महिषासुर मर्दिनी र कला पक्ष : देवीका कति हात, कति हतियार ?
दसैँ चाडमा मूलतः देवी भवानीको पूजा–अर्चना हुन्छ । देवी भवानी दुर्गाकी एक रूप हुन् । डा. सावित्री मैनाली, डा. वज्रभूषण श्रीवास्तवलगायत धेरै विद्वान्–विदुषीले यसबारे धेरै ठाउँमा धेरैपल्ट उल्लेख गरेका छन् ।
यी विद्वान्कोे कथन अनुसार, केनोपनिषदमा उमा हेमवती देवीको उल्लेख पाइन्छ, जुन दुर्गाको एउटा रूप हो । दुर्गा भनेकै पार्वतीको अर्को नाम हो । पछिल्लोे कालमा आएर हिमालयकी छोरीका रूपमा पार्वतीको नाम अभिलेख हँुदै आएको देखिन्छ । यही केनोपनिषदमा उल्लेख भएको रुद्र अनि उनकी श्रीमतीको रूपमा उल्लेख भएकी पार्वती नै देवी परम्पराको मुख्य स्रोत हो । देवीलाई मान्ने, शक्तिको रूपमा पकिल्पना गर्ने र यसैबाट शक्ति सम्प्रदायको उदय भएको स्रोत बिन्दु पनि देवी उमा वा पार्वतीमै गएर ठोकिएको देखिन्छ ।
कलाविद् डा. वज्रभूषण श्रीवास्तवले देवीलाई देवत्वका रूपमा मान्ने प्रचलनबारे प्रकाशमा ल्याएका छन् । उनको कथन अनुसार देवीको उपासना मानवले सभ्यताको प्रारम्भ युगदेखि नै गर्दै आएको देखिन्छ । किनकि प्रारम्भिक युगमा मान्छेले प्रजननको रहस्य थाहा पाउँदैनथे । प्रजननको सामथ्र्य बोकेकी नारी देवीलाई शक्तिको रूपमा कल्पना गर्दथे । मान्छेको यही भावना पछिल्लो समय आएर शक्तिको रूप लिएको देखिन्छ । देवी शक्तिको उपासनाको प्रमाण ईशापूर्व ४००० मा पाकिस्तानको बलुचिस्तानमा प्रस्फुटित भएको देखिन्छ । बलुचिस्तानमा त्यसबेला कुल्ली वा झोब संस्कृतिमा पाइएका माटाका मूर्ति विशेष महत्त्वका छन् । स्टुआर्ट पिटरका अनुसार यी मूर्तिले मातृशक्तिको एउटा यस्तो स्वरूपलाई स्पष्ट गर्छ, जसलाई यस बेला भूमिगत जगत्का स्वामिनीका रूपमा मान्ने गरिन्थ्यो ।
डा. श्री वास्तवका अनुसार सांख्यायन श्रोत सूत्रमा दुर्गाको कल्पना रुद्रको पत्नीका रूपमा गरिएको छ । बोधयान धर्मसूत्रमा यही रुद्रकी पत्नीलाई बली दिने विधानको उल्लेख छ । यसमा दुर्गा, अम्बा, आर्या भगवती, महावैष्णवी साथै महाकालीको नाम पनि उल्लेख गरिएको छ । गुह्यसूत्र समयसम्म आइपुग्दा नारीशक्ति दुर्गाको दुईवटा रूपमा परिकल्पना गर्न थालिएको हो । पहिलो रूपमा सौम्य रूप अनि अर्को चाहि घोर रूप हो ।
नवरात्रि दसैँको आत्मा हो, तापनि सप्तमीदेखि दशमीसम्मको चार दिनको अझ अलग्ग महत्त्व छ । यसैमा पनि अष्टमी अझ विशेष रूपमा मनाउने परम्परा छ । देवी दुर्गाको कालीको रूपले पनि यस बेलालाई भयावह रूपमा प्रस्तुत गरेको पाइन्छ ।
आदिम समाजमा सत्य वा असत्य सँगसँगै यसका लागि गरिनुपर्ने पूजापाठ, भक्ति आदिका लागि मूर्ति र चित्र कलाको परिकल्पना, प्रयोग अनि भक्तिभावका लागि आधारशिला बनाइएको छ । हाम्रो समाजलाई हेर्दा — दसैँसँग शाक्त सम्प्रदाय गासिँदै आएको छ, जसमा नारीलाई गरिने सम्मान प्रत्याभूति हुन्छ ।
ऋग्वेदमा अग्नि, वरुण, सूर्यसँगै उषा (सूर्यको श्रीमती), सविता र शचि (इन्द्रको श्रीमती) आदि देवीको पनि उल्लेख पाइन्छ । वैदिक मन्त्रमा उषाले सूर्यका लागि बाटो बनाउँछिन् अनि अन्धकारलाई नाश गर्छिन् भन्ने उल्लेख छ । महाभारतमा शक्ति देवीहरूको महत्त्व अझ बढेर गएको पाइन्छ ।
अर्जुनले शक्ति प्राप्त गर्न देवी दुर्गाको स्तुति गरेको अभिलेखन भएको छ । मार्कण्डेय पुराणमा स्पष्टसँग महिषाशुर मर्दिनी देवी शिव, विष्णु, ब्रह्माका साथै अन्य देवताबाट उत्पत्ति भएको मानिएको छ । अति शक्तिशाली महिषाशुर राक्षस देवताबाट नाश हुन नसकेपछि सबै देवता मिलेर महाशक्तिको रूपमा महिषाशुर मर्दिनीको उत्पत्ति गराएको मान्ने गरिन्छ । पार्वतीले आफ्नो शरीरबाट अम्बिकालाई निकाल्दा कालो रङ देखापरेकाले अम्बिकालाई कालीको उपमा दिइने गरिन्छ । जसले शुम्भ र निशुम्भको नाश गरेका थिए ।
यही देवीको परम्परामा सर्वशक्तिमान भवानी देवीको उत्पत्ति भएका हुन् । कलाविद् सत्यमोहन जोशीका अनुसार देवी महात्म्य, देवी शप्तसती धर्मग्रन्थहरूले चित् शक्ति महामाया देवी भवानीकै स्तुति गरेका छन् । देव र मनुष्यलाई सताउने शुम्भ, निशुम्भ, महिषाशुरादि असुरहरूको विनाश शक्तिरूपी देवी भवानीबाटै हुन्छ । सत् पक्षको विजय हुन्छ, असत् पक्षको पराजय हुन्छ । यसैले दसैँ चाड सत् पक्षको विजय महोत्सव हो ।
देवी महिषासुर मर्दिनी र कला
मूलतः दसैँमा महिषासुर मर्दिनी देवीको चर्चा परिचर्चा सबैभन्दा बढी रूपमा हुने गर्छ । यसपछि महाकाली देवीको एक अलग्ग रूपमा चर्चा भएको देखिन्छ । दसैँको नवरात्रभर पूजाका लागि देवी भगवतीका नौवटा रूपहरूको परिकल्पना गरिएको छ । दसैँका बेला नेपालमा वा छिमेकी देशमा समेत देवी दुर्गाका अलग–अलग रूपलाई पूजाअर्चना गर्ने प्रचलन छ ।
एकातर्फ साकाहारीको परम्परा अनि अर्कोतिर मांशाहारीको परम्परालाई यही दशमीको उत्सवको रूपमा मनाउने परम्परा पनि बनेको छ । यसको ज्वलन्त उदाहरणका रूपमा महाअष्टमीका दिन एकातर्फ महागौरी देवी (सौन्दर्यले वशीभूत सीधा र सादगी देवी) अर्कोतिर महाकाली (रौद्र रूप), कालरात्रि अनि यसैसँग गाँसिएर आएका देवीलाई बलि दिने प्रथा छ । यही विविध प्रकारको संस्कार, संस्कृतिको परम्पराले गर्दा आजको दिनसम्म दसैँ एउटा महोत्सवका रूपमा मनाउने गरिन्छ । यसको महिमा अपरम्पार छ ।
देवी महिषासुर मर्दिनीको पहिलो मूर्ति इसापूर्व प्रथमदेखि इसाको पहिलो शताब्दी बीचमा पाइएको कलाविद्हरू दाबी गर्छन् । यो महिषासुर मर्दिनी (जुन मृण्मूर्ति वा माटोको मूर्तिका रूपमा छ) यही मूर्ति नै सर्वप्राचीन मानिन्छ । यो मूर्ति राजस्थानको टीकाजनपदमा पाइएको छ । यसपछि कुषाण कालमा त यथेष्ट रूपमा यस्ता किसिमका महिषासुर मर्दिनीका मूर्ति पाइएका छन्, जुन अहिले पनि भारतको मथुरा सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ ।
सानो अंश महिसासुर मर्दिनी देवीका बारेमा चर्चा गर्ने अनि यसमा अन्तर्निहित कलाको ओजस्वी पक्षलाई नियाल्ने अहिलेको जमर्को मात्र हो । अधिकांश मूर्तिमा भैँसीमाथि आसीन देवीले त्रिशूललाई हातले बलियो गरी समातेको देखिन्छ । अनि तीव्रताका साथ असुरको वध गरेको भयानक तर कलात्मक प्रस्तुति देखिन्छ । कति यस्ता मूर्तिमा भैँसीको टाउको काटिएर एकातिर रगतले छताछुल्ल भएको वातावरण पनि दर्शाइएको देखिन्छ । यो मूर्ति वा चित्रको कलागत अलौकिक संरचना बडो अद्भुत छ । यसले साउथ एसियाका हिन्दु धर्मावलम्बी माझ देवीप्रतिको श्रद्धा र भक्तिलाई स्थापित गर्न भूमिका खेलेको बुझ्न सकिन्छ ।
देवीका मूर्ति वा चित्रमा कलागत संरचनाको रूपमा हेर्दा महसुस गर्न सकिने किसिमले सौन्दर्य पस्केको पाइन्छ । सुरुका दिनदेखि नै कलाकारले महिषासुर मर्दिनीलाई विभिन्न रूप वा संरचनामा निर्माण गरेको देखिन्छ । तथापि धर्ममा रहेको मूल मर्म वा भाव सबै कलामा समान रूपमा सम्प्रेषित भएको महसुस हुन्छ । कलाको यही शक्तिले गर्दा पनि देवीको यो रूपलाई मन्त्रमुग्ध भएर भक्तहरूले आफूभित्र समाहित गरेको पाइन्छ ।
कलाको रूपमा महिषासुुर मर्दिनी देवीको प्रतिमाको परिकल्पना अलग अलग रूपमा भएको छ । विष्णुधर्मोत्तर पुराणका अनुसार सिंहमाथि आसीन यी देवीको आठवटा हात छन् । हरेक हातमा वाण, शुल, खड्ग, चक्र, चन्द–विम्ब तथा कपाल रहनुपर्छ भनिएको छ ।
अंशुमद् भेदागममा दुर्गाको चार हात भएको, दाहिने हात अभय मुद्रामा र पछाडिको हातमा चक्र रहनुपर्ने उल्लेख गरिएको छ । सुप्रभेदागम्मा पनि दुर्गाको आठवटै हातकै पकिल्पना गरेर आयुध (हतियार) भने फरक हुनुपर्ने उल्लेख छ । आयुधहरूमा शंख, चक्र, शूल, धनुष–वाण, खड्ग, खेटक तथा पास रहन्छन् । डा. सावित्री मैनालीले आफ्नो पुस्तकमा महिषासुर–मर्दिनी दुर्गाको लाल दरबार भक्तपुरमा रहेका सात चित्रहरूको विस्तारमा वर्णन गरेकी छन् । अन्दाजी १८औँ शताब्दीमा बनेको यी चित्रको संरचना, रङ अनि प्रस्तुति अलि फरक ढंगको देखिन्छ । सात चित्रमध्ये तीनवटामा रातो रङ, दुईवटामा सेतो, एउटामा पहेँलो र एउटामा नीलो रङ प्रयोग भएको देखिन्छ । हरेक देवीका १८ हात छन् भने सबैले एकैजस्तो आयुध लिएका देखिन्छन् । आयुधका रूपमा खड्ग, नागपासा, शक्तिवान् चक्र, त्रिशूल, खेटक, अंकुश, पराशु उल्लेख भएका देखिन्छन् ।
विष्णुधर्माेत्तर पुराणमा यही देवीका २० हात हुनुपर्ने उल्लेख छ । अन्य आयुध समान रहे पनि केही थप नयाँ आयुधहरूको रूपमा वज्र, डमरु, अभय छाता, घण्ट, धवाजा, गदा, ऐना, मुदगरा छन् । अहिले बढी मात्रामा प्रचलनमा आएको राक्षसलाई आधा मान्छे अनि आधा भैँसीको परिकल्पना गरिएको रूप त्यसै वेला पनि थियो ।
कलाविद् डिल्लीराज शर्माका अनुसार बैतडीको एउटा मूर्तिमा महिषासुर मर्दिनी देवीको दुई हात रहेको देखिन्छ । दाहिने हातले त्रिशूल लिई महिष नामक राक्षसमाथि प्रहार गरेको देखाइएको छ । देब्रे हातले महिषको पुच्छर समाई आफूतिर तान्न लागेको देखिन्छ । देवीका ठुल्ठुला आँखा र मुख भयानक रूपमा प्रस्तुत भएको देखिन्छ । देवीका कपालका रौँ माथितिर ठाडो गरी चित्रित गरिएको छ । यो मूर्ति उनले १३औँ शताब्दीतिरको अनुमान गरेका छन् ।
शिल्परत्नमा उल्लेख भए अनुसार मूर्तिमा महिषासुर मर्दिनी जटा मुकुटसहित त्रिभङ्ग मुद्रामा दश हात भएकी हुन्छिन् । दाहिने हातमा त्रिशूल, खड्ग, सत्यायुध, चक्र र धनु तथा देब्रे हातमा पास, अङ्कुश, खेटक, परसु र घण्ट रहेको छ ।
नेपालको सन्दर्भमा सयौँ वर्षदेखि यस्ता देवीका चित्र वा मूर्ति बन्दै गरेको देखिन्छ । यद्यपि महिषाशुर मर्दिनी देवीको मूर्ति बनाउने प्रचलन नेपालमा कहिलेबाट सुरु भयो भन्ने स्पष्ट हुन सकेको छैन । नेपालमा उमा–महेश्वरका मूर्ति बढी मात्रामा पाइएका छन् । महिषासुर मर्दिनीका कला जति पाइएका छन्, ती सबै कलात्मक र गुणस्तरको रूपमा अब्बल छन् । यस्ता देवीको वाहनका रूपमा कलात्मक सिंह सदैव राखिएको देखिन्छ । भैँसी, सिंह, महिषाशुर दानवसँगै दुई हातदेखि लिएर २० हात भएकी देवी महिषाशुर मर्दिनीको जाज्वल्यमान मुखाकृति मूल पात्रको रूपमा आज पनि देखिन्छन् । भक्तपुरको लाल दरबारमा रहेको करिब १८औँ शताब्दीमा बनेका महिषासुर मर्दिनीको चित्रमा भैँसी देखिन्न, बरु नाटकीय ढंगले सिँगारिएको सिंह देखिन्छ । यसैमाथि सवार भएर देवीले छेउमै रहेकोे राक्षसलाई मारेको देखाइएको छ ।
कलागत विशेषताको रूपमा हेर्नुपर्दा कलाकारको कल्पना, सोच र क्षमताको आधारमा हरेक चित्रहरूको संरचना, प्रस्तुति अनि विम्ब फरक–फरक ढंगबाट प्रयोग भएको पाइन्छ । त्यसो त परम्परागत कलामा मूल देवीदेवताको छनोट, आसन, आयुध, रङ, पात्र आदि धर्मशास्त्रीले नै निश्चित गर्छन् । देवीको चित्र बनाउँदा कलाकारले पृष्ठभूमिमा सजाउनका लागि फूलबुट्टा लगायत आ–आफ्नै प्रकारका शिल्प दक्षतालाई स्वतन्त्रपूर्वक चित्राङ्कन गर्दै आएका छन् । कुनै पनि चित्र वा मूर्ति बनाउन मूलतः कलाकारकै बढी मात्रामा हात रहेको देखिन्छ । यहाँ पस्तुत धेरैे मूर्ति वा चित्रको पोस्चरलाई अवलोकन गर्दा यसको चरितार्थ राम्रैसँग भएको देखिन्छ ।
अलिकता पात्रहरूको छनोट अनि पात्रहरूलाई सङ्गठित गर्ने कलाकारको कल्पनाशीलतामा ध्यान दिउँ ।
विभिन्न कलामा सहस्र हात भएकी देवीको रूप एकैजस्तो देखिए पनि कतै आधा भैँसीको भाग (पछाडिको भाग) देखाएर देवीले पुच्छर समातेको पनि देखाइएको छ । कतै आक्रोशित सिंहले महिषासुर राक्षसलाई चिथोरेर मार्न खोजेको अनि देवीले त्रिशूलले मार्दै गरेको दृश्य पनि देखिन्छ ।
कलाविद् डिल्लीराज शर्माले आफ्नो पुस्तकमा नेपालको पश्चिम वेजनाथ शिरकोटमा प्राप्त महिषासुर मर्दिनीको मूर्तिलाई प्रस्तुत गरेका छन् । भैँसीको शीर्ष भाग तल नुहेको र यसैबाट मानव आकार राक्षसको स्वरूप उद्भव भएको यहाँ देखिन्छ । यसका साथै भैँसीको शरीरमुनिबाट अर्को राक्षस हतियारसहित उत्पन्न हुन लागेको पनि यसमा स्पष्ट अङ्कित भएको पाइन्छ । शर्माले यस मूर्तिलाई १४औँ शताब्दीको हुन सक्ने आकलन गरेका छन् ।
डडेल्धुरा जगनाथ मन्दिर परिसरमा रहेको महिषासुर मर्दिनीका चार हात छन्, देवीको अग्रभागमा रहेको महिषले आफ्नो शरीरलाई नुहेर जमिनमा छोएको छ, जसले घायल भएको भावलाई अभिव्यक्त गर्छ । यसका धेरै विशेषतालाई शर्माले उल्लेख गरेका छन् । उनका अनुसार देवीले भैँसीको टाउकोमाथि खुट्टा राखेको र भैँसीको टाउकोबाट रगत चुहिरहेको हुनुपर्छ, यसमा भैँसीको घाँटीबाट असुरले मुन्टो देखाएको हुनुपर्ने पनि उल्लेख छ ।
विष्णुधर्मोत्तर पुराणमा देवी सुन्दर तर डरलाग्दी देखिने र देवीले भैँसीलाई त्रिशूलद्वारा प्रहार गरिएको हुनुपर्ने उल्लेख छ । यस्तै देवीका २० हात हुन आवश्यक छ । धर्मशास्त्रले उल्लेख गरेको भनेर देवी दुर्गाको वा दसैँको सन्दर्भ मिलाएर महिषासुर मर्दिनीको अनेक संरचनाको कल्पना गरिएका कला थुप्रै पाइन्छन् । यी सबैको आधार बिन्दुमा कलाकारको कल्पना शक्ति पनि आउँछन् ।
कलाकारले कल्पना शक्तिलाई प्रयोग गरी धार्मिक भाव र मर्म नमर्ने गरी कलालाई सुन्दर बनाउन भरमग्दुर प्रयास गरेको देखिन्छ । यही मूर्तिकलामा रहेको एस्थेटिक्सको भागलाई पश्चिमाले निकै गहिरो गरी विश्लेषण गरेका छन् । नेपालमा यो कलाको महत्त्वपूर्ण भागलाई गहिरो गरी हेर्न नसक्दा अति महत्त्वपूर्ण यस्ता कैयौँ मूर्ति आज पनि बाटोउँदी फालिएका देखिन्छन् ।
जति सिद्धहस्त कलाकार जुन कालमा बढी थिए, त्यस बेलाका कला सुन्दर मात्रै देखिएका छैनन्, तिनमा धार्मिक कथा, उपकथा, आख्यान गाँसिएका छन् । मूलतः इसापूर्व २० हजार वर्षपहिले विकसित भएको मूर्तिकला जगत्ले सौन्दर्य वृद्धि, सौन्दर्य सृष्टि, अनि नैसर्गिक रूपलाई जोड दिएको देखिन्छ ।
कलाकारको परिकल्पना, शिल्प दक्षताका माध्यमबाट भाव अभिव्यक्त भएका सिर्जना आजसम्म आकर्षक रूपमा रहेका छन् । धर्मशास्त्री, धार्मिक परम्परा, सामाजिक मूल्य–मान्यता, देवीदेवता माथि रहेको आम जनताको आस्था अनि कलाकारको अथक प्रयासबाट देवीदेवताका कलात्मक मूर्ति, चित्र बन्दै आएका छन् । धर्म–संस्कृति र संस्कारको परिकल्पना पछि त्यसको प्रभाव आम भावक वा भक्तमा पार्नका लागि विभिन्न कलाको पनि परिकल्पना गरियो ।
धार्मिक वा सांस्कृतिक कलाको कुरा गर्दा आज हामीले पुराना कलाबाट समेत आस्था र भक्ति सँगालिरहेका छौँ । जतिजति कलाहरू गुणस्तरका हुन्छन् त्यति नै भक्तमा यसको असर गहिरो गरी पर्ने हुनाले हाम्रा देवीदेवता सुन्दर र मनमोहक अनि लालित्यले भरपुर भएर सजिएका हुन्छन् ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले लामो दुरीको मिसाइल हान्यो: युक्रेन
-
अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर
-
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्
-
सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा