मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
दसैँ

थारु समुदायको दसैँ : हराउँदै छ मौलिकता

सोमबार, ०६ कात्तिक २०८०, १३ : ४९
सोमबार, ०६ कात्तिक २०८०

थारु जातिको बसोबास भएको कर्णालीको एक मात्र जिल्ला हो, सुर्खेत । वीरेन्द्रनगर उपत्यकाको रत्नराजमार्ग र जुम्लारोड हाइवेभन्दा दक्षिणतर्फ ३६ गाउँ र राजमार्गको उत्तरतर्फ २ वटा गरी ३८ वटा थारु गाउँहरू रहेका छन् । दाङबाट बसाइँ सराइ गरेर आएकाले सुर्खेती थारुहरू दंगौरा हुन् । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतका दंगौरा थारुहरुको चाडपर्व मनाउनेमा एकरुपता देखिन्छ । 

थारु समुदायले डस्या अर्थात् दसैँ अन्य समुदाय भन्दा मौलिक र फरक तरिकाले मनाउने गर्दछन् । तर, पछिल्लो समय थारु समुदायमा दसैँ पर्वको मौलिकता हराउँदै आएको समुदायका अगुवाहरू बताउँछन् । 

घटस्थापनाको दिनलाई थारुले ‘जिउरा ढैना’ दिन भन्छन् । बिहान गरढुरिया (घरमुली) बिहानै नुहाएर छिट्नी वा झौहामा मलिलो माटो ल्याएर (डेहुरार) देउथानको प्रकाश कम लाग्ने छायामा मकैको जमरा राखिन्छ । जमरा राखिसकेपछि घरको जेठो छोराले नङ, कपाल, जुङ्गा, दारी केही पनि काट्न  मिल्दैन । यो पूर्खाप्रतिको सम्मान हो भन्ने गरिन्छ ।

man bdr chaudhari panna

दशैँको चौथो दिनसम्म खासै केही हुन्न । पञ्चमीको दिन दहित कुल थर भएका थारु समुदायले पितृपूजा गर्दछन्, जसलाई सराढक दिन भन्छन् । थारुले सप्तमीको दिनबाट मात्र विशेष रूपमा दसैँ मनाउँछन् । त्यो दिनलाई ‘पैनस्टोपी ढोइना दिन’ भनिन्छ । यो दिन घरको पनि सरसफाइ गरिन्छ । त्यसैले, झोल झरैना दिन पनि भनिन्छ । 

अष्टमीमा पुर्खाहरूलाई पुज्ने जमरा, बाबरीसँगै ढिक्री  हो, जसलाई ढिक्रह्वक दिन भनिन्छ । गहुँको पिठोको ढिक्री बफाएर ममजस्तै पकाइन्छ । 

नुहाइ धुवाइ गरेपछि महिलाहरूले कपाल समेत कोर्न मिल्दैन, सप्तमीको दिनदेखि अष्टमीको दिनसम्म । किनकि पितृको भागमा रौँ पर्न सक्छ भन्ने जनविश्वास छ ।

जसरी दसैँमा नयाँ लुगाको महत्व छ, त्यसैगरी थारु समुदायमा देवीदेवताहरूलाई दसैँमा नयाँ सिंगारपटार गरिन्छ । नयाँ लुगाको रूपमा धागोले तीन–तीन पटक फेरा गरेर बाँटिन्छ । उनीहरुले पूजा गर्ने सौँरा भनेको गणेश तथा घरकी मैयाँ भनेको पार्वती हो । 

पौवा, दाउरा भारी, रोटी, गोलाकारलगायत आकारमा देउतालाई चढाइने ढिक्री पाँच किसिमको हुन्छ, जसले आफ्नो पुर्खाहरूको त्यो बेलाको सामान प्रयोग र स्थितिलाई चित्रण गर्छ । त्यो दिन विशेष खालको मादल पनि बजाइन्छ । 

Tharu (2)

भरलाको पातमा ढिक्री बेरेर घरका ढोका, छानामा घुसाइन्छ । त्यो भनेको पितृहरू रातमा आएर खाना खान्छन् भन्ने जनविश्वास छ । मादल बजाएर देउतालाई ढिक्री चढाएपछि लगभग एक घण्टाजति केही खाइन्न । देवताहरू खाँदैछन्, उनीहरूले खाइसकेपछि मात्र प्रसादको रूपमा हामीले खानुपर्छ भन्ने भनाई छ । 

नवमीको दिनलाई ‘मुर्गी पुज्ना दिन’ अर्थात् मुर्गह्वा भनिन्छ । यो दिनमा पितृहरूलाई पिण्ड दिइन्छ । बिहान उठ्ने बित्तिकै सबैले नुहाई धुवाइ गर्ने, त्यसपछि घरमुलीले बाबरीको फुल, जमरा, सिरुको कुचो अनिवार्य चढाउँछन् । 

अघिल्लो दिन बली चढाएको भेडोरुपी कुभिण्डो र बेलको डाँठमा उनिएको ढिक्री पूर्वपट्टिको ढोकाको छानामाथि फालिन्छ । दहित थरका थारु बाहेकका थारूहरू नवमीका दिन पुर्खाहरूले गर्दै आएको चलनअनुसार बलि पनि चढाउने काम हुन्छ । बलिका रूपमा सबैजनाले भाले चढाउँछन् ।

अष्टमीको दिनमा बनाएको कुभिण्डोको भेडोलाई बिहानका पहिलो प्रहरमै देउताको थानमा रहेको तरबारले एकै पटकमा छिनाल्ने र रक्सी चढाउने गरिन्छ । महिलाले नुहाई धुवाइ गरी भान्सा लितपोत गरी भात, मासको तरकारी, कुखुराको मासु, माछाको तरकारी, मास, सिमी, कुभिण्डो पकाएर पूजाकोठामा लगेर राख्ने गरिन्छ । त्यसपछि पिट्टर बोलाउने गरिन्छ । 

यस क्रममा मालुको पातको पाँचवटा टपरी बनाइएको हुन्छ । एउटा दुनामा जल, एउटामा रक्सी, पाँचवटा तरकारी हालेर भाग छुट्टयाइन्छ । खाना दिँदा कसैले उत्तरपट्टी दिन्छन् त कसैले दक्षिण । तर, पस्कदा देब्रे हातले दिनुपर्छ । प्रसाद दिइसकेपछि बान दिने भन्ने हुन्छ । त्यो भनेको शरीरको विभिन्न भागहरू चिरेर निकालिएको रगत हो । त्यो दिइसकेपछि बल्ल परिवारका सबै सदस्यले खाना खान्छन् । 

बिहानको खानापछि पूजा गरिएको सामग्री पात, टपरी तथा अन्य सबै फोहोर बढारेर २÷३ बजेतिर पुर्खाहरूको सम्मान गर्दै नाचगान गर्दै वर्षदिनको मेलामा रूपमा गाउँभरिका मान्छेहरू सँगै नजिकको घाट तथा खोलामा गएर पिण्ड सेलाउन (पिट्टर अस्रैना) जान्छन् । पिट्टर सेलाउन खोलामा जाँदा गाइने गीतको उदाहरण यस्तो छः

मोर पिहा गइल उई पुरु पाटन हो...

ए हो मोर लग लनही सेन्डुरा बेसार...

रि सिल पटिय नक..

सिल सिल पटियक भाली भाली लोर

सेन्डुर पहिरी धनि अङ्गना बहार हो..

ए हो सवटि बिरहन मरजी जा

महिलाहरूले परम्परागत पहिरनमा सजिएर ढकियामा तरकारी, रक्सी लगेका हुन्छन् । महिलाले सामूहिक गीत गाउँदै ‘पिट्टर पुहैना’ कार्य गर्छन् । जसलाई अन्य समुदायले पितृ पुज्ने भन्छन् । खोलामा पिट्टर दिएको भाग सेलाएर रक्सी चढाउँछन् । 

Tharu (5)

ढकियामा लगेको खानपिन, रक्सी खोला किनारमै खान्छन् । त्यो दिन दुनामा खान मिल्दैन, मालुको पातमा खान दिइन्छ । खानपिन गरेर फेरि नाचगान गर्दै घरमा फर्किन्छन् । 

दशमीको दिन बिहान फेरि धुमधामका साथ पूजापाठ गरिन्छ । गाउँको साझा ठन्वा÷मरुवा मन्दिर जस्तै हो । गाउँका एक घरका एकजना एक बोटल रक्सी, जमरा, बाबरी लिएर ठन्वामा जान्छन् । त्यहाँ विशेष पूजाआजा गरिन्छ । 

घरमा पारिवारिक टीका सकेपछि गाउँका अगुवा बरघर तथा गुर्वा (धामी) को घरमा पनि एक बोटल रक्सी, जमरा, बाबरी लिएर सामूहिक रूपमा गाउँलेबाट टीका लगाइन्छ । अन्य समुदायले रातो टीका लगाउने भएपनि थारु समुदायले भने सेतो टीका मात्र प्रयोग गर्छन् । अब आएर भने रातो टीकाको पनि प्रयोग हुन थालेको छ ।

बरघरको आँगनमा टीका लगाउने क्रममा सखिया नाच घन्किरहेको हुन्छ हुन्छ । महिलाहरू बरघरको पत्नीलाई टीका लगाइदिन्छन् । टीकासँगै थारु समुदायको दसैँ सकिन्छ ।

हराउँदै दसैँको मौलिकता

अन्य समुदायले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा लगाउने गर्दछन् तर थारूहरुको दसैँ दशमीकै दिन सकिन्छ । अहिले अन्य जातिको प्रभावमा यो पर्वको मौलिकतामा कमी आएको देखिन्छ । अहिले कतिपय थारूहरूले पहाडियालाई विवाह गरेका छन्, उनीहरूमा केही फरकपना आएको देखिन्छ । समाज पनि समावेशी बन्दै गएकाले अन्य समुदायको प्रभाव थारु समुदायमा आएकोे हो ।

Tharu (3)

विगतमा सबै समान खालको हैसियतमा थिए, सबैको साधारण तरिकाको जनजीवन थियो । प्रत्येक थारु गाउँमा संस्कृति थियो, नाचगान भैराख्थ्यो । सखिया नाच, हुर्डुङ्ग्वा नाच, छोक्रा नाच दसैँमा अपरिहार्य जस्तै मानिन्थ्यो, पहिला । अहिले कुनै कुनै गाउँमा मात्र भेटिन्छ । सुर्खेतमा विभिन्न संघसंस्थाको पहलमा केही गाउँमा थारु संस्कृति संरक्षणको प्रयास भइरहेको छ । 

पुर्खाहरूले पाउ, घुँडादेखि कान हुँदै शिरमा टीका लगाई आर्शिवाद दिने गर्थे । तर, अहिलेको पुस्ताले आर्शिवाद फलाक्न समेत जान्दैनन् । साथै, अहिले ठन्वामासमेत पूजाआजा गर्ने प्रचलनमा कमी आएको देखिन्छ । 

पित्तर सेलाउन जाँदा पहिला सबै एकजुट भएर जान्थे । अहिले ससानो समूह बनाई सुटुक्क आफ्नै तरिकाले जाने गरेका छन् । यसरी कविला परम्परामा हुर्केका थारूहरूमा पनि सामूहिकताको कमी हुन थालेको देखिन्छ ।’

थारु कल्याणकारिणी सभा सुर्खेतका सल्लाहकार तथा अनुसन्धानदाता ‘पन्ना’सँग रातोपाटीकर्मी पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मानबहादुर चौधरी ‘पन्ना’
मानबहादुर चौधरी ‘पन्ना’
लेखकबाट थप