मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पुल्चोकस्थित मन्त्री क्वार्टरमा अब सर्वोच्चका न्यायाधीश बस्नुहुन्छ : न्यायाधीश मल्ल

आइतबार, २८ असोज २०८०, १७ : १७
आइतबार, २८ असोज २०८०

काठमाडौँ । पुल्चोकस्थित मन्त्री क्वार्टरमा अब छिट्टै  सर्वोच्च अदालतका न्यायाधीशहरू बस्ने भएका छन् । सर्वोच्चको काम कारबाहीलाई चुस्तता दिन र फैसला लेखन लगायतका काम छिटो गर्नका लागि न्यायाधीशलाई क्वार्टरमा राख्न लागिएको हो । 

सर्वोच्च अदालतका न्यायाधीश एवम् भौतिक समितिका संयोजक सपना प्रधान मल्लले पुल्चोकस्थित मन्त्री क्वार्टरमा अब छिट्टै सर्वोच्च अदालतका न्यायाधीशहरू बस्ने बताएकी हुन् । आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवन उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश मल्लले न्याय सम्पादनमा थप सहजता ल्याउनका लागि हालको मन्त्री क्वार्टरलाई अब सर्वोच्च अदालतका न्यायाधीशको क्वार्टर बनाउन लागिएको बताइन् । 

न्यायाधीश मल्लले तिहारपछि नेपाल सरकारका मन्त्रीहरू भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा सर्ने र त्यसपछि केही समय त्यसको मर्मत सम्भार गरेपछि चाँडोमा फागुन र ढिलोमा वैशाख महिनामा सर्वोच्च अदालतका न्यायाधीशका लागि क्वार्टर बन्ने बताइन् । 

अनौपचारिक कुराकानीका क्रममा न्यायाधीश मल्लले पुल्चोकस्थित हालको मन्त्री क्वार्टरलाई सर्वोच्च अदालतका न्यायाधीशको क्वार्टर बनाएपछि न्यायाधीशले पाउँदै आएको घरभाडा नपाउने र सबै न्यायाधीशहरू एकै स्थानमा भएपछि फैसला लेखन, बैठक लगायतमा सहजता हुने बताइन् । 

अर्को प्रसङ्गमा न्यायाधीश मल्लले न्यायिक स्वतन्त्रता कायम भए न्यायपालिकाले राम्रोसँग काम गर्न सक्ने बताइन् । न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशको स्वतन्त्रता नभएको प्रष्टीकरण दिँदै सेवाग्राही र सम्पूर्णको स्वतन्त्रताका लागि न्यायिक स्वतन्त्रता आवश्यक भएको बताइन् । 

देशैभरका कतिपय अदालतहरूको भौतिक अवस्था दयनीय रहेको भन्दै न्यायिक स्वतन्त्रताका लागि आवश्यक भौतिक संरचना लगायतको विषयमा अपेक्षाअनुसार काम हुन नसकेको मल्लले गुनासो पोखिन् । जिल्ला र उच्च अदालतका कतिपय भवनहरू साँघुरो भएको, पर्याप्त कोठाहरू नभएको लगायतका समस्या रहेको भन्दै राज्यले पर्याप्त मात्रामा बजेट छुट्याउन नसकेको मल्लको गुनासो छ । 

पाटनमा बनेको नयाँ भवनले सेवाग्राहीलाई केही सहज हुने भन्दै सेवाग्राहीका अन्य समस्याबारे पनि बुझेर समस्या समाधानका लागि काम गर्नुपर्ने मल्लले बताइन् । मल्लले सर्वोच्च अदालतको भौतिक समितिमा आफू नै रहेको भन्दै अहिले कतिपय स्थानमा नयाँ भवन निर्माणको काम भइरहेको र कतिपय जिल्ला र उच्च अदालतहरूमा मर्मतको काम भइरहेको बताइन् । आफ्नै जग्गा नभएको स्थानमा जग्गा प्राप्तिको काम भइरहेको समेत मल्लले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप