पोखराको ठुल्ढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

पोखरा । पोखरा महानगरपालिकाको ठुल्ढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं.२२ को समन्वय तथा स्थानीय कृषकहरूको सक्रियतामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र अन्तरगत उत्पादित कृषिजन्य उपजहरूको सङ्कलनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस प्रकारका सङ्कलन केन्द्रहरू मार्फत उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘पोखरा महानगरपालिका कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त गर्न सकोस् भन्नेमा चिन्तित छ,’ प्रमुख आचार्यले भने, ‘महानगरपालिकाले कृषक दाजुभाइ दिदीबहिनीहरूको मिहिनेतले उत्पादित वस्तुको बजारीकरणका लागि समर्थन मूल्य समेत प्रदान गर्दै आइरहेको छ ।’ कृषकहरूलाई प्रदान गरिने समर्थन मूल्यले उनीहरूलाई हौसला मिलेको उनले बताए ।
महानगरपालिकाका दर्जनौँ स्थानहरूमा कृषि उपज सङ्कलन केन्द्रहरू स्थापना गरी सञ्चालनमा ल्याइएको बताउँदै उनले गुणस्तरीय उत्पादनमा जोड दिए । महानगरपालिकामा तरकारीजन्य वस्तुहरूको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात समेत गर्ने गरी उत्पादनमा लाग्नु पर्ने अवस्था रहेको उनले बताए । पोखरा काँक्रो लगायत कतिपय कृषिजन्य उत्पादनमा आत्मनिर्भर भैसकेको बताउँदै प्रमुख आचार्यले अव बिस्तारै अन्य तरकारी तथा मासुजन्य बस्तुहरूमा पनि आत्मनिर्भर हुने अवस्था सृजना गर्नुपर्ने बताए ।
वडा नं.२२ का वडा अध्यक्ष हिमलाल बरालले वडालाई तरकारीको पकेट क्षेत्र घोषणा गरी लागु गरिएका कार्यक्रमहरू निकै प्रभावकारी भइरहेको बताए ।
आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाको अधिकांश क्षेत्र निकै उर्वर रहेको बताए ।
कृषकहरूको उत्पादनलाई सहज तथा सुरक्षित ढुवानीका लागि महानगरपालिकाको तर्फबाट चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषकहरूको खेतबारीमा पुगेर कृषि उपजको सङ्कलन तथा सुरक्षित ढुवानी कृषि एम्बुलेन्स मार्फत भइरहेको कडरियाले जिकिर गरे । त्यस क्षेत्रका कृषकहरूले भने ग्रामीण क्षेत्रमा बाँदर लगायतको समस्या रहेकाले यसको समाधानका लागि उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य