मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, २८ असोज २०८०, २१ : १२
आइतबार, २८ असोज २०८०

आज २०८० असोज २८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद गठन; मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ, गठबन्धन विभाजन गर्ने एमालेको षड्यन्त्र असफल : प्रधानमन्त्री, जमरा राखेर मनाइयो घटस्थापना, कोशीका नवनियुक्त मुख्यमन्त्रीलाई के भने देउवा र ओलीले ?, दसैँका लागि खसीबोका काठमाडौँ ल्याइँदै, न्यायपालिका विवादमा आए जनताको आशा टुट्छ ः प्रधानन्यायाधीश, सरकार र आन्दोलनरत कर्मचारीबिच १९ बुँदे सहमति लगायत छन् ।

१. कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद गठन; मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ
कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । मुख्यमन्त्री कार्कीसहित नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 


२. गठबन्धन विभाजन गर्ने एमालेको षड्यन्त्र असफल : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन विभाजन गर्ने एमालेको प्रयास असफल तुल्याइएको बताएका छन् । कोशी प्रदेशमा कांग्रेसको विद्रोही पक्षलाई समर्थन जनाउँदै सरकार गठन गर्ने एमालेको भूमिकालाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धन एकजुट रहने जिकिर गरेका छन् ।


३. जमरा राखेर मनाइयो घटस्थापना
बडा दसैँको पहिलो दिन आइतबार हिन्दु धर्वालम्बीहरुले जमरा राखेर घटस्थापना मनाएका छन् । आजदेखि नवरात्रि सुरु भएको छ । 

४. कोशीका नवनियुक्त मुख्यमन्त्रीलाई के भने देउवा र ओलीले ?
कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथ ग्रहण अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा कांग्रेस सभापति देउवाले गठबन्धनको भावनाअनुसार काम गर्न निर्देशन दिएका छन् भने ओलीले राम्रोसँग काम गर्न सुझाव दिएका छन् । 

५. दसैँका लागि खसीबोका काठमाडौँ ल्याइँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याउँदै गरेको करिब ३ हजार खसी, बोका र च्याङ्ग्रा भोलि (सोमबार) मात्र काठमाडौँ आइपुग्ने भएको छ । घटस्थापनाको आसपास पारेर पश्चिम नेपालका विभिन्न जिल्लाबाट खरिद गरिएका खसीबोका सोमबार बिहानसम्ममा काठमाडौँ आइसक्ने खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले रातोपाटीलाई जानकारी दिइन् ।

६. न्यायपालिका विवादमा आए जनताको आशा टुट्छ : प्रधानन्यायाधीश
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको गरिमा बचाउनु सबैको जिम्मेवारी भएको बताएका छन् । न्यायपालिका विवादमा आए जनताको आशा टुट्ने उनको भनाइ थियो ।  

७. सरकार र आन्दोलनरत कर्मचारीबिच १९ बुँदे सहमति
सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबिच १९ बुँदे सहमति भएको छ । विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबिच तीन चरणको वार्तापछि शनिबार राति सहमति जुटेको हो ।

८. एसीसी यू–१९ प्रिमियर कपमा बहराइनमाथि नेपालको सानदार जित
एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको छ । 

९. राष्ट्रिय गौरवका आयोजनामा म्याद थपेको थप्यै
राष्ट्रिय गौरवका विभिन्न आयोजना समयमै निर्माण सम्पन्न नहुँदा राज्यलाई आर्थिक भार बढ्दै गएको छ । समयमै निर्माण सम्पन्न हुन नसकेका ती आयोजनामा सरकारले म्याद थपेको थप्यै गरिरहेको छ भने आर्थिक भार लगातार बढ्दै गएको छ ।

१०. आरती साहका लागि न्यायको मागसहित प्रदर्शन
आरती साहको न्यायको माग गर्दै १२१ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका उनका परिवारजनलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको विरोधमा आइतबार प्रदर्शन भएको छ । बृहत नागरिक आन्दोलनले आरती साहको परिवारको पक्षमा प्रदर्शन गरेको गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप