एसियाली पारा खेलकुदमा पलेशाले जितिन् ऐतिहासिक पदक
काठमाडौँ । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी छन् । चीनको हाङझावमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के-४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी हुन् ।
पलेशाले एसियाली पारा खेलकुदमा जितेको उक्त कांस्य पदक नेपालकै लागि अहिलेसम्म पहिलो र एकमात्र पदक हो । नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ ।
पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने यो संस्करणदेखि मात्र समावेश गरिएको हो । चीनको हाङझावस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वार्टरफाइनल खेलमा पलेशाले चीनकी लितिङ याङलाई १४-१ अङ्कले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् ।
सेमिफाइनलमा भने पलेशा कजाकिस्तानकी कामिल्या दास्मोलोभासँग १६-१० अङ्कले चुकिन् । सेमिफाइनलमा पराजित भए पनि पलेशाले रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो । रिपेचेज चरणको पहिलो कांस्य पदक भिडन्तमा पलेशाले बाई पाएपछि कांंस्य पदक निश्चित भएको जानकारी पलेशाका प्रशिक्षक कविराज नेगी लामाले दिए ।
पलेशाको स्पर्धामा नेपालसहित चीन, कजाकिस्तान र ईरान गरी चार राष्ट्रका पाँचजना खेलाडी सहभागी थिए । रिपेचेज चरणको दोस्रो कांस्य पदक भिडन्त चीनका लितिङ र युजी लिबिच भएको थियो । त्यसमा युजी लिले ८-१ अङ्कले बाजी मारिन् ।
युजी लि तिनै खेलाडी हुन् जसले टोकियो पारा ओलम्पिक-२०२२ को कांस्य पदक भिडन्तमा पलेशालाई पराजित गरेकी थिइन् । फाइनलमा इरानकी रोजा इब्राहिमीले कजाकिस्तानकी कमिल्यालाई ३४-१५ अङ्कले पाखा लगाउँदै स्वर्ण चुमिन् ।
केही महिनाअघि मात्र पलेशा अध्ययनका लागि चीनको सांघाइ गएकी थिइन् । उनी त्यत्तैबाट एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाव पुगेकी हुन् । पलेशाले सन् २०२१ म बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् ।
सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीया पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक( २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।
त्यसबेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०-० र सर्बियाकी मारिजा मिसेभलाई २३-१५ अङ्कले हराउदै चीनकी युजी लीसँग कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । काँस्य पदक भिडन्तमा पलेशा १२-९ अङ्कले चुकेपछि पाँचौँ भएकी थिइन् । पलेशाले सन् २०१८ मा काठमाडौँमा भएको दोस्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।
जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा सन् २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौँ भएकी थिइन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २८ बागबजार निवासी पलेशाले सन् २०१७ मा लनडनमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा सन् २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र सन् २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।
सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ भएकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् । स्कुलमा अध्ययन गर्दा बेला विभिन्न नौवटा अवार्ड जितेकी पलेशाले तेक्वान्दोमा हासिल गरेको उपलब्धिका लागि विभिन्न संस्थाबाट विभिन्न समयमा १६ अवार्ड हात पारेकी छन् ।
पदक विजेता पलेशाले पदक जितेकोमा खुसी लागे पनि अझै धेरै राम्रो गर्न सकिन्थ्यो भन्ने प्रतिक्रिया दिइन् । उनले दसैँको बेला आफूले जितेको ऐतिहासिक पदक राष्ट्रका लागि समर्पण गर्न चाहेको पनि बताइन् ।
‘पदक जितेकोमा खुसी छु । तर, योभन्दा अझै धेरै गर्न सक्थेँ । स्वर्ण नै जित्छु जस्तो लागेको थियो । मैले वेस्ट इफोर्ट पनि दिएकी हुँ । यहाँ (सांघाई) मा पनि आएको धेरै भाको छैन । नयाँ ठाउँ भएकाले ट्रेनिङमा पनि अली सजिलो भएन । स्पाइरिङ पार्टनर पनि पाउन गाह्रो भयो,’ दुई महिनाअघि मात्र सांघाइ पुगेकी पलेशाले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी