कर्णालीका मुख्यमन्त्री, मन्त्रीदेखि सभामुखको दसैँ : महत्त्व दिनेभन्दा नदिनेहरू बढी
सुर्खेत । अरुबेला सुनसान हुने गाउँघर दसैँ भित्रिएसँगै रमाइलो बनेको छ । परदेशिएकाहरु दसैँ मनाउन घर फर्कने क्रम जारी छ । दसैँमा आफन्तको हातबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने गरिन्छ भने दसैँलाई सामाजिक सद्भाव र मेलमिलापको पर्वका रुपमा पनि मनाइन्छ ।
दसैँलाई लक्षित गर्दै कर्णालीका मन्त्रीदेखि सांसदहरुले राजधानी वीरेन्द्रनगर छाड्ने क्रम सुरु भइसकेको छ । कतिपय नेता आफ्नो गृह जिल्लामा पुगिसकेका छन् भने कोही जाने तयारीमा छन् । त्यसो त, कर्णालीका मन्त्री, सांसदहरु फुर्सदिला नै थिए । अझ दसैँ सुरु भएसँगै नेताहरुलाई गाउँमा जाने, भेटघाट गर्ने एउटा अवसर बनेको छ ।
कर्णालीको ८ सदस्यीय मन्त्रीण्डल र सभामुख÷उपसभामुखमध्ये दसैँ मनाउनेभन्दा नमनाउनेहरु बढी देखिए । कतिपय ‘अशुद्ध’ (जुठो)का कारण यस वर्षको दसैँ नमनाउने अवस्थामा छन् भने केहीले दसैँलाई खासै महत्त्व नदिने गरेको पाइयो । विशेषगरी भौतिकवादमा बढी विश्वास गर्ने र माओवादी केन्द्रका नेताहरु ले दसैँलाई खासै महत्त्व दिँदैनन् । त्यसैले पनि होला मुख्यमन्त्रीदेखि मन्त्रीहरुको दसैँ कार्ययोजना नै अहिलेसम्म बनेको छैन ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेसम्म दसैँको कुनै तयारी नरहेको बताए । उनले दसैँको कार्यतालिका नबनाइएको र आफू त्यस्तो कार्यतालिका बनाउने मान्छेभित्र नपर्ने प्रस्ट पारे । शर्माको गृह पालिका रुकुमपश्चिमको चौरजहारी हो । उनको परिवार भने काठमाडौँमा छ । शर्मा धर्म, कर्ममा खासै विश्वास गर्दैनन् । ‘सानो छँदा रमाइलोको रुपमा लिने गरिए पनि बुझ्दै जाँदा धर्मग्रन्थले शासन गरेको जस्तो पाएँ,’ उनी भन्छन्, ‘धर्मग्रन्थले नीति, विधिमा बाँधेको जस्तो इतिहास देखिन्छ । मान्छेहरुले आस्थाको रुपमा मनाएको देखिन्छ ।’
बिदाको समयलाई उपयोग गरेर बरु केही काम गर्ने योजना मुख्यमन्त्री शर्माको छ । यो बिचमा जनभेटघाट र सरकारका आन्तरिक कार्य गर्ने आफ्नो योजना रहेको उनले सुनाए । ‘लगानी सम्मेलनको तयारी गर्नु छ, अन्य विधि बनाउनुपर्ने छ,’ उनले भने, ‘विज्ञहरुसँग छलफल, भेटघाट गर्ने योजना छ ।’
विचार, सिद्धान्तका हिसाबले भौतिकवादमा विश्वास गर्ने भएकाले मुख्यमन्त्री शर्माले दसैँलाई महत्त्व दिँदैनन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही पनि दसैँलाई खासै महत्त्व दिन्नन् । यद्यपि दसैँको समयलाई भने भेटघाटमा उपयोग गर्ने उनको योजना छ । उनले अहिलेसम्म कार्यतालिका भने बनाएका छैनन् । शाही भन्छन्, ‘दसैँलाई भेटघाट, मेलमिलापका रुपमा लिने कुरा भइहाल्यो, राजनीतिक कोणबाट हेर्दा जनतासँग भेटघाट, जनतासँगको सम्बन्ध, आत्मीयता बढाउने कुरा रहन्छ । साथै शुभकामना आदान–प्रदान हुन्छ नै ।’
शाहीले दसैँलाई अहिलेसम्म ठुलै रुपमा महत्त्व दिएर नमनाएको सुनाए । दसैँको दिनसम्ममा काठमाडौँ जाने योजना रहेको उनले बताए । टीकाको दोस्रो दिनदेखि पाँचदिन गृह जिल्ला मुगु पुग्ने र पूर्णिमाको दिनसम्म भेटघाट, छलफल गर्ने योजना उनको छ । उनले घरमा गएर अभिभावकबाट टीका लगाउने गरेका छैनन् । उनी पनि माओवादी केन्द्रबाटै मन्त्री बनेका हुन् ।
माओवादी केन्द्रबाटै मन्त्री रहेका सरकारका प्रवक्तासमेत रहेका कानुन मन्त्री कृष्ण जिसीको पनि दसैँ सम्बन्धी कुनै योजना छैन । तथापि उनी दसैँको बेला गृहनगर चिङ्गाडमा जाने र परिवार, आफन्तसँग भेटघाट गर्ने योजना रहेको बताउँछन् ।
कांग्रेसबाट सरकारमा रहेका मन्त्रीद्वय कृष्णकुमार बिसी र बेदराज सिंहले भने दसैँको कार्ययोजना बनाइसकेका छन् । अर्थमन्त्री सिंह दसैँको टीका लगाउन गृह जिल्ला जाजरकोट जानेछन् । बारेकोट गाउँपालिका–८, मा रहेको आफ्नो गाउँमा बुबाआमाको हातबाट टीका, जमरा ग्रहण गर्ने योजना रहेको सिंहले बताए । दसैँ सकेरमात्र राजधानी फर्किने उनको योजना छ ।
सिंह भन्छन्, ‘दसैँलाई सत्कर्ममा हिँड्नुपर्छ भन्ने एउटा पर्वका रुपमा लिन्छु, सबैलाई सकारात्मक सोचको विकास गर्ने चाड र मेलमिलापको भावना प्रदान गर्ने पर्वका रुपमा लिन्छु ।’
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिसीको पनि यो पटक दसैँ छ । उनी शुक्रबार वीरेन्द्रनगरस्थित आफ्नो घरमा गइसकेका छन् । गृह जिल्ला दैलेख भए पनि उनको वीरेन्द्रनगरमा घर छ । अष्टमीको दिनमा देउती बज्यै मन्दिरमा पूजा गर्ने उनको योजना छ । उनले कुनैबेला व्यक्तिगत रुपमा देउती बज्यैलाई भाकल गरेका थिए । उक्त भाकल पूरा गर्ने उनले बताए ।
नवमीको दिन दैलेख घरमा जाने र आफ्नो कुल देवताको पूजा गर्ने, त्यहाँ नेता, कार्यकर्ताहरुसँग भेटघाट र शुभकामना आदान–प्रदानको कार्यक्रम रहेको उनले सुनाए । त्यसपछि त्यही दिन वीरेन्द्रनगर फर्कने र टीकाको दिन छोराछोरीलाई टीका, जमरा लगाइदिने उनले बताए ।
आफूले भने आफ्नै माइलो दाजुको हातबाट टीका थाप्ने बिसी बताउँछन् । उनी दसैँले समाजलाई एउटा अनुशासनमा बाँधेको बताउँछन् । ‘त्यो अनुशासनमा आत्मीयता छ, मेलमिलाप छ, नैतिकता छ,’ उनले भने, ‘आफूभन्दा ठुलोबाट टीका लगाउने, सानोलाई आशीर्वाद दिने यो निकै महत्त्वपूर्ण छ । विगतमा दसैँलाई निकै ठुलो महत्त्व दिइन्थ्यो तर, अचेल जमना अर्कै खालको आयो ।’
हुने खाने र हुँदा खानेहरुबिच अझै अन्तर रहेको बताउँदै बिसी यो अवस्थालाई अन्त्य गरिनुपर्ने बताउँछन् । यद्यपि दसैँलाई तडकभडकका रुपमा मनाइन नहुने उनको तर्क छ ।
पूर्व मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भने केही दिन अघिदेखि नै गृह जिल्ला हुम्लामा छन् । यो पटकको दसैँ जिल्लामै मनाउने उद्देश्यसहित उनी जिल्ला केन्द्रित छन् । त्यहाँ रहँदा भइरहेका विकास निर्माणका कामहरुको विषयमा निगरानी राख्ने, छलफल गर्ने योजनामा उनी छन् । ‘काम नै नगरिएका र नबनेका बाटोहरुको विषयमा छलफल गर्ने तथा नेता, कार्यकर्ताहरुसँग भेटघाट गर्ने योजना अनुसार म हुम्लामा छु,’ उनले भने, ‘म जिल्ला केन्द्रित छु ।’
शाहीको परिवारमा उनीभन्दा सिनियर कोही छैनन् । उनले नै सबैलाई टीका, जमरा लगाएर आशीर्वाद दिने गर्छन् । यो पटक मामाको हातबाट टीका लगाउने योजना बनाएको उनले बताए । शाही दसैँलाई एकताको प्रतीकका रुपमा लिन्छन् । दसैँलाई टाढा रहेका परिवार, आफन्तलाई नजिक हुने वातावरण बन्छ भने नयाँ ऊर्जा दिने, सबैको मिलनविन्दुका रुपमा लिने गरेको उनले बताए । यद्यपि दसैँ कसैका लागि दशा बन्न नहुने उनको भनाइ छ ।
‘गरिब, विपन्न समुदायका नागरिकहरु, जो छाक टार्न धौधौ अवस्थामा हुन्छन्, उनीहरुलाई यो बेला सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘धनी र गरिबबिचको खाडललाई पुर्न राज्य अग्रसर हुनुपर्छ ।’
कर्णालीका सभामुख नन्दा गुरुङको यो पटक दसैँ छैन । आफ्नो परिवारमा अशुद्धिका कारण आफ्नो दसैँ नरहेको उनले बताइन् । यद्यपि दसैँको समयमा भने आफ्नै घरमा गएर भेटघाटमा बिताउने योेजना रहेको उनले बताइन् ।
दसैँ भन्ने बित्तिकै ठुलोबाट आशीर्वाद लिने र सानोलाई आशीर्वाद दिने एउटा पर्वको रुपमा बुझ्छिन् उनी । ‘अर्को, दसैँलाई मेलमिलापको रुपमा पनि लिइन्छ,’ गुरुङले रातोपाटीसँग भनिन्, ‘दसैँले सामाजिक सद्भाव र एकरुपताको सन्देश दिनुपर्छ । गरिबलाई दसैँ दसैँजस्तो नहुने, धनीहरुको घरमा खुसीयाली हुने यो असमानता छ । सबैखाले मान्छेलाई एकरुपतामा बाँध्ने गरी सरकारले योजना बनाउनुपर्छ ।’
उपसभामुख यशोदा न्यौपाने पनि दसैँलाई खासै महत्त्व दिन्नन् । माओवादी जनयुद्धमा जनमुक्ति सेनाको भूमिका निर्वाह गरेकी उनी वीरेन्द्रनगर मै छिन् । उनको परिवारमा कोही कालिकोट, कोही, कैलाली, कोही बर्दिया त कोही काठमाडौँमा छन् । दसैँको फुर्सदिलो समय कहाँ गएर सदुपयोग गर्ने भन्नेबारेमा उनले अहिलेसम्म कार्यतालिका बनाएकी छैनन् ।
तथापि नेपालीहरुको महान् चाड भएकाले भव्य, सभ्य र व्यक्तिले आफ्नो परिस्थिति अनुसार मनाउनुपर्ने उनको सुझाव छ । ‘म जमरा नै लगाउँदिन भनेर भन्दिनँ । भए लगाउने, नभए पनि निराश नहुने हो,’ उनले भनिन्, ‘दसैँ आफ्नो गच्छे अनुसारको मनाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा
-
खुमलटारमा शंकास्पद वस्तु फेला
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी