आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
विश्व

सकिएको हो चीनको वर्चश्व ?

बिहीबार, ०२ कात्तिक २०८०, ११ : ०८
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । चिनियाँ अर्थतन्त्रको बोलवाला सकिएको छ । विगत तीन दशकमा चीनको अर्थतन्त्र वेगले बढेको थियो । उत्पादन क्षमता, खपतको भोक अनि विश्व अर्थतन्त्रमा आफ्नो ताकत देखाउने क्षमता सबै थियो ऊसँग । चिनियाँ कम्युनिस्ट पार्टीले लगातार आर्थिक विकासलाई पछ्याइरह्यो । यस क्रममा केही नीतिगत त्रुटि पनि भए । घरजग्गा बजारमा मूल्यवृद्धिको असर देखियो । प्रान्तहरु ऋणको थेग्नै नसक्ने भारीले थिचिए । लगानीमाथि चाहिनेभन्दा बढी निर्भरता घटाउन असफल भयो सरकार । चीनको ध्याउन्नै पैसामात्र हुँदा गल्तीहरु सच्याउन समय नै भएन ।

चिनियाँ आर्थिक वृद्धिको यो युग चीनका लागि मात्रै होइन, विश्वको मागका लागि पनि आशीर्वाद बन्यो । तीब्र आधुनिकीकरण र औद्योगिकीकरणप्रति चीनको भोकमा च्याँखे थापेर विश्वका देशहरुले समेत आफ्नो वृद्धिविकासलाई मलजल गरे । अमेरिकी कम्पनीहरुले चीनलाई अर्को उत्कृष्ट विश्व बजारको रुपमा हेर्न थाले । अनि सोही अनुरुप चीनको बजारमा लगानीको बाजी थापिरहे । तर सो बाजीमा उनीहरु हारेका छन् ।

चीनका राष्ट्रपति सि चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को ‘फोकस’ अर्थतन्त्रबाट मोडेर राष्ट्रिय सुरक्षालाई बनाए । धनी बन्नु अब चीनको उद्देश्य होइन । यसले चीनको सरकारको प्राथमिकता र व्यवहार दुवै बदलिदिएको छ । विगतमा क्षितिजमा आर्थिक मन्दीको कालो बादल मडारिनै लागेको देख्नेबित्तिकै सीसीपी अर्थतन्त्रको उद्धारको लागि आइहाल्थ्यो । तर यस पटक खासै ठूलो ‘स्टिमुलस’ आएको छैन । न त विज्ञहरुले कुनै बेला चीनबाट आशा गरेको जस्तो विष्फोटक आर्थिक वृद्धिदर नै आउनेछ । बाँकी विश्वसँग चीनको सम्बन्ध आर्थिक चेतनाले निर्देशित पनि छैन अब । बरु राजनीतिक रुपमा शक्तिशाली बन्ने चाहनाले डोर्‍याएको छ ।

‘अब यो अर्थतन्त्रको मात्रै कुरा होइन, बरु उन्नत प्रविधि र हतियारबारे हो,’ चिनियाँ सर्वेक्षक कम्पनी चाइना बेज बुकका संस्थापक लि मिलर भन्छन् । चीनको अर्थतन्त्र झन्डै एक दशकदेखि आफ्नै संरचनात्मक समस्याको भारले दोब्रिएको थियो । गएको वर्ष राष्ट्रपति सिले कोभिड विरुद्धको शून्य सहनशीलताको नीति अन्त्य गरेपछि भने यसको आर्थिक वृद्धिको मोडल राम्रैसँग टुक्रिएको छर्लङ्ग भयो । चीनले अहिलेसम्म पनि अरु अर्थतन्त्र महामारीको चपेटाबाट तङ्ग्रिदै गर्दा चिनियाँ अर्थतन्त्र सामान्य वृद्धिको लय समात्ने बताइरहेको थियो । तर अवस्था उसले दाबी गरेको ठिक उल्टो देखिएको छ । अर्थतन्त्र झन् झन् पछाडि धकेलिँदै गइरहेको छ ।

सुरुवात चीनको घरजग्गा बजारबाटै गरौँ । यो चिनियाँ घरपरिवारको सम्पत्तिको सबैभन्दा ठूलो स्रोत हो नै, स्थानीय सरकारका लागि खर्च जुटाउने संयन्त्र पनि हो । सम्पत्ति कर्जा लगाउनुको सट्टा नगरपालिकाहरूले ठूलो परिमाणमा जग्गाजमिन रियल इस्टेट कम्पनीहरूलाई बेचेर सो रकम बाटो बनाउने र पेन्सन भुक्तानी गर्ने जस्ता सामाजिक सेवामा प्रयोग गरिरहेका थिए, छन् पनि । साङहाई र पेचिङ जस्ता सहरले धेरैको ध्यान खिचेको छ । तर घरजग्गा बजारका लागि यी ठुला सहर सानो अंशमात्रै हुन् । रियल इस्टेट कम्पनीहरुले धनाढ्य धेरै नभएका तेस्रो स्तरको सहरमा आफ्नो अधिकांश भवन बनाएका छन् । चीनको ‘भूतिया सहर’हरु पनि यहीँ भेटिन्छन् ।

649b2ded6eb0a800194d5ec2

चीनको घरजग्गा बजार समस्यामा चुर्लुम्म डुबेको छ भन्ने त वर्षौंदेखि नै छर्लङ्ग छ । चीनको जनसंख्या १ अर्ब ४० करोड छ । तर यसले ३ अर्ब जनसंख्यालाई पुग्ने गरी घर बनाएको विज्ञहरू बताउँछन् । यीमध्ये कयौं विशाल परियोजना आर्थिक वृद्धिका लागि चीनको अतृप्त इच्छा झल्काउने रिक्त स्मारक बनेका छन् । शेन्याङमा किसानहरुले रित्ता हाउजिङहरुलाई वस्तुभाउ पाल्न र चराउन प्रयोग गरिरहेका छन् । घरजग्गा बजार विष्फोट हुने चिन्तामा चीनले मूल्य वृद्धिको फोका बढाउने इन्धन अर्थात् कर्जामा कयौं पटक कैंची चलायो । तर सरकारको खर्च जुटाउने संयन्त्रमा घरजग्गा बजारले यति ठुलो भूमिका खेलेको छ कि चीनले यी समस्याका बावजूद निर्माण कार्यलाई जारी राख्नु पर्‍यो । स्थानीय सरकारहरुले आफ्नो खर्च जसरी जुटाइरहेका छन्, त्यसलाई फेर्न अधिकारीहरुले चाहेनन् । त्यसैले पनि मूल्य घटेन । कर्जाको लत पनि उस्तै रह्यो ।

तर जम्माखोरी र सहजै पैसाको उपलब्धताले तर यो प्रणाली टुक्रिन सुरु भयो । चीनको सबैभन्दा ठूलो रियल इस्टेट कम्पनी गार्डेन धराशायी हुने संघारमा छ । घरजग्गा बजारमा चर्किदै गएको समस्याबाट दिक्क बनेको चीनले समस्याग्रस्त अर्को ठुलो डेभलपर कम्पनी एभर ग्रान्डेका चेयरम्यान सु चियायिनलाई पक्राउ गरेको छ । पैसाले फिटफिटी भएका प्रान्तहरूले वित्तीय उद्धार मागिरहेका छन् । तर संघीय सरकार वित्तीय उद्धार गर्ने ‘मूड’मा छैन । स्थानीय सरकारले गैर तरल सम्पत्ति बेचिरहेको छ । त्यहाँको विशाल, अपारदर्शी छाया बैंकिङ क्षेत्रमाथि पनि दबाब बढेको छ । छाया बैंकिङ क्षेत्र चीनको रियल ईस्टेट बूमको मेरुदन्डको रुपमा रहेको थियो । यही गर्मीयाममा मनी म्यानेजर कम्पनी चोङरोङले लगानीकर्ताहरुलाई भुक्तानी नदिएपछि विरोध चर्किएको थियो ।

कुनै बेला घरजग्गा बजारमा मूल्य वृद्धि यति छिटोछिटो थियो कि अहिले नै किनेन भने कहिले पनि सकिन्न भन्दै मानिसहरू बजारमा ओइरिएका थिए । तर अहिले बजारमा सुस्ती जारी रहँदा पैसा थप घट्छ अनि किनौँला भनेर कुर्नेहरू बढेका छन् । अहिलेसम्म मूल्यमा ठिकठाकको कमी आएको सरकारी डेटाले देखाएको छ । तर चीनबाट आइरहेका अन्य सरकारी तथ्याङ्कले भने सो रिपोर्ट पत्याउन नसक्ने देखिन्छ । निजी क्षेत्रको डेटा हेर्ने हो भने शेन्झेन र शाङ्हाई जस्ता महानगरमा मूल्य १५ प्रतिशतले घटेको छ । दोस्रो र तेस्रो स्तरका सहरमा घरको मूल्य  ५० प्रतिशतसम्म घटेको ब्लुम्बर्गले बताएको छ । घरजग्गा बजारको ८० प्रतिशत विक्री तेस्रो स्तर वा सोभन्दा तलको सहरमा छ । यीमध्ये अधिकांश स्थानले दीर्घकालीन संरचनात्मक समस्या भोगिरहेका छन् । त्यहाँको बजार सामान्यस्तरमा फर्किएन भने समग्र घरजग्गा बजारको पुनःबहाली हुनै सक्दैन ।

सबैतिर समस्या

चीनको अर्थतन्त्रको अन्य क्षेत्र पनि समस्यारहित छैनन् । अहिले सारा विश्व महँगीसँग जुधिरहेको छ, चीन भने ‘अफ–स्फीति’मा फसेको छ । जीडीपीको ४० प्रतिशत अनुपात ओगटेको निर्यात जुलाईमा तीन वर्ष यताकै न्यून स्तरमा झरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा जुलाईमा निर्यात १४ प्रतिशतले घटेको छ । अगष्टको निर्यात आँकडामा केही सुधार देखिए पनि यो एक वर्षअघिको भन्दा ८ दशमलव ८ प्रतिशत कम नै थियो । यूरोप र अमेरिकासँगको व्यापार तनावका कारण आपूर्ति शृङ्खलामा आइरहेको स्थायी परिवर्तनले पनि निर्यात घटेको बजार अनुसन्धाता कम्पनी अटोनोमस रिसर्चले बताएको छ ।

बहुराष्ट्रिय कम्पनीहरुले चीनलाई स्थिर वृद्धिको स्रोतको रुपमा हेर्न छाडेपछि सबैले आफ्नो लगानीको योजना फेर्न थाल्नेछन् । चीनको उदयमा उपभोक्ताहरूको खपतमुखी व्यवहारको ठूलो योगदान छ । खुम्चिँदै गइरहेको रोजगारीले उपभोक्ताहरूको व्यवहार फेर्ने परिस्थिति उत्पन्न भइरहेको छ । यसले लगानीलाई बाहिरै राख्ने अनि खर्चलाई न्यून राख्ने सम्भावना बढेको छ ।

चिनियाँ अधिकारीहरूले अहिले सामाजिक अस्थिरता उत्पन्न हुने डरले वित्तीय प्रणालीमा देखिने जस्तोसुकै झट्का नियन्त्रण गर्न मनलाग्दी ढङ्गले कदम चालिरहेका छन् । यो वर्षको पूर्वार्द्धमा चीनको आर्थिक वृद्धिदर कमजोर छ । दोस्रो अर्धवार्षिकी अवधिको अवस्था झनै खराब देखिन्छ । अटोनोमसको प्रक्षेपणअनुसार यो वर्ष चीनको अर्थतन्त्र ३ दशमलव ८ प्रतिशतले बढ्नेछ । सरकारी अनुमान अनुसार भने अर्थतन्त्र ५ प्रतिशतले बढ्नेछ । कुनै बेलाको दोहोरो अंकको वृद्धि हेर्दा यो वृद्धिदर निराशाजनक हो । अर्थतन्त्रलाई तीब्र दरमा बढाउन सरकारले आर्थिक खुकुलोपना गर्दैन भन्ने संकेत पनि हो यो ।

चीन निरन्तर वित्तीय संकटकै अवस्थामा छ । तर यसले वित्तीय प्रणालीमा आउन सक्ने झट्काहरूमा अंकुश लगाउन समस्याका प्वालहरू टाल्नेमात्रै काम गरिरहेको छ । सरकारको यो नीति फेरिने छाँटकाँट छैन । यस्तोमा समस्याका प्वालहरू बन्द हुने भन्दा पनि थप बढ्ने देखिन्छ । पैसाले पनि चीनको हात बाँधेको छ । चिनियाँ कम्प्युनिस्ट पार्टीले गर्नु पर्ने अनेकौँ कुरा छन् । तर न त पर्याप्त पैसा छ, न समय नै । घरजग्गा बजारलाई सुध्रिने मौका दिने, स्थानीय सरकारको वित्तीय उद्धार, उनीहरूको लागि रकमको नयाँ स्रोत बनाउने, अस्थिरताको बेलामा काममा आउन सक्नेगरी सर्वसाधारणका लागि सामाजिक सुरक्षा जालो बनाउनेलगायत सबै काम गर्न पैसा लाग्छ । पैसाको जोहो भइहाले पनि यो अवरोधले शक्तिमा आफ्नो पकड के होला भन्ने भय नीति निर्माताहरूमा छ । घरजग्गाको घट्दो मूल्य र खुम्चिदै गइरहेको निर्यातले चिनियँहरूको सम्पत्तिमाथि दबाब सिर्जना गरेको छ । अर्थपूर्ण करेक्शनले अस्थिरता निम्त्याउने आशंकाले सरकारलाई डराइरहेको छ ।

‘हरेक पटक घरजग्गा बजारमा मूल्यमा उच्च कमी आउँदा, चीनले यसलाई सामाजिक सुरक्षामा जोखिमको रुपमा हेरेको अटोनोमस रिसर्चका प्रवन्ध निर्देशक तथा वरिष्ठ विश्लेषक चार्लेन चु भन्छन् । बद्लिँदो जनसंख्या बनावट पनि अर्को चिन्ताको विषय बनेको छ । सन् २०२२ मा जनसंख्या घट्न सुरु गर्‍यो । काम गर्ने उमेर समूहको जनसंख्या छिट्टै खुम्चन थाल्नेछ । अहिले काम गर्ने उमेर समूहका तीन वयस्क बराबर एक जना सेवा निवृत्त बृद्ध छन् । सन् २०५० सम्ममा यो अनुपात एक बराबर एकमा ओर्लिनेछ । घरजग्गाको मूल्य बढेन वा आर्थिक वृद्धि जारी रहेन भने सेवानिवृत्तहरुको बढ्दो जमात चीनको सामाजिक सुरक्षा जालोका लागि बोक्नै नसक्ने भारी बन्ने निश्चितप्रायः छ ।

चीनको प्रति व्यक्ति जीडीपी १२ हजार ८०० डलर छ । जापानले सन् १९९१ मा यस्तै खालको अवस्था भोग्दा जापानको प्रतिव्यक्ति जीडीपी चीनको भन्दा तेब्बरभन्दा बढी अर्थात् अहिलेको डलरको आधारमा ४१ हजार २६६ डलर थियो । चीन धनी हुनु अगावै बुढो भइसकेको छ । धनी हुने अहिले चीनको लक्ष्य होइन, शक्तिशाली बन्नुमात्रै हो । लाजमर्दो कुराचाहिँ के भयो भने अप्ठ्यारोको बेला भनेर टन्नै पैसा बचाउनै पर्दैन भनेर सर्वसाधारणले सोच्न सक्ने गरी चीनले बृहतर सामाजिक सुरक्षा जालो बनाउन सक्ने अवसरको सदुपयोग कहिल्यै गरेन । आफूलाई चाहिएको सबै चिज पुर्‍याइएको छ भन्ने अधिकांश चिनियाँले महसुस नै गरेनन् । यसले घरेलु, मागमा आधारित मोडललाई झनै जटिल बनाउने चुको भनाइ छ ।

नाटकीय पहल नगरिँदासम्म चीनको अर्थतन्त्रको भविष्य उज्ज्वल छैन । नीति निर्माताहरुले १ खर्ब ३७ अर्ब डलरको ‘स्टिमुलस’ ल्याउन लागेको गएको हप्ता ब्लुम्बर्गले एउटा समाचारमा भनेको थियो । तर यो न्यून आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न मात्रै पर्याप्त छ । सुधार त झन केही पनि छैनन् । अर्थतन्त्रमा केही स्वस्थ्यकर हिस्सा पनि छन् । अहिलेको समस्या अर्थतन्त्रका मृत हिस्सालाई बिउँताउने मात्रै हो । तर उनीहरुले यो पनि गरेको नदेखिएको अनि यसले आर्थिक वृद्धिमाथिको दबाब ठुल्ठुलो बनाउँदै जाने शिह बताउँछन् । सुस्त आर्थिक वृद्धिले गम्भीर बेरोजगारी तथा पुँजी पलायनको समस्या उत्पन्न गराउने र यसले राजनीतिक अस्थिरता ल्याउने उनको भनाइ छ ।

नयाँ, झन भयानक युग

चिनियाँ नीति निर्माताहरूले राजनीतिक अस्थिरता र आथिक वृद्धिदरलाई एकै ठाउँमा मिसाउँछन् भन्ने पश्चिमी बुझाइ छ । तर कम्तीमा पनि अभ्यासमा भने यस्तो छैन । चीनले बुढो हुँदै गइरहेको जनसंख्याका लागि सामाजिक कार्यक्रम ल्याउन पैसा खर्च गरेको छैन । न त पैसा खर्च गर्नेबारे कुरा गरेको छ । युवामाझ बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्ने प्रयास पनि भएको छैन । आर्थिक आधुनिकीकरण सबैभन्दा जरुरी कुरा हो भने यो वर्षौं पहिला नै भइसक्थ्यो, तर भएन । नीति निर्माताहरू विष्फोट चाहन्नन्, न त तीब्र गतिको विकासलाई नै जोड दिइरहेका छन् ।

सबै नीति अहिले राष्ट्रपति सिले नै निर्धारण गर्छन् । उनको प्राथमिकता प्रविधिमा र अमेरिकासँग राष्ट्रिय सुरक्षाको दौडमा पैसा खन्याउनु मात्रै भएको शिह बताउँछन् । कुनै समय पूर्वाधार र घरजग्गालाई चीनले बढी महत्त्व दिएको थियो । अहिले यसको ठाउँ सेनाले लिएको छ । चीनको वार्षिक रक्षा बजेट ७ खर्ब डलर रहेको अमेरिकी सरकारको अनुमान छ । यो भनेको अमेरिकाले गर्ने वार्षिक खर्चभन्दा १ खर्ब डलरमात्रै कम हो ।

यो समयमा चीन धनी बनेको कल्पना गर्न सकिन्न तर शक्तिशाली बनेको गर्न सकिन्छ । चीनले आफ्नो सेनालाई बलियो बनाउनेछ अनि घरेलु प्रविधि क्षमता तिखार्दै जानेछ । चीनले आर्थिक अभाव प्राविधिक उपलब्धिमा बाधक बन्दैन भन्ने कुरा इतिहासले पनि देखाइसकेको छ । अहिले चीनको आर्थिक ‘सुपरसाइकल’ सकिएको छ । यस्तोमा अनुकुलन पीडादायक हुनेछ ।

एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप