दसैँमा मासुको उपभोग अधिक हुन्छ । अझ बजारमा गएर सिँगै खसी बोका, च्याङ्ग्रा वा हाँस, कुखुरा ल्याएर उपभोग गर्ने चलन रहेको छ । यस्तो अवस्थामा हामीले घरसम्म पुर्याएका पशुपन्छी के स्वस्थ हुन्छन् त ? मासु काट्दै गर्दै यसमा सङ्क्रमण हुन नदिन के गर्ने, लामो समयसम्म मासु कसरी राख्ने ? त्यसरी राखेको मासुले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ लगायत जिज्ञासा धेरैलाई हुन्छ ।
मासु नखाने शाकाहारीले चाहिँ कसरी पोषण व्यवस्थापन गर्ने अनि खानाका विषयमा कसरी रमाउने भन्ने विषय पनि उत्तिकै सान्दर्भिक रहन्छ । प्रस्तुत छ, यसै सन्दर्भमा स्वास्थ्य मासुको उपभोग र दसैँ खानपानका सन्दर्भमा पोषणविद् डा. उमा कोइरालासँगको कुराकानीको सम्पादित अंशः
जिउँदो पशुपन्छी किन्दा स्वास्थ्य वा अस्वास्थ्य कसरी थाहा पाउने ?
यस विषयमा सरकारमै भर पर्नुपर्ने हुन्छ । किनकि आयात गर्दै गर्दा नै पशुपन्छी क्वारेन्टाइनबाट ल्याइएको हुन्छ र खाद्य तथा गुण नियन्त्रण शाखाबाट जाँचेर ल्याएको हुनाले पनि त्यसलाई स्वास्थ्य छ भनेर भरोसा गर्न सकिन्छ । तर, निजी क्षेत्रबाट ल्याइने अवस्थामा भने केही विचार पुर्याउनु पर्ने हुन्छ ।
यद्यपि पछिल्लो समय घरमा पनि नियमित पशु चिकित्सकहरूले निगरानी हुने गरेकोले त्यसमा पनि विश्वास गर्ने ठाउँ त रहन्छ । तथापि सबै खसी बोका स्वस्थ नै हुन्छन् भन्ने अवस्था नरहँदा उपभोक्ता आफै सचेत हुन जरुरी छ । जस्तो कि अलि टाठोबाठो, फूर्तिलो, चिल्लो जिउ भएका खसी बोका किन्दा राम्रो हुन्छ ।
रोगी पशुपन्छीको संसर्गमा जाँदा वा त्यसको मासुको उपभोग गर्दा रोग सर्ने संभावना कत्तिको रहन्छ ?
यदि सरुवा रोग लागेका पशुपन्छी छन् भने त्यसको किटाणु मानिससम्म पनि आउन सक्छ । तर, यदि पशुपन्छीमा प्रकोप र महामारीको रुप देखिएको छैन भने मानिसहरू डराई हाल्नुपर्ने अवस्था हुँदैन ।
अर्काेतर्फ पशुपन्छी पाल्ने कृषकहरूमा पनि सरसफाई र रोगका बारेमा सचेतना बढेकाले त्यस प्रकारको डर मानि हाल्नुपर्ने देखिँदैन । यद्यपि कतिपय समयमा बर्डफ्ल्यु लगायतका रोग हामीले सुनेका हुनाले यसमा उपभोक्ता सचेत रहन आवश्यक छ । र, खद्य तथा गुण नियन्त्रण नियामक निकायले पनि यसलाई मध्यनजर गर्न आवश्यक छ ।
घरसम्म खसी बोका पुर्याइ सकेपछि त्यसलाई कसरी स्वास्थ्य र उपभोग्य मासुका रुपमा तयार गर्न सकिन्छ ?
खसी बोका वा कुनै पनि पशु पन्छीलाई काट्ने ठाउँ सफा हुन जरुरी छ । काटीसकेपछि राम्रोसँग धोई पखाली गरी छोपेर सुरक्षित राख्न आवश्यक छ । मासुमा किटाणुहरु धेरै छिटो आकर्षित हुने हुनाले पनि सरसफाईमा अत्यन्त ध्यान दिनुपर्ने हुन्छ । तत्काल किचेनमा पुर्याएर रेफ्रिजेरेशन गर्ने वा पकाएर राख्ने गर्नु पर्दछ ।
फ्रिज बिनै सुरक्षित राख्नका लागि पकाउने पनि विशेष तरिका हुन्छ । राम्रोसँग तेल र मसलामात्र राखेर पकाएर राख्नु उपयुक्त हुन्छ ।
दसैँको मासु हामी नेपालीले धेरै समयसम्म राख्ने गर्छौं । यस्तो अवस्थामा बासी मासुले कस्तो असर गर्न सक्छ ?
पक्कै पनि बासी मासुले स्वास्थ्यमा असर गर्छ । यदि सुरक्षित रुपमा मासु राखिएको छैन वा काँचो मासु डि–फ्रिजमा राखिएको छैन भने त्यसमा तुरुन्तै ब्याक्टेरिया आइहाल्ने हुन्छ । अर्काेतर्फ पकाउँदा पनि राम्रोसँग पकाएको छैन वा पकाएर लामोसम्म राख्दापनि यसमा किटाणुको सङ्क्रमण हुने संभावना धेरै रहन्छ ।
विशेष गरी जाडो मौसममा मासु फ्रिज बाहिरै राख्ने चलन हुन्छ, यसले गर्दा पनि मासुमा सङ्क्रमण हुने खतरा बढ्ने र स्वास्थ्यमा प्रतिकुल असर पुग्न सक्छ ।
गाउँघरमा चाँहि कसरी मासु सुरक्षित राख्ने ?
रेफ्रिजेरेटर नयाँ प्रविधि हो । खासमा केही वर्ष अघिसम्म हामी सबैले प्रविधि विना नै खाना राख्थ्यौं । यद्यपि फ्रिज बिनै सुरक्षित राख्नका लागि पकाउने पनि विशेष तरिका हुन्छ । राम्रोसँग तेल र मसलामात्र राखेर पकाएर राख्नु उपयुक्त हुन्छ ।
विशेष गरी पानी मज्जाले सुक्ने गरी पकाएरमात्र राख्नु पर्छ । झिँगा, कमिला, साङ्लाहरूबाट जोगाएर २/४ दिन खुल्ला ठाउँमा राखेपनि मासु किटाणुरहित रहन सक्छ ।
यति हुँदा हुँदै पनि मासुलाई राखेर भन्दा पनि परिवारलाई आवश्यक मात्रामा मात्र ल्याएर ताजा नै खानु सबैभन्दा उत्तम हुन्छ ।
दसैँमा मासुको खानपानमा दीर्घ रोगीहरूले कसरी ध्यान पुर्याउने ?
मासु खाने विषय रोगको प्रकारमा निर्भर गर्दछ । जस्तो किड्नीको समस्या, बाथको समस्या, कोलेस्टोरल जम्ने रोग वा रक्तचापसम्बन्धी रोग छ भने एकदमै ख्याल गरेर मात्र खानुपर्ने हुन्छ । यस्ता विरामीहरूलाई खसी, बोकाको रातो मासुले राम्रो गर्दैन । अर्काेतर्फ यसमा चिल्लोका मात्र पनि धेरै हुने गर्दछ । चिल्लोपनाले पनि विरामीलाई असर गर्छ ।
धेरै मासु खाएर फुड प्वाइजन हुन्छ भन्ने भन्दा पनि मासु प्रदूषित छ वा स्वास्थकर छैन भने चाँहि फुड प्वाइजन हुने संभावाना धेरै रहन्छ ।
दसैँमा रमाईलोका लागि पनि मासु खाने गरिन्छ । तर, विरामीहरूले चाँहि आफ्नो स्वास्थ्यलाई ख्याल गरेर बासोरहित मासु खान आवश्यक हुन्छ । त्यसमा पनि मासुको थोरै मात्रा उसिनेर खानु उपयुक्त हुन्छ । अर्को उपाय भनेको चिल्लोरहित रस (सुप) बनाएर खाँदा शरीरलाई फाइदा गर्छ ।
के धेरै मासु खाएर फुड प्वाइजन हुन्छ ?
धेरै मासु खाएर फुड प्वाइजन हुन्छ भन्ने भन्दा पनि मासु प्रदूषित छ वा स्वास्थकर छैन भने चाँहि फुड प्वाइजन हुने संभावाना धेरै रहन्छ । कारण बासी वा ढुसी पलाएको अथवा किटाणु भएको मासु खाँदा त्यसले पेटमा समस्या ल्याउने फुड प्वाइजन गराउँछ ।
फुड प्वाइजन भएमा के गर्ने ?
ठ्याक्कै यस्तै गर्ने भन्दा पनि जव पेटमा किटाणुको प्रवेश हुन्छ, त्यो नजाउन्जेल त्यसको असर रहि नै रहन्छ । अथवा १२, २४ देखि ४८ घन्टासम्म त्यो रहिरहन सक्ने संभावना रहन्छ ।
फुड प्वाइजन भएमा झोलयुक्त खान अधिक खुवाउने, नुन चिनीपानीको मात्र बढाएर शरीरमा तरल पदार्थको मात्र बढाइरहनु पर्दछ । यस्तो गरेमा शरीमा आउने सुख्खापना वा असहतालाई सहज गराउन सकिन्छ । यो २/३ दिनमा ठीक हुन्छ ।
शाकाहारीहरूका सम्बन्धमा दसैँको खानपान र पोषणको विषयका बारेमा के सुझाव दिनु हुन्छ ?
खासमा मासु खानेहरूमा चाँहि पोषण पुगेको छ र नखानेहरूमा पोषण पुगेको छैन भन्ने हुँदैन । मिलाएर खानपान गर्नु पर्दछ । सामान्यतया हामी मिलाएर खाना जान्दैनौं । कहिले हामी मासु धेरै खाने र नपाए हप्तौँसम्म नखाने पनि गर्छौ । अझ गाउँघरमा त मासु विरलै खाने गरेको पनि पाइन्छ । तर मिलाएर खाने हो भने पोषण मिलाएर खान सकिन्छ ।
शाकाहारीका लागि विशेष गरी गेडागुडी र त्यसलाई उमारेर क्वाँटी बनाएर खाँदा पनि पोषण मिलाउन सकिन्छ । अर्काेतर्फ चार्डपर्व हो, उत्सव हो भन्दै गर्दा पनिर पनि विशेष सावधानीका साथ खान सक्छौं । त्यसका विभिन्न परिकार बनाएर खान सक्छौं । सँगै च्याउका परिकार बनाएर त्यो पनि खान सक्छौं । च्याउ आफैमा निकै पोषणयुक्त र रुचाइएको तरकारीमा पनि पर्दछ ।
अन्त्यमा, पोषणविद्का नाताले दसैँका अवसरमा के सुझाव दिन चाहनु हुन्छ ?
दसैँ आफैमा ठूलो पर्व हो, सबैले खुसीका साथ मनाउनु पर्छ । सबै परिवार र आफन्तहरूसँग मेलमिलापका साथ भव्यताका साथ मनाउनु पर्छ । तर, खानपानमा विशेष सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।
सँगै मासुसँग सोडाजन्य पदार्थहरू, कोक, फ्यान्टा आदि तथा जाँड रक्सीको सेवन पनि अत्याधिक हुन्छ । मासुका साथमा अधिक सोडाजन्य पदार्थ र जाँडरक्सीको मिश्रणले शरीरमा विषालु पदार्थ उत्पन्न गराउने हुनाले पनि यो सेवन नगर्न विशेष आग्रह गर्दछु । सँगै बजारमा उपलब्ध तयारी खानाहरूको उपभोग नगर्न पनि अनुरोध गर्दछु ।
प्रतिक्रिया