पूर्वी’ लगायत अन्य देउतालाई पूज्छन् । पूजा गर्नेबेला बानढुप पनि चढाउँछन् । सिन्दुर र कजरा (खरानी)को टीका पनि लगाउँछन् ।’
पशुपंक्षीको बलि दिने संस्कार
नवमीको दिन दिन विहानै घरमुली या पूजा गर्ने व्यक्तिले नुहाएर सबै देउतालाई जमरा–बाबरी चढाएर कुखुराको बलि दिन्छन् । बलि दिनुु भन्दा पहिले पाटा (देवस्थान) माथिको बहर्नी (झारु) हटाएर नयाँ बहर्नी राखिन्छ । जुन एक वर्षपछि दोश्रो डस्या सम्मको लागि मात्रै राखिन्छ र दोश्रो डस्यामा पनि त्यो बहर्नी साटिन्छ ।
देउता नभएको मानिसले एक अथवा तीनवटा आफ्नो चलनअनुसार भाले पूज्दछन् भने देउता भएका घरका मानिसले सातदेखि १५ वटासम्म भाले र डिँवा (समयावधि) अनुसार भेंडा, बाख्रा, सुँगुर पुज्दछन् । तर, अब एउटा मात्रै भाले पुजेर देउतालाई मनाउने चलन बढ्दै गएको छ ।
सेतो टीका
डस्याको टीकालाई ‘राजा–टीका’ रूपमा मनाइने प्रचलन थारु समुदायमा छ । गाउँको बरघरको घरमा आफूभन्दा ठूलाबाट आर्शिवादसहित टीका लिने प्रचलन रहिआएको छ । उसो त घर–घरमा आफ्नो मान्यजनहरूको हातबाट टीका थपिन्छ । आजभोलि रातो टीकाको प्रयोग भएपनि थारु समुदाय सेतो पीठोको टीका नै परम्परादेखि चल्दै आएको बताइन्छ । सेतो टीका शोकको टीका हो । यसलाई शान्तिको प्रतीकको रूपमा लिने गरेको थारु बुद्धिजीवीको ठहर छ ।
नाचको रौनक
यसैबिच थारु गाउँमा विभिन्न खाले सांस्कृतिक कार्यक्रम हुन्छन् । युवायुवतीहरू आजभोलि स्टेजमा सांस्कृतिक कार्यक्रमदेखि परम्परागत झुम्रा, सखिया गीत गाउँदै नाच्छन् ।
आइ टे गैली बरी डुुरिक पहुनी हो
ए हो.....धानिन् चेरिया अंगना बहार
अइ टे गैली बरी डुुरिक पहुनी हो
ए हो....अर्रर गोडरिया बिछाई ।
...........................................
लडियाके ढिकुवाई ढिकुवाई फूलवा लगैली हो
सखी हो, फूलवा लगैली गेडा सार ।
.............................................
‘उरि उरि भौरा टिकुलि पर बैठे रे हाँ,
ए हो भौँरक छुवल मोर टिकुलि मलिन हो ।’
यसैबिच, बुढापाकाहरू आपसमा बर्किमार गाउँछन् । महाभारतको गाथामा आधारित लोक महाकाव्यको रूपमा रहेको बर्किमार अर्थात ठूलो लडाइँको गीत गाउँछन् । जुन १२ पैढार (अंश) मा उल्लेख छ ।
बेबुरी बिनायक झमकी उरावै, बिना बुुन्डी टुहार पास
घनपति घन रे सुगा कई ठोर, हृडा बाइस मोटि डेहो रे सिखाइ
भगमोटि सरन लेहबु टोहार नाउँ, डेखि ढरम डेबि बन्ढन बा ...।