बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

एमसीसीको नयाँ नियमका आधारमा कोहलीलाई फालिएको बललाई ‘वाइड’ नदिइएको दाबी

शुक्रबार, ०३ कात्तिक २०८०, १९ : ४७
शुक्रबार, ०३ कात्तिक २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार भारत र बङ्गलादेशबिचको खेल थियो । त्यो खेलमा भारत सात विकेटले विजयी भयो । खेलमा भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीले शतक पनि बनाए । त्यो उनको खेल जीवनको ४८औँ शतक पनि थियो ।

तर, खेल सकिएपछि अम्पायर रिचर्ड केटलब्रोघले भने विश्वव्यापी रूपमा ठुलै आलोचनाको सामना गर्नु पर्‍यो । थुप्रै क्रिकेटप्रेमीले अम्पायर रिचर्डले कोहलीलाई शतक पुरा गर्ने अवसर प्रदान गर्नकै लागि एउटा बललाई ‘वाइड’ घोषणा नगरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा पनि यो विषयले निकै चर्चा पाएको छ । खासमा त्यो खेलमा बङ्गलादेशले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५६ रन बनाएको थियो । भारतलाई जितका लागि दुई सय ५७ रन आवश्यक थियो ।

भारतले ४१ ओभरको खेलको समाप्तिमा तीन विकेट गुमाएर दुई सय ५५ रन बनाएको थियो । त्यतिबेला कोहली ९७ रन बनाएर क्रिजमा थिए । कोहलीलाई शतक पुरा गर्न थप तीन रन चाहिएको थियो ।

४२औँ ओभरमा बलिङ गर्न बंगलादेशी बलर नसुम अहमद आएका थिए । त्यो ओभरको पहिलो बल नै नसुम अहमदले ‘लेग साइड’ मा फालेका थिए । त्यसमा कोहलीले रन लिन सकेनन् । तर, अम्पायर रिचर्डले त्यसलाई ‘वाइड’ घोषणा गरेनन् । 

त्यसपछि दोस्रो बलमा पनि कोहलीले रन लिन सकेनन् । त्यसलगत्तैको अर्को बलमा कोहलीले छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए र भारतलाई जित पनि दिलाएका थिए । नसुम अहमदको दोस्रो बललाई ‘वाइड’ घोषणा नगरेर अम्पायर रिचर्डले कोहलीलाई शतक पुरा सहयोग पुर्‍याएको आरोप उनीमाथि लागेको हो ।

अम्पायर रिचर्डले भने आफ्नो त्यो निर्णय सही भएको बताएका छन् । मार्लीबोन क्रिकेट क्लब (एमसीसी)ले बनाएको नयाँ नियमका आधारमा अम्पायर रिचर्डले नसुम अहमदको पहिलो बललाई ‘वाइड’ घोषणा नगरेको दाबी क्रिकेट विश्लेषकले गरेका छन् । 

  एमसीसीले २०२२ को मार्चमा ‘वाइड’ सम्बन्धि नियममा केही परिवर्तन गरेको समाचारमा जनाइएको छ । त्यो नियम अक्टोबर १ देखि लागू गरिएको बताइएको छ । आधुनिक क्रिकेटमा बलरले बल फाल्नुअघि ब्याट्सम्यानहरू आफ्ना स्थानमा यतउता गरिरहेका (चलायमान भइरहेका) हुन्छन् ।

सोही विषयलाई ध्यानमा राखी एमसीसीले आफ्नो नियममा परिवर्तन गरेको बताइएको छ । नयाँ नियम अनुसार, बल फाल्न बलरले आफ्नो स्थानबाट दौडन सुरु गर्दा ब्याट्सम्यान जुन स्थानमा रहेका हुन्छन् त्यही स्थानलाई आधार मानेर अम्पायरले ‘वाइड’ को निर्णय लिनु पर्ने हुन्छ । खेलपछि यही नियमलाई अघि सार्दै अम्पायर रिचर्डले आफ्नो बचाउ गरे पनि क्रिकेटप्रेमीहरु भने उनको तर्कमा सहमत हुन सकिरहेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप