खाद्यजन्य रोगबाट कसरी बच्ने ?
दूषित खाना वा पेय पदार्थको सेवनबाट हुने रोगलाई खाद्यजन्य भनिन्छ । यो रोगको सङ्क्रमण ब्याक्टेरिया, परजीवी, भाइरस, विषाक्त पदार्थ (फङ्गी, इन्टरोटोक्सिन) र खानामा हुने अन्य विषाक्त रसायनले हुने गर्छ । यस्ता रोग सङ्क्रमणले मानिस बिरामी हुन्छन् । साथै यस्ता रोगले समाजमा त्राससमेत फैलिने भएकाले पर्यटन र व्यापारलाई समेत हानि पुर्याउँछ ।
डब्ल्यूएचओको तथ्याङ्कले विश्वमा १० जना सङ्क्रमितमध्ये ९ जना दूषित खाना खाएपछि बिरामी पर्ने गरेको देखाएको छ । प्रत्येक वर्ष चार लाख बीस हजार मानिसको दूषित खानाका कारण मृत्यु हुन्छ । त्यसमध्ये ४० प्रतिशत बालबालिका ५ वर्षभन्दामुनिका छन् । परिणाम स्वरूप वार्षिक रूपमा लगभग १२५,००० बालबालिकाको मृत्यु हुन्छ ।
संयुक्त राज्य अमेरिकामा भएको एक अनुसन्धानले प्रत्येक वर्ष ६ जनामध्ये १ जना खानाजन्य रोगको सामना गर्छन् । तर करिब ९.४ मिलियन मानिस खाद्यान्न असन्तुलनका कारण बिरामी पर्छन् । सबैभन्दा धेरै रोग निम्त्याउने रोगजनकहरू स्नोरोभाइरस (५८ प्रतिशत) नान्टाइफाइडल साल्मोनेला एसपीपी (११ प्रतिशत), क्लोस्ट्रिडियम परफरिनजेनस (१० प्रतिशत), कम्पाइलोबेक्टर प्रजाति (९ प्रतिशत) पर्छन् ।
अस्पताल भर्नाको सन्दर्भमा अस्पताल भर्नाको प्रमुख कारणहरू ननटाइफाइडल साल्मोनेला प्रजाति (३५ प्रतिशत), नोरोभाइरस (२६ प्रतिशत), क्याम्पिलोब्याक्टर प्रजाति (१५ प्रतिशत), टोक्सोप्लाज्मा गोन्डी (आठ प्रतिशत पर्छन् ।
जीवाणु, विषाक्त पदार्थ, परजीवी, भाइरसका कारणले पनि खाद्यजन्य रोग लाग्न सक्छ ।
धेरैजसो खानाबाट हुने प्रकोप ब्याक्टेरियाको सङ्क्रमणले गर्दा हुन्छ । क्याम्पिलोब्याक्टर, एस्चेरिचिया कोलाई, लिस्टेरिया मोनोसाइटोजेन्स, साल्मोनेला, सिगेला, ब्रुसेला, क्लोस्ट्रिडियम बोटुलिनम, बिब्रिओ एसपी र इनर्सिनिया आदि ब्याक्टेरियाका उदाहरण हुन् ।
विकसित देशमा लगभग एक तिहाइ भाइरस सङ्क्रमण खानाबाट हुने सङ्क्रमणका लागि जिम्मेवार हुन्छन् । रोग सार्ने सामान्य एजेन्टहरू नोरोभइरस, एन्टरोभाइरस, हेपेटोभइरस, रोटाभाइरस र एडेनोभाइरस हुन् ।
विषाक्त पदार्थहरू : विषहरू विशिष्ट ब्याक्टेरिया जस्तै ब्यासिलस सेरेयस, क्लोस्ट्रिडियम पफ्र्रिन्जेन्स, स्टेफिलोकोकस ओरियस, एस्चेरिचिया कोलाई र क्लोस्ट्रिडियम बोटुलिनमद्वारा निस्कन्छ । यसबाहेक माइकोटोक्सिन भनेर चिनिने विशेष फङ्गल प्रजातिले उत्पादन गरेको विषाक्त पदार्थ हुन् । यो प्राकृतिक विषाक्त पदार्थ, जनावर वा बिरुवाद्वारा उत्पादन हुन्छ । अल्कालोइड्स, च्याउको विष, सेलफिस विष, ग्रानोटोक्सिन आदि यसका उदाहरण हुन् ।
परजीवी : टोक्सोप्लाज्मा, क्रिप्टोस्पोरिडियम, साइक्लोस्पोरा, ट्रिचिनेला, एनिसाकिस र जिआर्डिया परजीवीका उदाहरण हुन् ।
अन्य : हिस्टामाइन र समुद्री बायोटोक्सिनहरूले माछा उत्पादनलाई दूषित गर्छ । त्यसलाई सही तरिकाले संरक्षित गरिएन भने खाद्य विषाक्तता र खाद्यजन्य प्रकोप निम्त्याउँछ ।
–खाद्यान्न सङ्क्रमण, खाद्य विषाक्तता
खानाबाट हुने सङ्क्रमण तब हुन्छन् जब मानिसले जीवित ब्याक्टेरिया भएको खाना खान्छन्, पाचन पथमा बढ्न थाल्छ । अनि मानिसलाई खानाको विषक्तता देखिन थाल्छ । यी ब्याक्टेरियल कोषिकाहरू जब इन्जेस्ट हुन्छन् अनि शरीरमा विषाक्त पदार्थ उत्पादन गर्न थाल्छन् । क्लोस्ट्रिडियम परफ्रिन्जेन्स यसका उदाहरण हुन् ।
–खाद्यजन्य रोगका सामान्य लक्षण
खानाबाट हुने रोगका लक्षण केसअनुसार फरक हुन्छन् । खानाजन्य रोगको सबैभन्दा सामान्य लक्षणहरूमा पखाला, कहिलेकाहीँ रगत बग्ने, वान्ता हुने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट दुख्ने, जोर्नी र ढाड दुख्ने, थकान महसुस हुने आदि हुन् ।
–खाद्यजन्य प्रकोपका कारण
हानिकारक वा विषाक्त पदार्थले सबै खानालाई दूषित पार्न सक्छन् । धेरैजसो रोग पानीमार्फत सर्छ । दूषित पानी पिउनाले रोग सर्न सक्छ । हामीले खाने फलफूल, तरकारी दूषित पानीले पखालेर खाँदा पनि रोग सर्न सक्छ । त्यस्तै फलफूल र तरकारी जनावरको फोहोर वा अशुद्ध पानीबाट दूषित हुन सक्छन् । जुस बनाउन प्रयोग गरिने फलमा रोगजनक किटाणु छन् भने त्यसलाई पाश्चर नगरिए रोग सङ्क्रमण हुन सक्छ ।
कुखुरा र अन्डा काँचै वा हल्का पकाएर खाएमा त्यसबाट साल्मोनेला सङ्क्रमण हुन सक्छ ।
यस्तै मासु र मासु उत्पादनले रोग सङ्क्रमण हुने उच्च जोखिम हुन्छ । मासु राम्ररी नपकाई खाएमा साल्मोनेला, क्याम्पिलोब्याक्टर र लिस्टेरिया, तर भाइरसको सङ्क्रमण हुन सक्छ ।
विभिन्न प्रकारका खानाहरू बेकरी उत्पादन, मिठाई, चकलेटबाट भाइरस सङ्क्रमण हुन सक्छ । त्यस्तै बफे फुड, तयारी खानाबाट पनि भाइरस सङ्क्रमण हुन सक्छ ।
–खानाबाट हुने रोगको उच्च जोखिममा पर्ने समूह
सामान्यतया दूषित खाना खाने जोकोहीलाई खानाजन्य रोगको सङ्क्रमण हुन सक्छ । तर त्यस्तो सङ्क्रमण वृद्धवृद्धा, शिशु र साना बालबालिका, गर्भवती महिला, क्यान्सर रोगी, कलेजो रोग भएका व्यक्ति, मधुमेहबाट पीडित व्यक्ति, प्रतिरक्षा प्रणालीलाई असर गर्ने औषधी सेवन गर्ने व्यक्ति, एड्सबाट पीडित व्यक्ति, एन्टासिड खाने मानिसलाई बढी हुन्छ ।
–किन र कहाँ खाना प्रदूषण हुन्छ ?
दूषित पानीबाट खाना प्रदूषण हुन्छ । फसल काट्नुअघि सिँचाइ वा खाना खानुअघि धुन प्रयोग गरिएको पानीले खानालाई प्रदूषित हुन्छ । तर यस्तो प्रदूषण अन्जानमा हुन्छ । उत्पादन र उपभोगका चरणमा उचित सरसफाइ नहुँदा समस्या हुन्छ । त्यस्तै देख्न नसकिने रोगका किटाणुले जनावरलाई सङ्क्रमित गर्न सक्छ । त्यस्ता जनावरबाट उत्पादित खान दूध, मासु प्रदूषित हुन्छन् ।
मासु उत्पादन गर्ने वधशालामा पर्याप्त सरसफाइ हुँदैन । त्यस्ता ठाउँमा तयार पारिएको मासु दूषित हुन्छ ।
खाना तयार गर्दा र वितरण गर्दा शुद्ध, सफा तरिकारले गरिएन भने खाद्यान्न प्रदूषण हुन्छ । विशेष गरी तयारी खाना भण्डारण गर्दा, वितरण गर्दा खाना प्रदूषित हुने गर्छ । विभिन्न रेस्टुरेन्टहरूमा तयार पारिएका खाना प्रदूषित हुन सक्छ । त्यस्तै खाना तयार भएपछि हालिने भाँडाहरू पनि दूषित हुन सक्छन् । यसमा ध्यान दिन आवश्यक छ ।
–खाद्यजन्य रोगको जोखिम कसरी कम गर्ने ?
दूषित खानाबाट बच्न, दूषित पदार्थ हटाउन र हानिकारक तत्त्वको थप फैलावट रोक्न गरिने उपायमा निर्भर गर्दछ । यसका विधिहरू विभिन्न छन् । विशेष गरी खाना पकाउने र भण्डारण गर्ने विधिमा विशेष सावधानी अपनाउनु र उचित सरसफाइ गर्नु आवश्यक हुन्छ ।