मान्छे र युद्ध
तिम्रो दुस्साहस
यसरी निमेष भरमै ध्वस्त गर्नु थियो त
रगत, पसिना सिँचेर
समयको सर्बत पिउँदै किन गर्यौ
बिगार्नु पर्ने सृष्टि
मृत्युको खेलमा
बम, बारुदलाई
खेलाडी बनाएर उतार्यौं
सुन्दर धर्ती नामक् रंगशालामा
तिम्रो अहंकार र अभिमान
मर्ने र मार्ने मृत्युको खेल
गोला र बारुदले कोही चिनेनन्
रगतको प्यास मेटाउन
कलिलो केटाकेटीको जिन्दगी चुड्यौं
ए मान्छे,
छि..., कस्तो घिनलाग्दो तिम्रो हर्कत
तिम्रो आतंकले
फुलहरु टुहुरा भएका छन्
खुशीहरुको बलात्कार भएको छ
मानव सभ्यताको निधारमा
कलंकको ढ्याब्रे टीका परेको छ ।
तिमीले निम्त्याएको
युद्धको तुफानभित्र
मानवताको पर्खाल च्यात्तिएको छ,
आतंक, कोलाहल मच्चाउँदै
सहर, बस्ती, गाउँ छिरे ।
एक्लो भए बाँचेकाहरु
मन थाम्न नसकेर
मृत्यु र मुक्ति पुकार्न विवश छन्
ए पागल मान्छे हो
अब टाउकोको गिदी निकालेर
आरडिएक्स कोच
रक्तनलीको रगत झिकेर
विषाद तेजाब भर
शरीर भित्रको मुटु
अनि, कलेजो निकालेर
शक्तिशाली ग्रिनेट फिट गर ।
पाँचखाल, काभ्रे
हालः लिमासोल, साइप्रस