शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
शेखर कोइरालाको दसैँ स्मृति

हजुरआमा भएका बेला अभावले खसी काटिएन, अहिले त्यो परम्परा बन्यो

मङ्गलबार, ०७ कात्तिक २०८०, ०७ : १२
मङ्गलबार, ०७ कात्तिक २०८०

दसैँ हामी नेपालीको सबैभन्दा ठूलो चाड हो । सबैभन्दा पहिले सबै नेपालीलाई बडादसैँको हार्दिक मंगलमय शुभकामना । सबैमा सुखशान्ति तथा सुस्वास्थ्य होस् ।

विजया दशमी असत्यमाथि सत्यको विजय भएको रूपमा मनाइने पर्व हो । सत्यको बाटो अत्यन्त कठिन हुन्छ, तर जित सधैँ सत्यकै हुन्छ । म पनि सत्यको मार्गमा हिँडिराखेको छु ।

मैले बाल्यकालको दसँै विराटनगरमा मनाएँ । दसैँका बेला नवरात्रभर हामी बिहान–बिहान त्यहाँको काली मन्दिरमा जान्थ्यौँ । हाम्रा पिताजी कृष्णप्रसाद कोइरालाले स्थापना गर्नुभएको त्यस मन्दिरमा भीडभाड निकै हुन्थ्यो, साथीहरू भेटघाट हुन्थ्यो । मन्दिरको दर्शन गरेपछि बेलुन उडाएर रमाउँथ्यौँ । पछि अलि ठूलो भइसक्दा पनि घरका कोही साना छन् भने उनीहरूका लागि बेलुन किनेर उडाइन्थ्यो । 

दसैँमा लामो छुट्टी हुने, मिठो खान र नयाँ कपडा लगाउन पाइने भएकाले हामी खुसी हुन्थ्यौँ । खसी काट्ने, पिङ खेल्ने गरिन्थ्यो । एउटा यस्तो समय थियो, मेरी आमा (नोना कोइराला), बीपी कोइराला सबैजना जेलमा । त्यतिबेला मेरो बुबा (केशव कोइराला) प्रवासमा हुनुहुन्थ्यो । जेलमै टीका लगाउने अवसर भने मिलेन । आमा जेलमा हुँदा धेरै वर्ष टीका लगाउन पाइनँ । प्रवासबाट फर्किएपछि २०३० सालतिर बुबा जेलमा हुँदा टीका लगाएको सम्झन्छु । बीपी कोइरालासँग मैले टीका लगाउन कहिल्यै पाइनँ । उहाँ बनारस हुँदा म दसैँका बेला गइनँ । अरु बेला उहाँ जेलमै हुने । सबै जेलमा हुँदा लामो समय घरमा हजुरआमा मात्र हुनुहुन्थ्यो । अलिकति अभाव पनि थियो होला । म सम्झिन्छु — दसैँमा त्यो अभावबीच पनि उमंग हुन्थ्यो । घरमा खसी काटिँदैन थियो त्योबला । 

अहिले पनि हामी अष्टमी, नवमीको दिन खसी काट्दैनौँ । दसैँको दिन टीका लगाउन आउने इष्टमित्र, नातागोतालाई खीर खुवाउने परम्परा बसेको छ । मासु दिने गरिएको छैन । हजुरआमा भएका बेला अभावले खसी काटिएन । त्यसपछि त्यो परम्पराजस्तो बन्यो, हामीले अहिले पनि त्यो गरिरहेका छौँ ।

कोइराला निवासमा कचालु भन्ने विशेष परिकार बन्छ । आलुको चाट जस्तो त्यो परिकार मलाई मिठो लाग्छ । हामीसँग टीका लगाउन आउनेले कचालु खाएर इन्ज्वाय गर्छन् । 

दक्षिणा

दसैँमा टीका लगाउँदा दक्षिणा छोरीलाई मात्र दिने र छोरालाई नदिने चलन छ । सानो छँदा हामीलाई पनि दक्षिणा दिए हुन्थ्यो भन्ने लाग्थ्यो । कतिले केटाकेटी हो भनेर दिनुहुन्थ्यो । दक्षिणा पाउने आसले टीका लगाउन हामी आफन्त–छरछिमेककहाँ जान्थ्यौँ । कसले कति दियो भनेर बडा चाखसित हेथ्र्यौं । कसैले ५० पैसा दिनुहुन्थ्यो, कसैले एक रुपैयाँ । २५ पैसा पनि त्यतिबेला धेरै थियो । अहिले त्यो सम्झँदा पनि रमाइलो लाग्छ । 

विराटनगरको हाम्रो समाजमा हजुरआमा र मेरा बुबा सिनियर हुनुहुन्थ्यो । हाम्रो घरमा टीका लगाउन मारवाडीहरू आउनुहुन्थ्यो । त्यो परम्परा अहिलेसम्म छ । यसपटक दसैँअघि नै म विराटनगर जान्छु । कोइराला निवासमा दसैँमा मुस्लिम, हिन्दु, मधेसी सबै आउनुहुन्छ । अहिले कोइराला परिवारमा पहिलाको जस्तो दसैँको उमंग छैन । पहिले हामी संयुक्त परिवारमा थियौँ । संयुक्त परिवार हुँदा दसैँको माहोलै बेग्लै हुन्छ, अहिले पनि माहोल बिग्रिएको भने होइन, मेरो हातबाट टीका लगाउन चार–पाँच दिनसम्म मान्छे आइराख्नुहुन्छ । मैले दक्षिणा दिँदा छोराछोरीलाई छुट्ट्याउँदिनँ । आफन्तमा पनि भान्जालाई मात्र दक्षिणा दिनुपर्छ भनिन्छ तर मैले सबैलाई दिन्छु । खल्तीमा भएको पैसा हिसाब गरेर दक्षिणा कसलाई कति दिने भनेर खाम तयार पारिन्छ । 

दसैँ आउँदा सान्बाबु र आमा सम्झन्छु

विराटनगरमा बीपी कोइरालासँग टीका लगाएको मलाई सम्झना छैन । गिरिजाबाबुसँग भने सधैँ टीका लगाउँथेँ । उहाँ प्रधानमन्त्री हुँदा काठमाडौँमा राजाको हातबाट टीका लगाएर विराटनगर पुगिहाल्नुहुन्थ्यो । पूर्णिमाको दिन नेपाली कांग्रेसले चियापान गर्ने कार्यक्रममा मात्र काठमाडौँ फर्किनुहुन्थ्यो । किसुनजी (कृष्णप्रसाद भट्टराई) पनि दसैँमा सधैँजसो विराटनगर आउनुहुन्थ्यो । किसुनजीको गिरिजाबाबुसँग एउटा रिलेसन, मेरो आमासँग बाल्यकालदेखिको रिलेसन थियो ।

उहाँ गिरिजाबाबुको कोठामा सुत्नुहुन्थ्यो, एकदमै रमाइलो गर्नुहुन्थ्यो । अहिले पनि दसैँ आउँदा सान्बुबा (गिरिजाप्रसाद कोइराला) र मेरो आमाको अभाव महसुस हुन्छ । उहाँहरूलाई साह्रै मिस गर्छु । उहाँहरूले दसैँमा साह्रै इन्ज्वाय गर्नुहुन्थ्यो ।

दसैँमा काठमाडौँ बस्यो भने दाजु (प्रकाश कोइराला) कहाँ टीका लगाउन गइहालिन्छ । ससुराली पनि छन् । मेरी श्रीमती पुनमका बुबा (कालिकाप्रसाद)ले ज्वाइँहरू दसैँमा आइदिऊन् भन्ने चाहनुहुन्थ्यो । अहिले त एकजना जेठान मात्र हुनुहुन्छ । विराटनगरमा बस्नुहुन्छ, हामी जान्छौँ । दक्षिणा कति आउँछ भनेर अहिले पनि रमाइलो हुन्छ ।

धर्म संस्कृतिमाथि प्रहार

सबै धर्म हाम्रा लागि बराबर हो । धर्म–संस्कृतिलाई हामीले जोगाउनैपर्ने हुन्छ । अहिले हाम्रो धर्म–संस्कृतिमाथि प्रहार भइरहेको मैले पाइराखेको छु । यो संविधान आएपछि धर्म–संस्कृतिमाथि बेसी प्रहार भयो कि भन्ने लाग्छ । २०१५ सालको संविधानमा हिन्दु राष्ट्र छैन । २०१९ सालको संविधानमा हिन्दु राष्ट्र लेखिएको हो ।

२०४७ सालको संविधानमा पनि हिन्दु राष्ट्र लेखियो । त्यतिबेला संविधानमा धर्मनिरपेक्ष लेख्नुपर्छ भनिएको थियो । तत्कालीन प्रधानमन्त्री किसुनजीले भनेको म सम्झिन्छु – बेलायती मित्रहरू आएर धर्मनिरपेक्षताको कुरा गर्नुभयो ।

किसुनजीले भन्नुभएछ, ‘तिम्रो देशमा धर्मनिरपेक्ष छ ? क्याथोलिक नै चाहिन्छ तिमीहरूलाई !’ उहाँले तत्कालीन राजा वीरेन्द्रलाई पनि भन्नुभएको थियो रे, ‘सरकार तपाईंले भनिदिनुस्, धर्मको कुरा ग¥यो भने प्रधानमन्त्रीसित कुरा गर्नू ।’ अनि हिन्दु राष्ट्र राखिएको हो ।

अन्तरिम संविधान २०६३ बनाउँदा धर्मको विषय पेचिलो भएर आयो । राष्ट्रिय जनावर गाई राख्ने कि नराख्ने भनेर हामीहरूको माओवादीसँग लफडा भयो । उनीहरूले गाई राष्ट्रिय जनावर हुँदैन भन्नुभयो, हामीले मानेनौँ । हामी गिरिजाबाबु कहाँ गयौँ । गिरिजाबाबुले प्रचण्ड र बाबुरामजीहरूलाई सम्झाउनुभयो । गिरिजाबाबुले संविधानसभा चाहनुहुन्न भने ठीकै छ भनेपछि उहाँहरू गाई राष्ट्रिय जनावर मान्न तयार हुनुभयो । संविधानभन्दा धर्म निरपेक्षताबारे धेरै छलफल हुँदा एउटा व्याख्या गरिएको छ, ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्नु नै धर्मनिरपेक्षा हो ।’ तर, यसको कार्यान्वयन राम्रो ढंगले भइरहेको छैन । 

संविधानले वर्जित गरेका क्रियाकलाप खुलमखुला भइरहेका छन् । सरकारले त्यसलाई रोक्न सकेको छैन । पछिल्लो समय सुनसरीको धरानमा जातीय द्वन्द्वको गन्ध मैले पाएँ भने बाँकेको नेपालगन्ज, सर्लाहीको मलंगवामा धार्मिक द्वन्द्वका बाछिटा देखिए । यो दसैँकै बीचमा र दसैँपछि कसरी जान्छ म चिन्तित छु ।

(रातोपाटीकर्मी लोकेन्द्र भट्टसँगको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेखर कोइराला
डा. शेखर कोइराला
लेखकबाट थप