बद्रीलाई अध्यक्षको शपथ गराइएसँगै असन्तुष्ट समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा बद्री केसीलाई शपथ गराइएपछि असन्तुष्ट पक्ष आक्रोशित बनेको छ । निर्वाचनमा सिस्टम ह्याक गरेर केसी विजयी भएको र समग्र निर्वाचन नै हेरफेर गरेको अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठको आरोप छ ।
उनीहरुले निर्वाचनको परिणाम अस्वीकार गर्ने घोषणा गरेपनि केसीसहित सम्पूर्ण कार्यसमितिलाई शपथ दिलाइएसँगै श्रेष्ठ र शर्मा समूहले राजधानीको होटल हिमालयमा शनिबार साँझ ५ बजेका लागि पत्रकार सम्मेलन बोलाएको हो ।
अध्यक्षका प्रत्यासी आरके शर्माले संघलाई बद्री केसी पक्षले विभाजनतर्फ लगेको टिप्पणी गरेका छन् । ‘एकलौटी ढंगले सिस्टमलाई कब्जा लिएर निर्वाचन प्रभावित गरेर स्वतन्त्र ढंगले निर्वाचन नभएको हुँदा यसरी मन्जन गरिएको कथित शपथको कुनै औचित्य नहुने यो एनआरएनए अभियानको मर्म विपरित हुने छ । यसरी शपथ लिएर एउटा पक्षले अभियानलाई विभाजन तर्फ लगेको छ’, शर्माले भने ।
शर्माले निर्वाचनमा गम्भीर त्रुटि र मतदाताको मतबाट निर्वाचनको परिणाम घोषणा नभएको कुरा निर्वाचन समितिले स्वीकार गरिसकेको पनि बताए । ‘यस्तो अवस्थामा एनआरएनए विश्व सम्मेलनको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय भइसकेको र निर्वाचनमा देखिएको त्रुटि छलीलाई छानबिन १५ दिनभित्र सक्ने सहमति विपरीत कथित शपथको कार्यक्रम राखिएकोमा गम्भीर असहमति व्यक्त गर्दछु’, उनले भने ।