आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबिच लण्डनमा भेटवार्ता

शुक्रबार, २६ असोज २०८०, ०९ : १५
शुक्रबार, २६ असोज २०८०

लन्डन । बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रस र नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माबिच लन्डनमा भेटवार्ता भएको छ ।

बेलायती सेनाध्यक्षको औपचारिक निमन्त्रणामा बेलायत भ्रमणमा रहेका शर्मा र स्यान्ड्रसबिच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट तथा छलफल भएको हो ।

भेटका क्रममा दुई देशका सेना प्रमुखबिच द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोगका क्षेत्रमा विकास र विस्तार गर्ने बारेमा छलफल भएको थियो । सो क्रममा बेलायती सेनाका सेनाध्यक्ष स्यान्ड्रसबाट नेपाली सेनाको पेसागत क्षमताको अभिवृद्धि, विकास तथा विस्तारमा सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सन्तोष ढकाल, सैनिक सहचारीहरू सहायक रथी रत्न बहादुर गोदार र कर्नेल पल स्मिथ पनि सहभागी थिए ।

यसैगरी, प्रधान सेनापति शर्माले बेलायतस्थित रोयल कलेज अफ डिफेन्स स्टडिजको समेत भ्रमण गरेका छन् ।

सो क्रममा कलेजका कमान्डेन्ट लेप्टिनेन्ट जनरल (अवकाश) सर जर्ज नर्टनले स्वागत गर्दै कलेजको शैक्षिक अध्यापन र वहुआयामिक पक्षबारे जानकारी गराएका थिए ।

प्रधान सेनापति शर्माको सम्मानमा लण्डनस्थित नेपाली राजदूतावासमा पनि एक कार्यक्रम गरिएको छ । सो क्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत र नेपालबीचको द्विपक्षीय आर्थिक, सामाजिक र सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए । नेपाली सेनाबाट विश्व शान्ति स्थापना, दैवी प्रकोप व्यवस्थापन, विकास निर्माण लगायतका क्षेत्रमा स्वदेश र विदेशमा पुर्‍याएको योगदानका बारेमा पनि राजदूतले चर्चा गरे ।

सो क्रममा प्रधान सेनापति शर्माले नेपाली राजदूतावासमा सैनिक सहचारीको रूपमा कार्यरत महासेनानी रत्न बहादुर गोदारलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्हसमेत प्रदान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप