हेल्लो ! वीवाईडी हेडक्वाटर
काठमाडौं । ‘हेर, हेर ! लेदरको ज्याकेट लाएर हिरो बनेर’ मौका पाउनासाथ उडाउन नछाड्ने कृष्ण दाइले भन्नुभयो, ‘जे होस् भाइले दोलखालीको ईज्जत धानिरहेको छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बसेको करिब ४५ मिनेटपछि भेट हुनासाथ कृष्ण दाइले यसरी पिन्च हान्नु भएको थियो ।
खासमा गुगलमार्फत् आफू जान लागेको चीनको जुहाई र शेनजेन सहरमा टाइफुनको प्रभावसहित हावाहुरी र पानीसँगै चिसो मौसम रहेको जानकारी पाएपछि लेदरको ज्याकेट नै ढल्काउँदै एयरपोर्ट पुगेको थिएँ । दाइको जिस्काईपछि ज्याकेट फुकालें र ह्याण्ड ब्यागमा कोचे ।
आफू उड्ने समय रातको १२ बजे भएपनि साथी उड्ने समय छिटो भएकाले उसलाई विदाई गर्ने भनेर शुक्रबार (असोज १९ गते) ९ बजे नै विमानस्थल पुगे । तर, साथी बोर्डिङ पास गरेर भित्र छिरिसकेकाले तत्काल भेट हुन सकेन ।
विमानस्थल बाहिर बसेको केही समयपछि साथी शुक्रसँग भेट भयो । शुक्र र म ‘म्यूचुअल फ्रेण्ड’सँग म्यासेन्जरमार्फत् भिडियो कल गर्दै बस्दा कृष्ण दाइको फोन आयो । अनि उहाँसँग भेट हुनासाथ ५ दिने दाइमार्फत् यात्रामा हुने अनगिन्ती जिस्काईको उद्घाटन थियो त्यो ।
म रिपोर्टिङ् सिलसिलामा देशका अधिकांश जिल्ला पुगिसके पनि अन्तर्राष्ट्रिय भ्रमण अहिलेसम्म गरेको थिँइन । २/३ महिना बंगलादेश जानुपर्ने अवसर पासपोर्ट नभएर गुमाएपछि आएको पहिलो अवसर थियो यो ।
पहिलो विदेश भ्रमण भएकाले यात्रामा धेर/थोर उत्साहित बन्दै ‘चाइना साउदर्न’को विमान चढियो र २० गते (७ अक्टोबर) ६ बजे (चीनको समयअनुसार) गन्झाउ ल्याण्ड गरियो । गन्झाउमा चीन भन्सारको सामान्य प्रक्रिया पुरा गरियो । वीवाईडीका आदम (अंग्रेजी नाम) र अर्को एकजना हामीलाई नै कुरिरहेका थिए । उनीहरुसँगको भेटपछि ८/९ बजेतिर लागियो जुहाई ।
चिल्ला र फराकिला सडकमा हुँइकिदै गन्झाउ–जुहाईबीचको १२३ किलोमिटर लामो दूरी करिब साढे २ घन्टामै पार गरियो । रातको सवा ४ घन्टाको हवाई यात्राका क्रममा निन्द्रा पुर्याएकाले चीनका फराकिला र चौडा सडक हेर्दै आफ्नो देशको टालेको लंगौटी सडकसँग तुलना गरियो ।
खासमा चीनले पछिल्लो केही दशकमा गरेको अभूतपूर्व विकासको एक झलक गन्झाउदेखि जुहाई पुग्दा राम्रैसँग देखियो । फराकिला ६ लेनका एक्सप्रेस वेका दायाँ/बाँया आउने भिर पहाड काट्दै, सुरुङ बनाउँदै चीनले एउटै लेबलमा बनाएको सडक र आसपासको हरियालीले निकै लोभ्यायो ।
यात्राका क्रममा सडकका दायाँ/बायाँका व्यवस्थित र भव्य गगनचुम्बी भवन, चीनका जामै नहुने चिल्ला र चौडा सडक अनि काठमाडौंका अस्तव्यस्त घरबिच पाइलैपिच्छे जाम हुने सडकबीचको के तुलना गर्नु र ?
चीनको एक्सप्रेस वेमा देखिएका सुरुङ/फ्लाई ओभर र फ्लाई ओभरमाथि अर्को फ्लाई ओभरले नेपालका राजनेताले चिच्याई/चिच्याई गरेका विकासे भाषणका स्मरणले गिज्याईरहेको थियो ।
चिनिया नेताहरुले भाषणवाजी र पटक पटक उद्घाटनै नगरी कसरी यत्रा ठूला भौतिक संरचना बनाए होलान् ? आफैले आफैलाई प्रश्न गरेँ । उत्तर आयो, ‘चीनका राष्ट्रपतिलाई महिनैपच्छिे बन्ने यस्ता कयौं सडक, सुरुङ फ्लाई ओभरको उद्घाटन गर्दै हिँड्न फुर्सद होला र ?,’
यात्राका क्रममा गुरुजीले एक पटक पनि बस रोक्नु भएन । अनि यसलाई एक्सप्रेस यात्रा नभनी भयो त ? त्यसो त अमेरिकाले १०० वर्षमा खपत गरेको सिमेन्ट बराबरको परिणाम चीनले ३० वर्षमै गरेको रिपोर्टहरु पढिएको थियो । जसलाई सडक छेउछाउमा बनिरहेका गगनचुम्बी भव्य भवन र फ्लाई ओभर माथिका फ्लाई ओभरले पुष्टि गरिरहेको थियो ।
घन्टौंको निरन्तर हवाई र सडक यात्रापछि दिनको २ बजेतिर जुहाईको ४६ तले इन्टरकन्टिनेन्टल होटल पुगियो र चेक इन गरियो । होटलमा समुन्द्र तर्फको कोठाका लागि गरिएको मनोकामनाले काम गरेन, सहरी भ्यू भएको कोठा पर्यो । यद्यपि, काठमाडौंका कंक्रिटका जंगलको तुलनामा उक्त ‘सिटी भ्यू’ मनपर्यो । रातको लाइटिङसहितको दृष्य मनमोहक थियो ।
८ अक्टोबर विहान ब्रेकफास्ट लिएर ९ बजेतर्फ होटलबाट हिँडेको एक/डेढ घन्टामा ‘जुहाई इन्टरनेशनल सर्किट’ पुगियो । चीन आउनुको मूख्य दुई उद्देश्यमध्ये ‘सिल ट्र्याक डे’ एउटा उद्देश्य थियो । एसियाको सवारी रेस हुने यो सर्किटमा वीवाईडीको नयाँ प्रोडक्ट ‘सिल’ रेसमा सहभागी हुन नेपालसहित करिब दर्जन देशका मिडियाकर्मी पुगेका थिए ।
सर्किटमा प्रोफेसनल राइडरहरुले रेस गर्ने तरिका, आपतकालीन अवस्थालगायत विषयमा ट्रेनिङ गरेपछि ‘सिल रेस’ भयो । नेपालसहित एसिया–प्यासिफिकका दर्जन देशका मिडियाकर्मी, प्रोफेसनल राइडर र इन्फ्लूएन्सरसहितको उक्त रेसमा सहभागी हुन कम्तिमा २५ वर्ष पुगेको हुनुपर्ने भएकाले ड्राइभिङमा मेरो सहभागिता टर्यो ।
उमेरबाहेक ड्राइभिङ स्किलसहित लाइसेन्स अनिवार्य भएकाले ‘सिल ड्राइभिङ रेस’मा सहभागी हुन मिलेन । एउटै रेसमा सहभागी हुन दुई/दुई वटा इस्यूले रोकेपछि मेरो पक्कावाला सहभागिता रहेन । यद्यपि, ‘प्रोफेसनल’ रेसले चलाएको अधिकतम १९९ किलोमिटर परआवर क्षमतामा कुद्ने ‘सिल’मा बसेर १७० किलोमिटरसम्मको स्पिड अनुभव गर्दै गर्दाको अनुभूति हजारौं शब्दमा लेखे पनि अपुरो हुन्छ ।
रेसिङका क्रममा मलेसियाबाट आएकी एक इन्फ्लूएन्सरको ड्राइभिङ स्किल देखेर उपस्थित हामी सबै ट्वाल्ल परेका थियौं ।
‘भिजिटको डे थर्ड’मा चीन आउनुको मूख्य उद्देश्य मध्येको एउटा उद्देश्य वीवाईडीको हेडक्वार्टर भिजिटमा निस्कियौं । विहानको ब्रेकफास्टपछि जुहाईको इन्टरकन्टिनेन्टलबाट १६२ किलोमिटर टाढा रहेको शेन्जेन सहरतर्फको यात्रा सुरु भयो । यो दूरी पार गर्न एक्सप्रेस वेमार्फत् जुहाईबाट जम्मा साढे २ घन्टा लाग्ने रहेछ ।
यात्रा सुरु भएगलत्तै उही फराकिलो चौडा सडक, सुरुङपछि सुरुङ र फ्लाई ओभरमाथि फ्लाइ ओभर हेर्दै पुगियो वीवाईडी हेडक्वार्टर । वीवाईडी हेडक्वार्टर अर्थात् विद्युतीय सवारीमा विश्वव्यापी नेतृत्व लिइरहेको ‘ब्यूल्ड योर ड्रिम’को मूख्यालय ।
सन् २०२२ मा बिक्रीका हिसाबमा विश्व धनाढ्य एलन मस्कको टेस्लालाई पछाडि पारेको कम्पनीका बारे धेरै पटक युट्यूबमा हेरिएको थियो । सामान्यतया विश्वका ठूला र चर्चित ‘मल्टिनेशनल’ कम्पनीबारे गुगल र युट्यूब गरिरहँदा वीवाईडी छुट्ने कुरै थिएन । झनै बिक्रीमा टेस्लाभन्दा अघि निस्केपछि वीवाईडीबारे युट्यूब नहुर्ने प्रश्नै थिएन ।
विश्वका सबैभन्दा ठूला कम्पनी, ठूला क्लब, धनी मुलुकका बारेमा गुगल गरिरहँदा वीवाईडी छुटोस् पनि कसरी ? युट्यूबमार्फत् हेडक्वार्टर घुम्दा देखिएको भव्य बिल्डिङ अनि प्रत्यक्ष आफ्नै आँखाले मोनो रेलसहितको दृष्यले सपनाजस्तै लागिरहेको थियो ।
अन्य कम्पनीहरुको हेडक्वार्टर पुग्ने संकल्प गरेझैँ एकपटक वीवाईडी मूख्यालय पुग्ने र घुम्ने संकल्प गरेकै थिएँ मैले । अनि, मनमनै गरेको संकल्पलाई ‘द ड्रिम अफ वीवाईडी हेडक्वार्टर’ भन्दा फरक पर्दैन । विद्युतीय ब्याट्रीमा विश्व नम्बर एकको ताज, रिन्यूएबल इनर्जी, विद्युतीय रेल, विद्युतीय सवारीमा ठूलो लगानी गरेको यो कम्पनीको मूख्यालय पुग्दा दिउँसोको यस्तै २ बजिसकेको थियो ।
मूख्यालय पुगेपछि कोरियन र चिनियाँ भूमिमा देखिने घुम्ने टेबलमा राखिएको लञ्चपछि ‘सिल’का बारेमा पुनः एक पटक जानकारी लिइयो र सुरु भयो वीवाईडी हेडक्वार्टर भिजिट ।
सन् २००३ मा स्थापना भएको वीवाईडी अटो सन् १९९५ मा स्थापना भएको वीवाईडी कम्पनीको सहायक कम्पनी हो । चीनको ग्वाङ्डोङ्ग प्रान्तको पिङ्गशान प्रान्तमा ३.७९ मिलियन स्क्वायार मिटरमा फैलिएको रहेछ यो ।
कम्पनीले हाल नविकरणीय ऊर्जा, ब्याट्री, रेलबाहेक प्यासेन्जर कार, बस, ट्रक, बाइक र फोर्कलिफ्ट्स उत्पादन गर्दै आइरहेको छ ।
सन् २००८ मा कम्पनीले आफ्नो पहिलो विद्युतीय सवारी सार्वजनिक गरेको थियो । लगत्तै सन् २००९ मा ४ लाखभन्दा धेरै सवारी बिक्री गर्दै सोही वर्ष अफ्रिका, ल्याटिन अमेरिका र पश्चिम एसियामा सवारी पठाउन थालेको वीवाईडीले सन् २०२२ मा टेस्लाभन्दा धेरै ६ लाख ४१ हजार विद्युतीय कार बेचेको थियो (विकिपेडिया) ।
विद्युतीय सवारी उत्पादन गर्ने मूख्यालयमा विद्युतीय मोनो रेल चलाएको वीवाईडी ‘जेरो कार्बन इमिसन’ भेट्टाइसकेको छ ।
यात्राको सुरुमै कृष्ण दाइको जिस्क्याईसँगै ब्यागमा राखेको त्यो लेडर ज्याकेट आफ्नै पूर्वानुमानअनुसार चीनको दक्षिण सागरमा आएको टाइफुनको चिसोबाट जोगिन सहयोगी बन्यो । यसरी ५ दिने चीनको यात्रा सम्झनायोग्य रह्यो । हेल्लो ! वीवाईडी हेडक्वाटर, मेरो टोली सकुशल नेपाल आइपुग्यो है ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो ट्रम्पको मन्त्रीमण्डल
-
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
-
नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु
-
कुनै समयमा कट्टर प्रतिद्वन्द्वी एन्डी मुरेलाई आफ्नो प्रशिक्षक बनाए नोभाक योकोभिचले
-
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
-
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी