चाडबाडमा समेत चल्न छाडे ढिकी, जाँतो
सुर्खेत । चाडपर्व भन्ने बित्तिकै गाउँघरमा जोडिएर आउँछन् ढिकी, जाँतो लगायतका परम्परागत घरेलु यन्त्र । कुनै बेला कुटानी पिसानीका लागि मान्छेहरु पूर्ण रुपमा यिनै यन्त्र÷उपकरणमा निर्भर थिए । ढिकीमा कुटेको चामलको पिठोको सेलरोटी चाडबाडमा निकै महत्त्वपूर्ण मानिन्छ ।
अझै पनि कतिपय बुढापाका आधुनिक मिल तथा घट्टमा कुटानी पिसानी गरेको खाद्यका परिकार रुचाउँदैनन् । कुनैबेला चाडपर्व सुरु भएसँगै ग्रामीण भेगका महिला ढिकी, जाँतोमा कुटानी पिसानी गर्न व्यस्त हुन्थे ।
बिहान सूर्य उदाउनुअघि र बेलुकी सूर्य अस्ताउन पहिले गाउँघरमा ढिकी, जाँतोका आवाज गुञ्जायमान हुन्थे । अझै चाडबाडमा त यी घरेलु यन्त्र नियमितजस्तै चल्थे । सिमलको बोक्राको दाउन (पिठोमा प्रयोग गर्ने), खेतमा उब्जाएको चामल भिजाएर ढिकीमा मसिनो गरी कुट्ने गरिन्थ्यो, जसको स्वाद नै बेग्लै हुन्थ्यो । नवमीको दिन त गाउँभर जताततै ढिकी, जाँतोले गुञ्जायमान हुन्थ्यो ।
अचेल चाडबाडमा पनि ती घरेलु यन्त्रका आवाज सुनिन् छाडे । ढिकी, जाँतोको प्रयोग हुन छाड्यो । आधुनिकतासँगै ग्रामीण भेगका यी परम्परागत घरेलु यन्त्र÷उपकरण हराउन थालेका हुन् । ‘पहिला हामी दसैँको बेला दिनभर खेतबारीमा काम गर्ने, बेलुका खाना खाने र चामल भिजाउँथ्यौँ, त्यसपछि चाँडै सुत्ने अनि बिहान भाले नबास्दै उठेर ढिकीमा कुटानी पिसानी गर्थ्यौँ,’ जुम्लाको सिंजा गाउँपालिका–६, की ७९ वर्षीय काली बुढाले भनिन्, ‘कहिले त धेरै महिला एकै ठाउँमा जोडिएर कुटानी पिसानी हुन्थ्यो, त्यसको महत्त्व र मौलिकता बेग्लै छ ।’
अहिले त्यो परम्परा केवल इतिहासमा सीमित बनेको उनी बताउँछिन् । दुःख भए पनि अर्गानिक खानेकुराले मानव स्वास्थ्यका लागि फाइदाजनक हुनका साथै निकै स्वादिलो पनि हुन्थ्यो । यद्यपि अहिले मान्छेमा सुविधाभोगी स्वभाव बढ्यो । आधुनिकताको प्रभावस्वरुप कर्णालीका ग्रामीण भेगबाट ढिकी, जाँतो, हाते मुसल, कोल लगायतका रैथाने यन्त्र÷उपकरण लोप हुँदै गएका छन् ।
हाते मुसलको इतिहास् अझ ढिकी, जाँतोको भन्दा अगाडिको हो । केही वर्ष अघिसम्म पनि ग्रामीण बस्तीमा साँझ, बिहान घरेलु उपकरणका ध्वनि गुन्जिरहेका हुन्थे । ६० को दशकपछि गाउँगाउँमा गाडी पुगे । विकास पुगेपछि सहरबजारको रहन–सहन गाउँमा पुग्यो । मान्छेहरु सुविधा खोज्न थाले । कर्णाली राजमार्ग सञ्चालनमा आउनुभन्दा पहिला कर्णालीका गाउँबस्तीहरु कुटानी पिसानीका लागि पूर्ण रुपमा परम्परागत यन्त्र÷उपकरणमा निर्भर थिए ।
इतिहासका जानकार दैलेख ठाटीकाँध गाउँपालिका–१, का नामबहादुर शाही भन्छन्, ‘बिस्तारै देशमा विकास र परिवर्तन हुँदै गएपछि ग्रामीण क्षेत्रमा टुकटुके मिल र पानी घट्ट निर्माण भए । त्यसपछि कुटानी पिसानी गर्ने यस्ता यन्त्र विस्थापित हुँदै गएका हुन् ।’
अझै पनि विद्युतीकरण नभएका गाउँबस्तीमा फाट्टफुट्ट ढिकी, जाँतोकै प्रयोग भइरहेको छ । विद्युतीकरण भएका गाउँबस्तीमा पूर्ण रुपमा रैथाने उपकरण विस्थापित भइसकेका छन् ।
गाउँघरमा आफैँले उत्पादन गरेको तोरी पेलेर तेल निकालिन्छ, जो शुद्ध पनि हुन्छ । यसरी तोरी पेल्न गाउँघरमा कोल बनाइएको हुन्थ्यो । अझै विशेष पूजाआजामा कोलमा पेलेको तोरीको तेललाई महत्त्व दिइन्छ । तर, अहिले बजारमा पाइने विभिन्न ब्रान्डका तेल किनेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ भने कोलमा तोरी पेल्ने प्रचलन हराउँदै गएको शाही बताउँछन् ।
दुई दशक अगाडिसम्म चलनचल्तीमा आएका यी घरेलु यन्त्र अहिले बिरलै देख्न पाइन्छ । सुर्खेतको पश्चिम क्षेत्र, दैलेखको पश्चिम क्षेत्र र कर्णालीका माथिल्लो भेगका ग्रामीण भेग, जहाँ अझै विकास पुग्न सकिरहेको छैन, त्यहाँ अझै पनि परम्परागत यन्त्र फाट्टफुट्ट प्रयोगमै छन् । गाउँघरमा आधुनिकताले एकातिर मान्छेहरूलाई अल्छी बनाएको छ भने उत्पादनमा कमी भई परनिर्भर बनाउँदै लगेको छ ।
परम्परागत यन्त्रलाई लोप हुन नदिन सरकारी निकायबाट योजना ल्याउन आवश्यक रहेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाही बताउँछन् ।
अछामको तुर्माखाँद गाउँपालिकामा कार्यरत कर्मचारी जनक थापा पनि परम्परागत यन्त्रलाई विस्थापित हुन नदिएर संरक्षण गर्नुपर्ने बताउँछन् । ‘यिनलाई जोगाएर राखे गाउँघरमा पर्यटक भित्र्याउन सकिन्छ । मान्छेहरु बाहिरबाट घुम्न आए भने अचम्म मान्छन् । यहाँ यस्तो परम्परा रहेछ भन्छन् । अझै पनि यहाँका मान्छे यस्ता साधन प्रयोग गर्छन् भनेर सहर बजारका मानिस आकर्षित हुन्छन्,’ उनले भने । थापाका अनुसार आधुनिकताले मान्छेलाई फाइदा र बेफाइदा दुवै गरेको छ ।
आधुनिक घट्ट र टुकटुके मिलले गर्दा गाउँमा पाइने अर्गानिक अन्नको स्वाद हराएको स्थानीय बुढापाका बताउँछन् । ‘महिलाका दुःखमा कमी आए पनि खानाको स्वाद नै बिगा¥यो,’ थापा भन्छन्, ‘ढिकी र जाँतोमा कुटानी पिसानी गरिएका अन्नमा जुन स्वाद पाइन्छ, त्यो स्वाद अहिले पाइँदैन ।’
स्थानीय महिला भने अहिले आधुनिक यन्त्रको विकाससँगै सुविधा बढेको बताउँछन् । ‘पहिला ढिकी जाँतो, हाते मुसलले गर्दा हामी महिलालाई दुःख हुन्थ्यो,’ प्राथमिक स्वास्थ केन्द्र ठाटीकाँधमा कार्यरत भूमिसरा शाही भन्छिन्, ‘आधुनिक घट्ट, टुकटुके मिल आएपछि महिलालाई सहज भएको छ ।’
कुटानी पिसानी गर्दा लाग्ने समय बचत भएसँगै महिलाहरुले बालबच्चाको सरसफाई, तरकारी खेतीमा समय दिने गरेका छन् । स्वास्थ्यका दृष्टिकोणबाट हेर्दा पनि फाइदा, बेफाइदा दुवै छन् । पहिला चुलो चौकोमा सीमित रहने महिला अहिले गाउँघरमा हुने सेमिनार, गोष्ठी लगायतका कार्यक्रममा सहभागिता जनाउने गरेका छन् ।
कर्णाली प्रदेश सभा सदस्य गोमता विकको कुनै बेला अधिकांश समय कुटानी पिसानी र चुलो चौकामा समय बित्थ्यो । तर उनले त्यहीँबाट सामाजिक रुपान्तरणका लागि संघर्ष गरिन् । उनी भन्छिन्, ‘महिलालाई आधुनिक यन्त्रले केही सुविधा भए पनि मिल या घट्टमा महिलाकै उपस्थिति हुन्छ । हामीले आधुनिकतासँगै महिलाका दुःख देखेर पानी घट्ट बनायौँ, संस्कार बचाउनकै लागि ढिकी, जाँतोलाई हटाउनै पर्छ भन्ने अडान लिएका छैनौँ । संस्कार पनि बच्ने, महिलालाई सुखको लागि पानी घट्ट, स्वादिलो खानाको लागि ढिकी जाँतो लोप हुन दिनुहुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमजोरी सच्याउन एमाले तयार छ : शङ्कर पोखरेल
-
सरकारमा रहेको पार्टीले सभा र र्याली गरेको भन्नेहरूलाई दरबारमार्गबाट फर्कायो एमालेले जवाफ
-
क्रेडिट रेटिङको प्रत्यक्ष फाइदा बैंकलाई, विदेशी ऋणमा डेढ प्रतिशतसम्म घट्ने
-
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
-
सहकारी पीडितद्वारा मानव अधिकार आयोगको कार्यालय घेराऊ, तस्बिरमा हेर्नुहोस्
-
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल