शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नगद पुरस्कारले सम्मानित भएपछि एरिकाले भनिन्-मैले जिते पनि यो पदक देशको हो

सोमबार, २९ असोज २०८०, १६ : २७
सोमबार, २९ असोज २०८०

काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउने कराँते खेलाडी एरिका गुरुङ सोमबार नगद पुरस्कारसहित सम्मानित भएकी छन् । एरिकालाई नेपाल सोतोकान कराँते महासंघका अध्यक्ष निवासगोपाल बैद्यले आफ्नो ब्यक्तिगत तर्फबाट दुई लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मानित गरेका हुन् । 

नेपाल कराँते महासंघका सल्लाहकारसमेत रहेका वैद्यले १९औँ एसियाली खेलकुद सुरु हुनुअघि नै कराँतेमा पदक जित्ने खेलाडीलाई आफ्नो ब्यक्तिगततर्फबाट नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । सोही अनुरुप उनले एरिकालाई नगद पुरस्कारसहित सम्मानित गरेका हुन् । 

चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा वैद्य नेपाली कराँते टोलीको व्यवस्थापकको भूमिकामा पनि थिए । ललितपुरको पाटनमा सोमबार आयोजित कार्यक्रममा वैद्यसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, बागमती प्रदेशसभाका सदस्य मिनकृष्ण महर्जन, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासंघका महासचिव दावा गुरुङलगायतले एरिकालाई नगद पुरस्कार बराबरको चेक र सम्मानपत्र प्रदान गरे । 

‘प्रतियोगितामा मैले जिते पनि यो पदक देशको हो । यो पदक सम्पूणर् नेपालीको हो । यो पदक राखेप र कराँते महासंघको पनि हो,’ नगद पुरस्कासहित सम्मानित भएपछि एरिकाले भनिन्, ‘यो सम्मानले मेरो हौसला बढाएको छ र मेरो काँधमा अझ उत्कृष्ट प्रदर्शन गर्नु पर्ने जिम्मेवारी पनि थपेको छ ।’

एरिकाले १९औँ एसियाली खेलकुदमा जितेको पदक नेपाली खेलकुदका लागि ऐतिहासिक थियो । यसअघि नेपालले एसियाली खेलकुदको कराँतेमा रजत पदक जित्न सकेको थिएन । नेपालले एसियाली खेलकुदको इतिहासमा जितेको त्यो केवल तेस्रो रजत पदक पनि थियो । 

यसअघि नेपालले सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदका पहिलो पटक रजत पदक जितेको थियो । त्यतिबेला नेपाली तेक्वान्दो खेलाडी सविता राजभण्डारीले नेपालका लागि रजत पदक जितेकी थिइन् ।

त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको थियो । एरिकाका अतिरिक्त १९औँ एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको थियो । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा पहिलो पटक पदक जितेको हो । 

राखेपका सदस्यसचिव घिसिङले आगामी दिनमा एरिकालगायतका कराँते खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘एरिकाले खेलाडीको भूमिकामा देशका लागि अझ बढी योगदान गर्न बाँकी छ । यसका लागि राखेपले पनि आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्नेछ,’ उनले भने ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले पदक जितेबापत सरकारले दिनु पर्ने नगद पुरस्कार दिन निकै ढिलो गर्ने गरेको आरोप लागिरहँदा सदस्यसचिव घिसिङले भने सरकारले दिने नगद पुरस्कार पनि एरिकाले छिट्टै नै पाउने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘एसियाली खेलकुदमा रजत पदक जितेबापत एरिकाले पाउने १९ लाख ५० हजार रुपैयाँ पनि छिट्टै प्रदान गरिने छ ।’

कराँते महासंघका अध्यक्ष लामाले नेपाली खेलकुदमा वैज्ञानिक प्रशिक्षण प्रणाली तथा खेलाडीको विषयमा हुने अध्ययन र अनुसन्धानको कमी रहेको धारणा व्यक्त गरे । ‘विश्व खेलकुद निकै जटिल बन्दै गएको छ । खेलकुद विज्ञानलाई अंगिकार नगरि अबको खेलकुद अगाडि बढ्न सक्दैन । त्यसैले कराँते महासंघले पनि स्पष्ट योजना बनाएर यसतर्फ अगाडि बढ्ने तयारी गरिरहेको छ,’ उनले भने ।

राखेपका पूर्वसदस्यसचिव समेत रहेका लामाले खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रको समेत ध्यान जानु पर्ने धारणा व्यक्त गरे । ‘एसियाली खेलकुदजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीतर्फ कर्पोरेट हाउसहरुको पनि ध्यान जानु पर्छ । एउटा खेलाडीले पदक जितेर सिङ्गो देशको गौरव बढाउँछ भने खेलाडीको सम्मान गर्नु पनि हामी सबैको सामूहिक दायित्व हो,’ उनले भने ।

बागमती प्रदेशसभाका सदस्य महर्जनले खेलकुद क्षेत्रको विकासमा विगतदेखि नै सरकार उदासीन रहँदै आएको धारणा व्यक्त गरे । ‘म आफै पनि खेलकर्मी हुँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी हुँदै म राखेपको कोषाध्यक्षसमेत भएँ । अहिले म राजनीतिमा सक्रिय छु । तर, दुःखपूर्वक भन्नुपर्छ खेलकुद क्षेत्रको विकासमा सरकारले यथोचित ध्यान पुर्‍याउन सकेको छैन,’ उनले भने, ‘१९औँ एसियाली खेलकुदको तयारीमा लागि कराँते खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउँदा खोज्दा खेलाडीलाई केही राष्ट्रले प्रवेशाज्ञा दिएनन् । त्यति सामान्य कुराका लागि समेत सरकारले पहल नगर्नु दुःखद पक्ष हो ।’

नेपाल कराँते महासंघका सल्लाहकार वैद्यले ठूला प्रतियोगिता नजिकिएपछि मात्र त्यसको तयारी सुरु गर्ने परम्परा त्यागेर खेलाडीका लागि निरन्तर प्रशिक्षणको व्यवस्था गरिनु पर्ने सुझाव दिए । ‘१९औँ एसियाली खेलकुद सकिएको छ । अब हामीले चुप लागेर बस्ने होइन । योभन्दा ठूलो उपलब्धि हासिल गर्न अब २०औँ एसियाली खेलकुदको तयारी पनि तत्काल सुरु गर्नु पर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप