मेलम्चीको पानी पुसपछि मात्रै काठमाडौँमा : पानी ल्याउने नयाँ मुख बनाउन ४ अर्ब खर्च प्रस्ताव

काठमाडौँ । वर्षा यामको बाढी र पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा असर परेपछि फेरि काठमाडौँमा पानी कहिले आइपुग्छ भन्नेमा अन्यौलता छाएको छ । आयोजनास्थलसम्म पुग्ने बाटो बाढीले बगाएको र बाँधस्थलमा क्षति पुगेकोले पानी ल्याउने काम अन्योलमा परेको हो ।
बाटो खुलाउँदै आयोजना स्थल पुगेर क्षति भएको स्थानमा मर्मत सम्भार गरेर मात्र काठमाडौँमा पानी पठाउन सकिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले रातोपाटीलाई जानकारी दिए ।
नदीमा बढेको सतह कम नभएका कारण अहिलेसम्म कुनै काम अघि नबढेको उनले बताए । आयोजना स्थलमा बाटो बनाउनु नै पहिलो काम रहेको बताउँदै चाडपर्वहरू सकिएपछि मात्रै यी कामहरू अघि बढ्ने उनले बताए । अहिलेको अवस्थामा आगामी पुस महिनापछि मात्र पानी आउने सम्भावना देखिएको छ ।
प्रवक्ता पन्तले भने– ‘हाम्रा प्राविधिक तथा परामर्शदातासँग कुरा गर्दा डेढदेखि दुई महिनासम्म लाग्छ भन्ने कुरा गर्नुभएको छ । द्रुत गतिमा स्रोत साधन प्रयोग गर्न सक्ने हो भने अलि चाँडो पनि आउने भयो । अहिले पनि आयोजनास्थल भन्दा माथि पानी परिरहेको अवस्था छ । त्यसकारण सडक बनाउने काम भएको छैन । सडक बनाएर हेड वर्कसमा पुग्न छ–सात दिनको समय लाग्यो भने हेडवर्कस सफाइ गर्न अर्को दश–पन्ध्र दिन लाग्छ ।’
अस्थायी रूपमा प्रयोग गरेको सानो सुरुङभित्र पनि ढुङ्गा गिट्टी बालुवा थुप्रिएको र त्यसको सफाइ गर्न पनि समय लाग्ने उनले बताए । अहिले तत्काल मर्मतको काम हुने अवस्था नभएकोले काठमाडौँमा पानी ल्याउन समय लाग्ने देखिएको छ ।
दीर्घकालीन रूपमा समाधानका लागि मुहान सार्न ४ अर्ब खर्च प्रस्ताव
मेलम्चीमा हरेक वर्ष बाढी पहिरोको समस्याका कारण पानी ल्याउन समस्या हुने भएपछि त्यसको दीर्घकालीन समाधानका लागि एसियाली विकास बैँकले अध्ययन गरेर एक प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनमा काठमाडौँ पानी पठाउने दीर्घकालीन समाधानका लागि हालको पानी पठाउने ठाउँभन्दा ७ सय मिटर माथि नयाँ बाँध बनाउन प्रस्ताव गरेको छ । त्यसका लागि ४ अर्ब हाराहारी खर्च लाग्ने पनि प्रस्ताव गरिएको छ ।
प्रवक्ता पन्तले भने–‘टनेल एउटा थप्नुपर्छ, नयाँ ठाउँमा हेड वर्कस बनाउनुपर्छ भनेर सुझाव आएको छ । दीर्घकालीन समाधानका लागि समय लाग्छ । वर्षायाम सकिएपछि मेलम्ची नदीमा सफा पानी बगेको अवस्थामा पानी पठाउन अहिले अर्को व्यवस्था छैन । नयाँ व्यवस्था भयो भने सहज हुनेछ ।’
एडिबीले गरेको अध्ययनमा विभिन्न सुझावहरू दिइएको बताउँदै पन्तले अर्को ठाउँमा हेड वर्कस बनायो भने पहिरोको असर, बाढीको असरलाई के के गर्न सकिन्छ भन्ने बारेमा विभिन्न सुझावहरू दिएको उल्लेख गरे । दुई वर्ष अघि २०७८ सालको असारमा मेलम्चीमा भीषण बाढी पहिरोले क्षति पुर्याएपछि एडिबीले क्षति रोक्ने उपायका लागि अध्ययन थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
-
गण्डकीमा कर्मचारीको ज्येष्ठता विवाद: पुरानै नियुक्तिलाई कायम गर्न माग
-
कुन कानुन अन्तर्गत प्रहरीले गाडीको ‘ह्वील लक’ गरे भन्दै सूचना आयोगमा निवेदन
-
नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम तय