काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राजधानीको होटल सोल्टीमा सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् ।
सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी, सांसदहरु, कूटनीतिक नियोगका कात्तिक ३ सम्म चल्ने सम्मेलनको समापन भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम छ ।
सम्मेलनकै दौरानमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ । यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए । उनका अनुसार पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।
संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
एनआरएनएको अध्यक्ष पदका लागि चारले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका हुन् ।
महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ । सन् २००३ अगस्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको थियो । एनआरएनएको संस्थापक अध्यक्ष उपेन्द्र महतो हुन् ।
प्रतिक्रिया