एसियाली पारा खेलकुद : टेबलटेनिसमा नेपाली खेलाडी पराजित

काठमाडौँ । चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबलटेनिसमा आइतबार नेपाली खेलाडी पराजित भएका छन् । २ पुरुष र १ महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै खेलाडी पराजित भएका हुन् ।
तीनै खेलाडी समान ३–० को नतिजामा चीनका खेलाडीसँग पराजित भए । जीएसपी जिम्न्याजियमा भएको पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ को खेलमा चिङयुवान गुओले नेपालका डिगमसिंह चेम्जोङलाई ११–७, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा चिङ झाइले नेपालका केशव थापालाई सीधा सेटमा ११–८, ११–८ र ११–४ ले हराए ।महिला सिंगल्स क्लास ४ को समूह ‘डी’ मा चियाडन गुले नेपालकी लाली तामाङलाई ११–३, ११–४ र ११–५ को सोझो सेटमा पन्छाइन् ।
नेपाली खेलाडीले शुक्रबार विभिन्न ४ खेलमा प्रतिस्पर्धा गर्ने छन् । आर्चरी, ब्याडमिन्टन, पावर लिफ्टिङ र टेबलटेनिसमा प्रतिस्पर्धा गर्ने छ ।