चिस्यान केन्द्र निर्माण गर्दै तनहुँका स्थानीय तह
तनहुँ । जिल्लाका स्थानीय तहले चिस्यान केन्द्र निर्माणलाई प्राथमिकता दिएका छन् ।
फलफूल र तरकारी खेतीमा पकेट क्षेत्र रहेका पालिकाले चिस्यान केन्द्र निर्माणमा जोड दिएका हुन् । व्यास र शुक्लागण्डकी नगरपालिका एवं म्याग्दे गाउँपालिकामा निर्माणाधीन चिस्यान केन्द्र सञ्चालनको तयारीमा रहेको छ ।
शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रु तीन करोडको लगानीमा उक्त शीतभण्डार निर्माण गरिएको हो । शुक्लागण्डकीको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको छ ।
नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै शीतभण्डार निर्माण गरेको इन्जिनियर तारापति भट्टराईले जानकारी दिए । चिस्यान केन्द्र नहुँदा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपज भण्डारणका लागि लामो दूरी र महँगो शुल्क तिर्नुपर्ने भएकाले चिस्यान केन्द्र निर्माण गरिएको उनले बताए ।
करिब पाँच रोपनी सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गरिएको हो । शीतभण्डार बनेसँगै यहाँका कृषकले उत्पादन गरेका कृषि उपज भण्डारणका लागि पोखरा लैजानुपर्ने बाध्यता हट्ने छ ।
“भवन बनिसकेको छ, निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले सञ्चालन प्रक्रिया रोकिएको हो, असोज मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ”, इन्जिनियर भट्टराईले भने ।
उत्पादन भएका आलु र सुन्तलाको मूल्य मौसममा सस्तोमा बिक्री गर्नुपर्दा कृषकहरू मर्कामा पर्ने गरेका छन् । शीतभण्डारमा भण्डारण गरिएका कृषि उत्पादन वस्तुलाई बेमौसममा बिक्री गर्न पाउँदा कृषकले राम्रो मूल्य पाउन सक्ने विश्वास गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताए ।
एक मौसमभरि कृषकलाई प्रतिकिलो रु सातका दरले शुल्क लिने योजना नगरपालिकाले बनाएको उनले जानकारी दिए । त्यसैगरी व्यास नगरपालिका कार्यालयले चालु आर्थिक वर्षदेखि चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण गरिरहेको छ ।
व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । चिस्यान केन्द्र अन्तिम चरणमा पुगेसँगै जिल्लाका व्यावसायिक कृषक उत्साहित भएर कृषि क्षेत्रमा लाग्न थालेको योजना कार्यान्वयन तथा अनुगमन उपशाखाका अधिकृत भेषराज तिवारीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण गरिएको उनले बताए । करिब तीन रोपनी क्षेत्रफलमा रु एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा एक सय ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो ।
त्यसैगरी म्याग्दे गाउँपालिकाले म्याग्दे–३ मा चिस्यान केन्द्र निर्माण गरेको छ । दुई सय मेटिक टन क्षमताको चिस्यान केन्द्र निर्माण भइरहेको इन्जिनियर शिव ज्ञवालीले बताए । रु दुई करोडको लागतमा पासा कन्स्ट्रक्सन निर्माण कम्पनीले काम गरिरहेको छ ।
उक्त पालिका सुन्तला र आलुखेतीका लागि प्रख्यात मानिन्छ । चिस्यान केन्द्रमा विद्युत् ट्रान्समिटर जडान बाँकी रहेकाले अन्तिम चरणमा रहेको उनले बताए ।
त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले चार वर्षअघि चिस्यान केन्द्र निर्माणका लागि ठेक्का लगाए पनि निर्माण सुरु नभएको गाउँपालिकाले जनाएको छ । बन्दीपुर–१ नाहालामा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अघि बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
काम सुरु नगरे कारबाही अघि बढाउन निर्देशन दिएपछि निर्माण अघि बढाउन लागेको उनले बताए । बन्दीपुर गाउँपालिका सुन्तला खेतीका लागि पकेट क्षेत्रको रूपमा परिचित हुँदै आएको छ ।
त्यसैगरी जिल्लाको आँबुखैरेनी गाउँपालिकामा सहकारीमार्फत सङ्घीय सरकारको अनुदानमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिका मातहत चिस्यान केन्द्र निर्माण नगरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । आँबुखैरेनी गाउँपालिका तरकारी र फलफूल खेतीका लागि पकेट क्षेत्र मानिएको छ ।
स्थानीय तहमा चिस्यान केन्द्र निर्माण भएसँगै उत्पादित तरकारी एवं फलफूल बिक्रीमा सहज हुने कृषकको आशा रहेको छ । तनहुँमा चार नगरपालिका र छ गाउँपालिका रहेका छन् । पृथ्वीराजमार्गको पहुँचमा रहेका पालिकाले चिस्यान केन्द्र निर्माणलाई प्राथमिकता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित