कोशी प्रदेश : दसैँ अगाडि मन्त्रिमण्डल विस्तार नहुने, सर्वदलीय सरकार बनाउने प्रयासमा मुख्यमन्त्री
विराटनगर । संविधानको धारा १६८ को (५) अनुसार नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दसैँ अगाडि सरकार विस्तार नगर्ने मनसाय राखेको देखिएको छ । तर, उनलाई मुख्यमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमाले भने दसैँ अगाडि नै मन्त्रीमण्डल विस्तार गर्नुपर्ने भन्दै दबाब दिइरहेको छ । सोही दबाब छल्न राजनीतिक छलफलका लागि भन्दै विश्वासको मत लिए लगत्तै बुधबार काठमाडौँ लागेका मुख्यमन्त्री कार्की आज विराटनगर फर्किँदै छन् ।
मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार मुख्यमन्त्री कार्की आज साँझ ५ बजेपछि विराटनगर आउन लागेका हुन् । एमालेले भने हिजो (बिहीबार) र आज (शुक्रबार) नै सरकारमा नयाँ मन्त्री पठाउनु पर्ने दबाब दिँदै आएको थियो ।
‘दसैँको मुखमा एउटा मन्त्री बनाउँदा अर्को रिसाउने, अर्को बनाए अर्को रिसाउने अवस्था देखेपछि मुख्यमन्त्रीज्यूले दसैँपछाडि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने मनसाय राख्नुभएको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘सहमतिको सरकार गठनका लागि उहाँ सबै दलसँग छलफल गरिरहनु भएको छ ।’
उता, मुख्यमन्त्री आजै काठमाडौँबाट फर्किने भए पनि प्रदेश प्रमुख पर्शुराम खापुङ भने काठमाडौँ जाने भएका छन् । प्रमुख खापुङ आजै दिउँसो काठमाडौँ लाग्ने भएका छन् । ‘प्रमुखज्यू आज दिउँसो १२, १ बजेतिर काठमाडौँ जाने कार्यक्रम छ,’ प्रदेश प्रमुख कार्यालय स्रोतले भन्यो, ‘प्रदेश प्रमुख नै काठमाडौँ जाने भएपछि सरकार विस्तारको सम्भावना झनै टर्यो । उहाँ कहिले फर्किने भन्ने विषय हामीलाई थाहा भएन ।’
हिक्मत कार्कीले पनि पटक पटक सर्वदलीय सरकार आव्हान गरेको कारण आफूलाई सोही प्रकृतिको सरकार गठन गर्न सहज हुने मुख्यमन्त्रीले बताउने गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार नियुक्त मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको थियो । सत्तारुढ गठबन्धनले गरेको निर्णयविपरीत नेकपा एमालेको समर्थन लिएर काँग्रेसका ८ सांसदको विद्रोहबाट मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई सत्तारुढ गठबन्धनले पनि विश्वासको मत दिएको हो ।
मुख्यमन्त्री नियुक्त भएपछि विद्रोही कांग्रेसका शमशेर राई र नेकपा एमालेका रामबहादुर मगरलाई मन्त्री नियुक्त गरेका कार्कीले विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने बताएका थिए । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत पाएको भोलिपल्ट सरकार विस्तार हुने बताएका थिए ।
एमालेले आफ्नो दललाई ५ वटा मन्त्रालय दिनुपर्ने बताउँदै आएको छ । एमालेले भागबन्डाको विषय पनि विश्वासको मत लिने समय अगाडि नै टुंगो लगाउनु पर्ने दबाब दिँदै आएको थियो । उक्त विषयलाई पनि मुख्यमन्त्री कार्कीले काठमाडौँ गएर टारिदिएका थिए ।
विश्वस्त स्रोतले जनाएअनुसार मुख्यमन्त्रीले अब बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न चाहेका छन् । सो अवधिसम्म मन्त्रीमण्डल विस्तारका लागि एमाले वा गठबन्धनका अन्य दलसँग कुनै सहमति गर्न चाहेका छैनन् । दसैँ लगत्तै प्रतिस्थापन विधेयक, सञ्चार विधेयकलगायत आधा दर्जन विधेयक दर्ता गर्नेगरी लाग्ने मुख्यमन्त्रीको तयार छ ।
मुख्यमन्त्रीले सरकार विस्तार नगरी काठमाडौँ पुगेकोमा एमालेले भने असन्तुष्टि जनाएको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दसैँअघि नै कोशी प्रदेश सरकार विस्तार गर्ने सहमति भएको बताएका छन् । ‘शुक्रबार मन्त्रिमण्डल विस्तार गरेर सपथ समेत गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो’, सञ्चारकर्मीसँग उनले बिहीबार भनेका थिए, ‘तर खै किन हो उहाँ काठमाडौँ जानुभएछ ।’
नेकपा एमालेले सरकार कांग्रेस र एमालेको मात्र भएकोले अन्य दललाई सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले काँग्रेस र एमालेको सहकार्य हुनुपर्ने भन्दै सहमतिको सरकार स्वीकार नगर्ने बताइसकेका छन् । यसअघि भने उनै कार्की सर्वदलीय सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका थिए । तर, मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएपछि भने उनले माओवादी र नेकपा एसलाई रोक्ने गरी अभिव्यक्ति दिएका हुन् । ‘मैले सर्वदलीय सरकार भन्दा कसैले सुनेन, अब अहिले किन चाहियो ?,’ नेता कार्कीको भनाइ थियो ।
उता गठबन्धनमा आबद्ध माओवादीले भने एमाले सरकारमा टाँसिएर बस्न नैतिकताले नदिने बताएको छ । ‘कांग्रेसभित्रको समस्या र संविधानको उपधारामा टेकेर गठबन्धनभित्र छिरेको एमाले अब सरकारबाट बाहिरिनुपर्छ’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको भनाइ छ, ‘सरकारलाई गठबन्धनले अपनत्व लिएर अगाडि बढिसकेकोले अब नैतिकताको आधारमा एमाले सरकारबाट बाहिरिनु राम्रो हुन्छ ।’