मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

शेखरको विद्रोहले कोशीमा जुराएको संयोग : के होला गठबन्धनसँग एमालेको सम्बन्ध ?

यस्तो छ ६ महिनामा दलहरूबिच ‘लभ र हेट’को रोचक शृङ्खला
सोमबार, २९ असोज २०८०, ०७ : ०२
सोमबार, २९ असोज २०८०

काठमाडौँ । नेपालको राजनीतिक वृत्तमा पछिल्लो समय दलहरूबिच नाटकीय मिलन र बिछोडको संयोग रोचक बन्दै गएको छ । राजनीतिक वृत्तमा ठूलो कम्पन आउने गरी कोशी प्रदेशमा कांग्रेसका शेखर समूहले विद्रोह गरी मुख्यमन्त्री हात पा¥यो । वामपन्थी दलहरूमा यस्ता विद्रोह खासै नौलो नभए पनि कांग्रेसभित्र शेखरको विद्रोहलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।

अहिले संघदेखि ६ प्रदेशमा कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धनको सरकार छ । तर कोशीमा एमाले र विद्रोही कांग्रेस सम्मिलित सरकार गठन भएको छ । यद्यपि निर्णयबाट ‘ब्याक’ गराउने देउवा–प्रचण्डको योजना असफल भएपछि अन्ततः विद्रोही पक्षलाई नै साथ दिने निर्णय गरेका छन् । शनिबार प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखरबिच वर्तमान गठबन्धन जोगाउँदै कोशीमा केदार कार्की नेतृत्वको सरकारलाई समर्थन गर्ने सहमतिको चिर्कटोमा हस्ताक्षर भयो ।

आइतबार मुख्यमन्त्रीको शपथ लिएका कार्कीले एमाले र विद्रोही कांग्रेसबाट एक/एकमन्त्री सहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

कतिपय विश्लेषकले कोशीको विद्रोहले संघसहित सबै प्रदेशमा प्रभाव पार्ने अनुमान गरेका छन् । कतिले शेखर समूहको विद्रोहले अन्य प्रदेश र संघमा असर नपर्ने जिकिर गरेका छन् । तथापि कोशीको विद्रोह कांग्रेस संस्थापन र इतरपक्ष दुवैको कमजोरीको परिणाम भएको विश्लेषक शंकर तिवारी बताउँछन् । कोशीको विद्रोहले संघ र अन्य प्रदेशमा प्रभाव नपार्ने उनको जिकिर छ ।

‘कोशीको विद्रोह बहुमतले अल्पमतको आवाज नसुन्नु र अल्पमतले बहुमतमाथि शासन गर्न लालायित बन्न खोज्नुको परिणाम हो । यहाँ दुवै पक्षको कमजोरी देखिन्छ’, उनले भने, ‘अल्पमतले पनि पार्टी र संसदीय दलको बैठक बसेर निर्णय लिएको भए जायज मान्न सकिन्थ्यो । बहुमतले पनि अल्पमतसँग सल्लाह लिएको भए घटना घटने थिएन । यद्यपि कोशीको विद्रोहले संघ र अन्य प्रदेशमा कुनै प्रभाव पार्दैन ।’

फागुन १६ गते एमाले–माओवादी समीकरण भत्किएपश्चात कोशीको राजनीतिमा धेरैले चासोका साथ  हेरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४७ सिट आवश्यक थियो । अंकगणितको हिसाबले एमाले–राप्रपासँग ४६ र कांग्रेस–माओवादी गठबन्धनसँग सभामुखसहित ४७ सिट थियो । तर संविधान बमोजिम सभामुखले भोट हाल्न नपाउने भएकाले दुवै पक्षसँग ४६÷४६ बराबर सिट सङ्ख्या भयो । सत्ता र शक्ति संघर्षका कारण कोशीको राजनीति अन्त्यहीन दुष्चक्रमा फस्यो ।

सभामुखलाई राजनीतिक हतियार बनाएर सत्ता प्राप्तिका लागि संविधानविपरीत सरकार गठन प्रक्रियामा सहभागी गराइयो । त्यतिमा मात्र सीमित नभई कांग्रेसबाट मुख्यमन्त्री दाबी गरेका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमलाई राजीनामा दिन बाध्य पारियो । सत्ता र शक्तिको दुरुपयोग गरी थापालाई दुई÷दुईपटक मुख्यमन्त्री नियुक्त गरियो । यी सबै प्रयास संविधानविपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतले खारेज गरी संविधानको धारा १६८(३) बमोजिम एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो । यद्यपि कार्कीले विश्वासको मत नपाउने देखिएपछि असोज २० गते राजीनामा दिए । उनले राजीनामा दिएपश्चात प्रदेश प्रमुख परशुराम खापुङले उपधारा ५ बमोजिम सरकार गठन गर्न दलहरूमा आह्वान गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा गत बिहीबार बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले थापालाई मुख्यमन्त्रीको रिङबाट ब्याक गराइ माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गर्‍यो । उक्त निर्णयबाट आक्रोशित भएका शेखरकै निर्देशनमा ८ सांसदले विद्रोह गरेका थिए । संघमा प्रचण्डकै विकल्प मागिरहेका शेखर कोशीमा सफल भएको देखिन्छ । तर उनको विद्रोहको निष्कर्ष कसरी निस्कन्छ भन्ने बुझ्न केही समय कुर्नुपर्ने देखिन्छ । सायद प्रचण्ड–देउवाका लागि अनुमानभन्दा धेरै टाढाको विषय थियो कोशीको विद्रोह ।

दलहरूको मिलन र बिछोडका रोचक शृङ्खला

‘घरजम छँदा प्रेम टुट्यो । डिभोर्स भइसकेपछि माया बस्यो भन्याजस्तै भयो । कुनै जोडीले भागेर विवाह गरेपछि दुई परिवारको बिचमा फरक विचार आउँदो रहेछ– बोलाएर टीकाटालो गर्नुपर्छ या पर्दैन भन्ने विषयमा । तर, बोलाएर टीकोटालो गरेपछि कुनै न कुनै रूपमा सहभागी हुनुपर्ने रहेछ ।’

माथिको अभिव्यक्ति कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७९ पुस २६ गते कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई दिएका हुन् ।

मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा देउवा नेतृत्वको तत्कालीन सत्ता गठबन्धन तोडेर प्रचण्ड झण्डै १८ महिनाअघि डिभोर्स गरेका ओलीसँग पुनर्मिलन गरी प्रधामन्त्री बन्न सफल भए । बालुवाटार बैठक छाडेर पुस १० गते ओली निवास बालकोट पुगेका प्रचण्ड उतैबाट प्रधानमन्त्री नियुक्त भएका थिए । सत्ताको मुखमा पुगेको कांग्रेस एकाएक संघदेखि सबै प्रदेशमा प्रतिपक्षमा पुग्यो । निर्वाचन जितेर पनि अंकगणितमा हार खाएपछि निराश भएको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो । सोही विषयमा बिम्ब प्रयोग गरी शर्माले उल्लेखित अभिव्यक्ति दिएका थिए ।  

२७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेस–माओवादीसहितको चार दलीय गठबन्धनले १३६ सिट जितेको थियो । राष्ट्रियताको मुद्दालाई देखाएर गठबन्धनलाई हाराउने एमालेको रणनीति निर्वाचनमा फेल खायो । यद्यपि गठबन्धनविरूद्ध एकाध क्षेत्रबाहेक एमाले एक्लै भिड्नु चानचुने विषय थिएन । बहुमत ल्याउने एमालेको अनुमानमा धक्का लागे पनि संसद्का ७९ सिटसहित दोस्रो निर्णायक दल बन्यो । यता माओवादीसहित वामपन्थी दलको साथ लिएर एकल बहुमत ल्याउने कांग्रेसको चाहना पूरा नभए पनि ८९ सिटसहित पहिलो दल बन्न सफल भयो ।

उक्त निर्वाचनमा सबैभन्दा बढी धक्का माओवादी र एकीकृत समाजवादीलाई लाग्यो । कांग्रेस–एकीकृत समाजवादीको साथ लिएर संसद्का तेस्रो निर्णायक शक्ति बन्ने र राजनीति आफ्नो वरिपरि केन्द्रित गर्ने प्रचण्डको योजना विफल भएको थियो । यद्यपि निर्वाचनमा गठबन्धन दलहरू बहुमत नजिक पुगेकाले देउवाको नेतृत्वमा सरकार बन्ने धेरैको अनुमान थियो । तर चुनावी परिणामले आत्तिएका प्रचण्डले पहिलो चरणमा आफ्नै नेतृत्वमा सरकार बनाउने चाहना देउवासमक्ष राखेका थिए । छैटौं पटक प्रधानमन्त्री बन्ने चाहना राखेका देउवाले प्रचण्डको प्रस्ताव अस्वीकार गरे । पहिलो चरणमा को प्रधानमन्त्री बन्ने विषयले बालुवाटार र खुमलटारबिच रस्साकस्सी चलिरहेकै अवस्थामा प्रचण्डले देउवासँग डिभोर्स दिएका थिए ।

तीन महिना नपुग्दै ओलीसँग डिभोर्स, देउवासँग लभ

ओलीको प्रस्तावमा तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्ड उनीसँग धेरै समय रमाउन सकेनन् । तीन महिना नपुग्दै उनले ओलीसँगको सम्बन्ध तोडेर फेरि पुरानै घर वामलोकतान्त्रिक गठबन्धन फर्किए । एमाले संघदेखि कोशीबाहेक अन्य प्रदेशमा सत्ताबाट बाहिरियो । सत्ता बाहिर रहेको कांग्रेस राष्ट्रपतिसहित सत्तारोहण गर्न सफल भयो । दोस्रो पटक चैत ६ गते संसद्का विश्वासको मत लिने बेला प्रधानमन्त्री प्रचण्डले ओलीसँग डिभोर्स गरी देउवासँग लभ पर्नुको कारण रोचक ढंगले बताएका थिए ।

‘मलाई बालकोट बोलाइएको छ भनेपछि पक्कै पनि ओलीजीले रियलाइज गरेर बोलाएका होलान् सोचेको थिएँ । म अलि सोझोसोझो छु, तपाईंले गहिरो गरी हेर्नुभयो भने प्रचण्डलाई । होला त नि भनेर मैले विश्वास गरेँ । तर उहाँले जसरी सगौरव मैले संसद विघटन गर्नु सही हो । क्यानाडामा, इङ्ल्याण्डमा, कहाँ कहाँ, यहाँ शेरबहादुरले विघटन गरेको भनेपछि त्यही दिन मोह भङ्ग हुनेतिर गयो भन्नेतिर म पुगिसकेको थिएँ किनभने त्यही लडाइँ लडेका थियौँ हामीले । त्यही लडाइँ यहीँ आएपछि म कसरी सक्छु बस्न ? अर्कोतिर फेरि कांग्रेसले प्रचण्डलाई छोडेर त्रुटि गरिएछ भनेर पश्चात्ताप गरेको देखेपछि मेरो लभ यतातिर परिहाल्यो ।’

कोशीमा कांग्रेस, एमाले र माओवादी एक ठाउँमा

ठिक ६ महिनापछि कोशीमा एमाले, कांग्रेस र माओवादी एक ठाउँमा आइपुगेका छन् । मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने निर्णयसँगै तीन मुख्य दल एक ठाउँमा आइपुगेका हुन् । शीर्ष तीन नेताबिच भएको चिर्कटो सहमतिलाई लिएर एमालेका शीर्ष नेताहरू सशङ्कित छन् । एमालेविरुद्ध अर्को ढोक्साका रूपमा बुझेका उनीहरूले शङ्काको लाभ दिँदै कार्की नेतृत्वको सरकारमा एक जना मन्त्री पठाएका छन् । तर मन्त्रिपरिषद् विस्तारमा कांग्रेस संस्थापन र माओवादीबाट सहभागी हुने वा नहुनेबारे कुनै निर्णय आएको छैन ।

यद्यपि गठबन्धन दलका शीर्ष नेताहरूको सहमति एमालेलाई कोशी सरकारबाट समेत अलग्याउने रणनीतिका रूपमा अर्थ्याएका छन् । कोशीको राजनीतिमा एमालेले गठबन्धनभित्र हमला गर्न तत्काल सफल भएको देखिन्छ । यद्यपि सत्ता राजनीतिमा एमालेको प्रयोग सफल हुन्छ वा आफैँ सत्ताबाट बाहिरिन्छ, त्यसका लागि केही महिना कुर्नुपर्ने हुन्छ । मुख्यमन्त्रीमा निर्वाचित भएपछि कार्कीले एमालेसहितका दलहरूलाई कसरी व्यवस्थापन गर्छन् भन्ने विषय सबैले चाख मानेर हेरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप