मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
गैरीगाउँ सामूहिक हत्या प्रकरण

चार जनाको हत्यापछि अभियुक्तले २ घण्टासम्म वारदातस्थलमै गरे आराम

हत्यापछि पनि असहज महसुस नभएको र चुरोट खाएको बयान
शुक्रबार, २६ असोज २०८०, १९ : ३७
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । गत भदौ २९ गते राती करिब ८ बजे तीनकुनेको गैरीगाउँमा भएको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारीले चार जनाको हत्या गरेपछि करिब २ घण्टा त्यहीँ आराम गरेर बसेको बयान दिएका छन् । प्रहरीसँगको बयानमा हत्या गरिएको स्थानमै बसेर चुरोट खाएर आराम गरेको र असहज महसुस नभएको समेत भण्डारीले बयानमा खुलाएका छन् । 

रातोपाटीलाई प्राप्त भण्डारीको बयानमा आफूले चार जनाको हत्या गरेपछि हत्या हुँदा प्रयोग भएको हतियार र कपडामा लागेको रगत पानीले पखालेको, शवको व्यवस्थापन गरेको र सोही स्थानमा करिब २ घण्टा आराम गर्दा त्यहीँ निदाएको समेत बयान दिएका छिन् । 

जन्मजात बोल्न नसक्ने भण्डारीले आफूलाई पहिले मोटरसाइकलले ठक्कर दिई भागेको र ठक्कर दिने व्यक्तिको हत्याका लागि त्यहाँ पुगेपनि अन्य व्यक्तिले देखेको प्रमाण नष्ट गर्न अन्य व्यक्तिको पनि हत्या गरेको बयान दिएका छिन् । 

भण्डारीको बयानको केही अंश यस्तो छ:

‘... घटनास्थल जाने क्रममा गौशालाबाट मोबाइल अफ गरेँ । खुकुरी राखेको झोला मैले बोकी हिँडेको थिएँ । घटनास्थलमा पुग्दा राती अन्दाजी १९ः०० बजिसकेको थियो । 

घटनास्थल दिव्य सःमिल एण्ड काष्ठ उद्योगको दक्षिणमा एयरपोर्ट देखिने रिङरोड तर्फ मूलगेट थियो । मूलगेट अगाडि केही चहलपहल देखिन्थ्यो, सो गेटबाट पश्चिम अन्दाजी १०–१५ मिटरको दुरीमा दिव्य सःमिल एण्ड काष्ठ उद्योगको पश्चिम गेटतर्फ जाने बाटो छ, सो बाटोबाट पश्चित तर्फको गेटमा गएँ । 

उक्त बाटोबाट काष्ठ उद्योगसँगै रहेको मार्बल उद्योगमा जाने गेट छ, सो गेट बन्द थियो, सो बाटो त्यही अन्त्य भएको थियो । अन्यत्र जान आउन सकिने अवस्था थिएन । पश्चिम गेट अगाडिको दुईवटै ठूलो घर पूर्ण रुपमा खाली जस्तो सुनसान थियो । त्यहाँ मानिसको चहलपहल हुने ठाउँ थिएन । 

पश्चिम गेट फलामको डण्डीहरु जोडी बनाएको थियो, सोही फलामको डण्डीहरुमा टेकी समाती नाघी, गेटसँगै रहेको दिव्य सःमिल एण्ड काष्ठ उद्योगको एककोठे कच्ची टहराको घरमा प्रवेश गरेँ । 

घटनास्थलमा जाँदा खुकुरी राखेको झोला बोकी गएको थिएँ, सुरुमा प्रवेश गरेको पश्चिम गेट नजिकको एक कोठे टहरो घरको कोठामा ढोकाको चुकुल मात्र लगाएको चाबी लगाएको थिएन । चुकुल खोली सो कोठा भित्र गएँ, कोठामा चुरोट सल्काई सेवन गरेँ । लगभग १५ मिनेट जति सोही कोठामा बसे । 

सो कोठाको सामुन्ने अगाडि भुईतलासमेत दुईतले कच्ची टहरो घर थियो । सो घरको भुईतला बन्द र माथिल्लो तलाको ढोका खुल्ला, बत्ती बलिरहेको अवस्थामा थियो । उक्त बत्ती बलेको कोठामा बाहिरबाट जाने फलामे गोलो रेलिङ भर्याङ थियो । सुरुमा प्रवेश गरेको कोठाबाट निस्की सो कोठाको सामुन्नेको टहरो घरमा गई फलामे रेलिङ गोलो भरÞ्याङ चढी बत्ती बली रहेको माथिल्लो कोठामा गएँ । कोठाको बिचमा बार लगाई दुईवटा कोठा बनाई अफिसको लागि प्रयोग गरेका रहेछन् । कोठामा कोही थिएन । 

केही समय सो कोठामा राखिएको सोफामा बसेपछि बाहिर मान्छे आएको जस्तो लाग्यो । उठेर हेर्दा बाहिर मान्छे हिँडेको देखे । उक्त मान्छे पश्चिम गेटतर्फ गई, फर्किई पूर्वतर्फ गई पुनः फर्किई आउँदै थिए । आउँदै गरेको व्यक्ति मलाई ठक्कर दिई हातपात गर्ने मोटरसाईकल चालक नविन राई रहेछन् चिन्ही हाले । 

निज नविन राई म बसेको कोठातर्फ आउन थाले । म पूर्वयोजना बमोजिम झोलाबाट खुकुरी निकाली कोठाको ढोकामा तयारी अवस्थामा बसेँ । नविन राई ढोकामा आई पुग्नासाथै मलाई देखी मेरो गालामाथि टाउकाको भागमा झापड हाने । मैले दुबै हातले खुकुरी मजबुत तवरले समाती बल लगाई निजको टाउकोमा जोडले प्रहार गरेपछि रगताम्मे भई ढले, ढलेपछि पनि मैले टाउकोमा पटक पटक प्रहार गरे । म¥यो भन्ने यकिन भई निजको गोडामा समाती घिसारी कोठाभित्र छेउमा लगी राखे । 

केही समयपछि कोठा बाहिर आँगनजस्तो भागमा अर्का ५०–५५ वर्ष जतिको देखिने छोरा मान्छे फोनमा कुरा गर्दै आएको जस्तो लाग्यो । कोठाबाट तल झरी निजको पछाडि टाउकोमा जोडले खुकुरीले हाने, निज एकै चोटमा ढले, ढले पश्चात पनि ...प्रहार गरेँ । मरेको यकिन भएपछि निजको दुबै गोडामा समाती घिसारी टहराको पछाडि कुनामा रहेको ट्वाइलेटको ढोकाको छेउमा लगी लुकाएँ । 

निजको शव लुकाई आउँदा सोही ठाउँ नजिकै आँगनमा अर्को महिला आउँदै गरेको देखे । निजलाई पनि खुकुरी हाने । सुरुमा हान्दा छेकेको जस्तो लाग्यो, तत्कालै दोस्रोपटक जोडले हान्दा भुईमा ढली हालिन् । निज महिलाको शव पनि दुईवटा गोडामा समाई घिसारी केटा मान्छेको शव लुकाएको ट्वाइलेटको ढोका सामुन्ने पानी तान्ने चापाकलको छेउमा लगी लुकाएँ । 

लगत्तै, झोला भिरेकी बूढी मान्छे आँखा नदेखेको जस्तो गरी बिस्तारै भुईतिर हेर्दै आउनु भयो । ती बूढी मान्छेलाई समाती घाँटी...मारी शवलाई घिसारी काठहरु राखेको कुनामा लगी लुकाएँ । त्यसपछि यताउता हेरें, कसैलाई देखिन । 

लगभग रातीको ९ जती बजिसकेको सुनसान थियो । म थाकिसकेको थिएँ, शवहरु लुकाएको नजिकै चापाकलको धारामा प्लाष्टिकको बाल्टी थापिरहेको रहेछ, सो धारा थिची धाराबाट पानी निकाली हात, मुख, खुकुरी धोएँ । पानीको सहायताले मेरो कपडामा लागेको रगत पुछे र अफ गरेको मोबाइल अन गरी, मोबाइलको लाइट बाली शरीरको रगत पुछिएको छ, छैन हेरी यकिन गरी घटनास्थलमा प्रवेश गरी चुरोट खाएको पहिलो कोठामा गई आराम गरेँ । लगभग डेढ–दुई घण्टा जति आराम गरेपछि फ्ल्याक्स लाईटहरु आएको जस्तो लाग्यो । 

घटना सम्बन्धमा थाहा पाई मानिसहरु जम्मा हुन लागेको जस्तो लागी, खुकुरी सहितको झोला बोकी घटनास्थलमा प्रवेश गरेको गेटबाट, गेटमा जडान गरेका फलामको डण्डीहरुमा समाई टेकी, गेट नाघी बाहिर निस्की, दगुर्दै सडक क्रस गरी तीनकुने हुँदै कोटेश्वरतर्फ भागेको हुँ ।’

गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीले क्रुर तथा निर्ममतापूर्वक हत्या गरेको भन्दै उनीविरुद्ध जीवित रहेसम्म कैदमा राख्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सो मुद्दामा शुक्रबार मात्रै न्यायाधीश दिनबन्धु बरालको इजलासले भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप