मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : कोशीको सत्ता गठबन्धनमा भाँडभैलोदेखि इजरायलबाट नेपालीको उद्धारसम्म

बिहीबार, २५ असोज २०८०, २२ : ५१
बिहीबार, २५ असोज २०८०

 काठमाडौँ । आज मिति २०८० साल असोज महिनाको २५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर आएको छौँ–

कोशीमा भाँडभैलो

कोशी प्रदेशमा सत्ता गठबन्धन भाँडिएको छ । केन्द्रीय सत्ता गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको सहमति भएकामा प्रदेशमा भने सो सहमतिको उलंघन भएको हो ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेर दिएको शुक्रबारसम्मको समयसीमा अघि नै बिहीबार आङ्बो र एमालेको सहयोगमा कांग्रेस सांसद केदार कार्कीले मुुख्यमन्त्रीका लागि छुट्टाछट्टै दाबी पेश गरेका छन् ।

केन्द्रीय गठबन्धनको निर्णयलाई चुनौती दिँदै काँग्रेस नेता शेखर कोइराला पक्षीय ८ सांसदले विद्रोह गर्ने निर्णय लिए भने त्यसलाई एमालेका ३९ सांसदले पनि साथ दिए ।

इजरायलबाट नेपालीको उद्धार

२५३ जना नेपाली विद्यार्थी बोकेको नेपाल एयरलायन्सको वाइडबडी जहाज इजरायलबाट उडेको छ । इजरायली समय अनुसार १ः३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको नेपाली विद्यार्थीहरूले जनाएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो ।

उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका छन् । इजरायल र गाजाबीचको युद्धका कारण कृषि क्षेत्रमा इन्टर गर्न पुगेका विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । नेपालीहरु मध्यरातमा काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

भेप प्रकरण

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको मुद्दामा राहुल महरा र लोकेन्द्रकुमार पौडेलको थुनछेक बहस बिहीबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

द्वन्द्व भड्किएको क्षेत्रमा अधिकारीहरुको सरुवा

केही पहिले धार्मिक द्वन्द्वको अवस्था देखिएको सप्तरी र बाँकेका सुरक्षा अधिकारी फेरिएका छन् ।

 

बामगती र मधेसमा बढी भ्रष्टाचार

भ्रष्टाचारको सवालमा संघीय निकायको बागमती प्रदेश र स्थानीय तहमध्ये मधेश प्रदेशमा धेरै भ्रष्टाचार हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीका आधारमा यो तथ्य फेलापरेको हो ।

 

नेकपा एमाले मधेस प्रदेशको अध्यक्ष चन्देश्वर मण्डललाई बनाउने गरि लगभग सहमति जुटाउने प्रयास भएको छ । अध्यक्षमा मण्डललाई बनाउनेगरी सहमति जुटाउने प्रयास भइरहेको सो पार्टी निकट श्रोतले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन् ।

अदालतसम्बन्धी समाचार

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा बिहीबार स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगितको सूचीमा परेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार १६ जना जिल्ला न्यायाधीशको काज सरुवा गरेका छन् । न्यायपरिषद्को बैठक बस्न समस्या भएपछि प्रधानन्यायाधीशले जिल्ला न्यायाधीशको काज सरुवा गराएका हुन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दाको रिक्युजलको घोषणा गरेका छन् । यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेको कारण यो मुद्दा हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले अर्को इजलासमा पेस गर्न आदेश दिएका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीमा संलग्न रहेकाहरुको थुनछेक निवेदनमा पुनः अन्य आदेश भएर टुंगिएको छ । बिहीबार पाटन उच्च अदालतमा तोकिएको पेसीमा लगाएको मुद्दा साथै राख्ने आदेश दिएर बिहीबारको सुनुवाइ सकिएको छ ।

वार्ता समिति गठन

विगत १२ दिन देखि आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता कमिटी गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको हो ।

 

संसद बैठक

चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव गराएर महँगी बढाइएको भन्दै प्रतिनिधिसभा सदस्यहरुले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले चाडपर्वको बेलामा महँगी बढेको बताएका हुन् । उनीहरुले दैनिक उपभोग्य खाद्यान्नहरुको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी गरिएको भन्दै कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् ।

 

यो पनि...

नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार विगत ८ महिनाको अवधिमा सङ्क्रमितको सङ्ख्या  ३८ हजार ७९० पुगेको हो ।

जीतपुर सिमरा उपमहानगरपाकिालका पूर्व मेयर डा। कृष्ण पौडेल मृत फेला परेका छन् । बिहीबार घरमा कोही नभएको अवस्था पौडेल जितपुर सिमरा वडा न २ मा रहेको आफ्नै घरमा पौडेल मृत फेला परेको जितपुर उपमहानगरका उप्रप्रमुख भोला अधिकारीले जानकारी दिए ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारका लागि  सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको हो । यससँगै, परिसूचक १८ सय ७४ अंकमा आएर रोकिएको छ ।

काठमाडौँको बौद्धमा गोली चलेको छ। बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ ।  विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट मनोनयन दर्ता सुरु भएको हो ।

फुटबलको माहोल

फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा सकिएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप