शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कला–संस्कृति

पोखराको लोक संस्कृति बिर्संदै नयाँ पुस्ता

शनिबार, २७ असोज २०८०, १७ : १९
शनिबार, २७ असोज २०८०

प्रकृति–पर्यावरणसँगको अन्तरक्रिया र जीवनवृत्तिका आवश्यकताले मानिसलाई एक सांस्कृतिक प्राणीका रूपमा रूपान्तरण गरिदियो । जैविक र दैहिक खाँचो परिपूर्ति गर्ने क्रममा मानिसले अपनाएका केही निश्चित प्रक्रिया लोक संस्कृतिका रूपमा विकसित भएको हो । मानव समाजको समग्र मनोरचना र सम्पूर्ण जीवन दर्शन तरङ्गित भइरहेका हुन्छन् लोक संस्कृतिको महासागरमा । यिनमा अन्तर्निहित लौकिक मूल्यमान्यता, परम्परागत ज्ञान र अनेकौँ संस्कारजन्य व्यवहार निक्कै रमाइला र अर्थपूर्ण हुन्छन् । ग्रामीण जीवनको स्पन्दन भएर हुर्किएको हुन्छ लोक संस्कृति । त्यसैले त भनिन्छ लोक संस्कृति समाजको प्रतिविम्बन हो । लोक संस्कृति समाज र राष्ट्रकोे आफ्नै विशिष्ट पहिचान पनि हो । 

लोक संस्कृतिका दृष्टिले धनी मानिन्छ पोखरा । प्रकृति र संस्कृतिका अनेकौँ रमाइला परिदृश्यहरू दृष्टिगोचर हुन्छ पोखरामा । माछापुच्छ«े र अन्नपूर्ण जस्ता मनोरम हिमशृङ्खलाहरूलाई काखमा राखेको छ पोखराले । असङ्ख्य तालतलैया छचल्किएका छन् यसका छातीभरि । चारैतिर पोखरी नै पोखरी बोकेको यस उपत्यकालाई कसैले उपयुक्त नाम जुराइदिन्छ ‘पोखरा’ भनेर । सुन्दर प्रकृति सुन्दर संस्कृति, त्यसैले सार्थक छ पोखराका निम्ति यो भनाइ । गण्डकी र धौलागिरिका मात्र हैन पर्तिर कर्णालीका लोक संस्कृतिहरू पनि थेग्रिएका छन् पोखराको सांस्कृतिक दोभानमा आएर । त्यति मात्रै हैन, बागमती उपत्यकाको लोक संस्कृति पनि रैथाने भएर उभिएको छ पोखराको सांस्कृतिक डबलीमा । अनि त पोखरा त्रिवेणी भएर बग्न पाइरहेछ विविध संस्कृतिका छालहरूसँगै । अनि त यसलाई भन्ने गरिन्छ लोक संस्कृतिको जीवित सङ्ग्रहालय ।

वर्तमानको उपज हैन पोखराको लोक संस्कृति । इतिहासका अनेक कालखण्डहरूमा जन्मेर हुर्किएका  जनमानसका धुकधुकीहरू हुन् यहाँको लोक संस्कृति । आफ्नै सांस्कृतिक परिवेश र पृष्ठभूमि छ यसको । अरूभन्दा पृथक् नौलो र अनौठो छ यसको सांस्कृतिक मानचित्र । यसको भौगर्भिक संरचना पनि त अपूर्व छ, अनौठो छ । लोकोक्ति भन्छ, माछापुच्छे«बाट भीमसेनले ठेलो हान्दा भीमबाँध भत्केपछि देखा पर्‍यो रे पोखरा उपत्यकाको वर्तमान भूसतह । लोकोक्ति पनि लोक संस्कृतिकै अङ्ग हुन् । कहिलेकाहीँ यिनले गहिरो अर्थ पनि बोकेका हुन्छन् । साँच्चै नै माछापुच्छे« र अन्नपूर्णसँग साइनो गाँसिएको रहेछ पोखराको । त्यहाँको हिमताल विस्फोट हुँदा बगेर आएका रहेछन् पोखरामा थुप्रिएका भीमकाय ढुङ्गाहरू । सुन्दा आश्चर्य लाग्छ, हिमताल फुट्ने र पोखरामा थुप्रिने उपक्रम आजभन्दा ७०० वर्षअघिसम्म पनि भइरहेको रहेछ ।

समयक्रममा आँखाको नानी बन्दै जान्छ पोखरा । युद्ध आक्रमणमा रमाउने मध्यकालीन मानसिकताको प्रमाण स्वरूप ठिङ्ग उभिएका हुन्छन् पोखरा वरिपरि सराङकोट, कास्कीकोट, काँहुकोट र अरू अनेकौँ कोट वा गढहरू । कोट वरिपरिका बस्तीहरूले व्यहोरेका हुन्छन् अनेकौँ घात प्रतिघातहरू । ती घटना परिघटनाभित्रका कथा व्यथा पनि लोक संस्कृतिकै स्पन्दन भएर धड्किरहेका छन् पोखराको सेरोफेरोमा । 

कोट बस्तीकै मानिस जमर्को गर्छन् पहिले पोखरा झर्न । औलोको झ्याङ पन्छाउँछन् हँसिया, खुर्पा, हलो र कोदालाहरूले अनि फल्न थाल्छ बाटुलेचौरमा धान, मकै र कोदाहरू । मध्यकालीन गढ बस्तीको अवशेष अझै सुरक्षित छ बाटुलेचौरमा । कास्कीका राजाले आफ्नो हिउँदे मुकाम बाटुलेचौरलाई बनाएपछि यस ठाउँमा मानव बसोबासको सूत्रपात भएको मानिन्छ । यसरी बाटुलेचौर नै त हो पोखरा उपत्यकामा मानव बस्तीको प्रस्थानविन्दु । बाटुलेचौर त अपभ्रंश हो । बालीचौर भनेर अझै गाउँदैछन् लोक संस्कृतिका पारखी पोखराका गन्धर्वहरू । यिनै गन्धर्व हुन् पोखरामा लोक संस्कृतिका प्रथम रङ्गकर्मीहरू । वीरगाथा, कर्खा, मालमङ्गल र मालश्रीको साङ्गीतिक लोक संस्कृति यिनै गन्धर्वहरूले भित्र्याए पोखरामा । सारङ्गीको मिठो धुन र गन्धर्वको सुरिलो कण्ठमा नेपाली झ्याउरे गीत संसार प्रसिद्ध भयो पोखराबाटै । पोखराकै सेरोफेरोमा राजासँगै सती जाने ‘सरुमा रानी’ को इतिहास पनि सुरक्षित राखे गन्धर्वहरूले आफ्नो कण्ठमा ।

बालीचौरको कोट मौलामा गन्धर्वहरूले रन्काउन थाल्छन् मालश्री र मालमङ्गल । सारङ्गी र अर्वाजोका सुरिला धुनहरू । पोखराका चौरास्ता र चौतारीहरूमा झ्याउरे गाएर लट्ठ पार्छन् तिनले लाहुरेहरूलाई । रोमाञ्चकारी  घटना  परिघटनाका  कर्खा  सुनाउँदै पोखरालाई  देशदेशान्तर  पुर्‍याउँछन्  बालीचौरका गन्धर्वहरूले । यसरी सिँगार्छन् गन्धर्वहरूले पोखराको लोक संस्कृतिलाई । समयक्रममा हरेलो र नागपूजाहरू, माघे सङ्क्रान्ति र जन्माष्टमीहरू, तीज र एकादशीहरू उम्रन्छन् पोखरामा । बालन नृत्य र रत्यौलीहरू, द्यौसी र भैलीहरू उन्मुक्त भएर उफ्रन थाल्छन् पोखराका घर आँगनमा । ढुङ्गेसाँघुको माघे सङ्क्रान्तिको मेलामा लोकनृत्य र दोहोरीको मजा चाख्न ओइरन्छन् चारचौरासका मानिस । चौध हजारसम्म मानिसहरूको गन्ती भयो कुनै बेला ढुङ्गेसाँघुको मेलामा । रात रातभर नाचेर र गाएर नथाक्ने युवा युवतीको भीड ढुङ्गेसाँघुमा । ढुङ्गे साँघु पोखरेली लोक संस्कृतिको प्रदर्शनी स्थल । यसको गुन बिर्सनु हुँदैन हामीले ।  

सुनपनेली थाह छ ? त्यहाँको ठेलो हान्ने मेलाको मज्जा नै बेग्लै । गाउँगाउँबाट मानिस त्यहाँ झर्छन् गाउँका बलिष्ठ पाखुराहरू अघि लाएर । ठेलोको प्रतिस्पर्धा हेर्न मानिसहरू उत्तिकै ओइरन्छन् सुनपनेलीमा । ठेलो जितेर राजा हुने यस भेकको परम्पराको द्योतक पनि हो सुनपनेलीको मेला । गाउँले युवाहरूले आफ्नो शक्ति र सामथ्र्य देखाउने थलो हो सुनपनेली । जिताहालाई फेटा गुताएर गाउँ घुमाउथे त्यसबेला । जातपातको पर्खाल नाघेर परस्परमा मितेरी साइनो गाँस्दै ‘झम्के पानी’ मा रमाउनेहरूको रमिता बेग्लै । ‘मित’ र ‘सैनी’ जस्ता हाम्रो सामाजिक सम्बन्धको लोक परम्परा सायद अरू कतै पाइँदैन ।

समयको अर्को कालखण्डमा पोखरामा भित्रिन्छन् लोक संस्कृतिका नितान्त नौला बान्कीहरू । थपिन्छन् पोखरामा सुन्दर शिल्पका भैरव नाचहरू, गठेमङ्गल, गाईजात्रा र बाघजात्राहरू । तायमचा र लाखे नाचहरू, चङ्गा उडाउने र रोटी सुकाउने उत्सवहरू अनि गुठी र भजन मण्डलीका पूजा कर्म र पर्वहरू । बजारलाई चम्काउँछन् यी जात्राहरूले । यी रमाइला रमझमहरूमा झुल्न आइपुग्छन् डाँडा पाखाहरू पनि । हप्तौँ र महिनौँको भैरव जात्रा, बाघ जात्रा र लाखे नाचहरू हेरेर अघाउँदैनन् मानिसहरू । टोल टोलको प्रतिस्पर्धामा लाखे नाच र बाघ जात्राहरू अत्यन्तै रोमाञ्चक बन्न पुग्छन् । कुतूहलता थपिदिन्छन् तिनले मानिसमा । यदाकदा ती जात्रा उन्माद र उत्तेजनाका क्रीडास्थल पनि बन्न पुग्छन् । सयौँ पेट्रोमैक्सहरू चकनाचुर हुन्छन् झगडामा अनि अँध्यारो बाक्लिन्छ केही समयका लागि । भत्के बिग्रेका मनहरू फेरि जोडिदिन्छन् तिनै जात्रा र पर्वहरूले । आउँदैन गतिरोध लोक संस्कृतिको प्रवाहमा । त्यसैले त संस्कृति अटुट र अविरल छ मानव समाजमा ।

अनि हिमाल पाखा पखेराका छाँगा छहराहरू पनि हाम्फाल्दै आइपुग्छन् पोखराको दोभानमा । तिनको प्रवाहमा बग्दै आउँछन् अनेकथरी फूलका थुँगाहरू । हिमाली लोक संस्कृतिका तोरन्ल, फालो तारा र ढिकुटीहरू भित्रिन्छन् पोखरामा । डाँडा पाखाबाट रोदी, घाँटु र सोरठीहरू ओर्लन्छन् मिठा स्वादहरू पस्किँदै । टोटे, ल्होसर र ङी चोलोहरू पनि हस्याङ्ग फस्याङ्ग गर्दै आइपुग्छन् पोखरामा । गाउँभन्दा सहर रमाइलो मान्दैछन् पाखा पखेराका यी लोक संस्कृतिहरूले । यसरी थरी थरीका फूलहरू फुलेका छन पोखरामा । लोक संस्कृतिको त्रिवेणी बनेको छ यसरी पोखरा । स्वाद स्वादका परिकारहरू पस्कदै, परिवर्तनको प्रवाहमा हेलिदै निरन्तर बगिरहेछ पोखराको लोक संस्कृति ।

हो, रोक्न सकिँदैन परिवर्तनको प्रवाहलाई । मानिसको विवेकभन्दा फरक ढङ्गले पनि अघि बढ्छ कहिलेकाहीँ यो । पोखरामा  कता कता यस्तै  भइरहेको अनुभूति हुन्छ । ठम्याउन पनि गाह्रो हुँदैछ पोखरालाई हिजोआज । बालीचौरबाट तन्किएर विन्द्यवासिनीसम्म आइपुगेको पोखरा भीमसेन टोलबाट कता फड्को मार्‍यो कता । जनसङ्ख्याको तीव्र विस्तारमा यसलाई उछिन्न सकेनन् अरूले । आधुनिक घर, बङ्गलाहरू झरीका च्याउझैँ उम्रिए यहाँ । पर्यटकलाई लोभ्याउने वैदामको ‘अर्गानिक’ ग्रामीण परिवेश नै कता बढारियो कता एक निमेषमा । रातामाटे घुमाउने घरहरू पनि त आकर्षणका विषय हुन्थे विदेशी पर्यटकका निम्ति । केन्द्रवर्ती बजार– भैरव टोल, भीमसेन टोल र रामकृष्ण टोलमा थोरै बाँचेको छ पुरानो पोखरा । त्यहाँ मात्र अझै बाँकी छन् रातो इँटामा कलात्मक झ्याल ढोकाका बेग्लै खाले एकाध घरहरू । कमसेकम झुल्किँदैछ त्यहाँबाट  आजसम्म  भैरव नाच र बाघ जात्राहरू पनि । तर यो कहिलेसम्म हो, थाहा छैन । यो संस्कृतिको जिम्मा कसलाई लगाउने हो, मानिस नपाएर आज हैरान छन् बुढापाकाहरू । यी नाच र जात्राहरूको रौनकता पनि पहिले जस्तो कहाँ छ र अहिले । झर्दैनन् त्यति धेरै मानिसहरू गाउँपाखाबाट हिजोआज । बेचबिखन र किनमेलसँगै जात्राको स्वाद चाख्न भनेर ओइरिन्थे मानिसहरू पहिले पहिले । गाँैडा गौँडा र पाखा पाखामा उम्रिएका बजारले हिजोआज झर्न दिँदैन– झर्न पर्दैन पोखरामा मानिसहरू त्यति धेरै । आधुनिकताको अङ्गालोमा बाँधिएको युवा पीढी सरोकारविहीन बन्दैछ परम्पराप्रति, लोक संस्कृतिप्रति । संस्कृतिको सार्थकता—तिनको चिन्तनको विषय नै बनेन । कोकोकोला र चाउचाउ, पप र डिस्कोथेक, पुल र स्नुकरको नशाले लठ्याउँदै छ पोखरेली नयाँ पिढीलाई । यही सङ्क्रमणको दोसाँधमा परेर आज विलुप्त भएको छ पोखरामा लाखे नाच । गठेमङ्गलको परम्परा पछ्याउन पनि लाज मान्न थालेका छन् युवा र केटाकेटीहरू । ठूलो एकादशीको रोटी सुकाउने उत्सव पनि अब बाँकी रहे  केवल सम्झनाका तरेलीहरूमा । चङ्गा उडाउनुको मजा पनि अब रहेन पोखरामा । 

सुनपनेलीमा भेला भएर ठेलो हान्न लाज मान्छ हिजोआज पोखरा । ठेलो जितेर फेटा गुथ्न रौसिने हिजोका लक्का जवानहरूलाई पछ्याउन सकेनन् आजका पिढीले । विदेशको मोहनी लागेर बिछट्टै भएको छ आजका युवा पिढी । युवाविहीन बन्दैछ हाम्रा गाउँहरू डढेलोले खाएको जङ्गल जस्तै । सुनपनेलीमा देखिने जोस र जाँगरको त्यो रमाइलो प्रतिस्पर्धा के फेरि फर्केर आउला ? रोपाइँको बेला ‘बेठी नाच’ मा बज्ने सहनाई र ढोलकहरू पनि धेरै भयो बज्न छोडेको । तिन्लाई कता मिल्काइदियो यो सहरी सभ्यताले कसैलाई थाहा छैन । बिहेमा ‘पञ्चेबाजा’ कसले खोज्छ र आजभोलि । बेन्डबाजाले खाइदियो पञ्चेबाजालाई । परम्पराको निर्वाह त गरिरहेछ ढुङ्गेसाँघुको मेलाले । तर त्यसको रौनकता पनि कहाँ छ र पहिलेको जस्तो । लोक जीवनका झाँकीहरू, लोक नृत्य, चुड्का र रोइलाहरू अनि रमाइला दोहोरीहरू कहाँ सुन्न र देख्न पाइन्छ त्यहाँ हिजोआज । तीजले पनि गुमाइसकेको छ आफ्नो मौलिकता । तीजका बेला पोखराको ग्रामीण संस्कृति स्वतस्फुर्त उर्लेर आउँथ्यो पोखराका चौतारी र चौरास्ताहरूमा । साँच्चैको उन्मुक्ति देखिन्थ्यो त्यसबेला । आजभोलि बाजारू उत्पादनको ब्यानरमुनि तिनैद्वारा प्रायोजित पुरस्कार थाप्ने होडमा रूमल्लिन थालेको छ तीजको रमझम । पोखरामा तीजको असली सुवास कता हरायो कता । द्यौसी र भैलीको मन छुने भाकाहरू पप र डिस्कोका कर्कस आवाजभित्र बिलाउनै लागिसके भन्दा पनि फरक पर्दैन । मादल र मुर्चुङ्गा, सारङ्गी र मुरलीमा चौबन्दी चोलीहरू द्यौसी र भैली खेल्न नआएकोे पनि धेरै भयो पोखराको घर आँगनमा । टपरीमा चामल र सेल रोटी अनि ढ्याके पैसा दिएर बिदा गर्थे भैलीहरूलाई त्यो बेला । द्यौसी र भैलीको नाममा पप र डिस्को अनि पैसाको नमिठोे मोलतोल पचाउन पर्दैछ मुटु मिचेर हामीले आज । हाम्रो यो सरल लोक संस्कृतिप्रति न्याय भइरहेछ कि अन्याय, सोच्ने फुर्सद आज कसैलाई छैन । 

रोदी, घाँटु र सोरठीको लोक संस्कृति पनि त पोखरामा ओर्लेका हुन् नि । युवा युवतीको प्रेम मनोरञ्जन र सामुदायिक भावनाबोधको ‘रोदी संस्कृति’ टिक्न सकेन सायद सहरमा । पोखराकै सेरोफेरोमा हुर्किएको घाँटु पनि कम घतलाग्दो छैन । अङ्ग विन्यासद्वारा अभिनय गरिने ऐतिहासिक भाव नृत्य हो घाँटु । राग तालको नशामा लट्ठिएर कन्या कुमारीहरूले नाच्ने घाँटु यस भेककै एक विशिष्ट लोक संस्कृति पनि हो । डाँफे कला मन्दिरको प्रस्तुतिमा कताकति झझल्को पाइन्थ्यो रोदी, घाँटु र सोरठीको । त्यो पनि कता विलुप्त भयो, चालचुल छैन । नदीपुरमा उम्रिएको ‘बालन नृत्य’ देख्न छोडेको धेरै भयो । बालीचौरका गन्धर्वहरूको कण्ठबाट ‘झ्याउरे’ र ‘कर्खा’ मालश्री र मालमङ्गल सुन्न नपाएको पनि धेरै भयो । जिउनुको सङ्घर्षमा गन्धर्वहरूले कति दिन बचाइराख्न सक्लान् झ्याउरे र कर्खालाई । आश्चर्य मान्नु पर्दैन, कुनै दिन सारङ्गीमा गन्धर्वहरूले पनि पप गीत गाउन थालेको देखेर । 

हो, स्थिर हुँदैन संस्कृतिको पहिचान । सबै सस्ंकृति सधैँ बाँचिरहँदैनन् पनि । समय र परिवेशले निश्चय नै प्रभाव पार्छ लोक संस्कृतिलाई । समय अनुकूल रूपान्तरण त आवश्यक हुन्छ संस्कृतिको निरन्तरताका लागि । आफ्नै परिवेशसँग गाँसिएको परिवर्तन राम्रो र दिगो हुन्छ । लोक संस्कृतिका पौरखी र सार्थक सन्देशहरू चिन्न सक्नु पर्छ हामीले ।  गोडमेल  गर्दै झारपातहरू पनि पन्छाउँदै गर्नु पर्छ बेला बेलामा । भूमण्डलीकरणको जमानामा बाह्य प्रभाव अवश्यम्भावी छ, त्यसको चक्रव्यूहबाट बच्न त्यति सजिलो छैन । त्यसो त आफ्नो सबै ‘राम्रो’ र अरूको सबै ‘नराम्रो’ भन्नु पनि हुँदैन । विवेकको कसीमा घोटेर जाँचपरख गर्नु पर्छ आगन्तुक संस्कृतिलाई  ।

 विद्युतीय सञ्चार माध्यमको चमत्कारी आविष्कारले पनि तिरिमिरी पार्दैछ आज हाम्रो मन मस्तिष्कलाई । अस्वाभाविक लाग्दैछ पोखरामा, पाश्चात्य संस्कृतिको बढ्दो धाक,  रवाफ र मान मनितो । यो सांस्कृतिक दासता पनि कम खतरनाक छैन हाम्रा निम्ति । बाह्य अतिक्रमणप्रति सजग नभए केही बाँकी रहने छैन हाम्रो भोलि । तर यसलाई रोक्ने कसरी ? पाश्चात्य जीवन शैलीमा रङ्गिएर लोक संस्कृतिको चिन्ता गर्न हामीलाई सुहाउँछ कति ? यो सवाल पनि कम गम्भीर भएर उभिएको छैन आज हाम्रा अगाडि । मुलुकभित्रै पनि काखा र पाखाको पीडा सहनुपर्‍यो भने त झन् हाम्रो लोक संस्कृतिको गति के होला ? विविधताको हाम्रो समाजमा प्रत्येकलाई आफ्नो लोक संस्कृति उत्तिकै प्यारो हुन्छ । सयौँ थरीका फूलहरू फुले भने मात्रै बगैँचाको शोभा बढ्छ । सबैले बराबरी पाउनुपर्छ मलजल पनि । सबैले उत्तिकै आदर र सम्मान पाएनन् भने मन नराम्ररी भाँचिन सक्छ । चिन्तनको दरिद्रता र अहङ्कारको बादल बाक्लिँदै गयो भने हाम्रो लोक संस्कृति विलाउन के बेर ! लोक संस्कृतिका उत्सव–महोत्सवहरू बेला बेला भइरहनु पर्दछ संरक्षणका लागि । जनस्तरमा सचेतना र संस्थागत प्रयास पनि उत्तिकै आवश्यक छ आज । लोक संस्कृति नै रहेन भने हाम्रो अलग पहिचान पनि कति दिन रहला र ? अनि पहिचान हराएको समाज र राष्ट्रका सामु गौरव गर्नलायक कुरा नै अरू के बाँकी रहला र ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरि श्रेष्ठ
हरि श्रेष्ठ
लेखकबाट थप