प्रत्यारोपण केन्द्रले गर्यो १४ औँ कलेजो प्रत्यारोपण

सासू र बुहारी भन्ने बित्तिकै इज्जत, प्रतिष्ठा, सम्पत्तिमाथिको अधिकार र पारिवारिक बेमेल आदि कुरामा विमति धेरैको मानसपटलमा आउँछ । तर सासू र बुहारीको मिलाप र आत्मियताको कथा ज्यादै थोरै मात्रै पढ्न पाइन्छ । आज एउटा त्यस्तै कथा छ, जहाँ ३७ वर्षीय बुहारीले ६२ वर्षीय सासूलाई आफ्नो कलेजो दिएर सासूको ज्यान बचाएकी छिन् ।
सासू र बुहारीको आत्मीयताको कथा हो, भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको । केन्द्रमा गत शुक्रबार अर्थात् असोज २६ गते एक ३७ वर्षीय बुहारीले ६२ वर्षकी सासूलाई आफ्नो कलेजो दान दिएर ज्यान बचाइन् । असोज २६ गते गरिएको कलेजो प्रत्यारोपणको जानकारी अपरेसन पूर्णरुपमा सफल भएपछि सोमबार मात्रै केन्द्रले जानकारी गराएको छ ।
केन्द्रका सिनियर कन्सल्टेन्ट तथा कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार सोलुखुम्बु स्थायी ठेगाना भई हाल बौद्धमा बसिरहेकी ६२ वर्षीय लाक्पा शेर्पिनीको कलेजो काम नलाग्ने भइसकेको थियो । समयमै कलेजो प्रत्यारोपण गर्न नसके उनको मृत्यु निश्चित थियो । त्यही समयमा कलेजो प्रत्यारोपणको कुरा आयो । लाक्पाको रगत समूहसँग उनकी बुहारी माया शेर्पाको रगत समूह मिल्यो । सासूको ज्यान बचाउन बुहारी माया शेर्पा तयार भइन् । त्यसपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो दान दिने (डोनर) माया शेर्पा र कलेजो लिने (रिसिपियण्ट) लाक्पा शेर्पिनीको अपरेसन भयो । शुक्रबार भएको अपरेसन सफल भएको डाक्टर श्रेष्ठले बताए ।
कलेजो दान दिने माया शेर्पा र लिने लाक्पा शेर्पिनीको अनुमतिमा प्रकाशनका लागि रातोपाटीलाई प्राप्त भएको तस्बिरमा माया र लाक्पा दुवै खुसी देखिन्छन् । मायाले थम्ब्स अप गरेर ‘सबै ठिक छ’ भनेकी छिन् । अहिले माया र लाक्पा दुवै अस्पतालको पोष्ट अपरेसन वार्डमा रहेर उपचार गराइरहेका छन् ।
कलेजो प्रत्यारोपणलाई विश्वमै जटिल अप्रेसनका रूपमा लिइन्छ । १० देखि १४ घण्टा लगाएर गर्नुपर्ने अप्रेशनका लागि २५ देखि ३० जनाको समूह चाहिन्छ । अलिकति गल्ती, कमजोरी वा लापरबाहीले लिइएको कलेजोले काम नगर्न सक्छ भने कलेजो लिने व्यक्तिको मृत्यु पनि हुनसक्छ । उच्च दक्षता, लगनशीलता आदि कलेजो प्रत्यारोपणका लागि न्यूनतम शर्त हुन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलोपटक २०७३ मङ्सिर २२ गते कलेजो प्रत्यारोपण भएको थियो । भक्तपुरका बलराम नागालाई उनकी ४२ वर्षीय दिदीले कलेजो दान गरेकी थिइन् । त्यतिबेला दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक नेपालमा कलेजो प्रत्यारोपण भएको थियो । तत्कालीन समयमा कोरियाका डाक्टर डेभिन कोनको नेतृत्वमा नेपालमा कलेजो प्रत्यारोपण गरिएको थियो ।
विदेशमा कलेजो प्रत्यारोपण गर्न कम्तीमा ६० लाख रुपैयाँ खर्च हुने गरेकामा नेपालमा भने जम्मा १५ लाख रुपैयाँमै कलेजो प्रत्यारोपण हुने गरेको छ । २०७३ सालपछि कलेजो प्रत्यारोपणका लागि भारतबाटै चिकित्सकको टोली आई नेपालका कन्सल्टेन्ट डाक्टरहरूको समूहले समेत काम गर्ने गरेकामा पछिल्लो समय भने भारतबाट एकजना कन्सल्टेन्ट डाक्टरलाई मात्रै झिकाएर प्रत्यारोपणको काम भइरहेको छ । शुक्रबारसहित पछिल्लो तीन ट्रान्सप्लान्टमा एकजना मात्रै भारतीय चिकित्सक ल्याएर केन्द्रकै कार्यकारी निर्देशक समेत रहेका कन्सल्टेन्ट डाक्टर पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ट्रान्सप्लान्ट गरिएको हो । शुक्रबार भएको ट्रान्सप्लान्टमा भारतको लेकसोर अस्पतालका डाक्टर शिल्भा कुमार नागानाथमले सहयोग गरेका थिए ।
शुक्रबार भएको प्रत्यारोपणले ७२ घण्टा पूरा गरेपछि मात्रै त्यसबारे जानकारी दिइएको हो । ७२ घण्टापछि मात्रै स्वास्थ्य अवस्थाबारे यकिन हुने भएकाले उनीहरू खतरामुक्त भएपछि मात्रै सो बारे जानकारी दिइएको डाक्टर श्रेष्ठले रातोपाटीलाई बताए ।
कलेजोले कसरी काम गर्छ ?
केन्द्रका सिनियर कन्सल्टेन्ट डाक्टर पुकारचन्द्र श्रेष्ठका अनुसार मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग कलेजो हो । कलेजोले खानाबाट प्राप्त हुने ग्लुकोज, भिटामिन लगायतका पौष्टिक र शरीरलाई आवश्यक तत्त्वहरू जम्मा गरेर राख्ने काम गर्छ । त्यसबाहेक स्वस्थ कलेजोले विकारलाई फाल्ने वा मानव शरीरलाई अनावश्यक वा हानी गर्ने तत्त्व वा विषलाई निर्मलीकरण गर्ने वा सफा गर्ने काम गर्छ ।
त्यस्तै कलेजोले बोसोका रूपमा शरीरमा प्रवेश गरेको वा खाएको कुरालाई पचाउने काम गर्छ भने इन्जाइम उत्पादनमा पनि यसले काम गर्छ । इन्जाइमकै कारण पाचन प्रणालीमा समेत कलेजोले महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसबाहेक खाद्यान्नलाई ग्लुकोज तथा प्रोटिनका रूपमा परिणत गर्ने काम पनि कलेजोले नै गर्छ ।
कलेजो बिग्रिए के हुन्छ ?
कलेजो मानव शरीरको पाचनप्रणालीसँग सम्बन्धित महत्त्वपूर्ण अंग भएकाले कलेजो बिग्रिए पाचनप्रणाली बिग्रने र त्यसपछि शरीर सुन्निई रक्तस्राव भई मानिसको मृत्यु हुन्छ । कलेजोले काम गर्न छाडेको छोटो समयमै उपचार गर्न नसके मानिसको मृत्यु समेत हुने भएकाले कलेजो बिग्रिएमा उपचार सम्भव नभए एकमात्रै उपाय भनेको कलेजो प्रत्यारोपण नै हो ।
डाक्टर श्रेष्ठका अनुसार कलेजो फेल भएपछि शरीर सुन्निने, प्रोटिनको कमी हुने, इम्युनिटी कम हुँदै जाने, मानिसहरू बेसुर भएर बेहोस हुने, रगत छाद्न सक्ने, दिसाबाट रगत बग्ने र अन्य स्थानबाट पनि रक्तश्राव हुन सक्नेछ । समयमै उपचार वा प्रत्यारोपण नभए मानिसको मृत्यु निश्चित नै रहेको डाक्टर श्रेष्ठले बताए ।
कलेजो ट्रान्सप्लान्ट गर्दा समस्या आउँछ कि आउँदैन ?
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कन्सल्टेन्ट सर्जन डा. पुकारचन्द्र श्रेष्ठका अनुसार कलेजो एउटा त्यस्तो अंग हो, जुन दान गरेको ९० दिनमा ९० प्रतिशत पलाउँछ र पूर्णरुपमा काम गर्न सक्छ । कलेजो दान गर्दा आधा कलेजो दान हुने र लिनेले पनि आधा कलेजो लिने भएपनि त्यसको तीन महिनामा ९० प्रतिशत पलाउने भएकाले त्यसपछि कुनै समस्या हुँदैन । यद्यपि कलेजो लिने व्यक्तिले मादकपदार्थको सेवनमा पनि रोक लगाउनुपर्ने हुन्छ । शरीरले पचाउन कठिन हुने वस्तुको सेवनमा ध्यान दिनुपर्ने र पचाउन कठिन हुने वस्तु सकेसम्म नखाने गर्नुपर्ने बताए । यद्यपि कलेजो प्रत्यारोपण गरेको तीन महिनापछि मानिसहरू पहिलेको जस्तै सामान्य दैनिकीमा फर्कन सक्छन् अर्थात् पहिले जत्तिको स्वस्थ थिए त्यही अवस्थामा आउन सक्छन् । अप्रेसन गरेको १० देखि १५ दिनमा उनीहरू अस्पतालबाट डिस्चार्ज भई सामान्य जीवनयापनमा फर्कन सक्नेछन् ।
१ हजार १३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपण सम्पन्न
कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात गरेको केन्द्रले मिर्गौला प्रत्यारोपणको सुरुवा गरेको ११ वर्षको अवधिमा देशमै सबैभन्दा धेरै अर्थात् १ हजार १३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।
कुनै एक जनाको मस्तिष्क मृत्यु भएमा निजको अंगले ८ जनाले नयाँ जीवन पाउने भएकाले मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपणका लागि सहयोग गर्न आग्रहसमेत गर्ने गरेको छ । यसका लागि अंगदानको प्रतीक्षा सूचीमा नाम लेखाउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा