पार्टीभित्र विद्रोह गर्दै कोशीको छैटौँ मुख्यमन्त्री बनेका केदार कार्की
विराटनगर । मोरङ बुढीगंगाका ५० वर्षे केदार कार्की कोशी प्रदेशको व्यक्तिका रुपमा छैटौँ मुख्यमन्त्री बनेका छन् भने समग्रमा आठौँ मुख्यमन्त्री हुन् । यसअघि कोशी प्रदेशमा शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की र उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् ।
मोरङको क्षेत्र नम्बर ६ (२) बाट माओवादीसँगको गठबन्धन गरेर निर्वाचित कांग्रेस सांसद कार्कीको प्रदेश सांसदको रूपमा यो दोस्रो यात्रा हो । २०७४ सालको निर्वाचनमा पनि कार्की सोही निर्वाचन क्षेत्रबाट वाम गठबन्धनलाई पराजित गर्दै विजयी बनेका थिए । अघिल्लो कार्यकालमा नेकपा विभाजनपछि बनेको गठबन्धनबाट उनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । मन्त्री बन्नुअगाडि उनी कांग्रेसका कोशी प्रदेशसभाका प्रमुख सचेतक थिए ।
हक्की र निडर स्वभावका कार्की प्रदेशसभामा प्रतिपक्षीय भूमिकामा रहँदा चर्को स्वरले सत्तापक्षमाथि आलोचना गर्दथे । जनताको आवाजलाई मुखरित गर्ने कोसिस गरिरहने कार्की अहिले मुख्यमन्त्रीको भूमिकामा पुगेका छन् । उनको शपथग्रहण आइतबारका लागि राखिएको छ ।
यद्यपि कार्कीका लागि मुख्यमन्त्रीको भूमिकामा पुग्न सहज भने भएन । उनले मुख्यमन्त्रीको पदमा पुगे पनि त्यहाँ पुग्नका लागि कठिन र चुनौतीपूर्ण सङ्घर्ष र विद्रोह गरेका छन् । सांसदको भूमिकामा रहँदा गठबन्धन र पार्टीप्रति इमानदारिता देखाउने कार्की यस पटक गठबन्धन र आफ्नै पार्टी कांग्रेसको निर्णयको खिलाफमा उभिए ।
विगतमा एमालेमाथि खरो आलोचनाको तिर बर्साउने कार्की एमालेकै सहयोगमा मुख्यमन्त्री बन्न सफल भए । उनी कांग्रेस संसदीय दलको निर्वाचनमा नेता उद्धव थापासँग प्रतिस्पर्धा गरेका थिए । उनले ९ मत ल्याउँदा थापाले १८ मत पाएका थिए । अहिले कार्कीले त्यही ९ दिनेमध्येका ८ जना सांसदलाई पार्टीभित्र विद्रोह गराएर आफू मुख्यमन्त्री बन्न सफल भएका हुन् । संसदीय दलको निर्वाचनमा पनि कार्की शेखर कोइराला पक्षबाट उम्मेदवार बनेका थिए ।
दुई दुई पटक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस संसदीय दलका नेता थापाले विश्वासको मत लिन नसकिरहेको बेला कार्कीले भने एमालेको समर्थनमा ४७ सांसदको समर्थन पाएका छन् । तर, उनले आगामी ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन सक्छन् या सक्दैनन् त्यो भने हेर्न बाँकी छ । त्यसका साथै आफ्नै पार्टीबाट निर्वाचित एक जना सांसद मुख्यमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी बेन्चमा बस्छ या सत्तापक्षमा यो पनि चासोको विषय छ ।
कार्कीले आफ्नै पार्टी र एमालेसँगको सहकार्यको सन्तुलन मिलाउन निक्कै चर्को पर्ने देखिन्छ । सिट सङ्ख्याका हिसाबले कमजोर रहे पनि गठबन्धनका सहयात्री दलहरू माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपालाई उनले कसरी विश्वासमा लिन्छन् त्यो पनि हेर्न बाँकी छ । भनिन्छ, ‘विद्रोह र संघर्षमा नेपालका राजनीतिक पार्टीहरू र नेताहरू सफल भएका छन्, तर, त्यसपछिको व्यवस्थापनमा असफल सिद्ध भएका छन् ।’
मुख्यमन्त्री बन्न कै लागि सफल विद्रोह गरेका कार्कीका लागि आगामी व्यवस्थापन गाह्रो हुनेछ । किनकि आफूलाई साथ दिने ८ सांसदले पक्कै पनि मन्त्रीमण्डलमा सहभागी हुन खोज्नेछन् । आफूलाई भारी मनका साथ सहयोग गरेको एमालेलाई पनि सानो भागमा चित्त बुझाउन गाह्रो पर्नेछ । प्रदेशसभाको सभामुख पददेखि संसदीय समितिका निर्वाचनहरू बाँकी छन् । प्रदेशको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने उनलाई अर्को चुनौती छ । प्रदेशमा देखिएको पहिचानको आन्दोलन, धर्म, जाती र सम्प्रदायमा देखिइरहेको छिटपुट असन्तुष्टि र विद्रोहका सङ्केतलाई मत्थर पार्नुपर्ने दायित्व पनि उनको काँधमा हुनेछ । यस्तै संविधानमा उल्लेखित प्रदेशका अधिकारहरू नदिइरहेको अवस्थामा संघीय सरकारसँग समन्वय गरेर काम गर्न पनि उनलाई चुनौतीपूर्ण छ ।
केदार कार्कीको राजनीतिक यात्रा
केदार कार्कीको जन्म आमा ईश्वरी र पिता प्रेमबहादुरका कोखबाट २०३० पुस ७ गते भएको हो । विद्रोही स्वभावका उनी विद्यालय कालदेखि नै राजनीतिमा होमिएका थिए । ।
जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएका कार्कीले विद्यालय स्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो । २०५२ सालमा नेविसंघबाटै महेन्द्र मोरङ क्याम्पस इकाई सभापति भएका कार्की नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे ।
२०६० मा महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचनमा भने कार्की अनेरास्ववियुका सागर थापासँग सभापतिमा पराजित भएका थिए । यद्यपि त्यहाँबाट उनको राजनीतिक उचाइ झनै बढ्दै गयो । हाल उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका छन् । कोइराला परिवारसँग नजिक रहेर राजनीति गरिरहेका उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा भने मोरङ क्षेत्र नम्बर ६ (२)बाट निर्वाचित भए । त्यसपछि कार्की कांग्रेस संसदीय दलको प्रमुख सचेतक भए । यस्तै कार्की २०७८ भदौदेखि २०७९ पौषसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा काम गरे । उनी २०७९ सालको निर्वाचनमा पुनः सोही निर्वाचन क्षेत्रबाट विजयी भए । स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नीसहित २ छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने