शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सांसद हेमकुमार राई ‘सुरवीर’ को जीवन : जनयुद्धको घाइते भए पनि तन्दुरुस्त

आइतबार, १८ चैत २०७४, १० : २६
आइतबार, १८ चैत २०७४

तीनपटक मन्त्री र चारपटक सांसद भएका बलबहादुर केसीलाई पराजित गर्दै सांसद हेमकुमार राई ‘सुरवीर’ को सिंहदरबार यात्रा तय भएको हो । संवत् २०६४ को संविधानसभा निर्वाचनमा पूर्वमन्त्री गोपाल किरातीसँग पराजित केसीले यसपटक हेमकुमारसँग पराजित भएपछि आइन्दा निर्वाचनमा भाग नलिने घोषणा गरिसकेका छन् । ३५ वर्ष नकाटेका भनेर चर्चामा रहेका सांसदमध्येका सांसद हेमकुमार राई ‘सुरवीर’ सँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
सबै खाना मन पर्छ । त्यसमध्ये दाल, भात, तरकारी असाध्यै मन पर्छ । सकेसम्म मकैको च्याख्लाको भात खान नपरे हुन्थ्यो भन्ने लाग्छ । काठमाडौंमा रहँदा साथीभाइसँग खानकै लागि कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा ‘ग्रीन’ सलाद मगाउन बिर्सन्न । पकाउन र भाँडा माझ्न जाँगर चल्दैन । 

मेरो पोसाक
मैले थाहा पाएदेखि दौरासुरुवाल लगाएको छैन । विशेषतः सर्ट–पाइन्ट लगाउँछु । कपडामा वार्षिक खर्च कति होला कहिल्यै हिसाब–किताब गर्दिनँ । जाडो मौसममा अलि बढी खर्च हुन्छ । घर सोलुखुम्बु भएकाले जाडो समयमा ‘डाउन ज्याकेट’ लगाउनुपर्छ । सस्तो ‘डाउन ज्याकेट’ को पाँच–छ हजार पर्छ । कालो र रातो रङको कपडा रोजाइमा पर्छन् । अधिकांश कपडा रेडिमेड हुन्छन् । ब्रान्डप्रति त्यति सचेत छैन ।  

मेरो फिटनेस
राजनीतिककर्मीको जीवनशैली अलि फरक हुन्छ । खाने, बस्ने र सुत्नेको टुंगो हुँदैन । त्यसले शारीरिक अभ्यासलाई असर पुर्याइरहेको हुन्छ । डाइटिङ छैन । जनयुद्धमा हुँदा दैनिक शारीरिक अभ्यास गरिन्थ्यो । हिजोआज छैन । घरमा रहँदा ‘मर्निङवाक’ निस्कन्छु ।

मेरो अध्ययन
पत्रपत्रिकाबाहेक निर्वाचनपछि केही पढेको छैन । साहित्य विधामा उपन्यास, विज्ञान प्रविधि र माक्र्सवादसम्बन्धी किताब पढ्न जाँगर चल्छ । लेख्ने बानी छैन । मेरो निजी पुस्तकालयमा कार्लमाक्र्सको पुँजीदेखि राजनीतिका किताब संकलन गरेको छु ।  

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नयाँ–नयाँ ठाउँ पुगेर नयाँ ज्ञान आर्जन गर्न मन लाग्छ । आधा नेपाल पुगेको छु । घुमेकामध्ये इलाम मन पर्यो । रोल्पाका केही ठाउँ घुमे पनि माओवादी आधार इलाकामध्ये रुकुम जीवनमा एकपटक पुग्ने मन छ । 

मेरो फुर्सद
राजनीतिक नेता भएपछि जतिसुकै भागदौड भए पनि मोबाइल ‘स्वीच अफ’ गरेर आराम गर्नु उचित होइन । त्यसो गरिए अन्याय हुनेछ । फुर्सद पाइहालेमा साथीभाइसँग भेटघाट, छलफल गरेर बिताउँछु । घरपरिवारलाई समय दिन सकेको छैन । कहिलेकाहीं त महिना दिनसम्म पनि फोनमा कुराकानी हुँदैन । 

मेरो खेलकुद
फुटबल र भलिबल मन पर्छ । नियम नबुझेकाले होला क्रिकेट हेर्न अल्छी लाग्छ । बाल्यकालमा गाउँ र स्कुलमा समेत फुटबल र भलिबल खेलेको थिएँ । बार्सिलोना र रियल मेड्रिडसम्बद्ध खेलाडीको खेलकौशलदेखि प्रभावित छु । 

मेरो मोबाइल
सामसुङ र सिडिएमए गरी दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । सामसुङ जे फाइभको १२–१५ हजार र सिडिएमएको २–३ हजार रुपैयाँ परेको थियो । हराउने, टुट्ने, फुट्ने हुँदा वर्षमा दुईपटक मोबाइल किन्नुपर्ने बाध्यता छ । मोबाइलका एप्लिकेसनमध्ये इमेल, फेसबुक, भाइबर, वाटस्यापलगायत प्रयोग गर्छु ।

मेरो टेलिभिजन
टेलिभिजनमा समाचार हेर्छु । परिवारमा सबैको माग भिन्नाभिन्नै भएकाले कोठैपिच्छेजस्तो टीभी भएको छ । छोराछोरी कार्टुन, दिदीभाउजूहरू टेलिशृंखला, बुवा फुटबल र डिसकभरी हेर्नुहुन्छ, त्यसैले कोठैपिच्छेजस्तो टीभी भएको हो । मेरो कोठामा भएको टीभी मेरै रुचिअनुसार खुल्छ । टीभी हेर्ने समय बेलुका जुर्छ । सुनसरीको घरमा चार टीभी छन् । सोलुको सल्लेरीमा भएको २१ इन्चको टीभी एलजी वा सामसुङ हो सम्झना भएन । 

मेरो चलचित्र
हलसम्म पुगेर गिरफ्तार, चपलीहाइट, कबड्डी कबड्डी–२ हेरेको थिएँ । पछिल्लो समय कबड्डी कबड्डी–२ हेरेको हुँ । समय अनुकूल हुँदा सिडी तथा भिसिडीमा चलचित्र हेर्ने गरेको छु । जनयुद्धताका युद्धसम्बन्धी इङ्ग्लिस फिल्म हेथ्र्यौं । 

नायक सौगात मल्लको अभिनय जीवन्त लाग्छ । 

मेरो रोग
युरिक एसिडले समातेको छ । काठमाडौंमा तीन वर्ष उपचार गरें । हिजोआज सन्तुलनमा छ । अहिलेसम्म दुईपटक ‘होलबडी चेकअप’ गराएको छु । रक्तचाप कहिलेकाहीं ‘लो’ हुन्छ । म जनयुद्धका घाइते पनि हुँ । तर पनि सधैं तन्दुरुस्त छु भनेर सोच्छु ।

मेरो भाषणशैली
म भाषण गर्न सिपालु होइन । धारावाहिक भाषण गर्न जान्दिनँ भन्ने लागे पनि आफूले भन्न खोजेको विषय प्रस्ट पार्ने प्रयास गर्छु । भाषण गर्दा निश्चित रूपमा, तपाईंको, भन्नुस् न, जान्नुस् न लगायत थेगो प्रयोग गरे पनि कम गर्दै लगेको छु । समय–सन्दर्भ र परिस्थिति हेरेर भाषण गर्ने गर्छु । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी गर्ने बानी छैन । विषयवस्तुबारे जानकारीचाहिँ लिन्छु ।  

मेरो मापसे
पहिले नगरे पनि २०६३ तिर साथीहरूका करबलमा मादक पदार्थ लिन थालें । हिजोआज पनि कहिलेकाहीं लिन्छु । तर, मात लाग्नेगरी होइन । गाउँमा रहँदा तीनपाने र सहरबजारमा ह्वीस्कीसम्म लिने गरेको छु । 

मेरो संगीत
‘सेन्टिमेन्टल’ गीत सुन्न मन पर्छ । गुनगुनाउन मन लागे पनि जान्दिनँ ।

मेरो भूल
मानिसले जानअन्जानमा गल्ती गर्नु अस्वाभाविक होइन । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको सम्झना छैन । साथीभाइ भएपछि सबैसबै बिर्सने बानी छ । यो मेरो कमजोरी हो । साथीभाइले भनेपछि घरायसीमात्रै होइन, व्यक्तिगत काम छाडेर हिँडिहाल्छु । गाँस छाड्नू साथ न छाड्नू भन्ने उखान आत्मसात् गरेको छु । 

मेरो घर
आमाले भन्नुभएअनुसार सोलुखुम्बुको नेचामा रहेको पुख्र्यौली घर ०२५ मा बनेको हो । दुईतले घर कच्ची हो । घर पुरानो भए पनि संरक्षण गर्दै छौं । घर बनाउनेक्रममा हिलो मुछ्ने र गारो लगाउने कर्मीले १ हजार ५ सय लिएका थिए रे ।    

मेरो राशी
नामको पहिलो अक्षरअनुसार मेरो राशी कर्कट हो । ग्रहदशा कहिल्यै हेराइनँ । आमाले कहिलेकाहीं चिना हेराउनुहुन्थ्यो रे । धर्मभन्दा कर्ममा विश्वास छु ।   

मेरो सौन्दर्यचेत
कपालमा जेल, तेल नलगाए पनि कहिलेकाहीं मेहेन्दी लगाउँछु । फेसियल गर्ने, अनुहारमा क्रिम लगाउने बानी छैन । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्छु । आक्कलझुक्क साउना बस्छु ।

मेरो प्रेम
मेरो मागी र प्रेम नभएर ‘प्रेस’ विवाह हो । परिवारको दबाबमा बिहे भएको थियो । बिहे गर्नअघि कोहीसँग प्रेम थिएन । 

मेरो सपना
राजनीतिककर्मीका हिसाबले शान्ति, विकास, समृद्धि र समन्नुत नेपालको कल्पना गरेको छु । राजनीतिक सुव्यवस्था र दिगो शान्ति चाहिएको छ । देशको आवश्यकता र जनचाहनाअनुसार हामीले परिकल्पना गरेको समृद्ध नेपाल हाम्रै पालामा देख्न पाइयोस् । पाउनेगरी सबैले काम गर्नुपर्छ । 

जहाँ, बेराजगार भएर बिदेसिन नपरोस् । सामान्य रोगको उपचार गर्न नसकेर अकालमा मर्न नपरोस् । सहज रूपमा शिक्षा लिन पाइयोस् । जातीय, भाषिक र लिंगीय रूपमा उत्पीडित हुन नपरोस् । त्यतिमात्रै होइन, समान अवसर पाइने मुलुक बनाउन पाए हुन्थ्यो भन्ने सपना देखेको छु । 

एक राजनीतिकर्मीले राजनीति गर्दै जाँदा राष्ट्रको नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने इच्छा राख्नु अस्वाभाविक होइन । तर, मेरो त्यस्तो इच्छा छैन । परिस्थिति र समय मिलेमा पाएको भूमिका निर्वाह गर्ने साहस छ । कामले काम सिकाउँछ । 

मेरो मृत्यु
मान्छे जन्मेपछि मर्नैपर्छ । धेरैपटक मृत्युको नजिक–नजिक पुगेर बाँचेकाले मृत्युसँग डर लाग्दैन । मृत्युपछि सद्गत राम्रो होस् । बेवारिसे हुन नपरोस् । मृत्युपछि पाउने सम्मान पाइयोस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप