के हो नव दुर्गा, के हो दसैँ ?
नौ दिनसम्म देवीको पूजा आराधना र स्तुति गरी दशौँ दिन देवीको विसर्जन गरी टीका, प्रसाद ग्रहण गरेकाले नव दुर्गा वा दसैँ भनिएको हो । यो नव दुर्गा वा दसैँ पहिला पहिला वर्षको चार पटक आषाढ शुक्लपक्ष, आश्विन शुक्लपक्ष, माघ शुक्लपक्ष, चैत्र शुक्लपक्षमा मनाउने गरिन्थ्यो अरे । हाल आषाढ शुक्लपक्ष र माघ शुक्लपक्षमा मनाउने चलन हटिसकेको छ भने चैत्रमा पनि केवल महाअष्टमी र महानवमीमा मात्र । चलन चल्तीमा हाल आश्विन वा शारदीय दसैँ भनी आश्विन शुक्लपक्षलाई नव दुर्गा वा वडादसैँ भनी मनाउने चलन पाइन्छ । यो समयमा वर्षा पनि हटिसकेको, शरद ऋतु रमाइलो, न जाडो न गर्मी मनोरम, जताततै फूलैफूल रमाइलो भएकाले यो सिजनको दसैँलाई समाजले हालसम्म जीवन्त बनाइराखेको पाइन्छ ।
यो नव दुर्गा वा दसैँ मनाउने चलन पनि देश, क्षेत्र, समुदाय वा जाति अनुसार फरक फरक रूपले मनाएको पाइन्छ । बहुसङ्ख्यक हिन्दुहरू भएका देशहरू नेपाल, भारत, बर्मा, इन्डोनेसिया, मडगास्कर र हाल रुसमा पनि हिन्दुहरू रहेका छन् भन्ने पाइएको छ । हाल त विश्वका विभिन्न देशमा हिन्दुहरू रहेको पाइन्छ । केही जातिले रातो टीका, कसैले सेतो टीका, कसैले नीलो टीका पनि लगाएको देखिएको छ ।
किन मनाइन्छ ? यसको परम्परा के हो ?
यो नव दुर्गा वा दसैँ मनाउनमा मुख्यतया दुई वटा घटना वा परम्परा देखिन्छ ।
त्यसमा पहिलो हो देवी (शक्ति, सत्य) ले असुर (असत्य) माथिको विजय र दोश्रो हो राम (सत्य) ले रावण (असत्य) माथिको विजय । आखिर सत्यले असत्यलाई हराएर विजय हासिल गरेको उपलक्ष्यमा मनाइएको उत्सव नै विजया दशमी वा नव दुर्गा वा दसैँ भन्ने बुझिन्छ ।
यसको पहिलो कथाको संस्कृतिक आधार यस प्रकारको पाइन्छ । मार्कण्डेय पुराण अन्तगर्तको दुर्गासप्तसतीमा तीन वटा टुक्रे कथा रहेका छन् । यसको पहिलो अध्यायमा विष्णु र मधु कैटभ नामका असुरहरूबिच भएको लडाइँमा विष्णुले विजय हासिल गरेकाले विजया दशमी मनाउन थालियो भन्ने पाइन्छ । तर यस घटनामा विष्णुलाई ब्युँझाउने प्रमुख काम देवीले गरेको हुँदा देवीकै स्तुति गरिन्छ । यसलाई दुर्गादेवीको प्रथम चरित्र पनि भनिन्छ । दोस्रोदेखि चौथो अध्यायमा दुर्गादेवी र महिषासुरबिच भएको युद्धमा देवीको विजय भयो भन्ने कथा छ । पाँचौँदेखि तेह्रौँ अध्यायमा दुर्गादेवी र शुम्भ निशुम्भबिच भएको युद्धमा पनि देवीको विजय भयो अरे । त्यही विजयको सम्झनामा विजय दशमी मनाउने परम्परा हालसम्म चलेको हो भन्ने पाइन्छ । ती असुरहरूले देवीमाथि कुदृष्टि राखेकाले देवी (सत्य) ले ती कुदृष्टि राख्ने असुर (असत्य) माथि विजय हासिल गरेको सम्झनाम यो दिवस मनाइएको भन्ने पाइन्छ ।
यसको दोस्रो कथाको संस्कृतिक आधार पनि यस प्रकारको पाइन्छ । मर्यादा पुरुषोत्तम रामचन्द्र वनवासमा हुँदा रावणले हरण गरेर सीतालाई लङ्का लग्यो रे । सीता लिन श्रीलङ्का जान लाग्दा हालको भारतको रामेश्वरम् समुन्द्र तटमा श्रीरामले शिवलिङ्ग स्थपना गरी नौ दिनसम्म शिवजीको आराधना गर्नुभयो । शिव पार्वती नै त्यही आएर श्रीरामलाई समुन्द्र तरेर लङ्का जान, रावणलाई मार्न र सीतालाई ल्याउन अशीर्वाद, उपाय र हतियारसमेत दिनु भयो अरे । सोही अनुसार रावण मारी सीतालाई लिएर रावणकै पुष्पक विमानमा चढेर अयोध्या गएकोमा अध्यावासीले विजयोत्सव मनाएको सम्झनामा हालसम्म पनि विजया दसैँ मान्ने परम्परा रहेको भन्ने पाइन्छ । यी सबै घटना चैत्र महिनामा भएको हो कि जस्तो पनि देखिन्छ । किनकि चैत्र शुक्ल पक्षलाई चैते दसैँ र नवमीलाई रामनवमी मान्ने चलन हालसम्म चलिरहेको पाइन्छ ।
संसारभरका हिन्दुहरूको महान् चाड नव दुर्गा वा दसैँ हो । यो चाड २०८० आश्विन २८ गतेबाट सुरु हुँदै छ । नव दुर्गाको पहिलो दिन आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएर विजया दशमी हुँदै कोजाग्रत पूर्णिमासम्म रहन्छ । नव दुर्गाको पहिलो दिनलाई घटस्थापना भनिन्छ र यस दिनलाई मातामह श्राद्ध या सोह्रश्राद्धको अन्तिम दिन पनि पर्दछ । घटस्थापना भन्नाले कलशसहित नव दुर्गा देवीको स्थापना गरी पूजा, आराधना र उपासना गर्ने, चण्डी वा दुर्गा सप्तशतीको पाठ गरिन्छ । यो नव दुर्गामा २ वर्षदेखि १० वर्षसम्मका ९ जना कन्यालाई नव दुर्गाको स्वरूप हरेक दिन १–१ जना कन्यालाई पूजा गरिन्छ ।
नव दुर्गाको पहिलो दिन वा घटस्थापनाका दिनदेखि घर घर वा देवी मन्दिरमा दियो, कलश, अर्ध, गणेश र शङ्खघण्टको पूजा गरी दुर्गादेवीको स्थापना गरिन्छ । देवी स्थापना गर्दा निम्न मन्त्रोच्चारण गरिन्छ ।
ॐ नमोदेव्यै महादेव्यै शिवाय सततं नमः । नमः प्रकृत्यै भद्रायै नियता प्रणतास्मताम् ।।
ॐ गुह्यति गुह्य गोप्त्री त्वं गृहाणस् मत्कृतं जपम् । सिद्धिर्भवतु मे देवी त्वत् प्रसादान् महेश्वरी
ॐ जयन्ति मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते ।
यसरी विधिपूर्वक स्थापना गरेको कलशको मुनि राखेको उम्रेको जौ नै जमरा (वयोरोपण) हो । तर सजिलोका लागि टपरी वा अन्य चिजमा जौ, धान, मकै, गहँु आदि मिसायर भए पनि बालुवामा राखिन्छ । जमरा राखेपछि कुष्माण्डा बलि कुभिण्डो र कृश बलि तिल चामलको बलि पनि चढाइन्छ । र साँझमा दीपावली गरिन्छ ।
पहिलो दिनदेखि क्रमशः दशमी दिन देवी विसर्जन नगर्दासम्म नव दुर्गा शक्तिस्वरूपादेवी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा र स्तुति आदि गरिन्छ ।
छैटौँ दिनको साँझमा बेलको रूखमुनि गएर बेलको पूजा गरिन्छ । भूत, प्रेत, सर्प आदिका लागि बलि दिइन्छ । भूत, प्रेतको बलि दिँदाको मन्त्र :
वेतालाश्च पिशाचाश्च राक्षसाश्च सरीसृपा । अपसर्पन्तु ते सर्बे दुर्गापूजां करोम्यहम् ।
सातौँ दिनः फूलपाती भित्र्याउने दिन
यस दिन सरस्वतीको पूजा गरिन्छ । कापी, कलम, पुस्तक सरस्वतीमा चढाई सरस्वतीस्तोत्रले मन्त्रपुष्पाञ्जली गरिन्छ ।
शुक्लां ब्रह्मा विचार सार पदमा माध्याम् जगत् व्यादिनी । वीणा पुस्तक धारिणी मभयदाम् जाड्यान्दकारा पाहम् ।।
हस्तेस्फाटिका मालिकां विदधतिं पद्यांसने संस्थिताम् । वन्देतां परमेश्वरीं भगवती बुद्धिम् प्रदाम् शारदां ।।
या कुन्देन्तु तुसार हार धवला यात्रशुव्र बस्त्रा वृता । या वीणा वरदण्ड मण्डित करा या श्वेत पद्मा सना ।।
या ब्रह्मा च्यूत शंकरा प्रवृतिभै देवै सदा वन्दिताम् । सामां पातु सरस्वती भगवती निशेष्य चाहाड्या पाहा ।।
यो दिन मुख्यतया फूलपाती भित्र्याइन्छ र भद्रकालीको पूजा गरिन्छ । फूलपातीमा ९ थरीका फूल वा पत्रिका (पातहरू) हुन्छन् । यसलाई नवपत्रिका पनि भनिन्छ । ती नौ थरी फलमा : केरा, दाडिम, धान, हलेदो, जलुको, लट्टे, बेल, जयन्ती र अशोक हुन्छन् । यस दिन राति कालरात्रि गरिन्छ ।
आठौँ दिन :
यस दिन सप्तमीमा भित्र्याएको नवपत्रिकाको षोडाशोपचारले पूजा गरिन्छ । यसै दिन ठाउँ ठाउँका देवीमन्दिर वा कोटहरूमा पञ्चबलि दिने पनि चलन छ । पञ्चबलिमा बोका, राँगा, भेडा, कुखुरा, हाँसको बलि दिई पूजा गरिन्छ । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, मूला आदि फल अर्पण गर्दछन् । साथै यस दिन अस्त्र (हतियार) तथा सस्त्र औजारहरूको पूजा, कोटको पूजा, भैरव र सिंहको पूजा पनि गरिन्छ ।
काठमाडौँको तलेजु भवानीको मन्दिर यस दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ । दसैँघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ ।
नवमी
नव दुर्गा पूजा भनेर केराको पातमा नौ थुप्रा चामलमा पैसा, जनै सुपारी आदि राखेर ॐ ऐं ह्री क्लीं भन्ने बीज मन्त्रले अग्निस्थापना समेत गरी पूजा गरिन्छ । यसमा कुभिण्डो, बेल वा नरिवलको बलि दिइन्छ । यसरी पूजा गर्दा निम्न मन्त्रको उच्चारण पनि गरिन्छ ।
प्रकृतिस्त्वं च सर्वस्य गुणत्रय विभाविनी । कालरात्री महारात्री मोहरात्रिश्च दारुणा ।।
यस दिन पहिलादेखि पूजा गरेका कन्यालाई पुनः एकै स्थानमा जम्मा गरी पुनः पञ्चोपचारले पूजा गरिन्छ ।
साथै यस दिन वाहनहरू हात्ती घोडा, मोटर र मेसिनहरूको पूजा गरिन्छ ।
विजया दशमी : देवी विसर्जन
यस दिन पहिला पितृदेवता, कुलदेवता र इष्टदेवता, नाग, क्षेत्रपाललाई पहेलो चन्दन, सेता अक्षता र जमरा अर्पण गरिन्छ ।
त्यसपछि अपराजिता देवीको निम्नानुसार प्रार्थना गरिन्छ :
जया देवी जगन्माता विश्वेश्वरी विमोहिनिम् । प्रसिद्ध मम कल्याणी बाञ्छासिद्धिः करी भवः ।।
देवीको विसर्जन पूजा गर्दा घटस्थापनामा स्थापना गरेको कलश, देवी र नवमीमा केरापातमा स्थापना गरेकी दुर्गादेवीलाई अपराजिता देवी मानी त्यसको दायाँ जया र बाँयामा विजया देवी मानी समीपत्र लगायत (रामले समीको स्तुति गरेकाले) पञ्चपल्लभ चढाई षोडाशोपचारले देवीको पूजा गरिन्छ । यसलाई देवी विसर्जनको पूजा भनिन्छ र विसर्जन गर्दा निम्न मन्त्रले स्तुति गरिन्छ ।
प्रथमं शैलपुत्रीच द्वितीयं च ब्रह्मचारिणी
तृतीयं चन्द्रघण्टति कूष्माण्डेतिं चतुर्थकम् ।।
पंचमं स्कन्दमातेति षष्ठी कात्यायनीति च ।
सप्तमं कालरात्रीति. महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नव दुर्गाः प्रकीर्तिताः ।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मनाः ।।
यसरी दशमीका दिन देवी विसर्जन गरे पछि तिनै अपराजिता देवीको प्रसाद (चन्दन, अक्षता र जमरा) लगाइन्छ । यस्तो टीका बुबा, आमा, हजुरबा, हजुरआमा तथा ठूलाबडा, गुरु, पुरोहित र अन्य मान्यजनहरूका हातबाट लगाउने र आशीर्वाद थाप्ने चलन छ । यसरी टीका जमरा थाप्दा पुरुषहरूका लागि आशीर्वादका रूपमा निम्न श्लोक भन्ने चलन छ ।
आयु द्रोणसुते श्रीयो दसरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
अथवा
दीर्घायुस्तु ओषधे खनिता यस्मैचत्वा खनाम्यहम् । अथोत्वन् दीर्घयुर्भुत्वा शतवल्सा विरोहितात् ।।
महिलाहरूका लागि टीका जमरा थाप्दा आशीर्वादका रूपमा निम्न श्लोक भन्ने चलन छ ।
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते ।।
सर्व मङ्गलं मङ्गल्ले शिवे सर्वार्थ साधिके । सरण्यै त्रंवकं गौरी नारायणी नमस्तुते ।।
अथवा
स्वस्तितुते कुशलमस्तु चीरायु रस्तु गोवाजीरस्तु धनधन्य संबृद्धिरस्तु ।
ऐश्वर्यरस्तु विजयरस्तु रिपुक्षयरस्तु सन्तान वृद्धि सहित हरिभक्तरस्तु ।।
यो नव दुर्गालाई दसैँ पनि भन्ने चलन छ । दशदिन लगाएर गरिने कार्य भएकोले होला यसलाई दसैं अझ बडादसै भन्ने गरिएको । तर यसो भने पनि देश या विदेशकै पनि दशमी देखि कोजाग्रत पूर्णिमा सम्म नै टीका जमरा लगाउने चलन छ । नेपालको केही स्थनहरूम दशमीको दिन मात्र टीका लगाउने चलन पाइन्छ ।
यस वर्षको घटथापनाको शुभ साइत असोज २८ गते बिहान ११ बजेर २९ मिनेटमा भनेर पञ्चङ्ग निर्णय समितिले प्रकाशित गरेको छ । यसै गरी फूलपाती भित्र्याउने साइत बिहान ८ बजेर २४ मिनेटमा र टीकाको साइत बिहान ११ः२ मा उत्तम रहेको कुरा पञ्चाङ निर्णायक समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघि बढ्यो विद्युत् विधेयक, संसदीय समितिमा आइतबारदेखि छलफल
-
इन्स्पेक्टर बिनु शाहीको थुनछेक सकिएन, हिरासतमा बास
-
रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि प्रहरीले संसद् सचिवालयलाई पठाएको पत्रमा के छ ?
-
संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ
-
सवा पाँच महिनामा सरकारले पायो २ खर्ब २ अर्ब ४० करोड वैदेशिक सहायता
-
एलओडीमा जनकपुर बोल्ट्सको ‘भिक्ट्री सेलिब्रेसन’, तस्बिरहरू