‘खाटको खुट्टो थिएन, रुखै चोरेँ...’
विराटनगर । ‘ओइ भेषराज ! मेरो धान कसले दल्यो,’ दिनेशले झोक्किँदै प्रश्न गरे । दसैँको सप्तमीको दिन भेषराजसहित गाउँका बसन्त, भीम, लेखनाथ भने घरमा बोका ढालेर मस्त थिए । दिनेश कड्किएको सुनेर भेषराजले भने, ‘होइन के भयो ? ।’
दिनेशले रुख ढालेर आफ्नो खेतमा धान दलेको विवरण सुनाए । ‘मेरो खेतमा धान फल्न लागेको धानको बोट सखाप पारिदिएछ, यो कसले हो ? मलाई धान चाहिन्छ,’ दिनेशले भने । त्यसपछि हल्लाखल्ला सुरु भयो, ‘रुखको बिरुवा कसले काट्यो ? तेरो खेतमा धान दल्न को आयो ? ।’
चारै जना खेतको पुछार पुगे । हेर्दा एउटा मसलाको बिरुवा कसैले काटेर लगेको रहेछ । अब चोर पत्ता लगाउनु पर्ने भयो । सप्तमीको रमझममा झुलेका भेषराजका परिवारको अवस्था बुझेरै रुख चोरेको थियो । रुखै चोर्ने चोर पत्ता लगाउने निष्कर्षसहित टोली धान बारीतिर हानियो । खेतको डिलमा निस्किएर बसन्तले भने, ‘धम्कुवाको चोर कहाँ छस् ? तँलाई चट्टै छिनाउँछु ।’
भीमले भने, ‘यसलाई भेटियो भने धुकधुकी मात्रै राख्ने गरी हान्नुपर्छ ।’
साँझको समय भइसकेको कारण लाथ्रा चोर पनि भेटिएन, चोरको संकेत पनि पाइएन । भेषराजले प्रहरीलाई खबर गरे । प्रहरीले भोलि बिहान निवेदन दिनु भन्यो । भोलिपल्ट अष्टमीको दिन बिहानैदेखि गाउँघरमा फेरि लाथ्रो हराएको चर्चा सुरु भयो ।
कानेपोखरी–५ मा भएको यो अनौठो चोरीको घटनालाई लिएर भेषराजसहितको टोली प्रहरी चौकीमा निवेदनका लागि गए । प्रहरीमा उजुरी दिएर आएर गाउँका लालाबालासहित लाथ्रा र चोरको खोजीमा लागे । महिला पाटी एकातिर, पुरुषपाटी अर्कातिर । महिला पाटीले एक निर्माणाधीन घर छेउमा रहेको परालको माचमुनि मसलाको आलो काठका मुढा फेला पार्यो ।
पुरुष पाटीले धानबारीमा उक्त रुखको फेदको भाग भेला पार्यो । त्यसपछि सोधखोज भयो– कसले चोरेको ? किन चोरेको ?
प्रहरीलाई खबर भयो । प्रहरी आएपछि केरकार सुरु भयो । भर्खरै निर्माण भएको नयाँ घरमुलीलाई सोधीखोजी गरियो । पहिले इन्कारी बयान दिएका घरमुलीले अन्तिममा भने, ‘मलाई खाटको आवश्यकता थियो । खाट बनाउन सबै काठ पुग्यो । तर खाटको खुट्टा बनाउने काठ भएन । किन्न पैसा भएन । त्यही खाटको खुट्टो बनाउन अर्काको रुख चोर्नु परेको हो ।’
झोक्किएर गएका भेषराजका समर्थकहरु घरमुलीको कुरा सुनेर मत्थर भए । दुःख र पीडाको कुरा सबैले बुझे । ‘पैसा भएन, खाटको खुट्टो बनाउने काठ भएन भनेर रुखै चोर्ने त ?’ बसन्तले प्रश्न गरे, ‘दसैँको बेला छ, एक किलो मासु किन्ने पैसै भएन भनेर खसी नै चोर्ने ? एक छाक भात खान पाइनँ भनेर भकारी नै फोर्ने ? ।’
उनले यसो भनिरहँदा रुख चोरी गर्ने अन्दाजी ३० वर्षे ठिटो अक्क न बक्क बनिरहे । बोल्न सकेनन् । गहभरि आँशु बनाए । आफ्ना ९ वर्ष र ४ वर्षका दुई छोराको अनुहार हेरे । अनि भने, ‘यिनीहरु सुत्ने खाटै भएन, अनि यसो गरेँ !’
दसैँ मान्न भनेर ल्याएको एक किलो खसीको मासु पकाउँदै गरेका उनलाई प्रहरीले चौकी हिँड्न भने । भेषराजले भने, ‘खाना खान दिऔं, भोक लागेको होला, त्यसपछि लाँदा हुँदैन ?’
प्रहरीले झोक्किँदै जवाफ दियो, ‘भात खान दिऔं, कोट, टाई, सुट सबै लगाउन दिऔं, अनि दसैँ मान्न दिएर लैजाउँ, हुँदैन ?’
यति भन्दै प्रहरीले रुख चोर्ने कमललाई नियन्त्रणमा लिएर चौकी लग्यो । चौकीमा दुवै पक्षका भद्रभलाद्मी बसे, र कागज गरेर कमल छुटे ।
त्यहाँ पनि कमलले भनेका थिए, ‘मेरो खाटको खुट्टा थिएन, त्यही भएर मैले रुखै चोरेको हुँ । आउने दिनमा यसो गर्दिनँ ।’
काठ फिर्ता ल्याउने सर्तपछि उनलाई छोडियो । सबैले उनलाई सुझाव दिए, ‘पाखुरा बजारेर खाने हो । यसरी चोरेर कति दिन टर्छ ?’
कमलले भने, ‘अब यस्तो गर्दिनँ, मेरो दिमाग बिग्रिएर यसो गरेँ ।’ त्यसै दिन कमलले काठको मुढा बोकेर भेषराजको घरमा ल्याइदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी