आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘दिमाग खराब’ को ट्रेलर : पब्लिक, नेता, राजनीति र शक्तिको कथा

शनिबार, ०४ कात्तिक २०८०

काठमाडौँ । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक गरिएको छ । झण्डै चार मिनेटको ट्रेलरमा जनता र शक्तिको कथा देखाउन खोजिएको छ ।

रोजगारीका लागि विदेश जान लागेको पात्र (खगेन्द्र लामिछाने)ले मेनपावरबाट ठगिएपछि भोग्नुपर्ने दुःख र कठिनाइमा ट्रेलरले फन्को मारेको छ । ट्रेलरको सुरुमै खगेन्द्र खाली खुट्टा विमानस्थल पुगेको दृश्य मार्मिक छ । 

खगेन्द्रको पात्र आफ्नै नगरको मेयर (अर्पण थापा) संलग्न रहेको म्यानपावरबाटै ठगिएको हुन्छ । मेयरले फोन गर्दिए आफू विदेश जान पाउने थाहा पाएपछि उसले मेयरलाई भेट्नका लागि प्रयास गर्छ । निरन्तरको प्रयासपछि मेयरले नजिकिएको चुनावमा सय भोटको ग्यारेन्टी गराइदिए फोन गरिदिने आश्वासन दिन्छ । यसपछि त्यो पात्रले कस्तो संघर्ष गर्छ भन्ने कुरा ट्रेलरमा देखाइएको छ ।

फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का खगेन्द्रको श्रीमतीको भूमिकामा छिन् । खगेन्द्रको साथीको भूमिकामा अभिनेता दयाहाङ राई छन् भने सुमन कार्कीलाई युट्युबरको रूपमा प्रस्तुत गरिएको छ ।

ट्रेलरको अन्तिम दृश्यमा निर्देशक बस्नेतलाई पनि बाइक र्‍यालीको लिडरका रूपमा देखाइएको छ । उक्त दृश्यले फिल्ममा उनी पनि महत्त्वपूर्ण भूमिकामा रहेको संकेत गर्छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्का आदिको अभिनय छ ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत छ 

फिल्मलाई काठमाडौँभित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया