महँगी र कृत्रिम अभावको नियन्त्रण गर्न सांसदहरुको माग

काठमाडौँ । चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव गराएर महँगी बढाइएको भन्दै प्रतिनिधिसभा सदस्यहरुले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले चाडपर्वको बेलामा महँगी बढेको बताएका हुन् । उनीहरुले दैनिक उपभोग्य खाद्यान्नहरुको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी गरिएको भन्दै कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् ।
बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको बताए । उनले कालोबजारी मौलाएको भन्दै सरकारले कालोबजारीलाई प्रश्रय दिइरहेको बताए । जनतामाथि खेलबाड नगर्न सरकारलाई चेतावनी समेत दिए ।
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको बताए । उनले सरकारले महँगी नियन्त्रण गर्छ भन्नेमा जनतामा आशा पनि नरहेको बताए । उनले सामाजिक सञ्जालमार्फत ठगिएको घटना पनि भइरहेको भन्दै प्रविधिको प्रयोग गरी ठग्ने कार्यको अन्त्य गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले उपभोग्य वस्तुको मूल्य अकासिएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताए । कालोबजारी बढेको, कृत्रिम अभाव भएको र गाडी भाडा बढाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभा सदस्य दीपा शर्माले नेपाल भारत सिमानाकामा सुरक्षाकर्मीले चेकजाँचको नाममा हैरानी दिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने उनले बताइन् ।
प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले किसानले महिनौँदेखि दूधको मूल्य नपाएका भन्दै किसानको रकम तत्काल भुक्तानी गर्न माग गरे ।
प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले चाडपर्वको समयमा बजार भाउको नियन्त्रण हुनुपर्ने बताए । उनले दैनिक उपभोग्य सामग्रीहरुको अभावको परिपूर्ति गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले महँगी र अभावलाई हटाउन अनुगमन हुनुपर्ने बताए । उनले सुलभ खाद्यान्न पसलको व्यवस्था गर्न र सुलभ टिकट र यातायातको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले विद्यार्थीहरुलाई नेपालकै विश्वविद्यालयमा शिक्षा प्राप्त गर्न सहज वातावरण बनाउनुपर्ने बताए । उनले विदेशमा हुनसक्ने अन्य विपद्का घट्नाहरुप्रति सरकार सजग हुनुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले गैर आवासीय नेपालीहरुलाई नागरिकता दिनका लागि गैर आवासीय नेपाली कार्ड अनिवार्य गर्नु नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)
-
जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल
-
दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
-
विद्युत् प्राधिकरण भन्छ- लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी