कास्की कांग्रेसका सभापतिको कविता : मलाई राजनीति गर्न नजान्ने भन्छन्, बेकुफ भन्छन्
पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल पछिल्ला दिनहरुमा पार्टीभित्रै आलोचित छन् । जिल्ला सभापति निर्वाचित हुँदा शेरबहादुर देउवा निकट मानिएका उनी महाधिवेशनमा विश्वप्रकाश शर्मातिर खुले । सभापति निर्वाचनमा ‘एक व्यक्ति एक पद’ लाई शिरोधार्य गर्ने र अन्य निर्वाचनमा प्रतिश्पर्धी नहुने बताएका उनले प्रतिनिधिसभा टिकटका लागि जोडतोडले लागे ।
टिकट पाए पनि । तर जितेनन् । उनले चुनाव नजित्नुमा पार्टीभित्रै अन्तर्घात भएको धेरैको आंकलन छ । बरालले निवर्तमान सभापति कृष्ण केसीले असहयोग गरेका कारण चुनाव हारेको भन्दै केन्द्रीय अनुशासन आयोगमा उजुरी समेत दिएका छन् । उक्त उजुरीबारे निर्णय अहिलेसम्म आएको छैन । यद्यपि केसीले चाहिँ आफ्नो पक्षबाट सकेसम्म सहयोग गरेको दावी छोडेका छैनन् ।
पछिल्ला दिनहरुमा बरालले पार्टीहरु पार्टीको प्रणालीमा चल्न नसकेको भन्दै टिप्पणी गरिरहेका छन् । उनले शनिबार सामाजिक सञ्जालमा एउटा कविता लेख्दै भनेका छन्, ‘तिमी राजनीति भित्र आँफु र आफ्नो कार्यकर्ता खोज्छौ, म जनता । तिमी राजनीति भित्र पार्टी खोज्छौ, म देश । यहीँ फरक छ र त मान्छेहरु मलाई राजनीति गर्न नजानेको मुर्ख भन्छन्, अज्ञानी र बेकुफ भन्छन् ।’
केही समयअघि पनि बरालले पार्टीका नेता कार्यकर्ताहरु बेरोजगार भएर देशलाई अप्ठ्यारो पार्ने काम गरिरहेका भन्दै टिप्पणी सहितको धारणा सार्वजनिक गरेका थिए । उनको टिप्पणीलाई केहीले समर्थन गरे भने केहीले विरोध ।
बरालले लेखेका कविता–
‘मेरो अज्ञानतालाई मेरो सलाम छ’
तिमी राजनीति भित्र आफू र आफ्नो कार्यकर्ता खोच्छौ ,
म जनता ।
तिमी राजनीति भित्र पार्टी खोज्छौ,
म देश ।
यहीँ फरक छ र त मान्छेहरु मलाई ,
राजनीति गर्न नजानेको मुर्ख भन्छन ।
अज्ञानी र बेकुफ भन्छन । १।
तिमी राजनीति भित्र
पुर्णकालिन कार्यकर्ताको नाममा,
बिचारहीन र अनुशासनहीन झुण्ड खोज्छौ ।
त्यसैमा खेल्छौ र रमाउछौ ।
म उद्घामशील कार्यकर्ताको नाममा,
आर्थिक रुपान्तरणको सम्भावना र भविष्य खोज्छु ।
यहीँ फरक छ र त मान्छेहरु मलाई
राजनीति गर्न नजानेको मुर्ख भन्छन् ।
अज्ञानी र बेकुफ भन्छन् । २ ।
तिमी राजनीतिको नाममा
काङ्ग्रेस भित्र सुर्य खोज्छौ ।
घण्टी र हलो खोज्छौ र इमान बेच्छौ ।
म राजनीतिको नाममा
काङ्रेस भित्र रुख खोज्छु ।
बिचार र अनुशासन खोज्छु ।
यहीँ फरक छ र त मान्छेहरु मलाई,
राजनीति गर्न नजानेको मुर्ख भन्छन्
अज्ञानी र बेकुफ भन्छन् । ३ ।
हो , मेरो यो मुर्खता र अज्ञानता प्रति मेरो गर्व छ ।
यसो भन्नेहरूलाई मेरो सलाम छ ।
मेरो मुर्खता भित्र मलाई
सर्बाङ नाङ्गै भएर पनि,
कपडा लगाएको नाटक गर्नु परेको छैन ।
दुनियाँलाई हेर्दै डराउदै शीर झुकाउनु परेको छैन ।
मेरो मुर्खता र अज्ञानता प्रति मेरो गर्व छ
यसो भन्नेहरुलाई मेरो सलाम छ ।४ ।
......जय नेपाल.........