बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

श्वेतपत्रको प्रभाव : सेयर बजारलाई नै रोजगार बनाउनेहरु मारमा

आइतबार, १८ चैत २०७४, १५ : २७
आइतबार, १८ चैत २०७४

काठमाडौँ । मध्य बानेश्वरमा रहेको १९ नम्बर ब्रोकर (नेपाल इन्भेष्टमेन्ट सेक्युरीटि ट्रेडिङ प्राली) मा भेटिए एक लगानीकर्ता जो १४ वर्षदेखि सेयरमा लगानी गरिरहेका छन् । 

रौतहट घर बताउने कमल खरेल काठमाडौँ भित्रिएदेखि नै सेयरमा लगानी गर्न थालेका हुन् । २० लाख रुपैयाँबाट लगानी गर्न शुरु गरेका उनको अहिले झण्डै तीन करोड रुपैयाँ लगानी पुगिसकेको छ । 

बिहान ११ बजेदेखि ३ बजेसम्म १९ नम्बर ब्रोकरमै भेटिने उनले आफ्नो कमाइ नै सेयरबाट भएको नाफा रहेको बताए । 

उनले भने, ‘मेरो त रोजगारी नै यहि हो । दिनभर यतै हुन्छु । बजार बढेको बेला खुसी लाग्छ तर घटेपनि आत्तिदैँ बेच्दिन । तर, अहिले बजार निरन्तर घट्दा पनि सरकारले ठोस कदम नचालिदिँदा हामी जस्ता सेयरलाई आम्दानीको स्रोत नै बनाएकाहरु भने मारमा परेका छौ ।’

यद्यपि, उनमा होल्ड गर्न सक्ने धैर्यता भने देखिन्छ । सेयरबाट भएको नाफाले उनको घरपरिवारको खर्च राम्रै धानेको छ ।   

अनामनगरको ३८ नम्बर ब्रोकर (दिपशिखा धितोपत्र कम्पनी) मा भेटिएकी अर्की लगानीकर्ताको अनुहारमा पनि सेयर पहिरोको त्रास छर्लङ्ग देखिन्छ । 

काठमाडौंको बत्तिस पुत्तली घर भएकी अम्बु भेट्वाल खुलेर बोल्न चाहिनन् । बिहानै घरको काम सकी बच्चालाई स्कूल पठाएर ११ बजे ब्रोकर कम्पनी पुगिसक्छिन् । 

उनी कहिलेकाहीँ ४१ नम्बर ब्रोकर (लिन्च स्टक मार्केट) मा पनि भेटिन्छिन् । उनले यी दुई कम्पनीबाट सेयर कारोबार गर्छिन् ।  उनको दैनिकी ब्रोकर कम्पनी धाउनमै व्यस्त छ ।

उनले भनिन्, ‘३ वर्ष भयो सेयर बजारमा हात हालेको । मैले सेयर किन्दा महङ्गै थियो तर अहिले घटेर सो सेयरको मूल्य निकै कम भएको छ । किन्नको लागि उपयुक्त समय भएपनि हामीलाई भने होल्ड गर्नुको विकल्प छैन । उनले कति लगानीबाट कति पुर्याइन भन्ने बारे खुलाउन चाहिनन् ।

मध्य बानेश्वरकै १९ नम्बर ब्रोकरमा भेटिएका गोपाल दुलालले पनि सेयर बजारमा लगानी गर्न थालेको झण्डै १० वर्ष भयो । 

दोस्रो बजारमा भने उनले लगानी गर्न थालेको २ वर्ष भयो । यसअघि उनले आइपिओमा मात्र लगानी गर्दै आएका थिए । १० लाखको लगानी बढेर अहिले ३५ लाख रुपैयाँ पुगिसकेको छ । 

उनी भन्छन्, ‘इटहरी मेरो घर हो आधा समय किताब अनुवादमा खर्चन्छु । आधा समय सेयर बजारको चासो राख्दै बित्छ । सेयर बजारमा बुझेर लगानी गरेकाले अहिले पनि पछुताउनु पर्दैन । तर, बेला बेलामा मिडियामा आउने खबर र सरकारको वेवास्ताले बजार प्रभावित हुँदा भने चिन्ता लाग्छ ।

यी त सेयरमा लगानी गर्ने प्रतिनीधि पात्र हुन् । सेयर बजारमा गृहणीको प्रवेश पनि उल्लेख्य देखिन्छ । सेयरलाई नै रोजगारी मान्नेहरुलाई अहिलेको बजारले धक्का दिएको छ । 

शुक्रबार अर्थमन्त्रीले राज्यको ढुकुटी रित्तो छ, सेयर बजार सतही हो लगायतको आशय सहितकोे श्वेतपत्र जारी गरेपछि आम लगानीकर्ता आगामी सेयर बजारको भविष्य बारे चिन्तित बनेका छन् । 

शुक्रबार श्वेतपत्र जारी भएपछिको पहिलो सेयर कारोबारमा शुरु देखि नै बजार घट्न थाल्यो । 

यो समाचार तयार पर्दा ( १ः ५३ बजेसम्म) बजार २४.४३ अंकले घटिसकेको छ । यसले पनि लगानीकर्तामा झन त्रास थपिँदै गएको छ ।  

केही लगानीकर्ता जसको आम्दानी नै सेयर बजारको लगानी हो । उनीहरु अर्थमन्त्रीलाई गाली गर्दै गरेको पनि सुनियो । 

पूँजी बजार अर्थतन्त्रको ऐना हो भनेर सरकारले नबुझिदिँदा बजार निरन्तर घटिरहेको उनीहरुको आरोप छ ।

   
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप