बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

विद्यार्थीको क्षमता र चाख कसरी चिन्ने ?

शुक्रबार, ०३ कात्तिक २०८०, १४ : ३१
शुक्रबार, ०३ कात्तिक २०८०

आफ्नो छोराछोरी सबैभन्दा अब्बल बनून् भन्ने चाहना सबै अभिभावकको रहन्छ । आफ्ना छोराछोरीको रुप–रंग, जिउडाल, आनीबानी वा व्यवहार जे–जस्तो भए पनि आफ्ना छोराछोरी राम्रा लाग्छन् । राम्रो लाग्नु नै एक किसिमको स्नेह हो । 

हाम्रो समाजमा उखान नै छ, ‘छोराछोरी आफ्ना राम्रा, खेती अर्काको राम्रो ।’ यो राम्रो नराम्रो भन्ने कुरा सबै भावले फरक पार्ने रहेछ । छोराछोरीले लाएको खाएको केही हिसाब हुँदैन हामी आमाबाबुलाई । अरूलाई केही सानो वस्तु वा सेवा दिएमा मैले यति गरिदिएँ भनेर सम्झिरहन्छौँ । 

सानो छउन्जेल उसको उन्नतिमा आफ्नो सपना देख्न र बुन्न कोही आमाबाबु पछाडि पर्दैनौँ । नेपाली समाजमा एउटा सामान्य परिपाटी छ, छोराछोरीलाई डाक्टर, इन्जिनियर, वकिल वा पाइलट बनाउने । खास मानेमा कोही पनि छोराछोरीलाई अब्बल किसान बनाउँछु भनेको सुनिएकै छैन । समाजमा डाक्टर, इन्जिनियरले दिने पटके सेवाभन्दा एक दिनमा कम्तीमा तीनपटक चाहिने अनाजको आपूर्ति गर्ने कृषि पेसा किन उपेक्षित छ ? डाक्टर, इन्जिनियर, वकिल वा अरू जे जे बने पनि अन्नमयकोषको भरणपोषण त अन्नले नै गर्दछ । 

तर कृषक बन्ने भनेपछि माटो छुनुपर्छ भन्ने डर देखिन्छ । व्यावसायिक, उन्नत, आधुनिक तरिकाले खेती गरेर प्रशस्त मानिसलाई रोजगार दिन सकिन्छ भन्ने चेतना खै ? त्यसैगरी हरेक उद्योग उद्योगको कच्चा पदार्थ कृषि उपज हो भन्ने सुझबुझ खोइ ? जेहोस्, किसान बनोस् भन्ने चाहना बाबुआमाको प्राथमिकतामा नै परेन । यो च्याप्टर त सकियो । 

अब कुरा आउँछ, छोराछोरीको पढ्ने विषयको छनोट कोबाट हुन्छ भन्ने सन्दर्भ । वास्तवमा कसैको आमाबाबु बन्नु प्राकृतिक कुरा हो । त्यसैले आमाबाबु हुनु र अभिभावक हुनुमा भिन्नता छन् । अविभावकको गरिमा बाबुआमाको भन्दा गहिरो छ । छोराछोरीले आफ्ना अभिभावकसँग मनका कुरा राख्न नहिचकिचाउने हुनुपर्छ अर्थात् साथीसरह व्यवहार गर्न सक्ने हुनुपर्छ तर हाम्रो समाजमा बाबुआमासँग छोराछोरी डराउनुपर्ने हो जस्तो गरिन्छ । यो संसारमा आमाबाबुसँग डराए कोसँग सहज हुने ? जसको अंश हो, जसको रगत शरीरमा दौडेको छ, त्योसँग डराउनुपर्ने कस्तो संस्कार सिकायौँ हामीले ? छोराछोरीले आमाबाबुलाई प्रेमले होइन, डरले मान्ने बनाउन खोज्यौँ । यस विषयमा सोचेका छौँ हामी अभिभावकले ? 

हाम्रो समाजमा बाबुआमासँग छोराछोरी डराउनुपर्ने हो जस्तो गरिन्छ । यो संसारमा आमाबाबुसँग डराए कोसँग सहज हुने ? जसको अंश हो, जसको रगत शरीरमा दौडेको छ, त्योसँग डराउनुपर्ने कस्तो संस्कार सिकायौँ हामीले ? छोराछोरीले आमाबाबुलाई प्रेमले होइन, डरले मान्ने बनाउन खोज्यौँ ।

स्कुलमा पढाइ लगायत शैक्षिक गतिविधिमा छोराछोरीले अरूलाई जित्नुपर्छ, आमाबाबुको इज्जतका लागि । यही नै विषय अध्ययन गर्नुपर्छ भन्नेदेखि लिएर छोरालाई त झन् विदेश जान प्रेरित गरेको पनि पाइन्छ । घरमा हुँदा कामका नाममा खाएको थाल वरको पर सार्न सिकाएनौँ । अब ऊ विदेश गएर कसरी गर्छ ? विदेश गएपछि काममा वाल्ल र ट्वाल्ल पर्नेदेखि गएको चार–पाँच महिनामा होमसिक भएका उदाहरण पनि भेटिन्छन् । त्यो थाहा पाएपछि नेपाल फर्कन प्रेरित गर्नुको साटो फर्केमा इज्जत जाने भनेर जसरी पनि पढाइ सकेर फर्कन दबाब दिएको देखिन्छ । 

विदेश गएर पनि पढ्न नसके नेपाल बोलाउनुप¥यो, पढ्दापढ्दै पनि बिदा मिलाएर कसरी आउन सकिन्छ भनी बुझ्नुप¥यो । ऊ आउन नमिल्ने भए आफू जानुप¥यो । यसरी छोराछोरी जोगाउने काम गर्नुपर्ने होइन र ? पढाइ सकेर मात्रै फर्की भनी दबाब दिँदा सन्तानै गुमाएका उदाहरण पनि छन् । 

नेपालमै पढ्नेलाई विदेश जान नसकेर नगएको भन्ने पनि बाबुआमा देखि लिएर इष्टमित्र पनि उत्तिकै छन् । 

मानौँ कोही विदेश गएनन् । नेपालमा नै पढे भने पनि आफ्नो चाहनाको विषय पढ्न पाउने साह्रै कम छन् । उसलाई के विषयमा रुचि छ भन्ने न स्कुलका शिक्षक–शिक्षिकाले भन्छन्, न त बाबुआमाले बुझ्छन् । त्यस्तो रेटिङ गरिदिने कुनै संस्था नै छ हामीकहाँ । शिक्षामा लगानी गरिएका संस्था प्रशस्त छन् । घोकाउँछन्, रटाउँछन् तर रुचि बुझेर अभिभावकलाई सुझाएको त्यति देखिँदैन । 

जापानमा कुन विद्यार्थीलाई के विषयमा रुचि छ भन्ने स्कुलले भनिदिनुपर्छ । यसो भन्ने आधार भनेको कक्षाको क्रियाकलाप र विभिन्न विषयमा उसले गर्ने क्षमता प्रदर्शन नै हो । अविभावकले आफ्नो सन्तानको रुचि केमा छ, प्रत्यक्ष अप्रत्यक्ष बुझ्ने माध्यम अपनाउनुपर्छ । उसले टिभीमा कस्तो कार्यक्रम हेर्छ, घरमा आएका कस्ता मानिससँग बोल्छ ? पत्रपत्रिकामा कस्ता विषय हेर्छ ? आमाबाबुसँग कस्ता कुरामा खुलेर भन्न सक्छ, यी नै अप्रत्यक्ष माध्यम हुन् । 

वास्तवमा यी सबैका बाबजुद पनि एउटा यस्तो संस्था चाहियो, जसले केटाकेटीको सोख, रुचि र क्षमता पत्ता लगाइदेओस् । उसले विद्यार्थीका रुचि जाँचोस् र विद्यार्थीको रुचि खेल, फिल्म, संगीत, कला, साहित्य, पत्रकारिता, वकिल, डाक्टर, इन्जिनियर, किसान आदिमध्ये कुन विषयमा छ भन्ने निक्र्योल गरोस् । जसबाट विद्यार्थीले समेत आफ्नो रुचि र प्रतिभाको विषय चिन्न सकोस् । यसरी रुचि र प्रतिभा भएको क्षेत्रमा पठाउँदा विद्यार्थीले शैक्षिक र व्यावसायिक रुपमै पनि छिटो प्रगति गर्न सक्छ । 

हालसम्म अभिभावकले मेसो नपाएको एउटा संस्था छ, त्यो हो जीवन विज्ञान प्रतिष्ठान । त्यहाँ विभिन्न प्रकारका कार्यक्रम सञ्चालित छन् । ती कार्यक्रमलाई साधनामुखी, जीवन व्यवस्थापनसम्बन्धी र संघ–संस्थाका लागि भनेर विभाजन गरिएको छ । जीवन व्यवस्थापनसम्बन्धी कार्यक्रमभित्र पर्ने एउटा कार्यक्रमको नाम छ, ऐश्वर्य विज्ञान । यो सात दिनको कार्यक्रम हो । यो कार्यक्रममा सहभागी हरेक व्यक्तिले आफ्नो रुचि क्षमता र सोख आफैँ पत्ता लगाउन सक्छ । त्यति मात्र होइन, कार्यक्रम सम्पन्न गरिसक्दा अल्पकालीन र दीर्घकालीन योजना समेत बनाएर निस्कन्छ । 

यो कार्यक्रम गहिरिएर बुझेमा व्यक्तिले आध्यात्मिक र भौतिक प्रगति सँगै लैजान सक्छ । कामप्रतिको साधनाले आफ्नो जीवन दिव्य बनाउन सक्छ । लक्ष्य पूरा गर्ने आफ्नो क्षमता कति छ ? कसरी बढाउने ? त्यसको मार्गचित्र के ? आदि पहिचान सहभागी आफैँले गर्छ । यो कार्यक्रम जुन उमेरका लागि पनि उपयोगी हुने त छँदै छ । खासगरी यसबाट ११–१२ पढ्ने विद्यार्थीले धेरै फाइदा लिन सक्छन् । आफ्नो लक्ष्य पूरा गर्न निरन्तर एकाकार हुनका लागि गरिने साधनाको विधि पनि लिएर ऊ निस्कन्छ । साधना भनेको आफ्नो गहिराइ पत्ता लगाउनु हो ।

अन्त्यमा, जुन माध्यम अपनाएर भए पनि आफ्ना विद्यार्थी वा बालबालिकाको सोख, चाहना र क्षमता बुझौँ । उसको उन्नतिको मार्गमा सहभागी बनौँ । यसलाई सहज बनाउन अभिभावकीय भूमिका निभाउँ । 

(लेखक जीवन विज्ञान प्रशिक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप