दसैँ अर्थतन्त्र : आर्थिक गतिशीलताका लागि ‘फेस्टिबल मुभमेन्ट’ कति लाभदायी ?
काठमाडौँ । हिन्दुहरूको मुख्य चाड दसैँ, तिहार र छठलाई बडो उल्लासमय पर्वका रूपमा मनाउने गरिन्छ । मीठोमसिनो खाने, राम्रो लगाउने यस उल्लासमय समयको सदुपयोग गर्दै मान्यजन तथा आफन्तजनसँग भेटघाट गर्ने उपयुक्त अवसरका रूपमा समेत दसैँ–तिहारलाई लिने गरिन्छ ।
पछिल्लो समय दसैँ, तिहार तथा छठको महत्त्व यत्तिमा मात्र सीमित छैन । यी चाडपर्वका अवसरमा गरिने ठूलो खर्च, किनमेल, आम्दानी तथा अन्य वित्तीय कारोबारले मुलुकको समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ र पारिरहेको छ ? भन्ने पक्ष पनि महत्त्वपूर्ण हुँदै गएको छ ।
दसैँ–तिहारमा उपभोग्य बजारमा गतिशीलता आउँछ । खाद्यान्न, नुन–तेल, मरमसला किनबेचलगायत लत्ताकपडाका व्यापार, सुनचाँदी आभूषणको कारोबार, सवारी साधनको खरिद–बिक्रीले अर्थतन्त्र चलायमान गराउन यी चाडले उल्लेखनीय भूमिका खेल्छन् ।
यसै मौसमलाई लक्षित गरेर हुने तीव्र आयातले मुलुकको शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) प्रभावित हुँदैगर्दा यता सरकारको राजस्वमा समेत वृद्धि हुने राष्ट्र बैङ्कका पूर्वडेपुटी गभर्नर एवं राष्ट्र बैङ्क सञ्चालक समिति सदस्य डा. चिन्तामणि शिवाकोटी बताउँछन् ।
‘चाडपर्वको आर्थिक पाटो उपभोग्य बजार, आयात निर्यातसँगै सो गतिविधिबाट राज्यले प्राप्त गर्ने राजस्वसम्म प्रभावित हुने गर्छ । उपभोग्य बजारमा खाद्यान्न, नुनतेल, सुनचाँदी, गाडीको कारोबारले समेत वित्तीय गतिशीलता बढाउँछ,’ शिवाकोटीले रातोपाटीसँग भने, ‘यसले व्यक्तिको आयआर्जनदेखि राजस्वसमेत वृद्धि हुन्छ । राजस्व बढेसँगै आर्थिक चक्र, विकासनिर्माणका गतिविधिसँगै तलबभत्ता, रोजगारको विकास हुन्छ । अन्ततः व्यक्ति व्यक्तिको हातमा पैसा पुग्छ । यसले आर्थिक मन्दीलाई केही हदसम्म रोक्न मद्दत पुर्याउँछ ।’
दसैँ–तिहारका बेला न्युरोडमा लाग्ने भिडले जुत्ता–कपडाका व्यापारीहरूको मात्र आर्थिक कारोबार नहुने बरु सोही आर्थिक गतिविधिको प्रभाव उद्योगका कर्मचारी (मजदुर) र राष्ट्र सेवक कर्मचारीलाई समेत तलब खुवाउन सहयोग पुग्ने उनी बताउँछन् ।
यस्तै राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रसमेत दसैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्वले उपभोग्य बजारको गतिशीलता बढाउँछ र यसले मुलुकको समग्र अर्थतन्त्र नै प्रभावित हुने बताउँछन् ।
‘दसैँकै बेला अटो व्यवसायीहरूको दुई हजारभन्दा बढी गाडी बुकिङ तथा किनबेच भयो । यता खुद्रा उपभोग्य बजारको भिडभाड केही दिनयता थामिनसक्नुको छ । यसले पक्कै पनि बजारको गतिशीलता बढाएको छ । चाडपार्वसँगै हुने आर्थिक कारोबारले कसैको रोजिरोटी चलेको छ,’ मिश्रले भने, ‘यो कुरा तथ्याङ्कले पनि देखिन्छ ।’
दसैँ–तिहारकै नजिकिँदै गर्दा अर्थात् आर्थिक वर्षको साउन, भदौ र असोजमा हुने आयातले पनि सो प्रमाणित गर्ने डेपुटी गभर्नर मिश्रको भनाइ छ ।
‘दसैँ–तिहारकै लागि भनेर व्यवसायीले बढीभन्दा बढी सामान आयात गर्छन् । यही बेला बैङ्कमार्फत एलसी (माल वस्तु आयात गर्न जारी गरिने प्रतितपत्र) जारी हुन्छन्’ डेपुटी गभर्नर मिश्रले भने, ‘यो भनेको आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा नै हुने हो ।’
राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र दुई खर्ब ५९ अर्ब ७५ करोड रूपैयाँ बराबरको विदेशी मालसामान आयात भएको छ । ढिला गरी प्राप्त रिपोर्टअनुसार पछिल्लो असोज महिनामा थप २ खर्ब रूपैयाँ बराबरको मालवस्तु आयात हुनेदेखिन्छ । जसले वर्षभरीको कुल आयातको करिब एकतिहाइ आयात आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् दसैँ–तिहारअघि नै हुने राष्ट्र बैङ्कको तथ्याङ्कले पुष्टि गर्छ ।
चाडपर्वले कम्तीमा २० प्रतिशत अर्थतन्त्र बुम !
अर्थविद् डा. डिल्लीराज खनाल दसैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्वले वर्षभरीको कारोबारको कम्तीमा २० प्रतिशत गतिशीलता बढाउने बताउँछन् । ‘सबैजसो क्षेत्रको खर्च एकै पटक हुने हुँदा दसैँ–तिहारको धार्मिक मान्यतासँगै आर्थिक पाटोको खास महत्त्व छ । वर्षभरीको आर्थिक गतिविधिको कम्तीमा २० देखि २५ प्रतिशत खर्च बुम यसै समयमा हुने गरेको छ,’ अर्थविद् खनालले रातोपाटीसँग भने, ‘दालचामल, नुनतेलदेखि अन्य उपभोग्य वस्तुको खपत यसै समयमा बढी हुने गर्छ । माछा, मासु, खसी, बोका, राँगाको व्यापारसमेत यसै समयमा बढी हुने गर्छ । यसले स्वतः अर्थतन्त्रमा गतिशीलता बढाउँछ,’ उनले भने ।
तर स्वदेशी उत्पादन र प्रयोग नहुँदा अर्थतन्त्र चलायमानको खास उपलब्धि नहुने उनको तर्क छ । ‘हामीकहाँ दसैँ, तिहार, छठ जस्ता खास ठूला चाडपर्वले अर्थतन्त्रको गतिशीलताका लागि भूमिका त खेल्छन् । तर खास आर्थिक लाभ लिन सक्दैनौँ,’ उनले भने, ‘विदेशबाट आयात हुने खाद्यान्न, फलफूल तथा जङ्क फुड (तयारी खाना) स्वदेशमा नै उत्पादन र खपत हुने थियो भने यसले ठूलो अर्थ राख्ने थियो । अहिले हामी विदेशबाट सामान आयात गर्छौं र खर्च गर्छौं । तथापि यसले पनि मन्द अर्थतन्त्र चलायमान गराउन अवश्यक भूमिका खेलिरहेको हुन्छ,’ खनाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
-
४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?
-
लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो
-
रश्मिका मन्दनाले गरेकी हुन् इन्गेजमेन्ट ?
-
बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन